वाणिज्य तथा उद्योग मन्त्रालय
एपीईडीएको सहयोगमा सिक्किमको जीआइ अङ्कित डल्ले खोर्सानी सोलोमन द्वीपमा निर्यात
15,000 केजी डल्ले खोर्सानीको निर्यातका साथ सिक्किमे कृषकहरूको आमदानीमा बढावा
Posted On:
24 MAR 2025 3:19PM by PIB Gangtok
भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत कृषि एवं प्रसंस्करित खाद्य उत्पाद निर्यात विकास प्राधिकरणले (एपीईडीए) सफलतापूर्वक सिक्किमको जीआइ अङ्कित डल्ले खोर्सानीको पहिलो खेप सोलोमन द्वीपमा निर्यात गरेको छ। यस उल्लेखनीय उपलब्धिले वैश्विक जैविक कृषि बजारमा भारतको बढ्दो प्रभुत्त्व रेखाङ्कित गर्दै पूर्वोत्तर क्षेत्रको प्रीमियम उत्पादहरूको बढ्दो अन्तरराष्ट्रिय माग पनि उजागर गर्दछ।
अत्यधिक पिरो, उज्यालो रातो रङका साथमा उच्च पोषण गुणका लागि डल्ले खोर्सानी चिनिन्छ। भिटामिन ए, सी र ईका साथै पोटासियममा समृद्ध डल्ले खोर्सानीको “स्कोभिले हीट युनिट (एसएचयु)” अर्थात् पिरोपन 100,000 देखि 350,000 सम्म रहने हुँदा दुवै पाक परिकार अनि औषधीय गुणका लागि यसलाई उच्च माग भएको मसला बनाउँदछ।
विस्तृत उपार्जन सञ्जालको माध्यमद्वारा, मेभेदिरद्वारा तीनकिताम अनि तार्कु क्षेत्र लगायत दक्षिण सिक्किमका कृषक अनि कृषक उत्पादक सङ्गठनहरू (एफपीओ) बाट करिब 15,000 केजी ताजा डल्ले खोर्सानी सङ्कलन गरिएको थियो। उक्त खेपको परिणामस्वरूप कृषकहरूलाई सामान्य ₹180-200 प्रति केजीको साटो त्योभन्दा बढी ₹250-300 प्रति केजी प्राप्त हुने लगायत जीआइ अङ्कन अनि अन्तरराष्ट्रिय कारोबारको आर्थिक फाइदा प्राप्त हुने सुनिश्चित भएको थियो।
डल्ले खोर्सानीको उक्त खेपको प्रसंस्करण कार्य सिक्किमको बागवानी विभागद्वारा विकसित तथा एपीईडीएद्वारा वित्तपोषित एकिकृत प्याकहाउसमा गरिएको थियो। कूल मात्रामध्ये, 9,000 केजी सुकाइएको थियो भने रहल 6,000 केजी भावी प्रसंस्करण अनि निर्यातको निम्ति संरक्षित गरिएको थियो। सुकाउने प्रक्रियामा 12.5% को बहाली दर प्राप्त भएको थियो, जहाँ 1,600 केजी ताजा डल्ले खोर्सानीलाई निर्यातको निम्ति 200 केजी सुक्खा खोर्सानीमा प्रसंस्करण गरिएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि स्वस्थ अनि अरू व्यापक सतत भविष्यको भारतीय सपनाको कुञ्जी पूर्वोत्तरमा रहेको कुरामाथि बल दिएका थिए। यसका साथै भौगोलिक सूचक (जीआइ) अङ्कन मान्यता मात्र नभएर कृषक अनि शिल्पीहरूका लागि रूपान्तरणकारी अवसर रहेको र यसले नयाँ बजारहरू खुल्ला गर्दै क्षेत्रको आर्थिक समृद्धि सुनिश्चित गर्ने उल्लेख उनले गरेका थिए।
वर्ष 2020 मा, वाणिज्य एवं उद्योग मन्त्रालयको उद्योग एवं आन्तरिक कारोबार प्रोत्साहन विभागले (डीपीआइआइटी) सिक्किममा खेती गरिने अति नै पिरो प्रजातिको डल्ले खोर्सानीलाई जीआइ ट्याग वा अङ्कन प्रदान गरेको थियो। पूर्वोत्तर क्षेत्र कृषि विपणन निगमले (नेरामेक) जीआइ पञ्जिकरण सुगम बनाउँदै यस विशेष उत्पादको पहिचान र बेच-बिखनको योग्यतालाई प्रबलता प्रदान गरेको थियो।
भारत सरकारले कृषि तथा कृषक कल्याण विभागको नेतृत्त्वमा पूर्वोत्तरका लागि जैविक मूल्य शृङ्खला विकास मिशन (एमओभीसीडी-एनईआर) योजना अन्तर्गत पूर्वोत्तर क्षेत्रमा सक्रियताका साथ जैविक खेतीलाई प्रोत्साहित गर्दैआएको छ। यस पहलले जैविक डल्ले खोर्सानीको उत्पादन र गुणस्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै अन्तरराष्ट्रिय बजारमा यसको अपीललाई अझ बढाएको छ।
एपीईडीएले सिक्किमको कृषि विभाग तथा आफ्नो गुवाहाटी स्थित क्षेत्रीय कार्यालयको सहयोगमा यस निर्यातलाई सुगम बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै वैश्विक बजारसम्मको पहुँचबाट स्थानीय कृषक अनि एफपीओहरू लाभान्वित बन्ने सुनिश्चित गरेको छ।
यस ऐतिहासिक निर्यातका लागि, सिक्किममा जैविक उत्पाद प्रोत्साहित गर्न प्रतिबद्ध कृषि निर्यात उद्यम रहेको मेभेदिरले पहिलो खेप सीधै सोलोमन द्वीपसम्म आपूर्ति गरेको छ। यो पहिलेको परोक्ष निर्यात मार्गभन्दा फरक छ, जसले भारतको जैविक आपूर्ति शृङ्खलामाथि बढ्दो विश्वास दर्शाउँदछ। सोलोमन द्वीपका खरिददारहरूलाई 2023 मा सिङ्गापुरमा अन्तरराष्ट्रिय उपस्थितिद्वारा उत्पादसँग परिचय गराइएको थियो, जसपछि, मेभेदिर मार्फत् प्रत्यक्ष रूपमा मगाउने तय भएको थियो।
सोलोमन द्वीपमा डल्ले खोर्सानीको निर्यातले वैश्विक मसला मानचित्रमा सिक्किमको प्रसिद्धि बढाउने आशा गरिएको छ, जसले अन्तरराष्ट्रिय कारोबारको निम्ति नयाँ मार्ग प्रशस्त गर्नेछ। अनुकूल मौसम अनि मलिलो माटोका साथ सिक्किम वैश्विक मसला उद्योगमा प्रमुख खेलाडी बन्ने सम्भावना छ। यस सफल लेनदेनले भारतको जैविक कृषि उत्पादको बढ्दो वैश्विक मान्यताका साथमा विश्वव्यापी रूपमा कृषि निर्यातलाई विस्तार गर्ने प्रतिबद्धता स्पष्ट पार्दछ।
*******
(Release ID: 2114438)
Visitor Counter : 24