रक्षा मन्त्रालय
azadi ka amrit mahotsav

नयाँ दिल्लीमा ६६औँ एनडीसी कोर्सको दीक्षान्त तथा समापन समारोहलाई रक्षामन्त्रीद्वारा सम्बोधन



बदलिँदो भूराजनीतिक परिस्थितिबीच तत्कालका खतराहरूको सामना गर्दै भविष्यका सुरक्षा चुनौतीहरूको तयारी गर्नु आजको आवश्यकता हो: श्री राजनाथ सिंह

पोस्ट गरियो: 26 NOV 2026 2:56PM by PIB Gangtok

नयाँ दिल्ली, 26 नोभेम्बरः

रक्षामन्त्री श्री राजनाथ सिंहले बदलिँदो भूराजनीतिक परिस्थिति र युद्धको स्वरूपमा आइरहेको परिवर्तनबाट उत्पन्न तत्कालका खतराहरूको प्रभावकारी रूपमा सामना गर्नुका साथै भविष्यको सुरक्षा वातावरणका लागि उदीयमान जोखिमहरूको पूर्वानुमान गर्न, वैकल्पिक परिदृश्यहरूको अध्ययन गर्न र संस्थाहरूलाई तयार पार्न आह्वान गर्नुभएको छ। उहाँले २६ नोभेम्बर २०२६ मा नयाँ दिल्लीमा आयोजित ६६औँ राष्ट्रिय रक्षा कलेज (एनडीसी) कोर्सको दीक्षान्त तथा समापन समारोहलाई सम्बोधन गर्दै विश्वव्यापी शक्ति सन्तुलनमा आइरहेको परिवर्तन, रणनीतिक प्रभावका नयाँ केन्द्रहरूको उदय र परम्परागत गठबन्धनहरूको पुनर्संयोजनसँगै द्वन्द्वको बदलिँदो स्वरूपले सुरक्षा वातावरणलाई झनै जटिल बनाएको बताउनुभयो।

रक्षामन्त्रीले परम्परागत सैन्य खतरासँगै साइबर आक्रमण, दुष्प्रचार, आर्थिक दबाब, आपूर्ति शृङ्खलामा अवरोध तथा हाइब्रिड युद्धका अन्य स्वरूपहरू पनि बढ़्दो रूपमा देखा परिरहेको बताउनुभयो। यसले आन्तरिक र बाह्य सुरक्षा तथा शान्ति र द्वन्द्वबीचको सीमालाई अस्पष्ट बनाइरहेको उहाँको भनाइ थियो। उहाँले भारतको भौगोलिक अवस्थिति, विस्तृत स्थलसीमा, सामुद्रिक हित तथा बढ़्दो अन्तरराष्ट्रिय जिम्मेवारीले देशलाई जटिल रणनीतिक वातावरणमा राखेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि दूरदर्शी दृष्टिकोण आवश्यक रहेको विषयमा जोड़ दिनुभयो।

रणनीतिक अध्ययनलाई राष्ट्रिय सुरक्षा नीति निर्माणसँग जोड़्नुपर्ने आवश्यकता औँल्याउँदै श्री राजनाथ सिंहले एनडीसीले रक्षा बल, सिभिल सेवा तथा मित्रराष्ट्रका वरिष्ठ अधिकारीहरूको सामूहिक व्यावसायिक अनुभव र बौद्धिक क्षमताको उपयोग गर्ने मूल्यवान् मञ्च प्रदान गरिरहेको बताउनुभयो। उहाँले भारतको राष्ट्रिय सुरक्षा नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउन यस बौद्धिक पुँजीको अझ अधिक उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो।

 

रक्षामन्त्रीले रक्षा मन्त्रालयसँगको परामर्शमा प्रत्येक कोर्सका क्रममा गहन अध्ययनका लागि राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण समसामयिक चुनौतीहरू पहिचान गर्ने संयन्त्रलाई एनडीसीले संस्थागत गर्नुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार यस्ता विषय भारतको रणनीतिक छिमेकी, सीमा व्यवस्थापन, सामुद्रिक सुरक्षा, महत्त्वपूर्ण प्रविधि, आर्थिक सुरक्षा, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण तथा विकसित हुँदै गरेका आन्तरिक र बाह्य खतरासँग सम्बन्धित हुन सक्छन्।

