आयुष
azadi ka amrit mahotsav

‘प्राकृतिक चिकित्सा, स्वस्थ भारत’ भन्ने मूल नाराका साथ देशभरि नवौँ प्राकृतिक चिकित्सा दिवस मनाइयो


कर्नाटकको नागमङ्गलास्थित सीआरआईवाईएनमा आयोजित राष्ट्रियस्तरको समारोहमा रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनमा योग र प्राकृतिक चिकित्साको भूमिकामाथि प्रकाश

“रोगको रोकथाम र स्वस्थ भारत निर्माणका लागि प्राकृतिक चिकित्सा तथा स्वस्थ जीवनशैली आवश्यक छन्”: केन्द्रीय मन्त्री प्रतापराव जाधव

“प्राकृतिक चिकित्साको विकासका लागि वैज्ञानिक अनुसन्धान, स्वास्थ्य सचेतना र सामुदायिक सहभागिता महत्त्वपूर्ण छन्”: आयुष मन्त्रालयका सचिव

रेजेन–बिटा मधुमेह जीवनशैली परीक्षण, नेचर क्योर ३६० तथा महत्त्वपूर्ण अनुसन्धानमूलक प्रकाशनहरू सार्वजनिक गरिए

पोस्ट गरियो: 18 NOV 2026 3:37PM by PIB Gangtok

नयाँ दिल्ली, १८ नोभेम्बर २०२६:

‘प्राकृतिक चिकित्सा, स्वस्थ भारत’ भन्ने मूल नाराका साथ आज देशभरि नवौँ प्राकृतिक चिकित्सा दिवस मनाइयो। यस अवसरमा रोगको रोकथाम, स्वस्थ जीवनशैली र समग्र स्वास्थ्य प्रवर्द्धनमा प्राकृतिक चिकित्सा तथा प्रकृतिमा आधारित स्वास्थ्य सेवाको महत्त्वमाथि जोड दिइयो। आयुष मन्त्रालयअन्तर्गतको केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्ले पुणेस्थित राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थानसँगको सहकार्यमा कर्नाटकको नागमङ्गलास्थित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान संस्थानमा राष्ट्रियस्तरको समारोह आयोजना गरेको थियो।

आयुष मन्त्रालयका राज्यमन्त्री (स्वतन्त्र प्रभार) तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका राज्यमन्त्री प्रतापराव जाधव र आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा उहाँहरूका भिडियो सन्देश प्रसारण गरिएको थियो।

आफ्नो सन्देशमा केन्द्रीय मन्त्री प्रतापराव जाधवले रोगको रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न प्राकृतिक चिकित्साको महत्त्वमाथि प्रकाश पार्नुभयो।

श्री जाधवले नागरिकहरूलाई स्वस्थ बानीहरू अपनाउन र स्वस्थ भारत निर्माणमा योगदान पुर्‍याउन आह्वान गर्नुभयो। उहाँले प्राकृतिक चिकित्साको प्रवर्द्धन तथा यस चिकित्सा पद्धतिबारे जनचेतना अभिवृद्धि गर्न चिकित्सक, अनुसन्धानकर्ता, संस्थान तथा अन्य सरोकारवालाहरूले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभयो।

वैद्य राजेश कोटेचाले आफ्नो सन्देशमा रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा प्रकृतिसँग सामञ्जस्य कायम गर्न प्राकृतिक चिकित्साको भूमिकामाथि जोड दिनुभयो। उहाँले प्राकृतिक चिकित्साको विकासका लागि वैज्ञानिक अनुसन्धान, स्वास्थ्य सचेतना र सामुदायिक सहभागिताको महत्त्व औँल्याउँदै नागरिकहरूलाई जानकारीमा आधारित तथा दिगो स्वास्थ्य अभ्यासहरू अपनाउन प्रोत्साहित गर्नुभयो।

कर्नाटक सरकारका जलस्रोत (ठूला तथा मध्यम सिँचाइ) मन्त्री एवं नागमङ्गला क्षेत्रका विधायक एन. चेलुवरायस्वामी प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभयो भने आयुष मन्त्रालयकी संयुक्त सचिव अलार्मेलमङ्गाई डी. विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै एन. चेलुवरायस्वामीले नागमङ्गलास्थित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान संस्थानको स्थापना र विकासको प्रशंसा गर्नुभयो। उहाँले यस संस्थानमा क्षेत्रको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, आसपासका क्षेत्रका सर्वसाधारणले प्राकृतिक चिकित्सामा आधारित स्वास्थ्य सेवाबाट लाभ लिन सकून् भन्ने उद्देश्यले संस्थानका सुविधाहरू आम नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले संस्थानको थप विकासका लागि पूर्ण सहयोग र सहकार्य गर्ने आश्वासन दिनुभयो। साथै, कर्नाटकमा आयुष मन्त्रालयका परियोजना तथा भारत सरकारका अन्य पहलहरूको कार्यान्वयनलाई सहज बनाउन राज्य सरकारसँग समन्वय गर्ने तत्परता व्यक्त गर्नुभयो।

