पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
पोस्ट गरियो:
17 NOV 2026 1:04AM by PIB Gangtok
अन्ताल्या (टर्किए), १६ नोभेम्बर २०२६
केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज ‘जलवायु परिवर्तन न्यूनीकरणका संवाहकका रूपमा ठूला बिरालो प्रजाति’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय विशेष कार्यक्रममा ठूला बिरालो प्रजातिको संरक्षणले जलवायु परिवर्तन न्यूनीकरण तथा पारिस्थितिकीय प्रणालीको उत्थानशीलता सुदृढ बनाउन खेल्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। टर्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (सीओपी–३१) अन्तर्गत भारत सरकारको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र अन्तर्राष्ट्रिय ठूला बिरालो प्रजाति गठबन्धन (आईबीसीए) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल, भेनेजुएला, कम्बोडिया र श्रीलङ्कालगायत ठूला बिरालो प्रजाति पाइने देशका मन्त्री तथा प्रतिनिधिहरूका साथै रामसार महासन्धि र संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरणविरुद्धको महासन्धि (यूएनसीसीडी) जस्ता अन्तर्राष्ट्रिय महासन्धि तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्व तथा संरक्षण विशेषज्ञहरूले ठूला बिरालो प्रजाति र तिनका बासस्थानको संरक्षणले जलवायु परिवर्तन न्यूनीकरण, पारिस्थितिकीय प्रणालीको उत्थानशीलता तथा दिगो विकासमा पुर्याउने योगदानबारे छलफल गरे। विश्वका सात प्रमुख ठूला बिरालो प्रजाति र तिनका बासस्थानको संरक्षणले कार्बन सञ्चिति गर्ने महत्त्वपूर्ण पारिस्थितिकीय क्षेत्रहरूको सुरक्षा, पारिस्थितिकीय सेवाको सुदृढीकरण, जलवायु परिवर्तनको प्रभाव सामना गर्ने क्षमता अभिवृद्धि तथा विश्वव्यापी जलवायु लक्ष्य प्राप्तिमा योगदान पुर्याउन सक्ने विषयमा छलफलका क्रममा जोड दिइयो। यस अवसरमा आईबीसीएका महानिर्देशक एसपी यादवले गठबन्धन तथा यसमा आबद्ध देशहरूमा ठूला बिरालो प्रजातिको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण पनि गर्नुभयो। कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ठूला बिरालो प्रजातिको संरक्षणका क्षेत्रमा भारतले गरेका प्रयासहरूको प्रशंसा गरे। विशेषगरी चितुवाको पुनःस्थापना कार्यक्रमलाई उनीहरूले भारतको महत्त्वपूर्ण संरक्षण प्रयासका रूपमा सराहना गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनामा स्थापना गरिएको अन्तर्राष्ट्रिय ठूला बिरालो प्रजाति गठबन्धन (आईबीसीए) ले विश्वव्यापी रूपमा ठूला बिरालो प्रजातिको संरक्षणलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। विश्वभर वन्यजन्तुको पुनःस्थापनाका क्रममा देखिएका चुनौतीहरूलाई उल्लेख गर्दै उहाँले आईबीसीएले भारतका सफल संरक्षणका नमुनाहरू साझा गर्ने, ज्ञानको आदानप्रदानलाई सहज बनाउने, अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने तथा विश्वभरका सातै प्रजातिका ठूला बिरालोको पुनःस्थापनाका लागि आवश्यक क्षमता अभिवृद्धि गर्ने साझा मञ्च प्रदान गरेको बताउनुभयो। भारतको बाघ संरक्षण यात्राले राजनीतिक प्रतिबद्धता, सुदृढ संस्थागत संरचना, निरन्तर लगानी तथा सामुदायिक सहभागिताको माध्यमबाट वन्यजन्तु संरक्षणलाई कसरी पारिस्थितिकीय सुरक्षा, जलवायु उत्थानशीलता र दिगो विकासको प्रभावकारी माध्यमका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो।