श्री राजनाथ सिंहले एनडीसीलाई अर्को यस्तो संयन्त्र विकास गर्न पनि आग्रह गर्दै, सेवारत वरिष्ठ सैन्य अधिकारी, सिभिल सेवाका अधिकारी तथा अन्य सम्बन्धित निकायका अधिकारीहरूलाई राष्ट्रले सामना गरिरहेका विशिष्ट समसामयिक चुनौतीहरू कोर्सका सहभागीहरूबाट अध्ययन गराउन औपचारिक रूपमा प्रस्तुत गर्न आमन्त्रण गर्न सकियोस् भन्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यी चुनौतीहरू विभिन्न मन्त्रालय तथा संस्थाहरूले सामना गरिरहेका वास्तविक सञ्चालनगत, रणनीतिक, प्रशासनिक तथा नीतिगत सरोकारहरूबाट लिन सकिन्छ। यसले वास्तविक संसारका मुद्दाहरूलाई एनडीसीको शैक्षिक ढाँचामा समावेश गर्नेछ र तिनलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्ने अवसर प्रदान गर्नेछ।”

शैक्षिक अनुसन्धानलाई कार्यान्वयनयोग्य नीतिगत सुझावमा रूपान्तरण गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिँदै रक्षामन्त्रीले कोर्सका सहभागीहरूले गर्ने अनुसन्धान शैक्षिक शोधपत्र वा कक्षाकोठाभित्रको छलफलमा मात्र सीमित रहन नहुने बताउनुभयो। उहाँले छनोट गरिएका अध्ययनहरूबाट विशिष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य सुझावसहितका विस्तृत प्रतिवेदन तयार हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँकाअनुसार यस्ता प्रतिवेदन औपचारिक रूपमा रक्षा मन्त्रालय तथा आवश्यकताअनुसार अन्य सम्बन्धित मन्त्रालयमा पेस गरिनुका साथै विचारार्थ सरकारका उपयुक्त तहसमक्ष प्रस्तुत गरिनुपर्छ।

“एनडीसीको प्रत्येक कोर्सले रणनीतिक नेतृत्वका लागि प्रशिक्षित अधिकारीहरूको एउटा समूह मात्र तयार  नगरेर राष्ट्रको संस्थागत ज्ञान र राष्ट्रिय सुरक्षा तयारीमा योगदान पुर्‍याउने अनुसन्धान, विश्लेषण तथा नीतिगत सुझावहरूको भण्डार पनि तयार गर्नुपर्छ। एनडीसीमा सिर्जना हुने बौद्धिक पुँजीले हाम्रो रणनीतिक सोच र नीति निर्माण प्रक्रियामा अर्थपूर्ण अभिव्यक्ति पाउनुपर्छ। यसका लागि गतिशील सम्बन्ध नै मुख्य कुरा हो,” श्री राजनाथ सिंहले भन्नुभयो।

रक्षामन्त्रीले वास्तविक संसारमा, विशेषगरी राष्ट्रिय सुरक्षाका विषयमा, निर्णय लिनअघि नेताहरूले विरलै मात्र पूर्ण जानकारी प्राप्त गर्ने वा सबै सम्भावित विकल्पहरूको अध्ययन गर्ने सुविधा पाउने बताउनुभयो। उहाँले रणनीतिक नेतृत्वका लागि उपलब्ध विकल्पहरूको मूल्याङ्कन गर्दै तिनका व्यापक सञ्चालनगत, आर्थिक, कूटनीतिक तथा संस्थागत प्रभावप्रति सचेत रहेर सुविचारित निर्णय लिनु आवश्यक रहेकोमा जोड़ दिनुभयो।

