57th International Film Festival of India 2026
20 – 28 Nov 2026

जब शब्दहरू अपुग हुन्छन्, सङ्गीत बोल्छ : ५७औँ आईएफएफआई-मा गायिका के. एस. चित्राद्वारा लता मंगेशकर, आशा भोसले र एस. जानकीका स्वरहरूको स्मरण


चर्चित गायिकाले आफ्ना अविस्मरणीय यादहरू र हृदयस्पर्शी प्रसंगहरूमार्फत विभिन्न पुस्तालाई आकार दिने स्वर र गीतहरूका साथै आफ्नो सांगीतिक यात्राको पुनः स्मरण गरिन्

पोस्ट गरियो: 25 NOV 2026 6:22PMby PIB Gangtokरिलिज आईडी: 2341565Views: 3

गोवा, २५ नोभेम्बर, २०२६:

केही स्वरहरू यस्ता हुन्छन्, जसले केवल कोठालाई सङ्गीतमय बनाउने काम मात्र गर्दैनन्। ती हाम्रो बाल्यकालको अभिन्न हिस्सा बन्छन्, जीवनका महत्त्वपूर्ण मोड़हरूमा हामीसँगै गुञ्जिरहन्छन् र एउटा गीत समाप्त भइसकेपछि पनि लामो समयसम्म हाम्रो स्मृतिमा जीवित रहन्छन्। चर्चित गायिका के. एस. चित्राका लागि आशा भोसले, एस. जानकी र लता मंगेश्करका स्वरहरू पनि यस्तै अविस्मरणीय छन्। ५७औँ अन्तर्राष्ट्रिय भारतीय चलचित्र महोत्सव (ईएफएफआई) अन्तर्गत आयोजित ‘लता मंगेशकर टकः आशा भोसले र एस. जानकीको स्मृतिमा सधैँ गुञ्जिरहने स्वर’ शिर्षकको मास्टरक्लास कार्यक्रममा चित्राले दर्शकहरूलाई यी महान् गायिकाहरूको सङ्गीत र उनीहरूसँग जोड़िएका आफ्ना आत्मीय स्मृतिहरूको यात्रामा सहभागी गराइन्। अभिनेत्री तथा चलचित्र निर्देशक सुहासिनी मणिरत्नमले सञ्चालन गरेको उक्त कार्यक्रममा चित्राले यी दिग्गज गायिकाहरूसँग जोड़िएका आफ्ना व्यक्तिगत अनुभव र सङ्गीतिक सम्झनाहरू भावपूर्ण रूपमा प्रस्तुत गरिन्।

कार्यक्रमको शुरूवात आत्मीयता र सहजतापूर्ण वातावरणमा भयो। गायिका चित्राले आफू केही तनावमा रहेको स्वीकार गर्दै सुहासिनीले आफूलाई सहज महसुस गराउने कुरामा भने विश्वस्त रहेको बताइन्। उनीहरू बिचको पुरानो आत्मीय सम्बन्ध पनि कुराकानीका क्रममा उजागर भयो। सुहासिनीले चित्राद्वारा स्वरवद्ध गरिएका चलचित्रका गीतहरू आफ्नो जीवन यात्राको अभिन्न हिस्सा बनेको स्मरण गरिन्। त्यसपछि अघि बढ़ेको संवाद औपचारिक छलफलभन्दा पनि पुराना स्मृतिहरूको आत्मीय सङ्गम जस्तै बन्यो, जहाँ विभिन्न रोचक प्रसङ्गहरू खुल्दै जाँदा कुराकानीले बेलाबेला सङ्गीतको मधुर धुनको रूप लिने गरेको थियो।

