कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

श्री शिवराज सिंह चौहानले नोभेम्बर २० मा भारतको पहिलो स्वदेशी एच५एन१ (क्लेड २.३.२.१ए) कुखुराको खोप राष्ट्रलाई समर्पण गर्ने


आईसीएआर–एनआईएचएसएडीद्वारा कुखुरामा लाग्ने रोगको नियन्त्रणलाई सुदृढ बनाउन स्वदेशमै एच५एन१ खोपको विकास

पोस्ट गरियो: 18 NOV 2026 9:38AM by PIB Gangtok

नयाँ दिल्ली, १८ नोभेम्बर २०२६:

केन्द्रीय कृषि तथा किसान कल्याण एवं ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले २० नोभेम्बर, २०२६ मा भोपालस्थित आईसीएआर–नेशनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजिजेज (आईसीएआर–एनआईएचएसएडी) मा भारतको पहिलो स्वदेशी निष्क्रिय एच५एन१ (क्लेड २.३.२.१ए) अत्यधिक सङ्क्रामक पक्षी इन्फ्लुएन्जा (एचपीएआई) विरुद्धको कुखुराका लागि तयार पारिएको खोप राष्ट्रलाई समर्पण गर्नुहुनेछ। भोपालस्थित आईसीएआर–एनआईएचएसएडीले स्वदेशमै विकास गरेको यो खोप क्लेड २.३.२.१ए को एच५एन१ एचपीएआई भाइरसविरुद्ध भारतमा स्वानिर्मित  पहिलो खोप हो।

पृष्ठभूमि

अत्यधिक सङ्क्रामक पक्षी इन्फ्लुएन्जा (एचपीएआई), जसलाई सामान्यतया बर्ड फ्लु भनिन्छ, कुखुरामा लाग्ने गम्भीर रोग हो। यस रोगको प्रकोपका कारण सङ्क्रमित चराहरूमा मृत्युदर लगभग १०० प्रतिशतसम्म पुग्न सक्छ, जसले गर्दा ठूलो सङ्ख्यामा चराहरू नष्ट गर्नुपर्ने र व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने अवस्थाका कारण कुखुरापालक किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ। यसको प्रभाव कुखुरापालन फार्ममा मात्र सीमित हुँदैन; यसले विश्वव्यापी व्यापार, कुखुराजन्य उत्पादनको मूल्य र किसानहरूको जीविकोपार्जनमा समेत असर पार्न सक्छ। सन् २००६ मा भारतमा यस रोग पहिलोपटक देखिएदेखि हालसम्म देशमा एच५एन१ र एच५एन८ उपप्रकारका गरी ५०० भन्दा बढी संयुक्त प्रकोपका घटनाहरू रिपोर्ट गरिएका छन्।

बर्ड फ्लुको ठूलो प्रकोपले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरमा १.५ प्रतिशतसम्म गिरावट ल्याउन सक्छ भने रोग नियन्त्रणबाहिर फैलिएमा देशको २० प्रतिशतभन्दा बढी कुखुराको सङ्ख्या जोखिममा पर्न सक्छ। सन् २००६ मा फैलिएको बर्ड फ्लुको प्रकोपका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २,२०० देखि ३,००० करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको थियो। मणिपुरमा फैलिएको प्रकोपबाट राज्यको जीडीपीको ०.५ प्रतिशत बराबरको क्षति भएको थियो। यो रोग जनस्वास्थ्यका दृष्टिले पनि चिन्ताको विषय हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार सन् २००३ यता भारतसहित २५ देशमा एच५एन१ बर्ड फ्लुबाट मानिस सङ्क्रमित भएका १,००३ घटना पुष्टि भएका छन्, जसमध्ये ४७९ जनाको मृत्यु भएको छ।

भाइरससम्बन्धी अध्ययनहरूले क्लेड २.३.२.१ए भनेर चिनिने एच५एन१ प्रजाति कुखुरामा बर्ड फ्लुको अधिकांश प्रकोपका लागि जिम्मेवार रहेको देखाएका छन्। पछिल्लो समयमा यस प्रजातिबाट हुने सङ्क्रमण स्तनधारी जनावरसहित विभिन्न जनावरका प्रजातिहरूमा पनि देखिएको छ। यसका साथै मानिसमा पनि सङ्क्रमणका तीनवटा घटना पुष्टि भएका छन्। यसले कुखुरापालक किसानहरूको आर्थिक क्षति कम गर्न र कुखुराबाट अन्य जनावर तथा मानिसमा भाइरस सर्नबाट रोक्न यसको फैलावट नियन्त्रण गर्नु महत्त्वपूर्ण बनाएको छ।

हालसम्म क्लेड २.३.२.१ए को एच५एन१ भाइरसविरुद्ध कुनै विशेष व्यावसायिक खोप उपलब्ध छैन। त्यसैले भारतका लागि स्वदेशमै खोप विकास गर्नु महत्त्वपूर्ण छ। आईसीएआर–एनआईएचएसएडीले विकास गरेको यस खोपले देशमा फैलिरहेका क्लेड २.३.२.१ए एच५एन१ भाइरसका प्रजातिविरुद्ध सुरक्षा प्रदान गरी यो आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।

*********

MPS/TWB


(रिलिज आईडी: 2337722) आगन्तुक काउन्टर : 15
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Marathi , Gujarati , Kannada