श्री राजनाथ सिंहले उदीयमान प्रविधिहरू समावेश गरेर एनडीसीमा रणनीतिक गेमिङ अभ्यासहरूलाई थप सुदृढ़ बनाउन आह्वान गर्नुभयो। उहाँका अनुसार यस्ता अभ्यासहरूले थप गतिशील र वास्तविक परिदृश्यहरू सिर्जना गर्न, वैकल्पिक कार्ययोजनाहरूको अध्ययन गर्न तथा रणनीतिक छनोटका व्यापक र प्रायः अप्रत्याशित परिणामहरू बुझ्न सहभागीहरूलाई सक्षम बनाउनुपर्छ।

भारतको रणनीतिक अध्ययनको प्रमुख संस्थाका रूपमा एनडीसीको वर्णन गर्दै रक्षामन्त्रीले यस कलेजको सबैभन्दा ठूलो शक्ति वरिष्ठ सैन्य अधिकारी, सिभिल अधिकारी तथा अन्तरराष्ट्रिय सहभागीहरूलाई एउटै मञ्चमा ल्याउनु र उनीहरूलाई विभिन्न क्षेत्रका जटिलताका साथै अन्तरराष्ट्रिय दृष्टिकोणहरूबारे अध्ययन गर्ने विशिष्ट अवसर प्रदान गर्नु रहेको बताउनुभयो। रक्षा मन्त्रीअनुसार यस संस्थाले एकै ठाउँमा ल्याउने अनुभव र दृष्टिकोणको विविधता त्यस्तो समयमा मूल्यवान् रहेको छ, जतिबेला राष्ट्रिय सुरक्षा चुनौतीहरू संस्थागत तथा भौगोलिक सीमाभन्दा पर फैलिँदै गएको छ।

श्री राजनाथ सिंहले एनडीसीमा कृत्रिम बुद्धिमत्ता (एआई), मेशिन लर्निङ, रोबोटिक्स, मानवरहित स्वायत्त सवारीसाधन, एयरोस्पेस प्रविधि, सेमिकन्डक्टर तथा अन्य उदीयमान प्रविधिसम्बन्धी विशेष सत्रहरू शुरु गरिएकोमा प्रशंसा गर्नुभयो। उहाँले समर्पित एआई क्याप्सुलको शुरुवात तथा रणनीतिक गेमिङ अभ्यासहरूमा क्लोज्ड-लुप एआई अवधारणाको समावेशलाई पनि स्वागत गर्नुभयो। यस्ता पहलहरूले कोर्सलाई समसामयिक आवश्यकतासँग थप सान्दर्भिक बनाउनुका साथै भविष्यका रणनीतिक नेताहरूलाई उदीयमान प्राविधिक विकासबारे परिचित गराउने उहाँले बताउनुभयो।

रक्षामन्त्रीले एनडीसीले गरेको शैक्षिक रूपान्तरणको पनि प्रशंसा गर्नुभयो। उहाँले आईआईटी मद्रासको मार्गदर्शनमा सञ्चालन गरिएको रणनीतिक नेतृत्व तथा सार्वजनिक नीतिसम्बन्धी कार्यकारी एमबीए कार्यक्रम कोर्सको शैक्षिक कठोरता र समसामयिक सान्दर्भिकता बढ़ाउने दिशामा महत्त्वपूर्ण कदम रहेको बताउनुभयो। आईआईटी मद्रासजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले राष्ट्रिय सुरक्षा अध्ययनमा व्यवस्थापन, विज्ञान तथा प्रविधिसम्बन्धी मूल्यवान् विशेषज्ञता भित्र्याएको उहाँको भनाइ थियो।

श्री राजनाथ सिंहले मित्रराष्ट्रका अधिकारीहरूको सहभागितामार्फत भारतको अन्तरराष्ट्रिय रणनीतिक सम्बन्ध सुदृढ़ बनाउन एनडीसीले पुर्‍याएको योगदानलाई पनि उजागर गर्नुभयो। भारतीय समकक्षीहरूसँगै अध्ययन गर्दा ती अधिकारीहरूलाई निरन्तर व्यावसायिक अन्तरक्रिया, विविध रणनीतिक दृष्टिकोणको बुझाइ तथा दीर्घकालीन मित्रता र पारस्परिक विश्वासका सम्बन्ध विकास गर्ने अवसर प्राप्त हुने उहाँले उल्लेख गर्नुभयो। साझा अध्ययन र अनुभवबाट निर्माण हुने यस्ता सम्बन्धहरू साझेदार देशहरूसँगको भारतको सम्बन्धमा दीर्घकालीन सम्पत्ति बन्ने उहाँको भनाइ थियो।

