Energy & Environment
भारतको आरक्ष जीवमण्डल क्षेत्र
आरक्ष जीवमण्डल दिवसको अवसरमा विशेष
Posted On:
02 NOV 2026 7:07PM
|
अन्तरराष्ट्रिय जैवमण्डल आरक्ष दिवसले जैविक विविधताको संरक्षण गर्नका साथै मानव जीवन र जीविकोपार्जनलाई दिगो बनाउन जैवमण्डलीय क्षेत्रहरूले निर्वाह गर्दै आएको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्दछ। भारतमा अधिसूचित 18-वटा जैवमण्डल आरक्षमध्ये 13-वटाले युनिस्कोको मान्यता प्राप्त गगरेका छन्। यी आरक्षहरूले पश्चिम घाटदेखि उच्च हिमाली मरुभूमित तथा समुद्री पर्यावरणीय क्षेत्रसम्मका विविध पारिस्थितिक प्रणालीको प्रतिनिधित्व गर्दछ। यी क्षेत्रहरूको संरक्षणका लागि वैज्ञानिक अनुसन्धान स्थानीय समुदायको सहभागिता तथा सरकारी पहलहरूलाई प्राथमिकता दिइएको छ। यसले वातावरण संरक्षण र मानव कल्याणलाई सँगसँगै अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
|
जैव विविधता संरक्षण र दिगो विकासका बीच सन्तुलन
जैविक विविधता भन्नाले स्थलीय, समुद्री तथा अन्य जलीय प्राकृतिक पारिस्थितिक वातावरणमा पाइने जीवहरूको विविधतालाई बुझिन्छ। जैविक विविधतासम्बन्धी महासन्धि (सीबीडी) ले यस विविधताका तीनवटा तहलाई मान्यता दिएको छ। आनुवंशिक विविधता भन्नाले एउटै प्रजातिभित्र पाइने भिन्नतालाई बुझिन्छ। उदाहरणका लागि, धानका विभिन्न जातहरू। प्रजातिगत विविधता भन्नाले कुनै क्षेत्रमा पाइने विभिन्न प्रजातिहरूको विविधतालाई जनाउँछ। उदाहरणका लागि, कुनै वनमा पाइने बाघ, हात्ती र सुनाखरीका विभिन्न प्रजातिहरू। त्यसैगरी, पारिस्थितिक प्रणालीको विविधतामा वन, घाँसे मैदान, सिमसार क्षेत्र तथा प्रवाल भित्तीजस्ता विभिन्न प्राकृतिक बासस्थानहरू पर्दछन्। यी तीनवटै तहले प्राकृतिक प्रक्रियाहरूलाई निरन्तरता दिनुका साथै पृथ्वीमा जीवनको अस्तित्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
जीवमण्डल आरक्ष भन्नाले जैविक विविधताको संरक्षण र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय सरकारहरूद्वारा पहिचान गरिएका क्षेत्रहरूलाई बुझिन्छ। यस्ता क्षेत्रहरूले प्राकृतिक बासस्थानको संरक्षण गर्नुका साथै पर्यावरणीय सन्तुलन कायम राख्न र जैविक स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्छन्। जीवमण्डल आरक्षको संरक्षणले खाद्य सुरक्षा सुनिश्चित गर्न, पानीको उपलब्धता कायम राख्न, जलवायु परिवर्तनका प्रभावहरूसँग जुध्ने क्षमता बढाउन तथा स्थानीय समुदायको जीविकोपार्जनलाई सुदृढ बनाउन सहयोग पुर्याउँछ। साथै, भावी पुस्ताको हितका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न पनि यस्ता आरक्षहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्।
