रक्षा मन्त्रालय
azadi ka amrit mahotsav

भारतीय नौसेनाले गर्‍यो लामो दूरीको सामुद्रिक निगरानी सेवाको ५० वर्ष पूरा

‘सुपर कन्स्टेलेसन’देखि ‘पी–८आई’सम्म, हिन्द महासागर र त्यसभन्दा पर पाँच दशकदेखि निरन्तर निगरानी

पोस्ट गरियो: 18 NOV 2026 11:00AM by PIB Gangtok

दिल्ली, १८ नोभेम्बर २०२६

भारतीय नौसेनाले १८ नोभेम्बर २०२६ मा आफ्नो लामो दूरीको सामुद्रिक निगरानी (एलआरएमआर) अभियानको स्वर्ण जयन्ती मनाउँदैछ। यो महत्त्वपूर्ण अवसर भारतीय नौसेनाको वायु स्क्वाड्रन (आईएनएएस) ३१२ ‘अल्बाट्रस’ स्थापना भएको ५०औँ वर्षगाँठसँग पनि मेल खान्छ। यसले भारतको सामुद्रिक सुरक्षामा सहयोग पुर्‍याउँदै पाँच दशकदेखि निरन्तर हवाई निगरानी गर्दै आएको यात्राको स्मरण गराउँछ।

सन् १९७१ को युद्धपछि जहाज र हेलिकप्टरसँग मिलेर काम गर्न सक्ने तटीय आधारमा सञ्चालित सामुद्रिक गस्ती विमानको आवश्यकता महसुस गरियो। यसपछि भारतीय नौसेनाले लामो दूरीको सामुद्रिक निगरानीको जिम्मेवारी सम्हाल्यो। १८ नोभेम्बर १९७६ मा गोवास्थित आईएनएस हंसामा आईएनएएस ३१२ स्थापना गरियो। भारतीय वायुसेनाबाट हस्तान्तरण गरिएका पाँचवटा लकहिड सुपर कन्स्टेलेसन विमान यस स्क्वाड्रनमा समावेश गरिएका थिए।

सन् १९७७ मा इल्युसिन आईएल–३८ विमान समावेश गरिएपछि नौसेनाको सामुद्रिक निगरानी तथा पनडुब्बीविरुद्धको युद्ध क्षमता सुदृढ भयो। सन् १९८८ मा आईएनएएस ३१२ मा टुपोलेभ टीयू–१४२एम विमान समावेश गरिएपछि हिन्द महासागर क्षेत्रमा नौसेनाको गस्तीको पहुँच विस्तार भयो। सन् २०१३ मा अरक्कोणमस्थित आईएनएस राजालीमा बोइङ पी–८आई विमान समावेश गरिनुले अर्को महत्त्वपूर्ण प्रगति जनायो। यसले विस्तृत क्षेत्रको सूचना सङ्कलन, निगरानी तथा जासुसी, पनडुब्बीविरुद्धको युद्ध र सामुद्रिक आक्रमण क्षमतामा वृद्धि गर्‍यो।

विगत पाँच दशकमा नौसेनाका लामो दूरीका सामुद्रिक निगरानी विमानहरूले अपरेसन क्याक्टस, विजय, पराक्रम र सिन्दूरका साथै समुद्री डकैतीविरुद्धका अभियान तथा खोज र उद्धार कार्यहरूमा सहयोग पुर्‍याएका छन्। हाल अरक्कोणमस्थित आईएनएस राजालीको आईएनएएस ३१२ र गोवास्थित आईएनएस हंसाको आईएनएएस ३१६ का पी–८आई विमानहरूले हिन्द महासागर र त्यसभन्दा पर निरन्तर निगरानी राख्दै भारतको सामुद्रिक हितको रक्षा गरिरहेका छन्।

स्वर्ण जयन्तीले पाँच दशकसम्म यस क्षमताको निर्माण र निरन्तरतामा योगदान पुर्‍याउने नौसैनिक विमान चालक, अभियान दल, मर्मतसम्भारकर्मी तथा सहयोगी कर्मचारीका पुस्ताहरूको समर्पण र व्यावसायिक दक्षताको सम्मान गर्दछ।

********

MPS/TWB


(रिलिज आईडी: 2337799) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Gujarati , Tamil