रक्षामन्त्रीले अन्तरराष्ट्रिय रणनीतिक सम्बन्ध कार्यक्रम (आईएनएसटीईपी) जस्ता पहलहरूले व्यापक अन्तरराष्ट्रिय अन्तरक्रियालाई सहज बनाउन खेलेको भूमिकालाई पनि स्वीकार गर्नुभयो। उहाँले हालै सम्पन्न दुई सप्ताहव्यापी कार्यक्रमको चौथो संस्करणको उल्लेख गर्नुभयो, जसमा ग्लोबल साउथका २२ देशका २५ जना अन्तरराष्ट्रिय सहभागी, भारतीय रक्षा बल तथा सिभिल सेवाका १० जना वरिष्ठ अधिकारी र रक्षा कम्पनीका तीन जना अधिकारी सहभागी भएका थिए।

बढ्दो अन्तरसम्बन्धित विश्वमा अन्तरराष्ट्रिय सहकार्यको महत्त्व औँल्याउँदै श्री राजनाथ सिंहले भन्नुभयो, “भारत सार्वभौमिकताको सम्मान, पारस्परिक विश्वास र साझा जिम्मेवारीमा आधारित रहेर यस्ता चुनौतीहरू सम्बोधन गर्न सहयोगात्मक दृष्टिकोणमा विश्वास गर्छ। एनडीसीमा विकसित व्यावसायिक सम्बन्ध र मित्रता कोर्स पूरा भएपछि पनि निरन्तर रहनुपर्छ। यस संस्थाको अन्तरराष्ट्रिय पूर्वविद्यार्थी सञ्जाल अनुभव र रणनीतिक समझको मूल्यवान् भण्डार हो, जसले द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय सहकार्यलाई अझ सुदृढ़ बनाउन योगदान पुर्‍याउन सक्छ।”

यस अवसरमा एनडीसीका कमाण्डेन्ट एयर मार्शल मनीष कुमार गुप्ता, आईआईटी मद्रासका डिन (फ्याकल्टी) प्रा. के. मुरली, रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा एनडीसी कोर्सका प्राध्यापक र सहभागीहरू उपस्थित थिए।

 

६६औँ एनडीसी कोर्सबारे

यो कोर्स प्रत्येक वर्ष जनवरीदेखि नोभेम्बरसम्म ४७ हप्तासम्म सञ्चालन हुन्छ र यसलाई छः वटा अध्ययन खण्डमा विभाजन गरिएको छ। ती छः वटा अध्ययन खण्डमा भारतको बुझाइ तथा रणनीतिको परिचय, आर्थिक सुरक्षा, विज्ञान तथा प्रविधि, विश्वव्यापी मुद्दाहरू, अन्तरराष्ट्रिय सुरक्षा वातावरण, भारतको रणनीतिक छिमेक तथा राष्ट्रिय सुरक्षाका लागि रणनीति र संरचनाहरू समावेश छन्।

यस कोर्समा भारत तथा विदेशका गरी कुल १२२ जना अधिकारी सहभागी भएका थिए। उनीहरू भारतीय रक्षा बल, भारतीय सिभिल सेवा, भारतीय पुलिस सेवा तथा सरकारका अन्य निकायबाट छनोट भएका थिए। अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, ब्राजिल, इजिप्ट, इण्डोनेसिया, इरान, जापान, केन्या, कजाकिस्तान, माल्दिभ्स, म्यानमार, नेपाल, नाइजेरिया, फिलिपिन्स, रुस, साउदी अरब, दक्षिण अफ्रिका, श्रीलङ्का, बेलायत, अमेरिका, उज्बेकिस्तान र भियतनामका ४० जना विदेशी अधिकारी सहभागी थिए।

******

MPS/TWB


(रिलिज आईडी: 2342001) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , Assamese