पोस्ट गरियो:
19 NOV 2026 3:10PM by PIB Gangtok
नयाँ दिल्ली, १९ नोभेम्बर २०२६:
एरो इन्डिया २०२७ का लागि सञ्चारकर्मीको दर्ता प्रक्रिया सुरु भएको छ। एसियाकै सबैभन्दा ठूलो हवाई प्रदर्शनी तथा विश्वका प्रमुख हवाई अन्तरिक्ष र रक्षा प्रदर्शनीमध्ये एक मानिने यस कार्यक्रमको १६औँ संस्करण सन् २०२७ फेब्रुअरी ८ देखि १२ तारिखसम्म कर्नाटकको बेङ्गलुरुस्थित येलहङ्का वायुसेना केन्द्रमा आयोजना हुनेछ। कार्यक्रमको समाचार सङ्कलन गर्न इच्छुक सञ्चारकर्मीले https://aeroindia.gov.in/ मार्फत दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया सन् २०२७ जनवरी ४ तारिखमा बन्द हुनेछ।
दर्ताका लागि आवेदकसँग निम्न कागजात हुनुपर्नेछः
- मान्यता प्राप्त पत्रकारका लागि पीआईबी वा राज्यस्तरीय मान्यता परिचयपत्र तथा गैरमान्यता प्राप्त सञ्चारकर्मीका लागि वैध सञ्चार परिचयपत्र (फाइलको आकार १ एमबीभन्दा बढी हुनुहुँदैन)
- सबै सञ्चारकर्मीका लागि सरकारले जारी गरेको तस्बिरसहितको परिचयपत्र (फाइलको आकार १ एमबीभन्दा बढी हुनुहुँदैन)
- हालसालै खिचिएको आफ्नै तस्बिर (फाइलको आकार ५१२ केबीभन्दा बढी हुनुहुँदैन)
- विदेशी पत्रकारका लागि वैध ‘जे’ श्रेणीको प्रवेशाज्ञा (फाइलको आकार १ एमबीभन्दा बढी हुनुहुँदैन)
रक्षा उत्पादन विभाग, रक्षा मन्त्रालयद्वारा आयोजना गरिने एरो इन्डिया २०२७ ले प्रमुख हवाई अन्तरिक्ष तथा रक्षा कम्पनीहरू, नीतिनिर्माताहरू, प्रविधि विशेषज्ञहरू, नवप्रवर्तकहरू, उद्योगका प्रतिनिधिहरू र रक्षा क्षेत्रका कर्मचारीहरूलाई एकै ठाउँमा ल्याउने प्रमुख विश्वव्यापी मञ्चका रूपमा भूमिका निर्वाह गर्नेछ। पाँच दिनसम्म चल्ने यस कार्यक्रममा विस्तृत प्रदर्शनीका साथै व्यावसायिक तथा रणनीतिक छलफलका विभिन्न सत्रहरू आयोजना गरिनेछन्। यसले उद्योगहरूबीच सहकार्य, सरकार र उद्योगबीच अन्तरक्रिया, प्रविधिको प्रदर्शन तथा ज्ञान आदानप्रदानलाई सहज बनाउनेछ। यस कार्यक्रमको प्रमुख आकर्षणका रूपमा भारतीय वायुसेना र सहभागी अन्तर्राष्ट्रिय उडान टोलीहरूद्वारा गरिने रोमाञ्चक हवाई प्रदर्शन रहनेछ, जसमा अत्याधुनिक उड्डयन प्रविधि तथा क्षमताहरू प्रदर्शन गरिनेछन्।
एरो इन्डियाको १६औँ संस्करणले आत्मनिर्भर भारतप्रतिको भारतको प्रतिबद्धतालाई थप सुदृढ बनाउनुका साथै विश्वव्यापी हवाई अन्तरिक्ष तथा रक्षा आपूर्ति शृङ्खलामा भरपर्दो साझेदारका रूपमा भारतको स्थानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले लघु, साना तथा मझौला उद्यम र नवप्रवर्तनमा आधारित नयाँ उद्यमसहित भारतीय रक्षा उद्योगहरूलाई आफ्ना क्षमता प्रदर्शन गर्न, नयाँ व्यावसायिक अवसरहरू खोज्न तथा साझेदारी स्थापना गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ। साथै, यसले लगानी, निर्यात तथा प्रविधिगत सहकार्यलाई पनि प्रोत्साहन गर्नेछ।
**********
MPS/TWB