प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले राजस्थानको सिकरमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास र राष्ट्रलाई समर्पण गरे


1.25 लाखभन्दा बढी पीएम किसान समृद्धि केन्द्रहरू समर्पित गरियो

पीएम - किसान अन्तर्गत लगभग 17,000 करोड रुपियाँको 14 औँ किस्ताको रकम जारी

ओपन नेटवर्क फर डिजिटल कमर्स (ओएनडीसी) मा 1600 किसान उत्पादक सङ्गठनहरूलाई सामेल गर्ने पहल शुरु

यूरिया गोल्ड - सल्फर लेपित यूरिया लोकार्पित

5 नयाँ मेडिकल कलेजको उद्घाटन र 7 मेडिकल कलेजको शिलान्यास

“केन्द्र सरकारले किसानको पीड़ा र आवश्यकता बुझेको छ”

“सरकारले युरियाको मूल्यले हाम्रा किसानहरूलाई सताउन दिने छैन। किसानहरू जब युरिया किन्न जान्छन्, तब मोदीको ग्यारेन्टी छ भन्ने विश्वास हुन्छ”

“विकसित गाउँले मात्रै भारत विकसित हुन सक्छ”

“राजस्थानमा आधुनिक पूर्वाधार निर्माण गर्नु हाम्रो प्राथमिकता हो”

“हामी सबैले सारा संसारमा राजस्थानको गौरव र सम्पदालाई नयाँ पहिचान दिनेछौँ”

Posted On: 27 JUL 2023 1:03PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज राजस्थानको सिकरमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरेर राष्ट्रलाई समर्पित गरे। परियोजनाहरूमा राष्ट्रलाई 1.25 लाखभन्दा बढी पीएम किसान समृद्धि केन्द्रहरू (पीएमकेएसके) समर्पण गर्ने, सल्फर कोटेड युरियाको नयाँ विविधता युरिया गोल्डको शुभारम्भ, डिजिटल कमर्सका लागि खुल्ला नेटवर्क (ओएनडीसी) मा 1600 किसान उत्पादक संस्थाहरू (एफपीओ) लाई सामेल गर्ने, 8.5 करोड लाभार्थीहरूलाई प्रधानमन्त्री किसान सम्मान निधि (पीएम - किसान) अन्तर्गत लगभग 17,000 करोड रुपियाँको 14औँ किस्ताको रकम जारी, चित्तौडगढ, ढोलपुर, सिरोही, सिकर र श्री गंगानगरमा 5 नयाँ मेडिकल कलेजको उद्घाटन गर्दै, बारान, बुन्दी, करौली, झुन्झुनु, सवाई माधोपुर, जैसलमेर र टोङ्कमा 7 मेडिकल कलेजको शिलान्यास अनि र उदयपुर, बाँसवारा, प्रतापगढ र डुङ्गरपुर जिल्लाहरूमा अवस्थित 6 एकलव्य मोडेल आवासीय विद्यालय र केन्द्रीय विद्यालय तिवरी, जोधपुरको उद्घाटन गरियो।

कार्यक्रम स्थलमा पुगेर प्रधानमन्त्रीले प्रधानमन्त्री किसान समृद्धि केन्द्रको नमुनाको अवलोकन गरेका थिए। भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आजको कार्यक्रममा देशका विभिन्न स्थानबाट सामेल भएका करोडौँ किसानप्रति श्रद्धाञ्जली अर्पण गर्दै खातु श्याम जीको भूमिले भारतका कुना-कुनाका तीर्थयात्रीहरूलाई आश्वस्त पारेको बताए। उनले शेखावतीको वीर भूमिबाट विभिन्न विकासका कार्यक्रम शुरु गर्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) अन्तर्गतको किस्ता करोडौँ किसान लाभार्थीमा प्रत्यक्ष हस्तान्तरण गरेको उल्लेख गरे। देशमा 1.25 लाखभन्दा बढी पीएम किसान समृद्धि केन्द्रहरूको समर्पणको बारेमा बोल्दै प्रधानमन्त्रीले भने कि यसले गाउँ र ब्लक स्तरका करोडौँ किसानहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने छ। उनले ओपन नेटवर्क फर डिजिटल कमर्स (ओएनडीसी) मा कृषक उत्पादक संस्था (एफपीओ) को सामेलीको उल्लेख गर्दै यसले किसानलाई देशको जुनसुकै भागबाट पनि आफ्नो उत्पादन बजारमा लैजान सहज हुने बताए। उनले युरिया गोल्ड, नयाँ मेडिकल कलेज र एकलव्य मोडल स्कूलको शुभारम्भ गरेको पनि बताए। प्रधानमन्त्रीले आजका विकास परियोजनाहरूका लागि भारतका जनता र करोडौँ किसानहरूलाई बधाई दिए।

