पोस्ट गरियो:
23 NOV 2026 10:28AM by PIB Gangtok
नयाँ दिल्ली, 23 नोभेम्बर, 2026:
ग्रामीण विकास मन्त्रालयले महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसको अवसर पारेर २५ नोभेम्बर २०२६ मा आफ्नो राष्ट्रिय लैङ्गिक अभियान ‘नयी चेतना–पहल बदलाव की’ को पाँचौँ संस्करण शुरु गर्नेछ। एक महिनासम्म सञ्चालन हुने यो अभियान दीनदयाल अन्त्योदय योजना–राष्ट्रिय ग्रामीण जीविकोपार्जन अभियान (डीएवाई-एनआरएलएम) अन्तर्गत २५ नोभेम्बरदेखि २३ दिसम्बर २०२६ सम्म देशव्यापी रूपमा कार्यान्वयन गरिनेछ।
केन्द्रिय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्रालयका माननीय मन्त्री श्री शिवराज सिंह चौहानले माननीय केन्द्रिय महिला तथा बाल विकासमन्त्री श्रीमती अन्नपूर्णा देवी, माननीय कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री (स्वतन्त्र प्रभार) श्री अर्जुन राम मेघवाल तथा भारतको सर्वोच्च अदालतका न्यायाधीश एवं राष्ट्रिय कानुनी सेवा प्राधिकरण (एनएएलएसए) का कार्यकारी अध्यक्ष माननीय न्यायमूर्ति विक्रम नाथको उपस्थितिमा राष्ट्रिय शुभारम्भ समारोहको उद्घाटन गर्नुहुनेछ।
यस कार्यक्रममा माननीय ग्रामीण विकास राज्यमन्त्री श्री कमलेश पासवान र माननीय ग्रामीण विकास तथा सञ्चार राज्यमन्त्री डा. चन्द्रशेखर पेम्मासानीका साथै सहभागी मन्त्रालयका वरिष्ठ अधिकारीहरू, राज्य सरकारका प्रतिनिधिहरू, विकास साझेदारहरू तथा देशभरका सामुदायिक संस्थाहरूका महिला नेतृहरूको पनि उपस्थिति रहनेछ।
कार्यक्रम अपराह्न ४:०० बजी भारत रत्न सी सुब्रमण्यम अडिटोरियम, एनएएससी परिसर, देव प्रकाश शास्त्री मार्ग, पूसा, नयाँ दिल्ली- ११००१२-मा आयोजना हुनेछ।
‘नयी चेतना ५.०’ को मूल विषयवस्तु ‘पहुँचदेखि स्वायत्ततासम्म: विकसित भारतका लागि जीविकोपार्जन तथा समान अवसरमार्फत महिलालाई सशक्त बनाउने’ रहेको छ, जसले आर्थिक सशक्तीकरण, जीविकोपार्जनमा सहभागिता तथा स्वतन्त्र निर्णय प्रक्रियाका लागि महिलाको पहुँच र आवतजावतको महत्त्वलाई उजागर गर्दछ।
अन्तरसम्बन्धित चारवटा प्राथमिकताका क्षेत्र
‘नयी चेतना ५.०’ ले आफ्नो कार्यपद्धतिको केन्द्रमा महिलाको आर्थिक सशक्तीकरणलाई राख्नेछ। यसअन्तर्गत चारवटा अन्तरसम्बन्धित क्षेत्रमा ध्यान केन्द्रित गरिनेछ: महिलालाई आर्थिक योगदानकर्ताका रूपमा पहिचान गर्ने, सम्पत्तिमा महिलाको पहुँच र नियन्त्रण सुदृढ गर्ने, सुरक्षित आवतजावतलाई प्रवर्द्धन गर्ने तथा पारिश्रमिकविनाको हेरचाहसम्बन्धी कामको पुनर्वितरण गर्ने।