विश्वव्यापी महत्त्वलाई आत्मसात् गर्दै प्रत्येक वर्ष नोभेम्बर 3 तारिखका दिन अन्तरराष्ट्रिय जीवमण्डल आरक्ष दिवस मनाइन्छ। युनेस्कोद्वारा घोषणा गरिएको यस दिवसले जैविक विविधताको संरक्षण र दिगो विकासमा जीवमण्डल आरक्षहरूले पुर्याउँदै आएको योगदानलाई उजागर गर्छ। साथै, वातावरण संरक्षण र मानव कल्याणबीच सन्तुलन कायम गर्न यस्ता आरक्षहरूको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य पनि राखेको छ।
भारतका लागि यस दिवसको विशेष महत्त्व छ। यसले देशको समृद्ध प्राकृतिक सम्पदाको संरक्षणप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। विश्वका 17 वटा विशाल जैविक विविधता भएका देशहरूमध्ये एक भारतमा विश्वभर अभिलेख गरिएका प्रजातिहरूमध्ये करिब 7 देखि 8 प्रतिशत प्रजाति पाइन्छन्, जबकि पृथ्वीको कुल भूभागमध्ये भारतले केवल 2.4 प्रतिशत क्षेत्रफल ओगटेको छ। आफ्ना जीवमण्डल आरक्षहरूको सञ्जालमार्फत भारतले पारिस्थितिकीय प्रणालीको उत्थानशीलता सुदृढ बनाउनुका साथै दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ। यी प्रयासहरूले संरक्षणका प्राथमिकता र स्थानीय समुदायको विकाससम्बन्धी आवश्यकताबीच सन्तुलन कायम गर्ने भारतको प्रतिबद्धतालाई दर्शाउँछन्।
जीवमण्डल आरक्ष : अवधारणालाई बुझौँ
जैविक विविधताको संरक्षणका लागि प्राकृतिक पारिस्थितिक प्रणालीका साथै ती प्रणालीमा निर्भर समुदायहरूको आवश्यकतालाई समेत ध्यानमा राख्ने दृष्टिकोण आवश्यक हुन्छ। यसका लागि वैज्ञानिक अनुसन्धान, प्राकृतिक स्रोतसाधनको जिम्मेवार व्यवस्थापन र विभिन्न सरोकारवालाबीच सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जीवमण्डल आरक्षले यी सबै उद्देश्यलाई एकीकृत गर्ने अन्तरराष्ट्रिय मान्यताप्राप्त ढाँचा प्रदान गर्छन्।
सन् 1971 मा शुरु गरिएको युनेस्कोको मानव तथा जीवमण्डल कार्यक्रम (एमएबी) ले मानव र वातावरणबीचको सम्बन्धलाई सुधार गर्न वैज्ञानिक दृष्टिकोणलाई प्रवर्द्धन गर्छ। जीवमण्डल आरक्षहरू दिगो विकासका अभ्यासहरूको परीक्षण तथा प्रदर्शन गर्ने जीवन्त प्रयोगशालाका रूपमा कार्य गर्छन्। साथै, प्रकृतिसँग सामञ्जस्य कायम गर्दै स्थानीय समुदायलाई आफ्नो जीविकोपार्जन दिगो रूपमा सञ्चालन गर्न पनि सहयोग पुर्याउँछन्।
|
जीवमण्डल आरक्ष अन्य संरक्षित क्षेत्रहरूभन्दा कसरी फरक छन्?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षजस्ता संरक्षित क्षेत्रहरूले मुख्यतः भारतका वन्यजन्तु संरक्षणसम्बन्धी कानुनअन्तर्गत वन्यजन्तु र तिनका प्राकृतिक बासस्थानको संरक्षणमा जोड दिन्छन्। तर, जीवमण्डल आरक्षले यसभन्दा व्यापक दृष्टिकोण अपनाउँछन्। यिनीहरूले संरक्षित पारिस्थितिक प्रणालीलाई वरपरका स्थानीय समुदायसँग जोड्छन्। यसरी जैविक विविधताको संरक्षण र मानव कल्याण एकसाथ अघि बढ्न सक्छन् भन्ने कुराको उदाहरणीय नमुनाका रूपमा जीवमण्डल आरक्षहरूले काम गर्छन्।
|
जैवमण्डल आरक्षका प्रमुख कार्यहरू
जैवमण्डल आरक्षहरूले मुख्यतया तीनवटा महत्वपूर्ण कार्यहरू सम्पादन गर्दछन्:
- संरक्षण: जैविक विविधता, आनुवंशिक स्रोत, पारिस्थितिक प्रणाली तथा प्राकृतिक भू-दृश्यहरूको संरक्षण गर्नुका साथै तिनसँग सम्बन्धित सांस्कृतिक विविधताको समेत संरक्षण गर्नु।
- दिगो आर्थिक विकास (Sustainable Economic Development): पर्यावरणीय सीमाहरू र स्थानीय सांस्कृतिक मूल्य-मान्यताको सम्मान गर्दै आर्थिक तथा सामाजिक गतिविधिहरूलाई प्रोत्साहन गर्नु।
- वैज्ञानिक सहयोग (Scientific Support): संरक्षणका अभ्यासहरूलाई अझ प्रभावकारी बनाउन वैज्ञानिक अनुसन्धान, वातावरणीय अनुगमन, शिक्षा, तालिम तथा ज्ञानको आदानप्रदानलाई सहयोग पुर्याउनु।
तीनवटा अन्तरसम्बन्धित क्षेत्र
जैवमण्डल आरक्षमा संरक्षणका विभिन्न स्तर र मानवीय गतिविधिबीच सन्तुलन कायम गर्न तीनवटा क्षेत्रको व्यवस्था गरिएको हुन्छ। प्रत्येक क्षेत्रको आफ्नै विशिष्ट उद्देश्य हुन्छ, जसले समग्र जैवमण्डल आरक्षको लक्ष्य हासिल गर्न योगदान पुर्याउँछ।
- मूल क्षेत्र :मूल क्षेत्रले पारिस्थितिक प्रणाली र जैविक विविधताको उच्चतम स्तरको संरक्षण प्रदान गर्दछ। यसले प्राकृतिक वासस्थान, वनस्पति तथा जीवजन्तुका प्रजाति र आनुवंशिक विविधताको संरक्षण गर्नुका साथै महत्त्वपूर्ण पारिस्थितिक प्रक्रियालाई निरन्तरता दिन्छ। यस क्षेत्रमा मानवीय गतिविधिहरूलाई कडाइका साथ सीमित गरिएको हुन्छ। दीर्घकालीन संरक्षणका लागि अनुकूल वैज्ञानिक अनुसन्धान र नियमित अनुगमन गर्न भने अनुमति दिइन्छ।
- मध्यवर्ती क्षेत्र : मध्यवर्ती क्षेत्र मूल क्षेत्रको वरिपरि वा त्यससँग जोडिएको हुन्छ। यस क्षेत्रमा संरक्षणका उद्देश्यसँग मेल खाने गतिविधिहरू सञ्चालन गर्न सकिन्छ। वातावरणीय शिक्षा, वैज्ञानिक अनुसन्धान तथा नियन्त्रित पारिस्थितिक पर्यटन (Ecotourism) यसका प्रमुख गतिविधिहरू हुन्। यस्ता गतिविधिले पारिस्थितिक प्रणालीबारे जनचेतना र ज्ञान अभिवृद्धि गर्नुका साथै कडा संरक्षण गरिएको मूल क्षेत्रमा पर्ने दबाब कम गर्न मद्दत पुर्याउँछन्।
- संक्रमण क्षेत्र :संक्रमण क्षेत्रमा बस्ती, स्थानीय जनजीविका तथा दिगो आर्थिक गतिविधिहरूलाई प्राथमिकता दिइन्छ। यस क्षेत्रमा स्थानीय समुदायले जिम्मेवार कृषि, दिगो वन व्यवस्थापन, पारिस्थितिक पर्यटन तथा स्थानीय आवश्यकता र परिस्थितिअनुकूल अन्य आर्थिक गतिविधिहरू सञ्चालन गर्न सक्छन्। यस क्षेत्रले प्राकृतिक स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्दै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासमा सहयोग पुर्याउँछ।

विश्वभरका जैवमण्डल आरक्षहरूमा औसतमा 18 प्रतिशत मूल क्षेत्र (Core Zone), 30 प्रतिशत मध्यवर्ती क्षेत्र (Buffer Zone) र 52 प्रतिशत संक्रमण क्षेत्र (Transition Zone) रहेका हुन्छन्। क्षेत्रहरूको यो वितरणले जैविक विविधताको कडा संरक्षण र दिगो विकासबीच सन्तुलन कायम गर्ने जैवमण्डल आरक्षको एकीकृत अवधारणालाई प्रतिबिम्बित गर्दछ। यसले प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई समेत प्रोत्साहन गर्दछ।
|
के तपाईंलाई थाहा छ?