सिकर र शेखावती क्षेत्रका कृषकहरूको महत्त्व स्मरण गर्दै प्रधानमन्त्रीले भूभागको कठिनाइका बाबजुद पनि उनीहरूको मेहनतलाई सम्मान जनाए। केन्द्रको वर्तमान सरकारले किसानको पीड़ा र आवश्यकता बुझेको प्रधानमन्त्रीले बताए। प्रधानमन्त्रीले विगत 9 वर्षमा कसरी बीउदेखि बजारसम्म (बीज से बजार तक) नयाँ प्रणाली सिर्जना भएको बताए। उनले सन् 2015 मा सुरतगढमा माटो स्वास्थ्य कार्ड योजना शुरु भएको स्मरण गरे। यस योजना मार्फत करोडौँ किसानले माटोको स्वास्थ्यको बारेमा जानकारीका आधारमा इष्टतम निर्णय गरिरहेका छन्। उनले भने कि 1.25 पीएम किसान समृद्धि केन्द्रहरू (पीएमकेएसके) ले किसानहरूको समृद्धिको लागि मार्ग प्रशस्त गर्नेछ। यी केन्द्रहरूलाई कृषकहरूको आवश्यकतालाई ध्यानमा राखेर वन स्टप पसलको रूपमा विकास गरिएको हो। यी केन्द्रहरूले कृषकहरूलाई कृषि सम्बन्धी विषयहरूमा उन्नत आधुनिक जानकारी पनि उपलब्ध गराउनेछन्। अनि यी केन्द्रहरूले सरकारका कृषि योजनाहरूको बारेमा पनि समयमै जानकारी दिनेछन्। प्रधानमन्त्रीले कृषकहरूलाई केन्द्रमा गएर त्यहाँ उपलब्ध ज्ञानबाट लाभ उठाउन सल्लाह दिए। प्रधानमन्त्रीले यस वर्ष समाप्त हुनअघि थप 1.75 लाख पीएम किसान समृद्धि केन्द्र (पीएमकेएसके) स्थापना गरिने जानकारी दिए।

प्रधानमन्त्रीले वर्तमान सरकारले कृषकको खर्च घटाएर विपद्को घडीमा सहयोग गर्नका लागि हरसम्भव प्रयास गरिरहेको बताए। प्रधानमन्त्री किसान सम्मान निधिको सन्दर्भमा प्रधानमन्त्रीले भने कि यो संसारको सबैभन्दा ठूलो योजना हो जहाँ सीधै किसानको ब्याङ्क खातामा रकम पठाइन्छ। आजको 14औँ किस्ता समावेश गर्ने हो भने अहिलेसम्म 2 लाख 60 हजार करोड रुपियाँभन्दा बढी सिधै किसानको ब्याङ्क खातामा जम्मा भइसकेको छ र विभिन्न खर्च धान्न किसानलाई फाइदा भएको उनले जानकारी दिए। उनले देशमा युरियाको मूल्य सरकारले किसानको खर्च जोगाएको उदाहरण भएको बताए। कोरोना भाइरसको महामारी र रुस-युक्रेन युद्धले मल क्षेत्रमा ठूलै अवरोध सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले यसको असर देशका किसानलाई हुन नदिने बताए। मलको मूल्यबारे बोल्दै प्रधानमन्त्रीले भारतमा 266 रुपियाँ पर्ने युरियाको झोला पाकिस्तानमा करिब 800, बाङ्ग्लादेशमा 720, चीनमा 2100 र अमेरिकामा झण्डै 3000 रुपियाँ पर्ने बताए। “सरकारले युरियाको मूल्यले हाम्रा किसानहरूलाई सताउन दिनेछैन”, श्री मोदीले भने, “जब किसान युरिया किन्न जान्छन्, तब यो मोदीको ग्यारेन्टी हो भन्ने विश्वास हुन्छ।”

