पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
azadi ka amrit mahotsav

भारत र स्विडेनद्वारा सीओपी३१ मा न्यून कार्बन औद्योगिक रूपान्तरणलाई तीव्रता दिन लिडआईटी ३.० को शुभारम्भ; ब्राजिल नयाँ सदस्य राष्ट्रका रूपमा सहभागी


लिडआईटी ३.० ले २०२७ देखि २०३० सम्म औद्योगिक परियोजनाहरूको विस्तार, पूँजी परिचालन तथा ठोस उपलब्धि हासिल गर्नमा केन्द्रित रहनेछ।

पोस्ट गरियो: 17 NOV 2026 12:59PM by PIB Gangtok

नयाँ दिल्ली, १७ नोभेम्बर २०२६

केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादवले आज टर्कीयेको अन्ताल्यामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (सीओपी३१) अन्तर्गत आयोजित उद्योग नेतृत्वकर्ताहरूको गोलमेच बैठकमा उद्योग रूपान्तरणका लागि नेतृत्व समूह (लिडआईटी ३.०) को तेस्रो चरणको शुभारम्भको घोषणा गर्नुभयो। उक्त गोलमेच बैठकको सह-अध्यक्षता मन्त्री श्री यादव र स्विडेनको जलवायु तथा उद्यम मन्त्रालयका राज्यमन्त्री महामहिम हेलेना डिर्सेनले गर्नुभएको थियो। यस अवसरमा संयुक्त राष्ट्रसङ्घका जलवायु कार्यसम्बन्धी विशेष सल्लाहकार तथा सहायक महासचिव श्री सेल्विन हार्ट पनि उपस्थित हुनुहुन्थ्यो।

सभालाई सम्बोधन गर्दै श्री यादवले भू-राजनीतिक द्वन्द्व, ऊर्जा बजारमा देखिएको अस्थिरता र विकासका प्रतिस्पर्धी प्राथमिकताहरूका कारण अन्तर्राष्ट्रिय सहयोग अझ महत्त्वपूर्ण बनेको बताउनुभयो। विशेषगरी कार्बन उत्सर्जन घटाउन कठिन रहेका औद्योगिक क्षेत्रहरूमा यस्तो सहयोगको महत्त्व रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले भारतको गरिबी निवारण, ऊर्जामा पहुँच, रोजगारी सिर्जना तथा पूर्वाधार विकासका प्राथमिकताहरू दिगो र न्यून कार्बनयुक्त भविष्य निर्माण गर्ने प्रयाससँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

भारतका जलवायुसम्बन्धी उपलब्धिहरू उल्लेख गर्दै मन्त्रीले  २००५ देखि २०२२ सम्म देशले उत्सर्जन तीव्रतामा ३७.३८ प्रतिशतले कमी ल्याएको र निर्धारित लक्ष्यभन्दा पाँच वर्षअघि नै गैर-जीवाश्म इन्धनमा आधारित स्थापित विद्युत् उत्पादन क्षमता ५० प्रतिशत पुगेको बताउनुभयो। भारतको अतिरिक्त वन कार्बन सञ्चिति पनि करिब २.४४ अर्ब टन कार्बन डाइअक्साइड समतुल्य पुगेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेका उपलब्धिहरूको उपस्थित प्रतिनिधिहरूले ताली बजाएर प्रशंसा गरे र जलवायु परिवर्तनविरुद्धको लडाइँमा देशको प्रतिबद्धतालाई अन्य राष्ट्रहरूका लागि मार्गदर्शक प्रकाशका रूपमा उल्लेख गरे। कार्बन उत्सर्जन घटाउन कठिन रहेका औद्योगिक क्षेत्रहरूलाई कार्बनमुक्त बनाउने भारतको प्रयासको श्री हार्ट र युरोपेली सङ्घले प्रशंसा गरे।

