पोस्ट गरियो:
20 NOV 2026 9:01AM by PIB Gangtok
नयाँ दिल्ली, २० नोभेम्बर २०२६:
पेयजल तथा सरसफाइ विभाग (डीडीडब्ल्यूएस), जल शक्ति मन्त्रालयले हिजो विश्व शौचालय दिवस, २०२६ का अवसरमा स्वच्छ भारत अभियान (ग्रामीण) अन्तर्गत ‘स्वच्छ शौचालय – गरिमामय भविष्य’ (एसएसजीबी) अभियान शुभारम्भ गरेको छ। अभियानसँगै यसको प्रगति विवरण प्रस्तुत गर्ने प्रणाली पनि विद्युतीय माध्यमबाट शुभारम्भ गरिएको हो। डीडीडब्ल्यूएसको स्वच्छ भारत अभियान (ग्रामीण) का संयुक्त सचिव तथा राष्ट्रिय अभियान निर्देशक सुश्री ऐश्वर्या सिंहले अभियान र विवरण प्रणालीको विद्युतीय माध्यमबाट शुभारम्भ गर्नुभयो।

कार्यक्रमको सुरुवात डीडीडब्ल्यूएसका उपसचिवले स्वागत मन्तव्य राख्दै अभियानको पृष्ठभूमिबारे जानकारी दिनुभएको थियो। त्यसपछि डीडीडब्ल्यूएसका निर्देशकले स्वच्छ भारत अभियान (ग्रामीण) अन्तर्गत हालसम्मको प्रगतिबारे संक्षिप्त प्रस्तुति दिनुभयो। प्रस्तुतिमा करिब ८९.९ प्रतिशत गाउँले खुला दिसामुक्त प्लस (आदर्श) को हैसियत प्राप्त गरेको उपलब्धिसहित अभियानका अन्य पक्षमा भएका प्रगतिबारे प्रकाश पारिएको थियो।
त्यसपछि संयुक्त सचिव तथा राष्ट्रिय अभियान निर्देशकले ‘स्वच्छ शौचालय – गरिमामय भविष्य’ अभियानको विद्युतीय माध्यमबाट शुभारम्भ गर्नुभयो। उहाँले राज्य तथा केन्द्रशासित प्रदेशहरूलाई अभियानको प्रगति विवरण पेस गर्न डीडीडब्ल्यूएसद्वारा तयार पारिएको विवरण प्रणालीसमेत शुभारम्भ गर्नुभयो।
विश्व शौचालय दिवस २०२६ का लागि संयुक्त राष्ट्रसङ्घले ‘सुरक्षित शौचालय, समान भविष्य’ भन्ने मूल मंत्र तय गरेको छ, जसले सरसफाइलाई लैङ्गिक समानतासँग जोडेको छ। यही विषयवस्तुसँग तालमेल राख्दै ‘स्वच्छ शौचालय – गरिमामय भविष्य’ अभियानले ग्रामीण क्षेत्रमा सरसफाइ सुविधाको सुधारमा ध्यान केन्द्रित गरेको छ। यसअन्तर्गत विशेषगरी महिला, छात्रा तथा दिव्याङ्गजनका आवश्यकतालाई प्राथमिकता दिइनेछ।
‘स्वच्छ शौचालय – गरिमामय भविष्य’ अभियानका उद्देश्यहरू यसप्रकार छन् :
- सामुदायिक शौचालय तथा संस्थागत शौचालय (विद्यालय, आँगनवाडी केन्द्र र पञ्चायत भवनलगायत) को अवस्थाको मूल्याङ्कन गर्ने र आवश्यकताअनुसार मर्मत, सम्भार तथा पुनःस्थापना गर्ने। संस्थागत शौचालयको हकमा सम्बन्धित निकाय (विद्यालय व्यवस्थापन समिति, आँगनवाडी केन्द्र, ग्राम पञ्चायत तथा ग्राम पञ्चायत भवनसम्बन्धी निकाय आदि) मार्फत यी कार्य गरिनेछन्। आवश्यक देखिएमा व्यक्तिगत घरपरिवारलाई समेत आफ्ना घरायसी शौचालयको मर्मत तथा सम्भार गर्न प्रोत्साहित गरिनेछ।
- गाउँमा प्रयोग भइरहेका शौचालयका प्रकारको मूल्याङ्कन गर्ने तथा राज्य र केन्द्रशासित प्रदेशहरूले निर्धारण गरेका लक्ष्यअनुसार सम्भव भएका स्थानमा एकल खाल्डे शौचालयलाई दोहोरो खाल्डे शौचालयमा र सोक पिट नभएका सेप्टिक ट्याङ्कीलाई सोक पिटसहितको सेप्टिक ट्याङ्कीमा रूपान्तरण गर्ने।
- फोहोरमैला व्यवस्थापनसम्बन्धी मापदण्डको पालना सुनिश्चित गर्न आवश्यक वा सञ्चालनमा रहेका स्थानमा यान्त्रिक माध्यमबाट शौचालयको मलमूत्रजन्य फोहोर हटाउने कार्यको मूल्याङ्कन तथा योजना तयार गर्ने।
- सामुदायिक तथा संस्थागत शौचालयहरूको नियमित सञ्चालन, सरसफाइ र मर्मतसम्भार सुनिश्चित गर्न सञ्चालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थाको मूल्याङ्कन गरी त्यसलाई सुदृढ बनाउने।
- सामुदायिक तथा संस्थागत शौचालयहरूलाई स्थानीय भित्तेचित्र, सङ्केतचिह्न तथा वरपरको वातावरणमा सुधार गर्दै स्वच्छ, आकर्षक र राम्रोसँग मर्मतसम्भार गरिएका स्थानका रूपमा विकास गर्न समुदायलाई प्रोत्साहित गर्ने। व्यक्तिगत घरपरिवारलाई पनि आफ्ना घरायसी शौचालयमा यस्तै सुधार गर्न प्रेरित गरिनेछ।
- गाउँको खुला दिसामुक्त (ओडीएफ) अवस्थाको दिगोपनाबारे मूल्याङ्कन गर्ने। खुला दिसामुक्त अवस्थालाई कायम राख्न सघन व्यवहार परिवर्तन सञ्चार (बीसीसी) तथा जनचेतनामूलक अभियानमार्फत शौचालयको निरन्तर प्रयोगलाई प्रोत्साहन गर्ने।
- गाउँ वा ग्राम पञ्चायतमा स्वच्छ सेवा आकलन (एसएसए) को अवस्थाबारे मूल्याङ्कन गर्ने। यसअघि सम्पन्न नभएको भए ३० नोभेम्बर २०२६ सम्ममा आकलन प्रक्रिया पूरा गर्ने सुनिश्चित गर्ने। आकलन प्रतिवेदन बुझाइसकिएको अवस्थामा पहिचान गरिएका कमीकमजोरीहरू समाधान गर्न आगामी कार्ययोजनाबारे छलफल गर्ने।
- महिला, छात्रा तथा दिव्याङ्गजन/अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकतालाई विशेष ध्यान दिँदै सरसफाइको महत्त्व, व्यक्तिगत तथा सामुदायिक स्वच्छताको रखरखाव, साबुनपानीले हात धुने बानी, मलमूत्रजन्य फोहोर व्यवस्थापनसम्बन्धी मापदण्डको पालना, ठोस फोहोर व्यवस्थापन नियमावली, २०२६ को कार्यान्वयन, फोहोरको चार प्रकारमा वर्गीकरण तथा स्वच्छ सेवा आकलनलगायत विभिन्न विषयमा जनचेतना अभिवृद्धि गर्ने।
त्यसपछि राज्य तथा केन्द्रशासित प्रदेशहरूले अभियान कार्यान्वयनका लागि प्रस्तावित कार्ययोजनाबारे जानकारी गराउँदै अन्तरक्रियामा सहभागिता जनाए। गुजरात, मध्य प्रदेश, सिक्किम र कर्नाटकका स्वच्छ भारत अभियान (ग्रामीण) का टोलीहरूले अभियानअन्तर्गत सञ्चालन गरिने प्रस्तावित गतिविधिहरूबारे जानकारी गराए।