प्रधानमन्त्रीले कोदोको प्रवर्द्धन र कोदोलाई श्री अन्नको रूपमा ब्रान्डिङ गर्ने जस्ता उपायबारे बताए। श्री अन्नको प्रवर्द्धनबाट यसको उत्पादन, प्रशोधन र निर्यात बढ्दै गएको उनले बताए। उनले आफ्नो भर्खरैको भ्रमणको क्रममा आधिकारिक ह्वाइट हाउस डिनरमा कोदोको उपस्थितिको स्मरण गरे।

प्रधानमन्त्रीले भने, “गाउँको विकास भयो भने मात्र भारतको विकास सम्भव छ। भारत विकसित गाँउहरू भए मात्र विकसित हुन सक्छ। त्यसैले सरकारले गाउँमा सबै सुविधा उपलब्ध गराउने काम गरिरहेको छ, जुन अहिलेसम्म शहरमा मात्रै उपलब्ध थियो।” विस्तार भइरहेको स्वास्थ्य पूर्वाधारको उल्लेख गर्दै प्रधानमन्त्रीले राजस्थानमा 9 वर्षअघिसम्म 10 मेडिकल कलेज मात्रै रहेको बताए। आज यो सङ्ख्या 35 पुगेको छ। यसले छिमेकी क्षेत्रहरूमा चिकित्सा सुविधा सुधार गर्दै मेडिकल विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गरिरहेको छ। उनले आज उद्घाटन भएका मेडिकल कलेज र शिलान्यास भएकाले राज्यका धेरै क्षेत्रमा मेडिकल पूर्वाधारमा सुधार आउने बताए। चिकित्सा शिक्षा पहुँचयोग्य बनाउँदै गएकाले मातृभाषामा चिकित्सा शिक्षा उपलब्ध गराउने, यसलाई थप लोकतान्त्रिक बनाउने र विपन्न वर्गका लागि बाटो खोल्ने कदम चालेको पनि प्रधानमन्त्रीले बताए। “अब कुनै गरीबका छोरा वा छोरी अङ्ग्रेजी नजान्दा डाक्टर बन्ने अवसरबाट वञ्चित हुनुपर्ने छैन। यो पनि मोदीको ग्यारेन्टी हो।”

दशकौँदेखि गाउँमा राम्रो विद्यालय र शिक्षा नहुँदा गाउँ र गरीब पनि पछाडि परेको जनाउँदै प्रधानमन्त्रीले पछाड़िएका आदिवासी जनजाति समुदायका बालक - बालिकाको सपना पूरा गर्ने साधन नभएकोमा दुःख व्यक्त गरे। श्री मोदीले वर्तमान सरकारले शिक्षाको लागि बजेट र स्रोत बढाएको र एकलव्य आवासीय विद्यालयहरू खोलेको उल्लेख गरे जसले आदिवासी युवाहरूलाई ठूलो फाइदा पुगेको छ।

 

