पोस्ट गरियो:
16 NOV 2026 5:00PM by PIB Gangtok
नयाँ दिल्ली, 16 नोभेम्बर 2026
केन्द्रीय सूचना तथा प्रसारण, रेल तथा इलेक्ट्रोनिक्स एवं सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीस्थित आकाशवाणी भवनको रङ्गभवन सभाघरमा भारतीय प्रेस परिषद्द्वारा आयोजित राष्ट्रिय प्रेस दिवस समारोहलाई सम्बोधन गर्नुभयो।

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिकामाथि जोड दिँदै उहाँले पत्रकारिता क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई तीव्र गतिमा परिवर्तन भइरहेको सञ्चारमाध्यमको परिवेश र प्राविधिक विकाससँग आफूलाई अनुकूल बनाउन आह्वान गर्नुभयो। उहाँले जिम्मेवार पत्रकारिताको मूल्यमान्यता कायम राख्नुका साथै समाजप्रतिको सञ्चारमाध्यमको दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो।
समारोहमा भारतीय प्रेस परिषद्का अध्यक्ष न्यायमूर्ति (अवकाशप्राप्त) रञ्जना प्रकाश देसाई, सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमार, मूल सम्बोधन प्रस्तुत गर्ने वरिष्ठ पत्रकार रजत शर्मा तथा भारतीय प्रेस परिषद्का सदस्य डा. सुधांशु त्रिवेदीको उपस्थिति रहेको थियो।
यस वर्षको राष्ट्रिय प्रेस दिवसको विषयवस्तु ‘पत्रकारिता : लोकलुभावन कि जिम्मेवार?’ रहेको छ। तीव्र गतिमा सूचना प्रवाह भइरहेको र डिजिटल माध्यमको प्रभाव बढ्दै गएको वर्तमान समयमा पत्रकारिताको बदलिँदो भूमिकालाई यस विषयवस्तुले उजागर गरेको छ।
नागरिकलाई सशक्त बनाउन र समाजलाई सुदृढ तुल्याउन सामूहिक प्रयास आवश्यक रहेको केन्द्रीय मन्त्री अश्विनी वैष्णवको भनाई
डिजिटल माध्यमहरूको जवाफदेहितामाथि जोड दिँदै उहाँले बढ्दो भ्रामक सूचना, कृत्रिम रूपमा तयार गरिएका नक्कली दृश्य सामग्री, भ्रमपूर्ण विज्ञापन, डिजिटल गिरफ्तारी तथा बालबालिकालाई असर पार्ने हानिकारक सामग्रीका सन्दर्भमा सामुदायिक निर्देशिका मात्र पर्याप्त छन् कि छैनन् भन्ने महत्त्वपूर्ण प्रश्न उठाउनुभयो।

नागरिकलाई सशक्त बनाउन र उदीयमान चुनौतीहरूको सामना गर्न बदलिँदो सञ्चारमाध्यमको परिवेशलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको उहाँले बताउनुभयो।
सनसनीपूर्ण पत्रकारिता र जिम्मेवार पत्रकारिताबीचको सीमा निकै साँघुरो छ : रजत शर्मा
समारोहमा मूल सम्बोधन प्रस्तुत गर्दै वरिष्ठ पत्रकार रजत शर्माले सनसनीपूर्ण पत्रकारिता र जिम्मेवार पत्रकारिताबीचको सीमा निकै साँघुरो रहेको बताउनुभयो। उहाँले सम्पादकीय निर्णय र जिम्मेवार समाचार सम्प्रेषणको महत्त्वमाथि जोड दिनुभयो। आपत्काल, २६/११ को मुम्बई आतङ्कवादी हमला तथा अपरेसन सिन्दूरका क्रममा प्राप्त अनुभव स्मरण गर्दै उहाँले विशेषगरी राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा समाचार सम्प्रेषण गर्दा संयम, तथ्यको पुष्टि र संवेदनशीलता अपनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। डिजिटल सञ्चारमाध्यमको क्षेत्रमा थप जवाफदेहिता आवश्यक रहेको बताउँदै उहाँले पत्रकारहरूलाई सनसनीभन्दा तथ्यपरकतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले आफ्नो सम्बोधनको अन्त्यमा “कम हल्ला, बढी समाचार; कम सनसनी, बढी जिम्मेवारी” भन्ने सन्देश दिनुभयो।