मन्त्री यादवले ठूला बिरालो प्रजातिको संरक्षणले कार्बन सञ्चिति गर्ने प्राकृतिक क्षेत्रहरूको संरक्षणका लागि प्रभावकारी मार्ग प्रदान गर्ने बताउनुभयो। उहाँले ठूला बिरालो प्रजातिले प्रत्यक्ष रूपमा कार्बन सञ्चिति नगरे पनि तिनको संरक्षणले कार्बन सञ्चिति गर्ने वन, घाँसेमैदान, सिमसार तथा पर्वतीय पारिस्थितिकीय प्रणालीको सुरक्षा गर्न, बासस्थानको क्षयीकरणबाट हुने कार्बन उत्सर्जन रोक्न तथा जलवायु उत्थानशीलता सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभयो। छाता प्रजातिका रूपमा ठूला बिरालोको संरक्षणले समग्र पारिस्थितिकीय प्रणालीको संरक्षणलाई प्रोत्साहन गर्ने र यसबाट हजारौँ अन्य प्रजातिका साथै यी प्राकृतिक क्षेत्रहरूमा निर्भर समुदायसमेत लाभान्वित हुने उहाँले उल्लेख गर्नुभयो। वन्यजन्तु संरक्षणलाई प्रकृतिमा आधारित जलवायु कार्ययोजनाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै उहाँले यसले उत्सर्जन न्यूनीकरणका प्रयासलाई पूरक सहयोग पुर्याउनुका साथै जैविक विविधता, पारिस्थितिकीय प्रणाली तथा जीविकोपार्जनमा समेत लाभ पुर्याउने बताउनुभयो।
प्रकृतिमा आधारित समाधानको उदाहरणका रूपमा भारतका बाघ संरक्षणका पहलहरूलाई उल्लेख गर्दै मन्त्री यादवले देशका ५८ वटा बाघ आरक्षले करिब ८५ हजार वर्ग किलोमिटर क्षेत्रफल ओगट्दै विशाल वन पारिस्थितिकीय प्रणाली र तिनमा सञ्चित कार्बनको संरक्षण गरिरहेको बताउनुभयो। यी प्राकृतिक क्षेत्रहरूले कार्बन सञ्चिति, पानी शुद्धीकरण, माटो संरक्षण तथा भूमिगत जल पुनर्भरणलगायतका महत्त्वपूर्ण पारिस्थितिकीय सेवाहरू प्रदान गर्छन्। यी क्षेत्रहरूबाट ६०० भन्दा बढी नदीको उद्गम हुने वा ती क्षेत्र हुँदै बग्ने तथ्यले जलाधार क्षेत्रका रूपमा बाघको बासस्थानको महत्त्वलाई पुष्टि गर्ने उहाँले उल्लेख गर्नुभयो। साथै, सामुदायिक सहभागिता, पर्यावरणमैत्री विकास तथा दिगो जीविकोपार्जनका पहलहरूले बाघ संरक्षणलाई समावेशी र दिगो बनाएको उहाँले बताउनुभयो।
भारतको बाघ संरक्षणमा प्राप्त सफलतालाई उल्लेख गर्दै मन्त्री यादवले यसको श्रेय निरन्तर राजनीतिक प्रतिबद्धता, सुदृढ कानुनी व्यवस्था तथा प्रभावकारी संस्थागत संयन्त्रलाई दिनुभयो। वन्यजन्तु (संरक्षण) ऐन, १९७२ र वैधानिक निकाय राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए) को सहयोगमा सञ्चालित बाघ परियोजनाले सुदृढ प्रशासनिक संरचना प्रदान गरेको उहाँले बताउनुभयो। सन् २०२२ मा भारतमा बाघको सङ्ख्या बढेर ३,६८२ पुगेको थियो, जुन विश्वका जङ्गली बाघको कुल सङ्ख्याको ७० प्रतिशतभन्दा बढी हो। केन्द्र तथा राज्य सरकारबाट निरन्तर बजेट विनियोजन, समर्पित अग्रपङ्क्तिका वन कर्मचारी, प्रविधिमा आधारित अनुगमन, वैज्ञानिक व्यवस्थापन तथा सामुदायिक संरक्षणको प्रयासले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको उहाँले जानकारी दिनुभयो। उहाँले बाघ परियोजनाबाट वार्षिक करिब ६० लाख श्रम-दिवस बराबरको रोजगारी सिर्जना हुने उल्लेख गर्दै बाघ संरक्षण हरित रोजगारी तथा सामुदायिक जीविकोपार्जनको सुरक्षाका लागि महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो।
*********
MPS/TWB