“सपना ठूला भए मात्रै सफलता ठूलो हुन्छ”, प्रधानमन्त्रीले भने। राजस्थान शताब्दीयौंदेखि विश्वलाई मोहित बनाएको राज्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राजस्थानलाई आधुनिक विकासको उँचाइमा पुर्याउँदै भूमिको सम्पदाको संरक्षणमा जोड दिए। त्यसैले राजस्थानमा आधुनिक पूर्वाधार निर्माण गर्नु हाम्रो प्राथमिकता रहेको प्रधानमन्त्रीले बताए। उनले पछिल्ला केही महिनामा दुई हाई-टेक एक्सप्रेसवेको उद्घाटनको उल्लेख गरे अनि राजस्थानले दिल्ली-मुम्बई एक्सप्रेसवे र अमृतसर-जामनगर एक्सप्रेसवेको एक प्रमुख खण्ड मार्फत विकासको नयाँ गाथा लेखिरहेको बताए। उनले राज्यबाट चलिरहेको वन्दे भारत एक्सप्रेस ट्रेनको पनि उल्लेख गरे। श्री मोदीले भने कि सरकारले पूर्वाधारमा लगानी गरिरहेको छ र पर्यटनसँग सम्बन्धित सुविधाहरूको विकास गरिरहेको छ जसले राजस्थानका लागि पनि नयाँ अवसरहरू सिर्जना गर्नेछ। “राजस्थानले ‘पधारो म्हारे देश’ भनेर बोलाउँदा एक्सप्रेसवे र राम्रो रेल सुविधाले पर्यटकहरूलाई स्वागत गर्नेछ”, उनले भने। प्रधानमन्त्रीले स्वदेश दर्शन योजना अन्तर्गत खातु श्यामजी मन्दिरमा भएका सुविधाहरूको विस्तारमा पनि जोड दिँदै श्री खातुश्यामको आशीर्वादले राजस्थानको विकासले थप गति लिने विश्वास व्यक्त गरे। “हामी सबैले राजस्थानको गौरव र सम्पदालाई सारा संसारमा नयाँ पहिचान दिनेछौँ”, श्री मोदीले भने।

केही समयदेखि बिरामी रहेका र कार्यक्रममा आउन नसकेका राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले आफ्नो सम्बोधन समाप्त गरे।

राजस्थानका राज्यपाल श्री कलराज मिश्र, केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री श्री नरेन्द्र सिंह तोमर, केन्द्रीय जल शक्ति मन्त्री श्री गजेन्द्र सिंह शेखावत, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री श्री मनसुख माण्डविया, केन्द्रीय विधि तथा कानून मन्त्री श्री अर्जुन राम मेघवाल र केन्द्रीय कृषि र किसान कल्याण राज्य मन्त्री श्री कैलाश चौधरी यस अवसरमा उपस्थित थिए।

पृष्ठभूमि

किसानहरूलाई लाभान्वित गर्ने महत्त्वपूर्ण कदममा प्रधानमन्त्रीले 1.25 लाखभन्दा बढी पीएम किसान समृद्धि केन्द्रहरू (पीएमकेएसके) राष्ट्रलाई समर्पित गरे। पीएमकेएसके सबै किसानहरूको आवश्यकताको लागि एक-स्टप समाधान प्रदान गर्न विकास भइरहेको छ। माटो, बीउ र मलका लागि कृषि सामग्रीहरू (उर्वर, बीउ, औजारहरू) को जानकारीदेखि लिएर विभिन्न सरकारी योजनाहरूको जानकारीसम्म, पीएमकेएसकेलाई देशका किसानहरूका लागि भरपर्दो समर्थन प्रणाली बन्ने परिकल्पना गरिएको छ। उनीहरूले ब्लक / जिल्ला स्तरका आउटलेटहरूमा मल खुद्रा विक्रेताहरूको नियमित क्षमता निर्माण सुनिश्चित गर्नेछन्।

प्रधानमन्त्रीले सल्फरको लेप गरिएको युरियाको नयाँ विविधता युरिया गोल्डको शुभारम्भ गरे। सल्फर लेपित यूरियाको परिचयले माटोमा सल्फरको कमीलाई सम्बोधन गर्नेछ। यो अभिनव मल नीम-कोटेड युरियाभन्दा बढी किफायती तथा प्रभावकारी छ, बिरुवाहरूमा नाइट्रोजन प्रयोग दक्षता सुधार गर्दछ, मलको खपत घटाउँछ र बालीको गुणस्तर बढाउँछ।