आफ्नो सङ्गीतिक यात्राको शुरूवाती दिनहरू स्मरण गर्दै चित्राले सङ्गीतमय वातावरण भएको परिवारमा आफ्नो बाल्यकाल बितेको बताइन्। बाल्यकालदेखि नै विभिन्न गायन प्रतियोगिताहरूमा सहभागी हुनुका साथै शास्त्रीय सङ्गीतको प्रशिक्षण लिने अवसर पनि उनले पाएको जानकारी दिइन्। गायन नै आफूले राम्रोसँग गर्न सक्ने एक मात्र कला भएको उनको भनाइ थियो। यद्यपी, यही कलाले आफूलाई जीवनमा यति टाढ़ासम्म पुर्‍याउला भन्ने कल्पना भने उनले कहिल्यै गरेकी थिइनन्। चलचित्र सङ्गीतको क्षेत्रमा उनको प्रवेश पनि संयोगवश भएको जस्तै थियो। उनले मनोरञ्जन क्लबहरूमा चलचित्रका गीतहरू गाउने गरेको स्मरण गर्दै प्रायः पी.सुशीलाले लोकप्रिय बनाएका गीतहरूबाट आफ्नो गायन शुरू गरेको बताइन्।

आफूले सबैभन्दा धेर प्रशंसा गर्ने गायिकाहरूका बारेमा सोधिएको प्रश्नको उत्तर दिँदै चित्राले पी.सुशीला, एस. जानकी र लता मंगेशकरको नाम लिइन्। बाल्यकालमा आफूले एस.जानकीको स्वर र गायन शैलीको नक्कल गर्ने गरेको प्रसङ्ग पनि उनले उठाइन्। तर हाँस्दै उनले जानकीको विशिष्ट गायन शैलीको हुबहु नक्कल गर्न असम्भव रहेको स्वीकार गरिन्। लता मंगेश्करको चर्चा गर्दै चित्राले उनको गायनमा निहित भावनात्मक गहिराइबारे आफ्ना विचार व्यक्त गरिन्। विशेषगरी लताका भक्तिमय गीतहरूमा अभिव्यक्त हुने भाव र संवेदनाले आफूलाई निकै प्रभावित पारेको उनले बताइन्। यसै क्रममा चित्राले लता मंगेश्करका आफ्ना प्रिय गीतहरूमध्ये एउटा गीत पनि दर्शकहरूमाझ प्रस्तुत गरिन्।

आशा भोसलेसँग जोड़िएका उनका स्मृतिहरूमा भने फरक किसिमको प्रशंसा उजागर भएको थियो। आशा भोसलेको असाधारण बहुमुखी प्रतिभा र विभिन्न सङ्गीत विधाहरूमा प्रयोग गर्न सक्ने उनको अद्भुत क्षमताबारे चित्राले चर्चा गरिन्। गजल लगायत विभिन्न विधामा आफ्नो गायनकला प्रस्तुत गर्नसक्ने आशाको यही विशेषताको चर्चा गर्दै चित्राले कार्यक्रममा आशाकै एउटा गजलको धुनसमेत गुनगुनाइन्। चित्राका अनुसार आशा भोसले सधैँ आफ्नी दिदी लता मंगेश्करसँग तुलना गरिनुभन्दा पनि सङ्गीतको क्षेत्रमा आफ्नै छुट्टै पहिचान स्थापित गर्न चाहन्थिन्। यस क्रममा चित्राले आशा भोसलेसँगको आफ्नो पहिलो भेटको एउटा अविस्मरणीय प्रसङ्ग पनि सुनाइन्। पहिलो भेटमै आशाले आफूलाई यति उच्च स्वरमा किन गीत गाइरहेको भनेर सोधेको उनले स्मरण गरिन्। सामान्य जस्तो लाग्ने यो सानो संवादले नै ती महान् गायिकाको खुलस्तपन  र आफ्नै विशिष्ट पहिचानप्रतिको दृढ़तालाई उजागर गरेको थियो।

