रक्षा मन्त्रालय
azadi ka amrit mahotsav

रक्षा बलले उदीयमान खतराहरूलाई सम्बोधित गर्न सर्वोच्च स्तरको परिचालन तयारी कायम गर्नुपर्नेछ। यसका लागि सबै क्षेत्रको स्थितिमाथि सतत निगरानी, साइबर सुरक्षा अनि सूचनाको विश्वसनीयताका साथै अखण्डता सुनिश्चित गर्न जोर दिनुपर्नेछ : बाघडुग्रा वायुसेना स्टेशनमा रक्षामन्त्रीको वक्तव्य


“बाघडुग्रामा तैनाथ वायु योद्धाहरूले देशको पूर्वी क्षेत्रको सुरक्षामा सुदृढ रक्षा कवचको भूमिका खेलिरहेका छन्”

“सेकेण्ड टूर अव् ड्युटी”को व्यवस्था अग्निवीरहरूका लागि दिवालीको एउटा महत्त्वपूर्ण उपहार हो : श्री राजनाथ सिंहको कथन

पोस्ट गरियो: 07 NOV 2026 1:44PM by PIB Gangtok

नयाँ दिल्ली, 07 नोभेम्बर 2026।

रक्षामन्त्री श्री राजनाथ सिंहले रक्षा बललाई हरेक समय उच्च स्तरको परिचालन तयारी कायम गर्न आह्वान गरेका छन्। उदीयमान सुरक्षा खतराहरूलाई प्रभावी ढङ्गले सम्बोधित गर्नका लागि क्षेत्रीय परिस्थितिको गहिरो बुझाई, साइबर आक्रमणलाई सल्टाउने क्षमता तथा सूचनाको विश्वसनीयता एवं अखण्डतालाई सुदृढ बनाउन उनले विशेष जोड दिएका छन्। पश्चिम बङ्गालको बाघडुग्रा वायुसेना स्टेशनमा 7 नोभेम्बर, 2026 को दिन दिवालीको पूर्व सन्ध्यामा भारतीय सेनाकर्मीहरूसँग कुरा गर्दै रक्षामन्त्रीले वर्तमान सुरक्षा परिदृश्य पहिलेभन्दा बढी जटिल बनेको उल्लेख गरे। युद्ध अब सीमाहरूमा हुने पारम्परिक सङ्घर्षसम्म सीमित नरहेर यसमा असमान युद्ध, छद्म युद्ध, साइबर आक्रमण, ड्रोनको झुण्ड, भ्रामक सूचना प्रवाह अनि विमर्शहरूलाई प्रभावित गर्ने जस्ता चुनौतीहरू पनि सामेल बनेको उनले बताए।

“प्रायः विरोधीले सीधा टक्करबाट जोगिँदै कमजोरीहरूको फाइदा उठाउने कोशिश गर्छन्। सोशल मिडियाको माध्यमद्वारा भ्रामक सूचना फैलाएर स्थानीय जनमानस अनि हाम्रा सैनिकहरूको मनमा सन्देह सिर्जना गर्नसक्छन्। यस्तो परिस्थितिमा तपाईंहरूको भूमिका एक सैनिकसम्म सीमित नरहेर त्यसको परिधि अरू व्यापक बनेर जान्छ,” रक्षामन्त्रीले बताए।

बाघडुग्रालाई विशेष पूर्वोत्तर क्षेत्रको सन्दर्भमा रणनीतिक रूपले महत्त्वपूर्ण क्षेत्र अनि देशको सुरक्षा तन्त्रका लागि अहम कडी रहेको श्री राजनाथ सिंहले उल्लेख गरे। राष्ट्रिय हितको रक्षाप्रति रक्षा बलका जवानहरूको साहस अनि समर्पणको उनले सराहना गरे। यस क्षेत्रमा तैनाथ वायु योद्धाहरूले पूर्वी इलाकाको सुरक्षामा बलियो रक्षा कवचको भूमिका खेल्छन्। यस क्षेत्रमा शान्ति एवं स्थिरता कायम गर्नका लागि उनीहरूको सतर्कता अनि परिचालन तयारी अति नै महत्त्वपूर्ण छ, उनले उल्लेख गरे।

