गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आतङ्कवादप्रति शून्य सहनशीलताको नीतिअनुरूप केन्द्रीय गृहमन्त्री श्री अमित शाहले नोभेम्बर १९, २०२६ मा नयाँ दिल्लीमा दुईदिने ‘आतङ्कवादविरोधी सम्मेलन’को उद्घाटन गर्नुहुने


राष्ट्रिय अनुसन्धान अभिकरण (एनआईए) द्वारा आयोजित यस वर्षको सम्मेलनमा ‘सीमापार आतङ्कवाद’ विषयमा छलफल गरिनेछ

सुरक्षा निकाय, अनुसन्धानकर्ता तथा विशेषज्ञहरूबीच आतङ्कवादका उदीयमान खतराबारे सामूहिक छलफल गर्ने साझा मञ्चका रूपमा सम्मेलनले भूमिका निर्वाह गर्नेछ

‘सम्पूर्ण सरकारको दृष्टिकोण’ अपनाउँदै सबै सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न सम्मेलनले विशेष जोड दिनेछ

विदेशी क्षेत्राधिकारबाट प्रमाण सङ्कलन, आतङ्कवादविरोधी अनुसन्धानमा डिजिटल फरेन्सिक तथा तथ्याङ्क विश्लेषणको प्रयोग र मुद्दाहरूको प्रभावकारी व्यवस्थापनजस्ता विषयमा छलफल गरिनेछ

कट्टरपन्थी विचारधाराको प्रसार, जासुसी तथा राष्ट्रिय सुरक्षासम्बन्धी उदीयमान मिश्रित खतराहरूको सामना गर्ने विषयमा पनि सत्रहरू सञ्चालन गरिनेछन्

सम्मेलनमा हुने छलफलले कानून कार्यान्वयन निकायहरूलाई आफ्ना अनुभव आदानप्रदान गर्न, आतङ्कवादसम्बन्धी मामिलाको अनुसन्धान तथा व्यवस्थापनमा अपनाइएका असल अभ्यासहरू प्रस्तुत गर्न र आतङ्कवादी घटनाहरूको अनुसन्धानबाट प्राप्त सिकाइ साझा गर्न सहयोग पुर्‍याउनेछ

पोस्ट गरियो: 18 NOV 2026 4:31PM by PIB Gangtok

नयाँ दिल्ली, १८ नोभेम्बर २०२६

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आतङ्कवादप्रति शून्य सहनशीलताको नीतिअनुरूप केन्द्रीय गृह तथा सहकारितामन्त्री श्री अमित शाहले बिहीबार, १९ नोभेम्बर २०२६ मा नयाँ दिल्लीमा दुईदिने ‘आतङ्कवादविरोधी सम्मेलन’को उद्घाटन गर्नुहुनेछ। भारत सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय अनुसन्धान अभिकरण (एनआईए) द्वारा देशको आतङ्कवादविरुद्धको सामूहिक प्रतिकार क्षमतालाई सुदृढ बनाउने निरन्तर प्रयासस्वरूप यो सम्मेलन आयोजना गर्न लागिएको हो। यस वर्षको सम्मेलनमा ‘सीमापार आतङ्कवाद’ विषयमा छलफल गरिनेछ।

हरेक वर्ष आयोजना हुँदै आएको यस सम्मेलनमा आतङ्कवादविरोधी अभियानमा संलग्न सुरक्षा बल तथा विभिन्न निकायका प्रतिनिधिहरूका साथै प्राविधिक, कानुनी र फरेन्सिक क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहँदै आएको छ। यसले राष्ट्रिय सुरक्षा तथा आतङ्कवादबाट उत्पन्न खतरासँग सम्बन्धित विषयहरूमा सामूहिक रूपमा छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्दछ।

‘सम्पूर्ण सरकारको समन्वित दृष्टिकोण’ अनुरूप सम्मेलनले सबै सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न विशेष जोड दिएको छ। आतङ्कवादविरुद्ध समन्वित र एकीकृत रूपमा कारबाही गर्न औपचारिक तथा अनौपचारिक माध्यमहरू स्थापना गर्नु सम्मेलनको उद्देश्य रहेको छ। यसका साथै भविष्यका नीतिहरू निर्माण गर्न आवश्यक ठोस सुझाव तथा योगदान पुर्‍याउने लक्ष्य पनि सम्मेलनले राखेको छ।

सम्मेलनका विभिन्न सत्रहरूमा विदेशी क्षेत्राधिकारबाट प्रमाण सङ्कलन, आतङ्कवादविरोधी अनुसन्धानमा डिजिटल फरेन्सिक तथा तथ्याङ्क विश्लेषणको प्रयोग र मुद्दाहरूको प्रभावकारी व्यवस्थापनलगायतका विषयमा छलफल गरिनेछ। यसका साथै कट्टरपन्थी विचारधाराको प्रसार रोक्ने उपाय तथा राष्ट्रिय सुरक्षासम्बन्धी उदीयमान मिश्रित खतराहरूको सामना गर्ने विषय पनि छलफलमा समेटिनेछ। आतङ्कवादी गतिविधिमा हुने आर्थिक लगानीका सञ्जालहरू ध्वस्त पार्न अपनाइने साधन, प्रविधि र विभिन्न घटनाका अनुसन्धानबाट प्राप्त अनुभवका साथै भविष्यका चुनौती सामना गर्न सक्षम आतङ्कवादविरोधी रणनीति निर्माण र संस्थागत क्षमता सुदृढीकरणका विषयमा पनि थप सत्रहरू सञ्चालन गरिनेछन्।

यस वर्षको सम्मेलनमा राज्य प्रहरीका कर्मचारी तथा कार्यरत विषयविज्ञहरूका लागि क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिनेछ। सहभागीहरूलाई विभिन्न क्षेत्रमा दक्ष बनाउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। यसअन्तर्गत आतङ्कवादसम्बन्धी अनुसन्धानमा नयाँ फौजदारी कानुनको प्रयोग, अभियोजनका क्रममा विद्युतीय प्रमाणको उपयोग तथा मुद्दाको रणनीति र व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइनेछ। यसका साथै आतङ्कवादी घटनाको अनुसन्धानसँग सम्बन्धित विशेष कानुनी प्रावधान, प्रतिरक्षा पक्षबाट उत्पन्न हुने सामान्य चुनौतीहरू, साक्षीहरूको सुरक्षा तथा अभियोजन प्रक्रिया सुधार गर्न सरकारले अघि सारेका पहलहरूबारे पनि प्रशिक्षण प्रदान गरिनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कानून कार्यान्वयन निकायहरूले आफ्ना अनुभव आदानप्रदान गर्ने, आतङ्कवादविरोधी मामिलाहरूको सामना गर्दा अपनाइएका असल अभ्यासहरू प्रस्तुत गर्ने तथा आतङ्कवादी घटनाहरूको अनुसन्धानबाट प्राप्त सिकाइहरू साझा गर्ने अवसर पाउनेछन्।

सम्मेलनमा राज्य तथा केन्द्रशासित प्रदेशका वरिष्ठ प्रहरी अधिकारीहरू, आतङ्कवादविरोधी कार्यमा संलग्न केन्द्रीय निकाय तथा विभागका अधिकारीहरूका साथै कानुन, फरेन्सिक र प्रविधिलगायत सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ।

*********

MPS/TWB


(रिलिज आईडी: 2338021) आगन्तुक काउन्टर : 3
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Gujarati , Tamil