युनेस्को (UNESCO) को विश्व जैवमण्डल आरक्ष सञ्जालमा 145 देशका कुल 797 वटा जैवमण्डल आरक्ष समावेश छन्। यी क्षेत्रहरूमा बसोबास गर्ने करिब 30 करोड मानिस प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। यी क्षेत्रहरूको पारिस्थितिक महत्त्व तिनको भौगोलिक क्षेत्रफलभन्दा धेरै व्यापक छ। पृथ्वीको कुल स्थलीय सतहको करिब 5 प्रतिशत भाग ओगट्ने जैवमण्डल आरक्षहरूले विश्वका स्थलीय मेरुदण्डधारी जीवजन्तुका 60 प्रतिशतभन्दा बढी प्रजातिगत विविधतालाई संरक्षण र आश्रय प्रदान गर्छन्। विश्व जैवमण्डल आरक्ष सञ्जालको नक्सा 2025-26 अनुसार, सन् 2050 सम्ममा करिब 40 प्रतिशत जैवमण्डल आरक्षहरूले अझ बढी चरम जलवायुजन्य घटनाहरूको सामना गर्नुपर्ने सम्भावना छ। साथै, विश्वका 50 प्रतिशतभन्दा बढी जैवमण्डल आरक्षहरू अन्य अनन्तरराष्ट्रिय संरक्षणसम्बन्धी मान्यताप्राप्त क्षेत्रहरूसँग समेत जोडिएका वा दोहोरिएका छन्।
|
भारतका जैवमण्डल आरक्षहरू
भारत जैवमण्डल आरक्षहरूको प्रवर्द्धन तथा व्यवस्थापनमा अग्रणी राष्ट्रका रूपमा रहेको छ। यसले जैविक विविधताको संरक्षण र दिगो पारिस्थितिक प्रणालीसम्बन्धी अभ्यासहरूलाई अघि बढाउन भारतको प्रतिबद्धता झल्काउँछ।
भारतको जैवमण्डल आरक्ष सञ्जाल
भारतको जैवमण्डल आरक्ष सञ्जालले यहाँका विविध पारिस्थितिक प्रणाली तथा समृद्ध प्राकृतिक सम्पदाको प्रतिनिधित्व गर्दछ। वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा भारतले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय (MoEFCC) का अनुसार, भारतमा हाल 18 वटा अधिसूचित जैवमण्डल आरक्ष रहेका छन्। तीमध्ये 13 वटा युनेस्कोको विश्व जैवमण्डल आरक्ष सञ्जालमा सूचीकृत छन्। यससँगै दक्षिण एसियामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त जैवमण्डल आरक्षको सबैभन्दा बढी सङ्ख्या भएको देश भारत बनेको छ।
|
क्र. सं.
|
बायोस्फीयर रिजर्वको नाम
|
नामित गरिएको वर्ष
|
विश्व बायोस्फीयर रिजर्व नेटवर्क (डब्ल्यूएनबीआर) मा सामेल भएको वर्ष
|
राज्य
|
क्षेत्रफल (वर्ग किमी.)