 

कार्यक्रममा प्रधानमन्त्रीले ओपन नेटवर्क फर डिजिटल कमर्स (ओएनडीसी) मा 1600 किसान उत्पादक संस्था (एफपीओ) को सामेलीलाई शुभारम्भ गरे। ओएनडीसीले एफपीओलाई डिजिटल मार्केटिङ, अनलाइन भुक्तानी, व्यापारदेखि व्यापार (बी2बी) र व्यवसायदेखि उपभोक्ता लेनदेनमा प्रत्यक्ष पहुँचको साथ सशक्त बनाउँछ र स्थानीय मूल्य अभिवृद्धिलाई प्रोत्साहित गर्दछ, ग्रामीण क्षेत्रमा रसदको वृद्धिलाई उत्प्रेरित गर्दछ।

किसानको हितमा प्रधानमन्त्रीको प्रतिबद्धताको अर्को उदाहरण देखाउने एउटा कदमका रूपमा प्रधानमन्त्री किसान सम्मान निधि (पीएम - किसान) अन्तर्गत लगभग 17,000 करोड रुपियाँको 14 औँ किस्ता रकम 8.5 करोडभन्दा बढी लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरणमार्फत जारी गरिएको थियो।

प्रधानमन्त्रीले चित्तौडगढ, ढोलपुर, सिरोही, सिकर र श्री गङ्गानगरमा पाँच नयाँ मेडिकल कलेजको उद्घाटन गर्नुका साथै बारान, बुन्दी, करौली, झुन्झुनु, सवाई माधोपुर, जैसलमेर र टोङ्कमा सातवटा मेडिकल कलेजको शिलान्यास गरेपछि राजस्थानले स्वास्थ्य पूर्वाधारमा ठूलो विस्तार देख्नेछ। मेडिकल कलेजहरू विद्यमान जिल्ला / रेफरल अस्पतालहरूसँग संलग्न नयाँ मेडिकल कलेजहरूको स्थापनाको लागि केन्द्रीय प्रायोजित योजना अन्तर्गत स्थापना भइरहेका छन्। प्रधानमन्त्रीले उद्घाटन गरेका पाँच मेडिकल कलेजहरू 1400 करोड रुपियाँभन्दा बढीको सञ्चयी लागतमा विकसित भएका छन्, जबकि शिलान्यास हुने सात मेडिकल कलेजहरू 2275 करोड रुपियाँको सञ्चयी लागतमा निर्माण हुनेछन्। 2014 सम्म राजस्थान राज्यमा केवल 10 मेडिकल कलेजहरू थिए। केन्द्र सरकारको समर्पित प्रयासबाट राज्यमा मेडिकल कलेजहरूको सङ्ख्या बढेर 35 पुगेको छ, जुन 250% वृद्धि हो। यी 12 नयाँ मेडिकल कलेजहरूको स्थापनाले राज्यमा एमबीबीएस सिट सङ्ख्या 2013-14 मा 1750 सिटबाट बढेर 6275 सिट पुग्नेछ, जुन 258 प्रतिशतले वृद्धि हुनेछ।

यसबाहेक, प्रधानमन्त्रीले उदयपुर, बाँसवारा, प्रतापगढ र डुङ्गरपुर जिल्लाहरूमा अवस्थित छः वटा एकलव्य नमूना आवासीय विद्यालयको उद्घाटन गरे, जसले यी जिल्लाहरूमा बसोबास गर्ने आदिवासी जनजातिहरूलाई लाभान्वित हुनेछ। कार्यक्रममा उनले केन्द्रीय विद्यालय तिवरी, जोधपुरको पनि उद्घाटन गर्नेछन्।

*****



(Release ID: 1943308) Visitor Counter : 106