पोस्ट गरियो:
18 NOV 2026 12:30PM by PIB Gangtok
नयाँ दिल्ली,१८ नोभेम्बर २०२६
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले प्रविधि हस्तान्तरणका १०० वटा सफल सम्झौता सम्पन्न गर्ने उपलब्धि हासिल गरेको छ। यसले स्वदेशमै विकसित स्वास्थ्य अनुसन्धानलाई प्रविधि तथा समाधानका रूपमा रूपान्तरण गरी आम जनताको उपयोगका लागि उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस उपलब्धिको घोषणा आज नयाँ दिल्लीस्थित भारत मण्डपममा सम्पन्न तेस्रो स्वास्थ्य अनुसन्धान विभाग (डीएचआर)-आईसीएमआर स्वास्थ्य अनुसन्धान उत्कृष्टता शिखर सम्मेलनमा गरिएको हो।
स्वास्थ्य अनुसन्धान विभाग र आईसीएमआरद्वारा १६ र १७ नोभेम्बर २०२६ मा आयोजित दुईदिने यस शिखर सम्मेलनमा आईसीएमआरका संस्थानहरू, साझेदार संस्थाहरू, सरकारी सङ्गठनहरू तथा शैक्षिक क्षेत्रका ६०० भन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, प्रशासक तथा नीतिनिर्माताहरू सहभागी भएका थिए। यस सम्मेलनले देशमा जैविक चिकित्सा तथा स्वास्थ्य अनुसन्धानमा आईसीएमआरको ११५ वर्षको योगदानलाई समेत चिह्नित गरेको छ।
यस शिखर सम्मेलनले स्वास्थ्य अनुसन्धानमा उत्कृष्टताको पहिचान गर्ने तथा वैज्ञानिक प्रमाणहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न प्रोत्साहन गर्ने राष्ट्रिय मञ्चका रूपमा काम गर्दछ। यसले अनुसन्धान प्रकाशन, प्रविधि, पेटेन्ट तथा अनुसन्धान व्यवस्थापनका क्षेत्रमा आईसीएमआरका संस्थानहरू र बाह्य साझेदार संस्थाहरूको महत्त्वपूर्ण योगदानलाई प्रस्तुत गर्नुका साथै अनुसन्धानकर्ता, उद्योग क्षेत्र तथा नीतिनिर्माताहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्दछ।
प्रविधि हस्तान्तरण समारोहका क्रममा आईसीएमआरले ९ वटा भारतीय कम्पनीसँग ८ वटा प्रविधिसम्बन्धी २० वटा इजाजतपत्र सम्झौता आदानप्रदान गरेको छ। यससँगै केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जे. पी. नड्डाद्वारा मार्च २०२५ मा सुरु गरिएको आईसीएमआरको प्रमुख पहल ‘मेडिकल इनोभेसन्स पेटेन्ट मित्र’ अन्तर्गत दुई वर्षभन्दा कम समयमै सफल प्रविधि हस्तान्तरण सम्झौताको कुल सङ्ख्या १०० पुगेको छ। यस उपलब्धिले उद्योग क्षेत्रसँगको साझेदारीमार्फत अनुसन्धान तथा स्वदेशी नवप्रवर्तनलाई व्यावहारिक प्रयोगमा ल्याउन आईसीएमआरले गरिरहेको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ।
नवप्रवर्तन प्रदर्शनीमा आईसीएमआरका संस्थानहरू तथा बाह्य साझेदार संस्थाहरूद्वारा विकसित १७ वटा प्रविधि प्रदर्शन गरिएका थिए। यसका अतिरिक्त, प्रविधि तथा पेटेन्टसम्बन्धी विशेष सत्रमा १० वटा प्रविधि र ८ वटा पेटेन्ट प्रस्तुत गरिएका थिए। यसले देशको स्वास्थ्य अनुसन्धान प्रणालीबाट विकसित भइरहेका नवप्रवर्तनको व्यापकतालाई उजागर गरेको छ।
शिखर सम्मेलनमा तीनवटा नयाँ पहलको शुभारम्भ गरिएको छ। स्वास्थ्य अनुसन्धान विभागको नयाँ ‘रिसर्च टु एक्सन भर्टिकल’ ले अनुसन्धानबाट प्राप्त प्रमाणहरूलाई नीति तथा कार्यक्रम निर्माणका लागि निर्णय लिन उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ। स्वास्थ्य अनुसन्धान विभागको भाइरस अनुसन्धान तथा निदान प्रयोगशाला (भीआरडीएल) योजनाअन्तर्गतको ‘सिन्ड्रोमिक सर्भिलेन्स’ ले ७० वटा भाइरस अनुसन्धान तथा निदान प्रयोगशाला (भीआरडीएल) र सङ्क्रामक रोग अनुसन्धान तथा निदान प्रयोगशालाहरू (आईआरडीएल) लाई समेटेर रोगको प्रकोपबारे पूर्वचेतावनी दिने सञ्जाल स्थापना गर्नेछ। आज शुभारम्भ गरिएको ‘डा. एम. के. भान युवा चिकित्सा सङ्काय पीएचडी पोर्टल’ ले इच्छुक आवेदकहरूका लागि आवश्यक जानकारी उपलब्ध गराउने केन्द्रीकृत डिजिटल मञ्चका रूपमा काम गर्नेछ।
