मन्त्रीमण्डल
azadi ka amrit mahotsav

हुलाक विभागको सम्पत्ति व्यवस्थापन योजना (इस्टेट्स म्यानेजमेन्ट स्किम) लाई १,४९१ करोड़ रुपियाँको बजेटसहित निरन्तरता दिने मन्त्रिपरिषद्को स्वीकृति

पोस्ट गरियो: 25 NOV 2026 3:32PM by PIB Gangtok

नयाँ दिल्ली, 25 नोभेम्बर, 2026:

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद्ले १६औँ वित्त आयोगको अवधिअन्तर्गत आर्थिक वर्ष २०२६-२७ देखि २०३०-३१ सम्म केन्द्रीय क्षेत्रको योजना ‘सम्पत्ति व्यवस्थापन योजना’ (इस्टेट्स म्यानेजमेन्ट स्किम) लाई निरन्तरता दिने हुलाक विभागको प्रस्तावलाई स्वीकृति दिएको छ। पाँच वर्षको अवधिका लागि यस योजनामा कुल १,४९१ करोड़ रुपियाँको वित्तीय बजेट विनियोजन गरिएको छ।

रणनीतिक उद्देश्य:

यस योजनाको उद्देश्य हुलाक विभागको सम्पत्तिसम्बन्धी पूर्वाधारको समग्र रूपान्तरण तथा आधुनिकीकरण गर्नु हो। यसले हुलाक कार्यालय तथा आवासीय बस्तीहरूको निर्माण, पुनर्निर्माण, नवीकरण र एकरूप ब्राण्डिङका साथै भारतका ऐतिहासिक महत्त्व बोकेका हुलाक भवनहरूको संरक्षणमा विशेष जोड़ दिन्छ। आधुनिकीकरणको यो रणनीतिले प्रारम्भिक चरणको वितरण प्रणालीलाई प्रत्यक्ष सहयोग पुर्‍याउने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र देशव्यापी रूपमा नागरिककेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ। साथै, यो डिजिटल इण्डिया, आत्मनिर्भर भारत र विकसित भारतका बृहत्तर परिकल्पनासँग पनि मेल खान्छ।

विश्वकै सबैभन्दा ठूलो हुलाक सञ्जालमध्ये एक रहेको भारतीय हुलाक सेवाअन्तर्गत १.६५ लाख हुलाक कार्यालय छन्, जसमध्ये १,४९,३८५ वटा ग्रामीण क्षेत्रमा रहेका छन्। भारतीय हुलाक सेवा चिठीपत्र, ब्याङ्किङ सेवा (पीओएसबी/आईपीपीबी), बिमा सेवा (पीएलआई), आधार सेवा, हुलाक कार्यालय पासपोर्ट सेवा केन्द्र तथा डाकघर निर्यात केन्द्रहरू (डीएनके) मार्फत ग्रामीण हस्तकलाकर्मीहरूलाई सहयोग पुर्‍याउने महत्त्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ।

कार्यान्वयनको समयसीमा:

यो योजना आर्थिक वर्ष २०२६-२७ देखि २०३०-३१ सम्म पाँच वर्षको अवधिमा चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ।

स्वीकृत योजनाका प्रमुख घटकहरू:

  • नयाँ निर्माण (२८० करोड़ रुपियाँ): हाल भाड़ामा सञ्चालन भइरहेका हुलाक कार्यालयहरूको सट्टा विभागकै खाली जग्गामा १९० वटा विभागीय हुलाक भवन निर्माण गरी भाड़ासम्बन्धी दायित्व अन्त्य गर्ने।
  • पुनर्निर्माण (१०८ करोड़ रुपियाँ): दीर्घकालीन संरचनागत सुरक्षा सुनिश्चित गर्न जीर्ण अवस्थामा रहेका ५० वटा विभागीय हुलाक भवन भत्काएर पुनर्निर्माण गर्ने।
  • नवीकरण तथा ब्राण्डिङ (३१८ करोड़ रुपियाँ): एसपीए निर्देशिकाअनुसार २,५५० वटा विभागीय सहायक हुलाक कार्यालयहरूको स्तरोन्नति तथा एकरूप ब्राण्डिङ गर्ने।
  • भाड़ाका हुलाक कार्यालयहरूको स्तरोन्नति (३७.५० करोड़ रुपियाँ): भाड़ाका भवनमा सञ्चालन भइरहेका २,५०० वटा हुलाक कार्यालयहरूको स्तरोन्नति गरी एकरूप ब्राण्डिङ गर्ने।
  • ऐतिहासिक सम्पदाको संरक्षण (१८० करोड़ रुपियाँ): विभागको ऐतिहासिक विरासत सुरक्षित राख्न ऐतिहासिक महत्त्व बोकेका २० वटा विशिष्ट हुलाक भवनको पुनर्स्थापना तथा संरक्षण गर्ने।
  • आवासीय बस्तीहरूको नवीकरण (३५७.५० करोड़ रुपियाँ): कर्मचारीको कल्याण तथा सन्तुष्टि अभिवृद्धि गर्न उच्च माग रहेका १५० वटा हुलाक विभागीय आवासीय बस्तीहरूको पुनर्संरचना तथा स्तरोन्नति गर्ने।
  • सम्बद्ध तथा समावेशी गतिविधिहरू (१०० करोड़ रुपियाँ): दिगो सुविधाहरू (सौर्य ऊर्जा, वर्षाको पानी सङ्कलन) तथा सुगम्य भारत अभियानअन्तर्गत सबैका लागि पहुँचयोग्य पूर्वाधार (र्‍याम्प, ब्रेल लिपिमा सङ्केत चिह्न) निर्माण गर्ने। यसका साथै महिला शौचालय र स्तनपान कक्षजस्ता लैङ्गिक आवश्यकतामा केन्द्रित सुविधाहरू पनि थपिनेछन्।
  • एकीकृत प्रविधि केन्द्र (१०० करोड़ रुपियाँ): उन्नत हुलाक प्रविधि (एपीटी) सेवाहरू सञ्चालन गर्न तथा स्वदेशी खुला स्रोत प्रविधि प्रणालीलाई सहयोग पुर्‍याउन बेङ्गलुरुमा हुलाक प्रविधिको उत्कृष्टता केन्द्र (सीईपीटी) का लागि स्थायी भौतिक पूर्वाधार स्थापना गर्ने।

**********

MPS/TWB


(रिलिज आईडी: 2341502) आगन्तुक काउन्टर : 3
मा यो विज्ञप्ति पढ्नुहोस्: Kannada , Malayalam , English , Urdu , हिन्दी , Bengali , Bengali-TR , Assamese , Punjabi , Gujarati , Tamil , Telugu