२०१९ मा भारत र स्विडेनद्वारा लिडआईटीको शुभारम्भ भएदेखि हासिल भएको प्रगतिको स्मरण गर्दै श्री यादवले यसको दोस्रो चरणअन्तर्गत भारत–स्विडेन औद्योगिक रूपान्तरण साझेदारीमा स्टिल र सिमेन्ट क्षेत्रमा ११ वटा प्रारम्भिक परीक्षण परियोजनालाई सहयोग पुर्‍याइएको तथा न्यून कार्बनयुक्त भारी मालवाहक यातायात क्षेत्रमा समेत सहकार्य विस्तार गरिएको उल्लेख गर्नुभयो। यी परियोजनाहरूमा हाइड्रोजनमा आधारित फलाम उत्पादन, औद्योगिक तापको विद्युतीकरण, कार्बन सङ्कलन तथा उपयोग, क्लिङ्करको विकल्पको प्रयोग, औद्योगिक चक्रीयता र सिमेन्टको माग घटाउन कृत्रिम बुद्धिमत्ताको प्रयोग समावेश छन्। लिडआईटीले जलवायु लगानी कोषअन्तर्गत दक्षिण अफ्रिकाको लगानी योजनाका साथै न्यून कार्बनयुक्त सिमेन्टसम्बन्धी इथियोपियाको पहललाई पनि सहयोग गरेको उहाँले जानकारी दिनुभयो।

मन्त्रीले लिडआईटीको सदस्यता विस्तार भएर हाल २० देश र ३३ वटा कम्पनी पुगेको जानकारी दिँदै ब्राजिललाई यसको नयाँ सदस्य राष्ट्रका रूपमा स्वागत गर्नुभयो। यसले विश्वव्यापी दक्षिणको आवाजलाई सुदृढ बनाउनुका साथै दक्षिण–दक्षिण सहकार्यका अवसरहरू विस्तार गर्ने उहाँले बताउनुभयो। २०२७ देखि २०३० सम्म सञ्चालन हुने लिडआईटी ३.० ले साझेदारी स्थापना गर्ने कार्यबाट औद्योगिक परियोजनाहरूको विस्तार, पूँजी परिचालन र ठोस नतिजा हासिल गर्ने दिशामा आफ्नो ध्यान केन्द्रित गर्नेछ। यसका तीन प्राथमिकतामा औद्योगिक परियोजनामार्फत प्रविधिको विकास तथा प्रसार, परियोजनाहरूलाई वित्तीय स्रोतसँग जोड्न पूँजी परिचालन तथा लगानी जोखिम न्यूनीकरण र कार्बन बजार तथा श्रमशक्तिको रूपान्तरणसहित क्षमता अभिवृद्धि र नीतिगत सहयोग समावेश छन्। स्टिल, सिमेन्ट र यातायात यसका मुख्य क्षेत्रका रूपमा कायम रहनेछन् भने यो मञ्च नयाँ क्षेत्र र प्रविधिहरूका लागि पनि खुला रहनेछ।

सम्भाव्यता अध्ययनबाट अघि बढेर परीक्षण परियोजना, प्रदर्शन तथा त्यसको पुनरावृत्तिमा जोड दिँदै श्री यादवले विभिन्न देश र कम्पनीहरूलाई यस पहलमा सहभागी हुन र औद्योगिक रूपान्तरणसम्बन्धी प्रतिबद्धताहरूलाई कार्यान्वयनमा परिणत गर्न आह्वान गर्नुभयो। उहाँले लिडआईटी ३.० को शुभारम्भ सीओपी३१ मा भइरहेको उल्लेख गर्दै सम्मेलनको अध्यक्ष राष्ट्रले यसलाई ‘कार्यान्वयनको सम्मेलन’ नाम दिएको बताउनुभयो। उहाँले औद्योगिक रूपान्तरणले श्रमिक, समुदाय र विकासशील अर्थतन्त्रहरूका लागि पनि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। आफ्नो सम्बोधनको अन्त्यमा मन्त्रीले विश्वव्यापी औद्योगिक रूपान्तरणलाई अघि बढाउन सामूहिक प्रयासको महत्त्वमाथि जोड दिनुभयो।

********

MPS/TWB


(रिलिज आईडी: 2337397) आगन्तुक काउन्टर : 19
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Gujarati , Tamil , Kannada , Malayalam