प्रेस स्वतन्त्रता र पत्रकारिताको मापदण्ड संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो : भारतीय प्रेस परिषद्का अध्यक्ष
भारतीय प्रेस परिषद्का अध्यक्ष न्यायमूर्ति (अवकाशप्राप्त) रञ्जना प्रकाश देसाईले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिताको मापदण्ड सुधार गर्ने परिषद्को प्रतिबद्धता दोहोर्याउनुभयो। सञ्चारमाध्यमको क्षेत्रमा तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै उहाँले प्राविधिक विकासका कारण केही सेकेन्डमै लाखौँ मानिससम्म सूचना पुग्न सम्भव भएको बताउनुभयो।
मोबाइल फोन र इन्टरनेटको पहुँच भएका जोकोहीले अहिले समाचार सम्प्रेषण गर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले समाचार सम्प्रेषण गर्ने सबै व्यक्ति पत्रकारिताको नैतिकतासम्बन्धी तालिमप्राप्त वा त्यसप्रति उत्तरदायी नहुने बताउनुभयो।

कृत्रिम बुद्धिमत्ताको युगमा तथ्यपरकता, सम्पादकीय निर्णय र मानवीय जवाफदेहितामा जोड : चञ्चल कुमार
सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले पत्रकारिताले जनसहभागिता र विश्वसनीयताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो। लोकप्रियतालाई सत्यभन्दा माथि राख्न नहुने र व्यापक रूपमा फैलिएको सामग्रीलाई तथ्यको पुष्टिभन्दा महत्त्व दिन नहुने उहाँले बताउनुभयो।
टेलिभिजनको दर्शक मूल्याङ्कन (टीआरपी), क्लिक तथा डिजिटल माध्यममा हुने सहभागिताको प्रभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले सम्पादकीय निर्णय, तथ्य जाँच तथा समाचार र विचारबीच स्पष्ट भिन्नता कायम राख्नुको महत्त्व औँल्याउनुभयो। कृत्रिम बुद्धिमत्ताले पत्रकारितामा सहयोग पुर्याउन सक्ने भए पनि पत्रकारको जिम्मेवारी वहन गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो।

भारतीय प्रेस परिषद्का सदस्य तथा राज्यसभाका सांसद डा. सुधांशु त्रिवेदीले अन्तर्राष्ट्रिय सूचकाङ्कहरूको आलोचनात्मक समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। भारत विकासको नयाँ दिशातर्फ अघि बढिरहेको सन्दर्भमा इमानदारी र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गर्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो।
भारतीय प्रेस परिषद्द्वारा पत्रकारिता आचारसंहितासम्बन्धी मापदण्डको २०२६ संस्करण सार्वजनिक
राष्ट्रिय प्रेस दिवस समारोहको एक प्रमुख आकर्षणका रूपमा भारतीय प्रेस परिषद्ले पत्रकारिता आचारसंहितासम्बन्धी मापदण्डको २०२६ संस्करण सार्वजनिक गरेको छ। यसमा निम्न विषयहरू समेट्दै अद्यावधिक निर्देशिका समावेश गरिएको छ :
. प्राकृतिक विपद् तथा द्वन्द्वको अवस्थामा समाचार सम्प्रेषण।
. विरोध प्रदर्शन तथा आन्दोलनको समाचार सङ्कलन र सम्प्रेषण।
. यौनकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूसम्बन्धी समाचार सम्प्रेषण।
. बालबालिकाको गोपनीयताको संरक्षण।
. अनलाइन खेल प्रवर्द्धन तथा नियमन ऐन, २०२५ अनुरूप अनलाइन पैसा लगाएर खेलिने खेलसम्बन्धी विज्ञापन।
भारतीय प्रेस परिषद्बारे
भारतीय प्रेस परिषद् संसद्को ऐनद्वारा सन् १९६६ मा अर्धन्यायिक निकायका रूपमा स्थापना गरिएको थियो। स्वतन्त्र तथा जिम्मेवार समाचार सम्प्रेषण सुनिश्चित गर्न छापा सञ्चारमाध्यमका लागि आन्तरिक स्वनियमन संयन्त्र उपलब्ध गराउने उद्देश्यले यसको स्थापना गरिएको हो। सन् १९७९ मा परिषद् पुनःस्थापना गरिएको थियो।
स्थापनाकालदेखि नै परिषद्ले प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नुका साथै देशका समाचारपत्र तथा समाचार संस्थाहरूको स्तर अभिवृद्धि गर्न निरन्तर प्रयास गर्दै आएको छ।
***********
MPS/TWB