|
|
1
|
नीलगिरि*
|
1986
|
2000
|
तमिलनाडु, केरल तथा कर्नाटक
|
5,520
|
|
2
|
नन्दा देवी*
|
1988
|
2004
|
उत्तराखण्ड
|
6,407.03
|
|
3
|
नोकरेक*
|
1988
|
2009
|
मेघालय
|
820
|
|
4
|
मन्नारको खाड़ी *
|
1989
|
2001
|
तमिलनाडु
|
10,500
|
|
5
|
सुन्दरबन*
|
1989
|
2001
|
तमिलनाडु
|
9,630
|
|
6
|
मानस
|
1989
|
—
|
असम
|
2,837
|
|
7
|
ग्रेट निकोबार *
|
1989
|
2013
|
अण्डमान तथा निकोबार द्वीपसमूह
|
885
|
|
8
|
सिमिलिपाल*
|
1994
|
2009
|
ओडिशा
|
5,569
|
|
9
|
डिब्रू-सैखोवा
|
1997
|
—
|
असम
|
765
|
|
10
|
देहाङ्ग-दिबाङ्ग
|
1998
|
—
|
अरुणाचल प्रदेश
|
5,111.50
|
|
11
|
पचमढ़ी*
|
1999
|
2009
|
मध्य प्रदेश
|
4,981.72
|
|
12
|
खाङ्गचेन्दजोङ्गा*
|
2000
|
2018
|
सिक्किम
|
2,931.12
|
|
13
|
अगस्त्यमलाई*
|
2001
|
2016
|
केरल तथा तमिलनाडु
|
3,500
|
|
14
|
अचानकमार-अमरकन्टक*
|
2005
|
2012
|
मध्य प्रदेश तथा छत्तीसगढ़
|
3,835.46
|
|
15
|
कच्छको महान रण
|
2008
|
—
|
गुजरात
|
12,454
|
|
16
|
शीत मरुस्थल*
|
2009
|
2025
|
हिमाचल प्रदेश
|
7,770
|
|
17
|
शेषाचलम
|
2010
|
—
|
आन्ध्र प्रदेश
|
4,755.58
|
|
18
|
पन्ना*
|
2011
|
2020
|
मध्य प्रदेश
|
2,998.98
|
|
नोट: (*) को चिन्हले ती बायोस्फीयर रिजर्भलाई दर्शाउँछ, जसलाई युनिस्कोको विश्व बायोस्फीयर रिजर्भ नेटवर्क (डब्लयूएनबीआर) मा सामेल गरिएको छ।
|

यस विस्तारित सञ्जालसँगै भारतले यी पारिस्थितिकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्रहरूको व्यवस्थापन तथा संरक्षणका लागि छुट्टै कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयको जैवमण्डल आरक्ष (Biosphere Reserve) शाखाले ‘जैविक विविधता संरक्षण’ (Biodiversity Conservation) नामक केन्द्र प्रायोजित योजना सञ्चालन गर्दै आएको छ। यो योजना ‘प्राकृतिक स्रोत तथा पारिस्थितिक प्रणालीको संरक्षण’ (Conservation of Natural Resources and Ecosystems) नामक समग्र योजनाअन्तर्गतको उपयोजना हो।
यस योजनाअन्तर्गत मन्त्रालयको उक्त शाखाले युनेस्कोको ‘मानव तथा जैवमण्डल कार्यक्रम’ (Man and the Biosphere Programme) को ढाँचाअनुसार घोषित जैवमण्डल आरक्षहरूलाई सहयोग प्रदान गर्दछ। आरक्षहरूको व्यवस्थापन योजनामा उल्लेख गरिएका संरक्षण तथा विकाससम्बन्धी गतिविधि सञ्चालन गर्न सम्बन्धित राज्यहरूलाई अनुदान सहायता उपलब्ध गराइन्छ। यस योजनाको कार्यान्वयन सम्बन्धित राज्यका वन विभागहरूले गर्छन्। यसअन्तर्गत मन्त्रालयले राज्यहरूलाई लागत साझेदारीको आधारमा अनुदान उपलब्ध गराउँछ। अन्य राज्यहरूका लागि केन्द्र र राज्यबीचको लागत साझेदारी अनुपात 60:40 रहेको छ भने उत्तरपूर्वी तथा हिमाली राज्यहरूका लागि यो अनुपात 90:10 रहेको छ।
