पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय
पूर्वोत्तर क्षेत्रका लागि परामर्शदात्री समितिद्वारा पीएम-डिभाइन योजनाको प्रगतिको व्यापक समीक्षा
विकास परियोजनाहरूको उत्तम निगरानी अनि समयमा कार्यान्वयनमाथि विशेष ध्यान केन्द्रित
प्रत्येक पूर्वोत्तर राज्यमा एकिकृत पर्यटन परिचक्र विकसित गर्ने योजनालाई समितिको समर्थन प्राप्त
केन्द्रिय मन्त्री ज्योतिरादित्य एम. सिन्धियाद्वारा संसदीय परामर्शदात्री समितिको बैठकको अध्यक्षता
प्रविष्टि तिथि:
04 DEC 2025 11:17AM by PIB Gangtok
पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको (एमडीओएनईआर) परामर्शदात्री समितिको बैठक 3 दिसम्बर, 2025 को दिन केन्द्रिय सञ्चार एवं पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य एम सिन्धियाको अध्यक्षतामा संसदीय परिसर भवनमा सम्पन्न भयो। बैठकमा केन्द्रिय शिक्षा एवं पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री श्री सुकान्त मजुमदार पनि सामेल थिए।
केन्द्रिय मन्त्री श्री सिन्धियाले लोकसभा अनि राज्यसभा समितिका सदस्यहरूलाई स्वागत जनाए। समितिको बैठक पूर्वोत्तर राज्यहरूमा निवेश अनि विकासको प्रगतिमाथि निरन्तर संवादको अभिन्न अङ्ग रहेको उनले बताए। परामर्शदात्री समितिको बैठकका समय सदस्यहरूको सक्रिय भागीदारी अनि बहुमूल्य अन्तरदृष्टिका लागि उनले आभार व्यक्त गरे।

पीएम-डिभाइन (पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्री विकास पहल), मन्त्रालयको सबैभन्दा महत्त्वपूर्ण योजना रहेको उल्लेख गर्दै श्री सिन्धियाले यस योजनाको परिकल्पना केन्द्रिय बजेट 2022-23 मा गरिएको अवगत गराए। यस योजनाको वर्ष 2022-23 देखि 2025-26 अवधिका लागि कूल परिव्यय ₹ 6,600 करोड रहेको र अक्टोबर 2025 सम्म करिब ₹ 5,700 करोड बराबरको 44 वटा परियोजनालाई अनुमोदन गरिसकिएको पनि जानकारी उनले दिए। करिब ₹176 करोड लागतको स्वीकृत परियोजनामध्ये तीनवटा पूरा भइसकेको र लगभग ₹5,500 करोड लागतको 41 वटा परियोजना हाल प्रगतिमा रहेको उनले बताए। यसबाहेक, ₹111 करोड लागतको परियोजनालाई सैद्धान्तिक रूपमा स्वीकृति दिइएको र ₹625 करोड लागतका अन्य परियोजना पाइपलाइनमा रहेको अवगत गराए। मन्त्रालय योजना परिव्यय पूर्णरूपले उपयोग गर्ने दिशामा अग्रसर रहेको पनि स्पष्ट पारे।

समितिका सदस्यहरूद्वारा उठाइएका प्रश्नको उत्तर दिँदै केन्द्रिय मन्त्रीले आसम, नागाल्याण्ड, मिजोरम अनि त्रिपुरामा कार्यान्वयन अन्तर्गत परियोजनाहरूको विशेष विवरण प्रस्तुत गरे। त्रिपुरामा पर्यटन क्षेत्रका परियोजनाहरूको निम्ति एउटा सुझाउमाथि मन्त्री सिन्धियाले राज्य सरकारहरूको परामर्शमा चिन्हित अनि चयनित स्थानमा, प्रत्येक पूर्वोत्तर राज्यमा विश्व स्तरीय सुविधाका साथ पर्यटन परिचक्र विकसित गरिने जानकारी दिए। शुरुवातमा मेघालयमा सोहरा परिचक्र अनि त्रिपुरामा माताबारी परिचक्रलाई प्रायोगिक आधारमा ग्रहण गरिनेछ। मेघालय-सोहरा परिचक्रको आधारशिला राखिसकिएको छ भने त्रिपुरा माताबारी परिचक्र अनुमोदनको अन्तिम चरणमा छ, उनले जानकारी दिए। बुनियादी पूर्वाधारलाई सुदृढ बनाउनका अतिरिक्त पर्यटन परिचक्र परियोजनामा पर्यटनमा वृद्धि अनि उत्तम पर्यटक अनुभवका लागि उत्तम गुणस्तरको कुशल जनशक्तिको उपलब्धता सुनिश्चित गर्न क्षमता निर्माणमाथि प्रबलताका साथ ध्यान दिइने पनि उनले बताए।

केन्द्रिय मन्त्री सिन्धियाले पीएम-डिभाइन परियोजनाको निगरानी एउटा दृढ अनि बहुस्तरीय तन्त्रको माध्यमद्वारा गरिने र यसको साप्ताहिक समीक्षा गर्ने गरिएको पनि अवगत गराए। प्रत्येक परियोजनालाई अपेक्षित अनि वास्तविक समय सीमाको आधारमा निगरानी गरिने र ती समीक्षाका बेला समयअङ्कित स्वीरहरूको माध्यमद्वारा भौतिक प्रगतिको आकलन गर्ने गरिन्छ। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय अनि पूर्वोत्तर परिषदका (एनईसी) अधिकारीहरूले धरातल स्तरमा निरीक्षण गर्नका साथै जवाफदेयता सुनिश्चित गर्न तृतीय पक्ष मूल्याङ्कन तन्त्रद्वारा पनि यसको अनुपूरण गरिन्छ, उनले जानकारी दिए।
केन्द्रिय मन्त्री सिन्धियाले पूर्वोत्तर क्षेत्रमा तीव्र, पारदर्शी अनि परिणाममुखी विकास सुनिश्चित गर्न सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै यसमा पीएम-डिभाइनले बुनियादी पूर्वाधार अनि सामाजिक-आर्थिक परिवर्तनको निम्ति प्रमुख उत्प्रेरकका रूपमा काम गर्ने पनि स्पष्ट पारे।
********
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2198707)
आगंतुक पटल : 7