अलार्मेलमङ्गाई डी.ले रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनमार्फत जीवनशैलीसँग सम्बन्धित रोगहरूको सम्बोधन गर्न योग र प्राकृतिक चिकित्साको बढ्दो स्वीकार्यता तथा यसको सान्दर्भिकतामाथि प्रकाश पार्नुभयो। उहाँले कर्नाटकको नागमङ्गला र हरियाणाको झज्जरस्थित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान संस्थानहरूका साथै दिल्लीको रोहिणीस्थित सुविधासहित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्को अनुसन्धान पूर्वाधार विस्तार भइरहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, अनुसन्धान, तालिम, चिकित्सकीय सेवा तथा जनचेतना अभिवृद्धिमा पुणेस्थित राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थानले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभयो।

केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्की निर्देशक प्राध्यापक (डा.) ज्योति केसवानीले स्वागत मन्तव्यका क्रममा प्राकृतिक चिकित्सा दिवसको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले अनुसन्धान, संस्थागत विकास तथा योग र प्राकृतिक चिकित्साको प्रवर्द्धनमा परिषद्ले निर्वाह गर्दै आएको भूमिकाबारे पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद् र पुणेस्थित राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थानद्वारा तयार पारिएका विभिन्न अनुसन्धानमूलक प्रकाशन, शैक्षिक सामग्री तथा पहलहरू सार्वजनिक गरिए। यसअन्तर्गत नागमङ्गला र झज्जरस्थित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान संस्थानसम्बन्धी वृत्तचित्र, इन्डियन जर्नल अफ योगा एन्ड नेचुरोप्याथी (खण्ड १, अङ्क ३), योग तथा प्राकृतिक चिकित्सासम्बन्धी पुस्तक, इन्टर्न पुस्तिका र टाइप २ मधुमेहका लागि जीवनशैलीमा आधारित हस्तक्षेपसम्बन्धी चिकित्सकीय परीक्षण ‘रेजेन–बिटा’ सार्वजनिक गरिए। पुणेस्थित राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थानले दिगो स्वस्थ भविष्यका लागि सामुदायिक स्वास्थ्य पहल ‘नेचर क्योर ३६०’ र ‘द फ्यामिली डक्टर’ पनि सार्वजनिक गर्‍यो।

कार्यक्रममा प्राकृतिक स्रोतसाधन, स्वस्थ जीवनशैली तथा प्रकृतिमा आधारित स्वास्थ्य अभ्यासहरूको महत्त्व उजागर गर्ने उद्देश्यले प्राकृतिक चिकित्सा खाद्य मेला र औषधीय वनस्पति रोपण कार्यक्रम पनि आयोजना गरियो।

कार्यक्रममा केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्की निर्देशक प्राध्यापक (डा.) ज्योति केसवानी, पुणेस्थित राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थानकी निर्देशक प्राध्यापक (डा.) गीता बी. शेट्टी तथा आयुष मन्त्रालयअन्तर्गत नागमङ्गलास्थित केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान संस्थानका सहायक निर्देशक डा. वदिराजा एच.एस.लगायतको उपस्थिति रहेको थियो।

नवौँ प्राकृतिक चिकित्सा दिवसको यस समारोहले रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धन सेवालाई सुदृढ बनाउन अनुसन्धानमा आधारित योग र प्राकृतिक चिकित्साको महत्त्वलाई पुनः पुष्टि गरेको छ। अनुसन्धान, संस्थागत विकास, जनचेतना अभिवृद्धि तथा सामुदायिक सहभागिताका क्षेत्रमा निरन्तर प्रयासमार्फत आयुष मन्त्रालयले समग्र स्वास्थ्य र कल्याणको प्रवर्द्धन गर्दै स्वस्थ भारतको परिकल्पनालाई अघि बढाइरहेको छ।

*********

MPS/TWB


(रिलिज आईडी: 2338034) आगन्तुक काउन्टर : 7
मा यो विज्ञप्ति पढ्नुहोस्: Kannada , Urdu , English , हिन्दी , Gujarati