आर्थिक वर्ष 2022–23 देखि मन्त्रालयले चारवटा जैवमण्डल आरक्षका लागि पाँचवर्षे एकीकृत व्यवस्थापन योजना (Integrated Management Plans) को नमुना कार्यक्रम सुरु गरेको छ। यसमा उत्तराखण्डको नन्दा देवी, मध्य प्रदेशको पचमढी, अरुणाचल प्रदेशको देहाङ–दिबाङ तथा केरल र तमिलनाडुमा फैलिएको अगस्त्यमलाई जैवमण्डल आरक्ष समावेश छन्। यी योजनाले जैवमण्डल आरक्षका व्यवस्थापन निकाय, अनुसन्धान संस्थान तथा स्थानीय समुदायलाई एउटै मञ्चमा ल्याउँछन्। यसका प्रमुख प्राथमिकतामा प्राकृतिक वासस्थानको पुनर्स्थापना, जैविक विविधताको अनुगमन, वैज्ञानिक अनुसन्धान तथा दिगो जीविकोपार्जनका अवसरहरू प्रवर्द्धन गर्नु रहेका छन्।
|
भारतका जैवमण्डल आरक्षहरूको एक झलक
पर्वतीय वनजङ्गलदेखि म्यान्ग्रोभयुक्त नदी डेल्टा, प्रवाल भित्ताहरू तथा उच्च हिमाली मरुभूमिसम्म फैलिएका भारतका जैवमण्डल आरक्षहरूमा अनुपम जैविक विविधता र जीवनका असङ्ख्य रूपहरू पाइन्छन्।

- निलगिरिः पश्चिमी घाट क्षेत्रमा अवस्थित निलगिरि जैवमण्डल आरक्ष विश्वस्तरमा महत्त्वपूर्ण जैविक विविधता क्षेत्र हो। तमिलनाडु, केरल र कर्नाटक गरी तीन राज्यमा फैलिएको यस आरक्षले करिब 5 लाख 52 हजार हेक्टर क्षेत्रफल ओगटेको छ। यसमा उष्णकटिबन्धीय सदाबहार वन, पहाडी शोला वन तथा घाँसे मैदानहरू समावेश छन्। विविध प्राकृतिक भू-दृश्यले यहाँ स्थानिक तथा सङ्कटापन्न प्रजातिसहित समृद्ध जैविक विविधतालाई संरक्षण प्रदान गरेको छ। यस आरक्षमा सङ्कटापन्न सिंहपुच्छ्रे बाँदर (Lion-tailed Macaque) र निलगिरि थारका साथै हात्ती, बाघ, गौर, साम्बर र चित्तल पाइन्छन्। यहाँ 100 भन्दा बढी स्तनधारी प्रजाति र 550 भन्दा बढी चराका प्रजातिका साथै असङ्ख्य सरीसृप तथा उभयचर प्रजातिहरू पाइन्छन्। निलगिरि जिल्लामा मात्र 6 हजारभन्दा बढी वनस्पति प्रजाति अभिलेख गरिएका छन्, जसले यस क्षेत्रको असाधारण वनस्पति सम्पदालाई उजागर गर्छ।

- शीत मरुभूमिः हिमाचल प्रदेशमा अवस्थित शीत मरुभूमि जैवमण्डल आरक्षले 7 हजार 770 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। समुद्री सतहबाट 3 हजार 300 देखि 6 हजार 600 मिटरको उचाइमा फैलिएको यस आरक्षको कठोर उच्च हिमाली भू-परिवेशमा 30 वटा स्थानिक प्रजातिसहित 732 प्रजातिका संवहनी वनस्पति पाइन्छन्। यस क्षेत्रमा हिउँ चितुवा, हिमाली आइबेक्स र नीलो भेडा (ब्लु सिप) जस्ता वन्यजन्तु पाइन्छन्। यस क्षेत्रमा करिब 12 हजार मानिसको बसोबास छ। यहाँका समुदायले पशुपालन, याक तथा बाख्रापालन, जौ र केराउ खेती तथा तिब्बती परम्परागत जडीबुटी उपचार पद्धतिमार्फत आफ्नो परम्परागत जीविकोपार्जन कायम राखेका छन्।

- मन्नारको खाडीः तमिलनाडुको दक्षिणपूर्वी तटबाट टाढा समुद्री क्षेत्रमा अवस्थित मन्नारको खाडी जैवमण्डल आरक्ष भारतका सबैभन्दा समृद्ध समुद्री जैविक विविधता क्षेत्रहरूमध्ये एक हो। करिब 10 लाख 50 हजार हेक्टर क्षेत्रफलमा फैलिएको यस आरक्षमा प्रवाल भित्ताहरू, समुद्री घाँसे मैदान तथा म्यान्ग्रोभ वनहरू समावेश छन्।यी एकअर्कासँग अन्तरसम्बन्धित पारिस्थितिक प्रणालीहरूले 4 हजार 223 प्रजातिका वनस्पति तथा जीवजन्तुलाई संरक्षण र वासस्थान प्रदान गरेका छन्। यस जैवमण्डल आरक्षले करिब 47 वटा तटीय गाउँमा बसोबास गर्ने लगभग २५ लाख मानिसको जीविकोपार्जनलाई समेत टेवा पुर्याउँदै आएको छ।