महिलाहरूको जीविकोपार्जनका अवसर, बजार, वित्तीय सेवा, सार्वजनिक स्थल तथा अत्यावश्यक सेवाहरूमा पहुँच र स्वतन्त्र, सुरक्षित तथा स्वनिर्णयका आधारमा आवतजावत गर्ने क्षमतामा अवरोध पुर्याउने बाधाहरूलाई सम्बोधन गर्न विशेष जोड़ दिइनेछ। यस अभियानको उद्देश्य जनचेतना अभिवृद्धिभन्दा अगाड़ि बढेर समन्वयात्मक कार्य तथा महिलाहरूको आर्थिक सहभागिता, स्वायत्तता र निर्णय प्रक्रियामा मापनयोग्य सुधार ल्याउनु हो।
कार्यक्रमका प्रमुख विशेषताहरू
१५ मन्त्रालय/विभागको सहभागितामा संयुक्त अन्तर-मन्त्रालयस्तरीय परामर्श
राष्ट्रिय शुभारम्भ समारोहको एउटा प्रमुख विशेषता १५ वटा मन्त्रालय/विभागको सहभागितामा तयार पारिएको संयुक्त अन्तर-मन्त्रालयस्तरीय परामर्शपत्र सार्वजनिक गर्नु हुनेछ। उक्त परामर्शपत्रले समन्वयात्मक कार्य तथा अभिसरणमार्फत ‘नयी चेतना ५.०’ का उद्देश्यहरूलाई अघि बढ़ाउन साझा प्रतिबद्धता प्रतिबिम्बित गर्नेछ।
यसले मन्त्रालय तथा विभागहरूलाई आफ्ना योजना, कार्यक्रम, संस्थागत संयन्त्र र अग्रपङ्क्तिमा कार्यरत सञ्जालहरूलाई अभियानका उद्देश्यहरूसँग समन्वय गर्न एउटा रूपरेखा प्रदान गर्नेछ। विशेषगरी महिलाहरूको जीविकोपार्जन, सम्पत्ति, वित्तीय सेवा, सुरक्षित आवतजावत, अत्यावश्यक सेवा तथा संस्थागत सहयोगमा पहुँच सुधार गर्न राष्ट्रिय, राज्य, जिल्ला र सामुदायिक तहमा समन्वयात्मक हस्तक्षेपहरूलाई सुदृढ़ गर्ने लक्ष्य राखिनेछ।
हिंसामुक्त गाउँ अभियानसम्बन्धी हस्ताक्षरित चारपक्षीय समझदारीपत्र (एमओयू)
यस कार्यक्रममा ग्रामीण विकास मन्त्रालय, महिला तथा बाल विकास मन्त्रालय, न्याय विभाग र राष्ट्रिय कानुनी सेवा प्राधिकरण (एनएएलएसए) बीच हिंसामुक्त गाउँ अभियानसम्बन्धी हस्ताक्षरित चारपक्षीय समझदारीपत्र (एमओयू) पनि सार्वजनिक गरिनेछ।
उक्त समझदारीपत्रले सामुदायिक तहमा लैङ्गिक हिंसा रोकथाम तथा त्यसप्रति प्रतिकार्य गर्न समन्वयात्मक संस्थागत कार्यका लागि एउटा रूपरेखा प्रदान गर्नेछ। यसको उद्देश्य सामुदायिक संस्था, कानुनी सेवा प्राधिकरण तथा सम्बन्धित सरकारी संयन्त्रबीचको अभिसरणलाई सुदृढृ गर्नु हो। यसमा कानुनी अधिकारबारे सचेतना, न्यायमा पहुँच, संस्थागत सहयोग तथा हिंसामुक्त गाउँ निर्माणका लागि सामूहिक कार्यसमेत समावेश हुनेछन्।
सामुदायिक संस्था तथा महिला नेतृत्वको सुदृढ़ीकरण
दीनदयाल अन्त्योदय योजना–राष्ट्रिय ग्रामीण जीविकोपार्जन अभियान (डीएवाई-एनआरएलएम) को व्यापक सञ्जालअन्तर्गत रहेका स्वयं सहायता समूह (एसएचजी)-हरू, ग्राम सङ्गठन (भीओ)-हरू, क्लस्टरस्तरीय महासङ्घ (सीएलएफएस)-हरू, लैङ्गिक स्रोत केन्द्र (जीआरसी)-हरू तथा अन्य सामुदायिक संस्थाहरूले ‘नयी चेतना ५.०’ को कार्यान्वयनमा केन्द्रिय भूमिका निर्वाह गर्नेछन्।
