सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

पीआरजीआईद्वारा प्रेस तथा आवधिक प्रकाशन दर्ता ऐन, २०२३ सम्बन्धमा पूर्वोत्तर क्षेत्रका प्रकाशकहरूसँग अन्तरक्रिया


नयाँ व्यवस्थाअन्तर्गत सरल दर्ता प्रक्रिया, डिजिटल सेवा र जवाफदेहितामा भएको अभिवृद्धिबारे पीआरजीआईद्वारा प्रकाश

अनलाइन प्रक्रियामार्फत प्रत्येक महिना करिब ७०० देखि ८०० आवेदनलाई दर्ता प्रदान गरिँदै

पोस्ट गरियो: 23 NOV 2026 4:49PM by PIB Gangtok

गुवाहाटी, 23 नोभेम्बर, 2026:

पत्र सूचना कार्यालय (पीआईबी), गुवाहाटीले सोमबार पूर्वोत्तर राज्यहरूका पत्रपत्रिका तथा आवधिक प्रकाशनका प्रकाशक र सञ्चालकहरूसँग वार्ता अन्तरक्रिया बैठक आयोजना गर्‍यो। नयाँ प्रेस तथा आवधिक प्रकाशन दर्ता ऐन, २०२३ का प्रावधानहरू तथा प्रेस सेवा पोर्टलमार्फत उपलब्ध प्रक्रिया र सेवाहरूबारे उनीहरूलाई जानकारी गराउनु बैठकको उद्देश्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका अतिरिक्त प्रेस रजिस्ट्रार जनरल श्री सन्तोष कुमारले नयाँ ऐनको महत्त्वबारे जानकारी गराउनुभयो। उहाँले डेढ़ शताब्दीभन्दा अधिक समयदेखि दर्ता प्रणालीलाई नियमन गर्दै आएको पुरानो प्रेस तथा पुस्तक दर्ता ऐन, १८६७ बाट नयाँ व्यवस्थातर्फ अघि बढ्नुपर्ने आवश्यकताबारे पनि बताउनुभयो। उहाँले मुद्रित सञ्चारमाध्यम क्षेत्रका बदलिँदा आवश्यकताअनुरूप सरल प्रक्रिया र प्रविधिमा आधारित सेवासहितको समसामयिक कानुनी संरचनाको आवश्यकतामाथि जोड़ दिनुभयो।

नयाँ प्रणालीबाट भएका सुधारहरूबारे प्रकाश पार्दै श्री कुमारले प्रत्येक महिना करिब १,००० आवेदन प्राप्त हुने र तीमध्ये करिब ७०० देखि ८०० आवेदनलाई अनलाइन प्रक्रियामार्फत दर्ता प्रदान गरिने जानकारी दिनुभयो। दर्ता प्रक्रियाको डिजिटलीकरणले प्रक्रियागत दक्षता र प्रकाशकहरूको पहुँचमा उल्लेखनीय सुधार ल्याएको उहाँले बताउनुभयो।

प्रेस सेवा पोर्टलको कार्यप्रणालीबारे जानकारी गराउँदै श्री कुमारले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध विभिन्न सेवा तथा प्रक्रियाहरूबारे सहभागीहरूलाई अवगत गराउनुभयो। उहाँले प्रकाशकहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न पीआरजीआईले स्थापना गरेका सहयोग संयन्त्रहरूबारे पनि प्रकाश पार्नुभयो। यसअन्तर्गत साप्ताहिक बैठक, अनलाइन गुनासो समाधान सुविधा तथा ल्याण्डलाइन र मोबाइल फोन दुवैमार्फत सम्पर्क गर्न सकिने समर्पित हेल्पडेस्क रहेका छन्।