|
संरक्षणको केन्द्रमा स्थानीय समुदाय: एक सफलताको कथा

नीलगिरि जैवमण्डल आरक्षका आदिवासी समुदायले उखेलिएका लान्टाना (Lantana) का लहरालाई हात्तीका मूर्ति, फर्निचर तथा विभिन्न हस्तकलाका सामग्रीमा रूपान्तरण गर्दै आएका छन्।
यस पहलले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउनुका साथै प्राकृतिक वासस्थानको विनाशबारे जनचेतना अभिवृद्धि गरिरहेको छ। सन् 2021 मा लान्टानाबाट बनाइएका जीवन्त आकारका 125 वटा हात्तीका मूर्ति लन्डनमा प्रदर्शन गरिएका थिए, जसले वन्यजन्तु र मानवबीच सहअस्तित्वको सन्देश प्रवाह गरेको थियो। यस्ता मूर्तिहरू बेङ्गलुरु विमानस्थल, बेङ्गलुरुका विभिन्न स्थान तथा राष्ट्रपति भवनमा समेत प्रदर्शन गरिएका छन्। यस पहलले हटाइएको लान्टाना झारलाई आर्थिक उपयोगमा ल्याउनुका साथै आदिवासी हस्तकलाकारका लागि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गरेको छ। साथै, आक्रामक प्रजातिका वनस्पतिबारे सर्वसाधारणमा जनचेतना फैलाउन पनि योगदान पुर्याएको छ।
|
के तपाईंलाई थाहा छ?
लान्टाना क्यामारा (Lantana camara) एउटा आक्रामक झाडी प्रजातिको वनस्पति हो, जुन भारतका करिब 3 लाख वर्ग किलोमिटर वन क्षेत्रमा फैलिएको छ। यसले बाक्लो झाडीको रूप लिई स्थानीय वनस्पतिको वृद्धि रोक्ने, जैविक विविधता घटाउने तथा प्राकृतिक डढेलोको स्वरूपमा परिवर्तन ल्याउने गर्छ। यस वनस्पतिबाट निस्कने रासायनिक पदार्थले अन्य वनस्पतिको वृद्धि अवरुद्ध गर्छ भने तीव्र गतिमा पुनः उम्रने क्षमताका कारण यसलाई पूर्ण रूपमा हटाउन कठिन हुन्छ। सन् 1916 देखि नै यसको उन्मूलनका प्रयास हुँदै आए पनि लान्टानाको नियन्त्रण अझै खर्चिलो र चुनौतीपूर्ण रहँदै आएको छ।
|
भविष्यको मार्गचित्र
भारतका जैवमण्डल आरक्षहरूले प्रकृति र मानव समुदाय सँगसँगै समृद्ध हुन सक्ने भविष्यको आशाजनक नमुना प्रस्तुत गरेका छन्। वैज्ञानिक अनुसन्धान, प्राकृतिक वासस्थानको पुनर्स्थापना तथा समुदायको अगुवाइमा सञ्चालन हुने संरक्षणका प्रयासमा निरन्तर लगानीले यी क्षेत्रहरूको पारिस्थितिक समृद्धि जोगाउन मद्दत पुर्याउन सक्छ।परम्परागत ज्ञान र आधुनिक अनुगमन प्रणालीलाई एकीकृत गर्दै भारतले सुदृढ पारिस्थितिक प्रणाली र दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न सक्छ। सरकार, अनुसन्धानकर्ता, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबीचको सशक्त सहकार्यले यी प्राकृतिक क्षेत्रहरूको संरक्षण र विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। अन्ततः, जैवमण्डल आरक्षहरूले प्रकृतिको संरक्षणले मानव जीवनलाई समृद्ध बनाउनुका साथै सांस्कृतिक सम्पदाको रक्षा र भावी पुस्ताका लागि स्वस्थ भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्छन्।
सन्दर्भ
पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (यूनेस्को)
संयुक्त राष्ट्रका सङ्गठन
पीआईबी ब्याकग्राउण्डर्स
अन्य
कृपया पीडीएफ हेर्नुहोस्
*********
MPS/TWB
(Explainer ID: 160697)
आगंतुक पटल : 6
Provide suggestions / comments