शुभारम्भ समारोहका क्रममा सेवा, हक-अधिकार, सहयोग प्रणाली तथा गुनासो सम्बोधन संयन्त्रमा पहुँच सहज बनाउन सामुदायिक तहका मञ्चका रूपमा नयाँ लैङ्गिक स्रोत केन्द्रहरूको उद्घाटन गरिनेछ। विभिन्न राज्यका स्वयं सहायता समूहका महिला नेतृहरूले महिलाहरूको सामूहिक कार्य तथा नेतृत्वलाई सुदृढ़ बनाउने सम्बन्धमा आफ्ना अनुभव, नवीन अभ्यास तथा दृष्टिकोण साझा गर्नेछन्।
कार्यक्रममा दिनभरि दुईवटा प्यानल छलफल पनि आयोजना गरिनेछ। पहिलो प्यानल ‘लैङ्गिक स्रोत केन्द्र (जीआरसी)-हरू, एकल सेवा केन्द्र (ओएससी)-हरू, कानुनी सेवा प्राधिकरण (एलएसए) तथा स्वास्थ्य प्रणालीमार्फत मन्त्रालयहरूबीचको अभिसरणलाई अघि बढ़ाउने’ विषयमा केन्द्रित हुनेछ। यसमा सम्बन्धित मन्त्रालय तथा संस्थाहरूका प्रतिनिधिहरूले महिलाका सरोकारहरू सम्बोधन गर्न अभिसरण तथा समन्वयात्मक प्रतिकार्यलाई सुदृढ़ बनाउने विषयमा छलफल गर्नेछन्।
दोस्रो प्यानल ‘मैदानबाट महिला नेतृहरू: अनुभव, नवीन अभ्यास तथा आगामी कार्यदिशा’ विषयमा रहनेछ। यसले जमिनी तहका महिला नेतृहरूलाई आफ्ना अनुभव तथा सुझावहरू साझा गर्ने मञ्च प्रदान गर्नेछ।
‘नयी चेतना ४.०’ मूल्याङ्कन प्रतिवेदन
राष्ट्रिय शुभारम्भ समारोहका क्रममा ‘नयी चेतना ४.०’ मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिनेछ। उक्त प्रतिवेदनले अघिल्लो संस्करणको मूल्याङ्कन तथा त्यसबाट प्राप्त प्रमुख सिकाइहरू प्रस्तुत गर्नेछ, जसले भविष्यका अभियानसम्बन्धी हस्तक्षेपहरूलाई मार्गदर्शन तथा सुदृढ़ गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा राज्यस्तरीय भिडियोहरूको प्रदर्शन तथा असल अभ्यासहरूको प्रस्तुति पनि समावेश हुनेछ। यसमा लैङ्गिक समानतातर्फ लक्षित सामुदायिक नेतृत्वका पहल तथा कार्यपद्धतिहरूलाई उजागर गरिनेछ। अभियानका लागि तयार पारिएका भिडियो सामग्रीहरू पनि सार्वजनिक गरिनेछन्।
ग्रामीण विकास मन्त्रालयअन्तर्गतको दीनदयाल अन्त्योदय योजना–राष्ट्रिय ग्रामीण जीविकोपार्जन अभियान (डीएवाई-एनआरएलएम) को नेतृत्वमा सञ्चालित ‘नयी चेतना’ सन् २०२२ मा शुरूवात भएदेखि नै लैङ्गिक हिंसा (जीबीभी) सम्बोधन गर्ने, विभेदकारी सामाजिक मान्यताहरूलाई चुनौती दिने तथा लैङ्गिक समानतालाई अघि बढ़ाउने राष्ट्रव्यापी सामूहिक अभियानका रूपमा विकसित भएको छ।
‘नयी चेतना ५.०’ मार्फत मन्त्रालयले महिलाहरूको आर्थिक सहभागिता, सुरक्षा तथा स्वायत्तताका लागि अनुकूल वातावरण सिर्जना गर्न मन्त्रालयहरू, राज्य सरकारहरू, सामुदायिक संस्थाहरू तथा अन्य सरोकारवालाहरूबीच सामूहिक कार्यलाई सुदृढ़ बनाउने लक्ष्य राखेको छ। यस अभियानले विभेदकारी सामाजिक मान्यताहरूलाई चुनौती दिन तथा समानता र साझा जिम्मेवारीलाई प्रवर्द्धन गर्न पुरुष, बालक तथा युवाहरूको सक्रिय सहभागितालाई पनि प्रोत्साहित गर्नेछ।
******
MPS/TWB