एस. जानकीसँग जोड़िएका स्मृतिहरू भने विशेष आत्मीयताले भरिएका थिए। चित्राले जानकीको सङ्गीतिक यात्राको शुरूवाती दिनहरू स्मरण गर्दै त्यतिबेला मिमिक्री कलाकारहरूले मञ्चमा आफ्नो प्रस्तुति दिने गरेको र उनीहरूको प्रस्तुतिबिचको खाली समय भर्न जानकीलाई गीत गाउनका लागि आमन्त्रण गरिने गरेको बताइन्। यस्ता अवसरहरूले दर्शकहरूलाई जानकीको स्वर सुन्ने मौका प्रदान गर्थे। यही क्रमले उनलाई विस्तारै चलचित्रमा पार्श्व गायनको यात्रातर्फ डोर्‍याएको थियो। चित्राले जानकीको विशिष्ट स्वर, भावपूर्ण गायनशैली र हरेक गीतमा जीवन्तता भर्ने उनको अद्भुत क्षमताको पनि प्रशंसा गरिन्। सङ्गीतभन्दा पर चित्राका लागि जानकी केवल एक महान् गायिका मात्र नभई आमाजस्तै आत्मीय व्यक्तित्व थिइन्। जानकीको घरमा जाने गरेका दिनहरू स्मरण गर्दै चित्राले ती वरिष्ठ गायिकाले आफूलाई आफ्नै हातले प्रेमपूर्वक खाना खुवाउने गरेको प्रसङ्ग सुनाइन्। उनका अनुसार, जानकीले आफ्नै हातले खुवाउँदा पिरो खानेकुरा पनि गुलियो लाग्ने गर्थ्यो।

यस सत्रभरि सुहासिनीले संवादका क्रममा विभिन्न गीतहरूलाई पनि जोड्दै पर्दामा ती गीतमार्फत अभिव्यक्त भएका भावनासँग स्मृतिहरूलाई गाँसिन्। उनले चलचित्रका गीतहरूले कसरी मानिसको जीवनका विभिन्न मोड़हरू-प्रेम, विवाह, दुःख र खुसीमा साथ दिँदै आएका छन् र कतिपय अवस्थामा शब्दले व्यक्त गर्न नसक्ने भावनासमेत गीतले अभिव्यक्त गरिदिन्छन् भन्ने विषयमा आफ्ना विचार राखिन्। त्यसक्रममा चित्राले मलयालम गीत ‘स्वर्णमुखिले’- को स्मरण गर्दै यो गीत सुन्दा आज पनि आफ्नो आँखा रसाउने गरेको भावुक खुलासा गरिन्।

कार्यक्रममा प्रस्तुत गरिएको एउटा रमाइलो सांगीतिक प्रश्नोत्तरले दिउँसोको सत्रलाई थप रोचक बनायो। पृष्ठभूमिको सङ्गीत हटाइएका चलचित्रका दृश्यहरू देखाइँदा चित्राले पाँचवटै दृश्यसँग सम्बन्धित गीतहरू सहजै पहिचान गर्दै गाइन्। तीमध्ये सुहासिनीका चलचित्रका गीतहरू पनि समावेश थिए। यस क्रममा गीत रfकर्डिङका चुनौती, कठिन गीतहरू गाउनुपर्ने अनुभव तथा उमेर बढ्दै जाँदा आफ्नो स्वरको क्षमतालाई बुझेर त्यसका सीमितता पहिचान गर्नुको महत्त्वबारे पनि छलफल भएको थियो।

चित्राले ‘सिन्धु भैरवी’  चलचित्रको ‘पदारियेन्’ गीत गाउन थालेपछि संवादको सबैभन्दा स्मरणीय क्षण सिर्जना भयो। सुहासिनीले पनि गीतसँगै ओठ चलाउँदै उनलाई साथ दिइन्। यसरी दुवैले साझा गरेको त्यो आत्मीय क्षणले उनीहरूको संवादलाई एउटा सुन्दर पूर्णतामा पुर्‍यायो। यो सङ्गीत र स्मृतिको अनुपम सङ्गम थियो। यसले गीतहरू केवल धुन र लय मात्र होइनन्, बरु जीवनका अनुभूति, मित्रता र यात्राका अविस्मरणीय अंश पनि हुन् भन्ने कुरालाई पुनः स्मरण गरायो। यस्ता गीतहरू पुस्तौँ पुस्तासम्म मानिसका मनमा गुञ्जिरहनेछन्।

आईएफएफआईएलओआईडी यहाँ पढ़्नुहोस्:   https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

******

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341565
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026