पोस्ट गरियो:
06 NOV 2026 7:17AM by PIB Gangtok
नयाँ दिल्ली, 06 नोभेम्बर, 2026:
पूर्वोत्तर क्षेत्रमा वैज्ञानिक पद्धतिमा सुँगुर प्रजनन प्रवर्द्धन गर्न नयाँ प्रकाशन
मत्स्यपालन, पशुपालन तथा डेयरीसम्बन्धी केन्द्रिय मन्त्री माननीय राजीव रञ्जन सिंह (ललन सिंह) ले सिक्किमको दुईदिने भ्रमणका क्रममा २ नोभेम्बर २०२६-मा ‘सुँगुरमा वीर्य उत्पादनसम्बन्धी न्यूनतम मापदण्ड प्रोटोकल तथा तरल वीर्य प्रयोग गरी कृत्रिम गर्भाधानका लागि मानक सञ्चालन कार्यविधि’ शीर्षकको प्रकाशन विमोचन गर्नुभयो। यस पहलको उद्देश्य वैज्ञानिक पद्धतिमा सुँगुर प्रजननलाई प्रवर्द्धन गर्नु, आनुवंशिक गुणस्तरमा सुधार ल्याउनु तथा विशेषगरी पूर्वोत्तर क्षेत्र (एनईआर) का सुँगुरपालक किसानहरूको जीविकोपार्जनका अवसर अभिवृद्धि गर्नु रहेको छ।
नवविमोचित यस प्रोटोकलले सुँगुरमा वैज्ञानिक पद्धतिबाट वीर्य उत्पादन, गुणस्तर सुनिश्चितता, जैविक सुरक्षा, वीर्य संरक्षण, ढुवानी तथा कृत्रिम गर्भाधानसम्बन्धी अभ्यासका लागि विस्तृत रूपरेखा प्रदान गर्दछ। यस दस्तावेजमा देशका विभिन्न राज्यहरूमा सुँगुरको वीर्य उत्पादन प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न र प्रभावकारी कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन आवश्यक मानकीकृत कार्यविधिहरू समेटिएका छन्।

२०औँ पशुधन गणना (२०१९) अनुसार भारतमा सुँगुरको कुल सङ्ख्या ९.०६ मिलियन रहेको छ, जुन देशको कुल पशुधन सङ्ख्याको १.७ प्रतिशत हो। भारतका सबै कृषि–जलवायु क्षेत्रमा सुँगुरपालन गरिँदै आए तापनि पूर्वोत्तर क्षेत्रलाई देशमा सुँगुरपालनको प्रमुख केन्द्रका रूपमा लिइन्छ। यस क्षेत्रले भारतको कुल सुँगुर सङ्ख्यामा करिब ४५ प्रतिशत योगदान पुर्याउँछ। कुल सुँगुर सङ्ख्यामध्ये करिब ७९ प्रतिशत स्थानीय तथा अवर्गीकृत जातका रहेका छन्। यसले वैज्ञानिक प्रजननसम्बन्धी हस्तक्षेपमार्फत आनुवंशिक गुणस्तर सुधार गर्ने पर्याप्त सम्भावना रहेको देखाउँछ। त्यसैले गुणस्तरीय प्रजनन सामग्री (जर्मप्लाज्म), उन्नत प्रजनन प्रविधि तथा कृत्रिम गर्भाधान सेवामा किसानहरूको पहुँच विस्तार गर्नु उत्पादकत्व वृद्धि, सुँगुरको मासु उत्पादन बढाउन तथा विशेषगरी पूर्वोत्तर राज्यहरूका साना किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउन महत्त्वपूर्ण रहेको छ।

प्रोटोकलका प्रमुख विशेषता तथा अपेक्षित उपलब्धिहरू यसप्रकार छन् :
- यस प्रोटोकलले राज्य सरकारहरू, पशु चिकित्सकहरू, प्रजनन केन्द्रहरू तथा किसानहरूलाई कृत्रिम गर्भाधान र आधुनिक प्रजनन पद्धतिको व्यापक प्रयोगमा सहजीकरण गर्न व्यावहारिक मार्गदर्शिकाका रूपमा काम गर्नेछ।
- यस पहलबाट प्रजनन क्षमता तथा दक्षतामा सुधार, आनुवंशिक गुणस्तरमा तीव्र वृद्धि हुनुका साथै पूर्वोत्तर क्षेत्रमा प्रचलित स्थानीय सुँगुरका प्रजातिहरूको आनुवंशिक स्रोत (जर्मप्लाज्म) संरक्षण र स्तरोन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
- यस प्रकाशनमा सुँगुरको कृत्रिम गर्भाधानसँग सम्बन्धित सम्पूर्ण प्रक्रियागत शृङ्खलालाई समेटिएको छ, जसमा निम्न विषयहरू समावेश छन् :
- प्रजननका लागि भाले सुँगुरको छनोट।
- वीर्य सङ्कलन, मूल्याङ्कन, प्रशोधन, भण्डारण तथा ढुवानी।
- प्रयोगशालाको गुणस्तर व्यवस्थापन।
- रोग रोकथाम तथा जैविक सुरक्षा (बायोसिक्युरिटी) सम्बन्धी उपायहरू।
- यस प्रोटोकलको कार्यान्वयनबाट उच्च गुणस्तरको प्रजनन सामग्रीको उपलब्धता बढ्नुका साथै सुँगुरपालन व्यवसायको उत्पादकत्व र नाफामा सुधार आउने अपेक्षा गरिएको छ।
- यस पहलले विशेषगरी पूर्वोत्तर क्षेत्रमा सुँगुरको मासु उत्पादन वृद्धि, रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना र सुँगुरपालन क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशन उपलब्धता : यस प्रकाशनको पीडीएफ भारत सरकारको पशुपालन तथा डेयरी विभाग (DAHD) को आधिकारिक वेबसाइट https://www.dahd.gov.in/. मा उपलब्ध छ।
*****
MPS/TWB