गोवा, 27 नोभेम्बर, 2026।
कुनै समय पुस्तौँसम्मका विद्यार्थीलाई मार्गदर्शन गरेका शिक्षकहरू नै बदलिँदो कक्षाकोठासँग तालमेल मिलाउन सङ्घर्ष गर्नुपर्ने अवस्थामा पुग्दा के हुन्छ? यही प्रश्न चलचित्र निर्देशक सरफराज आलमको पहिलो हिन्दी फिचर चलचित्र कबिर सर का आखिरी लेसनको मूल विषय हो। ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा यस चलचित्रको विश्व प्रिमियर गरिएको थियो।
यस चलचित्रको प्रेरणा आलमले बिहारको नालन्दा जिल्लास्थित आफ्नो बाल्यकालको विद्यालय भ्रमणका क्रममा प्राप्त गरेको एउटा अनुभवबाट लिनुभएको हो। उहाँले परम्परागत ब्ल्याकबोर्डको स्थान स्मार्ट बोर्डले लिएको र अनुभवी शिक्षकहरू नयाँ प्रविधिसँग अभ्यस्त हुन सङ्घर्ष गरिरहेको पाउनुभयो। उहाँले देखेको यस अवस्थाले शिक्षण पेसामा आइरहेका परिवर्तन र आज शिक्षकहरूले सामना गरिरहेका चुनौतीबारे सोच्न प्रेरित गर्यो।
_20261127162709_cc41e7.jpeg)
आज गोवामा प्रेस पत्र सूचना कार्यालय (पीआईबी) द्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त अनुभव स्मरण गर्दै आलमले भन्नुभयो, “दुई वर्षअघि आफ्नो विद्यालय जाँदा मैले स्मार्ट बोर्डले ब्ल्याकबोर्डलाई विस्थापित गरेपछि मेरा शिक्षकहरू नयाँ प्रविधिसँग तालमेल मिलाउन सङ्घर्ष गरिरहेको देखेँ। यहीँबाट यस चलचित्रको विचार आएको हो।”
बिहारको एउटा सामान्य गाउँको विद्यालयदेखि रुसमा चिकित्सा शिक्षा अध्ययन र त्यसपछि न्युयोर्क फिल्म एकेडेमीमा चलचित्र निर्माणको अध्ययनसम्मको आफ्नो यात्राबारे चर्चा गर्दै आलमले शिक्षकहरूको दीर्घकालीन प्रभाव र आफ्नो जन्मभूमिसँगको निरन्तर सम्बन्धबारे बताउनुभयो। कुनै समय अनेकौँ पुस्ताका चिकित्सक, इन्जिनियर र आईएएस अधिकारीलाई मार्गदर्शन गरेका शिक्षकहरू आज प्रविधिसम्बन्धी अवरोध र शिक्षण पेसाप्रतिको बदलिँदो दृष्टिकोणसँग जुधिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “यो चलचित्र आज उनीहरूले सामना गरिरहेका चुनौती र उनीहरूसँग गरिने व्यवहारमा आधारित छ। यसले देशभरिका दर्शकसँग सम्बन्ध स्थापित गर्नेछ।”
2
कार्टिना इन्टरटेनमेन्ट एण्ड स्पोर्ट्स प्राइभेट लिमिटेडद्वारा निर्मित १०३.५२ मिनेट लामो यस हिन्दी ड्रामामा चर्चित अभिनेता विनय पाठक मुख्य भूमिकामा छन्। आलमले पाठकको अभिनयको प्रशंसा गर्दै शिक्षक, विद्यार्थी र अभिभावकबीच बदलिँदो सम्बन्धबारे पनि विचार व्यक्त गर्नुभयो। कुनै समय शिक्षक र विद्यार्थीबीच रहने गरेको निकट भावनात्मक सम्बन्ध आधुनिक शिक्षामा क्रमशः हराउँदै गएको उहाँले बताउनुभयो। विचारपूर्वक संवाद गर्नुको महत्त्वमा जोड़ दिँदै उहाँले युवाहरूलाई अरूबारे नराम्रो बोल्नुभन्दा ध्यानपूर्वक अवलोकन गर्न र सुन्न आग्रह गर्नुभयो।
बिहारबारे चर्चा गर्दै आलमले राज्यमा भइरहेको पूर्वाधार विकासको उल्लेख गर्नुभयो। यसका साथै, राज्यको विकास र उपलब्धिलाई व्यापक दर्शकमाझ पुर्याउन चलचित्रको भूमिकामाथि जोड़ दिनुभयो।
ब्ल्याकबोर्डबाट स्मार्ट बोर्डसम्मको परिवर्तनभन्दा पर कबिर सर का आखिरी लेसन ले सम्मान, बदलिँदो पुस्ता र परिवर्तनशील समाजमा शिक्षकहरूको स्थानबारे प्रश्न उठाउँछ। चलचित्र निर्देशकको व्यक्तिगत अनुभवमा आधारित यसको कथाले भौगोलिक र सांस्कृतिक सीमाभन्दा पर रहेको एउटा सार्वभौमिक सम्बन्धलाई प्रस्तुत गर्छ। यसले गोवामा नोभेम्बर २० देखि २८, २०२६ सम्म आयोजना भइरहेको ५७औँ आईएफएफआईको मूल विषयवस्तु ‘स्टोरिज विदाउट बोर्डर्स’ सँग सामञ्जस्य राख्छ।
पत्रकार सम्मेलनको सञ्चालन श्री विवेक विश्वासले गर्नुभएको थियो।
पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्:
आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
******
MPS/TWB