प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा नोभेम्बर २० मा पहिलो एससीओ सभ्यतागत संवाद मञ्चको उद्घाटन गरिने


तीनदिने मञ्चमा एससीओ सदस्य राष्ट्रहरूको साझा सभ्यतागत सम्पदाबारे छलफल गर्न विद्वान्, प्राज्ञ, विशेषज्ञ तथा सांस्कृतिक प्रतिनिधिहरू सहभागी हुने

पोस्ट गरियो: 19 NOV 2026 4:24PM by PIB Gangtok

नयाँ दिल्ली, १९ नोभेम्बर २०२६ :

प्रधानमन्त्री नरेन्द्र मोदीले २० नोभेम्बर २०२६ मा अपराह्न करिब ५:३० बजे नयाँ दिल्लीस्थित पुराना किल्लामा पहिलो शाङ्घाई सहयोग सङ्गठन (एससीओ) सभ्यतागत संवाद मञ्चको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा उहाँले सभालाई सम्बोधन पनि गर्नुहुनेछ।

२० देखि २२ नोभेम्बर २०२६ सम्म आयोजना हुने यस मञ्चको उद्देश्य यस क्षेत्रको समृद्ध र एकअर्कासँग जोडिएको सभ्यतागत सम्पदाको उत्सव मनाउनु, जनस्तरको सम्बन्धलाई सुदृढ बनाउनु तथा अन्तरसांस्कृतिक संवाद र सहकार्यलाई प्रवर्द्धन गर्नु हो।

यस पहलको आधार २०२५ मा चीनको तियानजिनमा आयोजित एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीले एससीओको रूपरेखाअन्तर्गत सभ्यतागत संवादका लागि छुट्टै मञ्च स्थापना गर्ने प्रस्ताव राख्नुभएको थियो। उक्त प्रस्तावलाई पछि एससीओको बिश्केक घोषणापत्रमा स्वागत गरिएको थियो।

उद्घाटन समारोहमा ‘संवादमा सभ्यताहरू–सांस्कृतिक प्रस्तुति’ आयोजना गरिनेछ। यस प्रस्तुतिमा सङ्गीत, नृत्य, दृश्य कथावाचन र वर्णन समावेश गरिनेछ। ‘वसुधैव कुटुम्बकम्–सम्पूर्ण विश्व एक परिवार हो’ भन्ने विषयवस्तुमा आधारित यस प्रस्तुतिले भारत र युरेसियाबीचका सांस्कृतिक सम्बन्धलाई उजागर गर्नेछ।

यस मञ्चमा भारतको पुरातात्त्विक, कलात्मक तथा साहित्यिक सम्पदा झल्काउने ‘अस्तित्व–हाम्रो अस्तित्वको सार’ शीर्षकका प्रदर्शनीहरू पनि आयोजना गरिनेछन्। यसले उत्खननबाट प्राप्त अवशेष, पुरातात्त्विक सामग्री, वास्तुकलाका अवशेष तथा अन्य महत्त्वपूर्ण खोजहरू लगायत ईसापूर्व १२०० देखि इस्वी संवत् १२०० सम्मका पुरातात्त्विक प्रमाणका आधारमा दिल्लीको इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ। ‘महाभारत स्क्रोल पेभिलियन–अनन्तः दुर्लभ १८औँ शताब्दीको महाभारतको चित्राङ्कित पट’ मा भारतको समृद्ध महाकाव्य तथा कलात्मक परम्परा झल्काउने चित्राङ्कित पट प्रदर्शनीमा राखिनेछ।

 

२१ र २२ नोभेम्बरमा चारवटा विषयगत सत्र आयोजना गरिनेछन्। यी सत्रहरूमा विद्वान्, प्राज्ञ, विषयविज्ञ तथा सांस्कृतिक प्रतिनिधिहरू सहभागी हुनेछन्। छलफलमा सङ्गीत तथा प्रदर्शन कला, कपडा, खानपान, परम्परागत खेलकुदजस्ता सांस्कृतिक अभिव्यक्ति, कला तथा वास्तुकलाका साझा परम्परा, लिपि तथा पाण्डुलिपिसहितका भाषा र साहित्यिक परम्परा तथा मठवासी मार्ग र दार्शनिक परम्पराहरू समेटिनेछन्।

*********

MPS/TWB


(रिलिज आईडी: 2338561) आगन्तुक काउन्टर : 5
मा यो विज्ञप्ति पढ्नुहोस्: Bengali , Bengali-TR , English , Urdu , हिन्दी , Gujarati , Malayalam