57th International Film Festival of India 2026
20 – 28 Nov 2026

जीवनलाई के कुराले अर्थपूर्ण बनाउँछ? ५७औँ आईएफएफआईमा प्रदर्शन गरिएको कन्नड वृत्तचित्रले वनजङ्गलमा खोजेको छ यसको उत्तर

‘द हग अफ एम्प्टिनेस’ले गरेको छ मानवीय गरिमा, सङ्घर्षशीलता र न्यायको निरन्तर खोजलाई उजागर

पोस्ट गरियो: 26 NOV 2026 3:54PMby PIB Gangtokरिलिज आईडी: 2342058Views: 6

गोवा, 26 नोभेम्बर, 2026।

डा. प्रदीप केञ्चनुरुका नामले चिनिने कन्नड चलचित्र निर्माता श्री प्रदीप कुमार शेट्टी के.ले आज गोवामा पत्र सूचना कार्यालय (पीआईबी) द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभयो। उहाँले ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को इण्डियन प्यानोरमाअन्तर्गत गैर-फिचर चलचित्र खण्डमा समावेश आफ्नो वृत्तचित्र द हग अफ एम्प्टिनेस बारे जानकारी दिनुभयो। सन् २०२५ मा निर्माण गरिएको २० मिनेटको यस चलचित्रले आफ्नो सम्पत्ति गुमाएपछि एकान्त वनमा घर बनाएर बस्ने एक व्यक्तिको जीवनमार्फत खुशी, मानवीय गरिमा र सङ्घर्षशीलताको खोज गरेको छ।

यस चलचित्रले यसै वर्षको शुरुवातमा आयोजित १९औँ मुम्बई अन्तरराष्ट्रिय चलचित्र महोत्सव (एमआईएफएफ) मा एफआईपीआरईएससीआई अन्तरराष्ट्रिय समीक्षक पुरस्कार जितेको थियो।

चलचित्रले कर्नाटकको सुल्लिया कोअपरेटिभ ब्याङ्कमा धितो राखिएको आफ्नो सम्पत्ति ऋण तिर्न नसकेपछि सन् २००३ मा गुमाएका चन्द्रशेखरको जीवनलाई पछ्याएको छ। उक्त कारबाहीको विरोध गर्दै उनले कानुनी लड़ाइँ शुरु गर्छन्, जुन दुई दशकभन्दा धेरै समय चल्छ। यसैबीच, उनले एकान्त वन क्षेत्रलाई आफ्नो घर बनाउँछन् र त्यहाँ सङ्कलन गरिएका लहराबाट बास्केट बुनेर बिक्री गरी आफ्नो जीविका चलाउन थाल्छन्। उनको कथाले न्याय, विस्थापन, एकान्त र मानवीय सङ्घर्षशीलतासम्बन्धी प्रश्नहरूलाई एकसाथ प्रस्तुत गर्छ।

यस विषयप्रति आफू आकर्षित हुनुको कारणबारे बताउँदै श्री शेट्टीले कानुनी विवाद मात्र नभई चन्द्रशेखरको जीवनप्रतिको दर्शनले आफूलाई वृत्तचित्र निर्माण गर्न प्रेरित गरेको बताउनुभयो। बाक्लो जङ्गल, भारी वर्षा र वन्यजन्तुबीच विद्युत् र सड़कजस्ता आधारभूत सुविधाविनै जीवन बिताइरहेका चन्द्रशेखरले पनि दैनिक जीवनमा एउटा लय र उद्देश्य भेट्टाएका छन्। निर्देशकले खुशीका विभिन्न स्वरूप हुनसक्ने र त्यसलाई सधैँ भौतिक सुखसुविधाका आधारमा परिभाषित गर्न आवश्यक नरहेको धारणा व्यक्त गर्नुभयो।

आफ्नो चलचित्र निर्माणको शैलीबारे बोल्दै श्री शेट्टीले कानुनी विवादलाई अन्तर्वार्ता-आधारित परम्परागत ढङ्गले प्रस्तुत गर्ने शैलीबाट जानाजानी अलग भएको बताउनुभयो। त्यसको सट्टा, वृत्तचित्रमा एक दिनका गतिविधिहरूलाई अवलोकन गरिएको छ, जसले चन्द्रशेखरको जीवनको लय र वनसँगको उनको सम्बन्धलाई पर्दामा स्वाभाविक रूपमा प्रस्तुत हुन दिएको छ।

चलचित्रको शीर्षकबारे बोल्दै श्री शेट्टीले ग्रीक चलचित्र निर्माता योर्गोस लान्थिमोसका कृतिहरू र तिनमा मानवीय अस्तित्वसम्बन्धी प्रश्नहरूको प्रस्तुतिबाट दार्शनिक प्रेरणा लिएको बताउनुभयो। उहाँका लागि यो शीर्षकले अरूलाई रिक्त लाग्नसक्ने जीवनमा पनि अर्थ खोज्ने सम्भावनालाई प्रतिबिम्बित गर्छ।

पेसाले शिक्षक तथा चलचित्रप्रेमी श्री शेट्टीले सन् २००९ देखि आईएफएफआईमा दर्शकका रूपमा सहभागी हुँदै आएको आफ्नो सम्बन्ध स्मरण गर्नुभयो। स्वतन्त्र चलचित्र निर्माणका चुनौतीबारे बोल्दै उहाँले उक्त वृत्तचित्र ४ लाख रुपियाँको बजेटमा निर्माण गरिएको खुलासा गर्नुभयो। उहाँका एक निकट मित्रले आर्थिक सहयोग गर्नुका साथै सिर्जनात्मक स्वतन्त्रता पनि प्रदान गरेका थिए। उहाँले साझा सिर्जनात्मक दृष्टिकोणको महत्त्वमा जोड़ दिनुभयो।

 

सत्रको सञ्चालन अलिशा मेहरोत्राले गर्नुभएको थियो।

 

पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्:

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:

https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*******

MPS/TWB

 

 


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2342058
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026