अभियानको विद्युतीय शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै स्वच्छ भारत अभियान (ग्रामीण) की संयुक्त सचिव तथा राष्ट्रिय अभियान निर्देशक सुश्री ऐश्वर्या सिंहले ‘स्वच्छ शौचालय – गरिमामय भविष्य’ अभियान सबैका लागि सम्मान र सबैका लागि सरसफाइको अवधारणालाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो।
उहाँले यस अभियानले विद्यालयका बालबालिकालाई स्वच्छताका भावी संरक्षकका रूपमा समेत हेरेको उल्लेख गर्नुभयो। बालबालिकामा स्वच्छता, सरसफाइ तथा व्यक्तिगत स्वच्छताको महत्त्वबारे चेतना जगाउनुका साथै शौचालयलाई स्वच्छ र सबैका लागि पहुँचयोग्य राख्न सामुदायिक सहभागिताको महत्त्वबारे संवेदनशील बनाउने कुरामा पनि अभियानले जोड दिएको उहाँले बताउनुभयो।

स्वच्छ भारत अभियान (ग्रामीण) की संयुक्त सचिव तथा राष्ट्रिय अभियान निर्देशकले राज्य तथा केन्द्रशासित प्रदेशका स्वच्छ भारत अभियान (ग्रामीण) का टोलीहरूलाई विद्यालय व्यवस्थापन समिति र सम्बन्धित विभागहरूसँग समन्वय गरी विद्यालयका बालबालिकालाई अभियानमा सहभागी गराउन आह्वान गर्नुभयो। यसमा विद्यालयको सरसफाइ अवस्थाको लेखापरीक्षणसमेत समावेश छ। उहाँले देशका पर्यटकीय स्थललगायत सर्वसाधारणको बढी आवतजावत हुने स्थानमा स्वच्छ र सञ्चालनमा रहेका सामुदायिक शौचालयहरूको महत्त्वमाथि थप जोड दिनुभयो। यस्ता शौचालयले पर्यटकको समग्र भ्रमण अनुभवमा प्रत्यक्ष योगदान पुर्याउनुका साथै अप्रत्यक्ष रूपमा स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो।
विद्युतीय माध्यमबाट गरिएको शुभारम्भ कार्यक्रमको समापन सबै राज्य तथा केन्द्रशासित प्रदेशलाई विभिन्न सरोकारवालाको सहभागिता सुनिश्चित गर्न गरिएको आह्वानसँगै भयो। पूर्ण स्वच्छताका लागि जनसहभागितामा आधारित यस अभियानलाई सफल बनाउन सबैको सक्रिय सहभागितामा जोड दिइयो।
*********
MPS/TWB