आवास तथा शहरी मामिला मन्त्रालय
azadi ka amrit mahotsav

सडक व्यापारीहरूको जीविकोपार्जन सुदृढ बनाउन उत्कृष्ट योगदानको कदर गर्दै प्रधानमन्त्री स्वनिधि सम्मान पुरस्कार २०२६ प्रदान गरिने


पोस्ट गरियो: 19 NOV 2026 11:06AM by PIB Gangtok

नयाँ दिल्ली, १९ नोभेम्बर २०२६

भारत सरकारको आवास तथा शहरी मामिला मन्त्रालयअन्तर्गत शहरी विकास विभागले २० नोभेम्बर २०२६ मा नयाँ दिल्लीस्थित डा. अम्बेडकर अन्तर्राष्ट्रिय केन्द्रमा स्वनिधि सम्मान पुरस्कार २०२६ आयोजना गर्नेछ। आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहुको विशिष्ट आतिथ्यमा पुरस्कारहरू प्रदान गर्नुहुनेछ।

५२ वटा पुरस्कार र ५ वटा विशेष सम्मान समावेश गरिएको यस कार्यक्रममा सडक व्यापारीहरूको जीविकोपार्जन सुदृढ बनाउन तथा वित्तीय समावेशीकरण, डिजिटल प्रविधिको अवलम्बन र सामाजिक सुरक्षालाई प्रवर्द्धन गर्न उत्कृष्ट योगदान पुर्‍याउने राज्य तथा केन्द्रशासित प्रदेशहरू, शहरी स्थानीय निकायहरू (यूएलबी), ऋण प्रवाह गर्ने संस्थाहरू र साझेदार सङ्गठनहरूलाई सम्मान गरिनेछ। यस योजनासँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व गर्दै करिब ६०० जना सहभागी कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ। पुरस्कारहरू निम्न विधामा उत्कृष्ट योगदानको कदर गर्दै प्रदान गरिनेछन्:

  • राज्य तथा केन्द्रशासित प्रदेशहरूलाई:१६ वटा पुरस्कार
  • राज्य र ३ केन्द्रशासित प्रदेशलाई: २७ वटा पुरस्कार
  • शहरी स्थानीय निकायहरू: २१ वटा पुरस्कार
  • ऋण प्रवाह गर्ने संस्थाहरू: ४ वटा पुरस्कार
  • प्रमुख सरोकारवालाहरू: ५ वटा विशेष सम्मान

योजनाको संक्षिप्त विवरण

१ जुन २०२० मा सुरु भएदेखि प्रधानमन्त्री स्वनिधि योजनाले करिब ८१ लाख सडक व्यापारीहरूलाई १.२१ करोडभन्दा बढी ऋण प्राप्त गर्न सक्षम बनाएको छ, जसको कुल रकम करिब २०,००० करोड रुपैयाँ रहेको छ। अगस्ट २०२५ मा सरकारले यस योजनाको पुनर्सरचना गर्दै यसको कार्यान्वयन अवधि मार्च २०३० सम्म विस्तार गरेको थियो। यससँगै योजनाको पहुँच विस्तार गर्न र वित्तीय समावेशीकरणलाई थप गहिरो बनाउन महत्त्वपूर्ण सुधारहरू पनि लागू गरिएको छ। तीमध्ये निम्न विषयहरू समावेश छन्:

  • सडक व्यापारीहरूको बदलिँदो ऋण आवश्यकतालाई सम्बोधन गर्न ऋणका तीनवटै चरणमा ऋणको रकम वृद्धि गरिएको छ।
  • दोस्रो चरणको ऋण चुक्ता गरिसकेका योग्य लाभग्राहीहरूका लागि ३०,००० रुपैयाँसम्मको ऋण सीमा भएको यूपीआईसँग आबद्ध रुपे क्रेडिट कार्डको व्यवस्था गरिएको छ।
  • कानुनी रूपमा अधिसूचित नगरहरूमात्र नभई जनगणना नगरहरू र शहरी क्षेत्रसँग जोडिएका आसपासका क्षेत्रहरूलाई समेत समेटेर योजनाको भौगोलिक दायरा विस्तार गरिएको छ।

ऋण सहयोगका अतिरिक्त, यस योजनाले ‘स्वनिधि से समृद्धि’ मार्फत सडक व्यापारीका परिवारहरूको समग्र सामाजिक-आर्थिक विकासलाई प्रवर्द्धन गर्दछ। ५२ लाखभन्दा बढी लाभग्राही परिवारको सामाजिक-आर्थिक विवरण सङ्कलनको कार्य पूरा भएको छ, जसका परिणामस्वरूप केन्द्र सरकारका आठवटा कल्याणकारी योजनाअन्तर्गत १.६२ करोडभन्दा बढी स्वीकृति प्रदान गरिएका छन्। खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिमलगायत क्षमता अभिवृद्धि कार्यक्रम र ५० वटा सडक खाद्य केन्द्रको विकासजस्ता पहलमार्फत यस योजनाले सडक व्यापारको समग्र प्रणालीलाई पनि सुदृढ बनाइरहेको छ।

**********

MPS/TWB


(रिलिज आईडी: 2338346) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: Bengali , English , Urdu , हिन्दी , Gujarati , Tamil , Kannada