आईसीएमआरले सूक्ष्मजीवरोधी औषधिप्रतिको प्रतिरोध (एएमआर) सम्बन्धी वार्षिक प्रतिवेदन तथा मानक सञ्चालन कार्यविधि पनि सार्वजनिक गरेको छ। यसमा सूक्ष्मजीवरोधी औषधिप्रतिको प्रतिरोधसम्बन्धी राष्ट्रिय प्रमाणहरू तथा प्रयोगशालाका मानकीकृत कार्यविधिहरू समेटिएका छन्। यसका साथै, अनुसन्धानबाट प्राप्त उपलब्धिहरूले आम जनताको जीवनमा पारेको प्रभाव झल्काउने २५ वटा कथा समेटिएको आईसीएमआर सङ्कलन ग्रन्थ पनि सार्वजनिक गरिएको छ।
अनुसन्धान उत्कृष्टता प्रदर्शनीमा छनोट गरिएका प्रकाशनहरू प्रस्तुत गरिएका थिए भने नवप्रवर्तन उत्कृष्टता प्रदर्शनीमा छनोट गरिएका प्रविधि तथा पेटेन्टहरू प्रदर्शन गरिएका थिए। अनुसन्धान प्रशासन तथा वित्तसम्बन्धी विशेष सत्रमा अनुदान व्यवस्थापन, खरिद तथा वित्तीय प्रक्रियालाई सरल बनाउने उपायहरूबारे छलफल गरिएको थियो। विशेष सत्रमार्फत आईसीएमआर–राष्ट्रिय मलेरिया अनुसन्धान संस्थान (आईसीएमआर–एनआईएमआर) को स्वर्ण जयन्ती मनाइएको थियो, जसले मलेरिया अनुसन्धानमा संस्थानको ५० वर्षको योगदानलाई चिह्नित गरेको छ।
शिखर सम्मेलनमा अनुसन्धान, नवप्रवर्तन तथा संस्थागत उत्कृष्टता सम्मानमार्फत स्वास्थ्य अनुसन्धान क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरूलाई पनि सम्मान गरिएको थियो। अनुसन्धान प्रकाशन, प्रविधि, पेटेन्ट तथा संस्थागत कार्यसम्पादनका उपलब्धिका आधारमा ९ वटा विधामा अनुसन्धानकर्ता तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। आईसीएमआर अनुसन्धान व्यवस्थापन उत्कृष्टता सम्मानअन्तर्गत अनुसन्धान प्रणालीलाई सुदृढ बनाउन तथा उच्च गुणस्तरको अनुसन्धानलाई सहयोग पुर्याउन परियोजना छनोटमा संलग्न समीक्षकहरू, इन्डियन जर्नल अफ मेडिकल रिसर्च, वैज्ञानिक विभागहरू, वैज्ञानिक सहयोग एकाइहरू तथा प्रशासन र वित्त टोलीहरूको योगदानलाई मान्यता प्रदान गरिएको थियो।
एसएचआईएनई राष्ट्रिय प्रतियोगितामार्फत छनोट गरिएका उत्कृष्ट १०० जना विद्यालयका विद्यार्थीहरूलाई सार्वजनिक स्वास्थ्य क्षेत्रमा उनीहरूको योगदान तथा वैज्ञानिक सोचका लागि शिखर सम्मेलनमा सम्मानित गरिएको थियो। एसएचआईएनई (नेक्स्टजेन एक्सप्लोरर्सका लागि विज्ञान तथा स्वास्थ्य नवप्रवर्तन) देशभरिका सरकारी, सरकारी सहायता प्राप्त तथा निजी विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि आईसीएमआरको राष्ट्रव्यापी पहल हो। यस पहलको उद्देश्य वैज्ञानिक सोचको विकास गर्नु, जिज्ञासा बढाउनु तथा युवा विद्यार्थीहरूलाई जैविक चिकित्सा र स्वास्थ्य अनुसन्धान क्षेत्रमा आफ्नो भविष्य खोज्न प्रेरित गर्नु हो।
राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू सम्बोधन गर्न तथा सबैको पहुँचमा पुग्ने, किफायती र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने भारतको प्रयासलाई अघि बढाउन सुदृढ, सहकार्यमा आधारित तथा नवप्रवर्तनमुखी स्वास्थ्य अनुसन्धान प्रणालीको महत्त्वलाई शिखर सम्मेलनले पुनः पुष्टि गरेको छ।
नयाँ दिल्लीको मुख्यालय रहेको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) जैविक चिकित्सा अनुसन्धानको नीति निर्माण, समन्वय तथा प्रवर्द्धन गर्ने भारतको सर्वोच्च निकाय हो। सन् १९११ मा स्थापना भएको आईसीएमआर विश्वकै सबैभन्दा पुराना चिकित्सा अनुसन्धान संस्थाहरूमध्ये एक हो। यो भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य अनुसन्धान विभाग मातहत कार्यरत छ।












********
MPS/TWB