तकनिकी प्रगति भए तापनि अनुशासन अनि साहसको महत्त्व सधैं रहने रक्षामन्त्रीले बताए। रक्षा बलका जवानहरूको आचरण, व्यवहार, भाषा अनि संयमले स्थानीय समुदायबीच सेनाको छवि निर्धारित गर्ने उनले जोड दिँदै बताए। यी गुणका साथ आफ्नो कर्तव्य निर्वहन गर्नका लागि सैनिकहरूको सराहना गर्दै रक्षामन्त्रीले विशेष गरी बाघडुग्रा अनि वरिपरीको क्षेत्रका स्थानीय जनमानसका साथ आफ्नो सम्बन्ध बलियो गर्न आग्रह गरे यसले आम जनता अनि रक्षा बलबीच विश्वास अनि आत्मीयताको नाता अरू बढी बलियो हुने उल्लेख गर्दै रक्षामन्त्रीले भने, “तपाईंहरू स्थानीय समुदायका साथ जति बढी जोडिनुहुनेछ, विरोधीहरूको षडयन्त्र त्यति नै कमजोर हुँदै जानेछ।”

आत्मनिर्भर भारतको लक्ष्य साकार गर्ने सरकारको सङ्कल्प दोहोऱ्याउँदै ड्रोन, ड्रोनरोधी प्रणाली अनि अत्याधुनिक सैन्य उपकरणहरूको विकासमा भारतीय स्टार्टअप्स अनि रक्षा उद्योगहरूको बढ्दो भूमिका श्री राजनाथ सिंहले रेखाङ्कित गरे। स्वदेसी तकनिकी अपनाउनका लागि रक्षा बलको सराहना गर्दै ड्रोन सञ्चालन अनि साइबर सुरक्षा जस्ता उदीयमान क्षेत्रमा नयाँ कौशल विकसित गर्नु समयको आवश्यकता रहेको उनले बताए। भविष्यको सुरक्षा चुनौतीहरूलाई प्रभावी ढङ्गले सामना गर्नका लागि सेनालाई आधुनिक तकनिकीले युक्त गर्नका साथै तकनिकी क्षमतालाई निरन्तर सुदृढ बनाउन रक्षामन्त्रीले जोड दिए।

अग्निवीरहरूका लागि “सेकेण्ड टूर अव् ड्युटी”लाई क्याबिनेटको अनुमोदन प्राप्त भएको विशेष उल्लेख गर्दै यस निर्णयपछि अग्निवीरहरूले एकपटक फेरि देशको सेवा गर्ने अवसर पाउने रक्षामन्त्रीले बताए। दुई वर्षको सेवा अवधि पूरा गरेपछि, इच्छुक अग्निवीरहरूलाई निर्धारित चयन मानदण्ड पूरा गरेपछि नियमित सैनिकका रूपमा सामेल हुने अवसर दिइने उनले बताए। यस निर्णयलाई अग्निवीरहरूका लागि दिवालीको विशेष उपहार बताउँदै, यसले रक्षा बलका जवानहरूका साथै उनीहरूका परिवारको कल्याणका लागि सरकारको प्रतिबद्धता दर्शाउने बताए।

वायुसेनाका कर्मी अनि उनीहरूका परिवारलाई दिवालीको शुभकामना दिँदै उनीहरूको राम्रो स्वास्थ्य, सुख एवं समृद्धिको उनले कामना गरे। चाड-पर्वका समय, आफ्नो परिवारदेखि टाढा रहे तापनि वायु योद्धाहरूले देशवासीको सुरक्षा सुनिश्चित गर्नका लागि पूरा निष्ठा अनि प्रतिबद्धताका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको उनले बताए। वायुसेनाका कर्मीहरूका परिवारको त्याग अनि योगदानका लागि उनले आभार व्यक्त गरे। यसका साथै एकातिर सैनिक देशको सीमाको रक्षाका लागि समर्पित रहेको र अर्कातिर देश उनीरूका परिवारका साथ खडा रही उनीहरूको खुशियाली सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले बताए।

यस अवसरमा वायुसेना प्रमुख एयर चीफ मार्शल आशुतोष दीक्षित, वायुसेना स्टेशन बाघडुग्राका एयर अफिसर कमाण्डिङ एयर कमोडोर मनीष शर्मा अनि भारतीय सेनाका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

*********

MPS/TWB


(रिलिज आईडी: 2334940) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , हिन्दी , Bengali , Assamese , Gujarati , Tamil