कानुनी प्रावधानहरूको पालना गर्नुको महत्त्वमा जोड़ दिँदै श्री कुमारले प्रकाशकहरूका लागि वार्षिक विवरण पेस गर्नु अनिवार्य रहेको जानकारी दिनुभयो। वार्षिक विवरण पेस गर्न पहिलोपटक असफल हुँदा लाग्ने जरिवाना १,००० रुपियाँबाट बढ़ाएर १०,००० रुपियाँ पुर्‍याइएको छ भने त्यसपछिका उल्लङ्घनमा अझ धेरै जरिवाना लाग्ने व्यवस्था गरिएको छ। उहाँले प्रकाशनको नियमिततासम्बन्धी प्रावधानबारे पनि स्पष्ट पार्नुभयो, जसअनुसार प्रकाशकहरूले आफ्नो आवधिक प्रकाशनको पहिलो पृष्ठ प्रकाशन भएको ४८ घण्टाभित्र प्रेस सेवा पोर्टलमा अपलोड गर्नुपर्नेछ।

श्री कुमारले दर्ता भएका आवधिक प्रकाशनहरूको अभिलेख अद्यावधिक राख्न पीआरजीआईले गरिरहेको अभ्यासबारे पनि प्रकाश पार्नुभयो। ३ वर्षभन्दा अधिक समयदेखि वार्षिक विवरण पेस नगरेका प्रकाशनका शीर्षकहरू निष्क्रिय वर्गमा राखिएका छन् भने १० वर्षभन्दा अधिक समयदेखि विवरण पेस नगरेका शीर्षकहरू खारेज गरिएका छन्। यस अभ्यासअन्तर्गत करिब ८८,००० शीर्षक खारेज गरिएको उहाँले जानकारी दिनुभयो।

राज्यगत दर्तासम्बन्धी विवरण साझा गर्दै १७ नोभेम्बर, २०२६ सम्म असममा ३७३ वटा दर्ता भएका आवधिक प्रकाशन र ३८ वटा मुद्रणालय रहेको जानकारी दिइयो। कुल १६३ वटा वार्षिक विवरण पेस गरिएका थिए भने ७८ वटा आवधिक प्रकाशनलाई निष्क्रिय वर्गमा राखिएको थियो।

बैठकका क्रममा एनआईसीका उपनिर्देशक श्री गौरव शर्माले पीआरजीआईको वेबसाइट र प्रेस सेवा पोर्टलको विस्तृत प्रदर्शन पनि गर्नुभयो। विभिन्न सरोकारवालाहरू, जसमा सञ्चालक र प्रकाशकहरू समेत रहेका थिए, उनीहरूको लगइनमार्फत यी प्लेटफर्महरूको कार्यप्रणाली प्रदर्शन गरिएको थियो। यसले सहभागीहरूलाई विभिन्न सेवा र प्रक्रियाहरूबारे व्यावहारिक जानकारी प्रदान गर्‍यो। विस्तृत प्रस्तुति (यहाँ) हेर्न सकिन्छ।

पीआरजीआईले आफ्ना कुनै पनि अधिकृत प्रतिनिधि वा एजेन्ट नरहेको पनि स्पष्ट पारेको छ। प्रकाशकहरूलाई दर्तासम्बन्धी सेवाका लागि आधिकारिक प्रेस सेवा पोर्टल र पीआरजीआईका माध्यमहरूबाट सिधै सेवा लिन सल्लाह दिइएको छ। समयमै अद्यावधिक जानकारी प्राप्त गर्न सबै प्रकाशकहरूलाई (ह्वाट्सएप च्यानल) मा जोड़िन आग्रह गरिएको छ।

यस अन्तरक्रियामा असम, मेघालय, मिजोरम र नागाल्याण्डका पत्रपत्रिका तथा आवधिक प्रकाशनका प्रकाशक र सञ्चालकहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा पीआईबी पूर्वोत्तर क्षेत्रका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

*******

MPS/TWB


(रिलिज आईडी: 2341125) आगन्तुक काउन्टर : 7
मा यो विज्ञप्ति पढ्नुहोस्: Khasi , Assamese , English , Bengali-TR