पोस्ट गरियो:
03 NOV 2026 10:02PM by PIB Gangtok
नयाँ दिल्ली, 3 नोभेम्बरः
इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (एमईआईटीवाई) अन्तर्गतको इण्डियाएआई मिशनले आज स्वदेशी आधारभूत एआई मोडेलहरू एक्का–१ तथा धीर (धीर–२बी र धीर–५बी) सार्वजनिक गरेको छ। यी मोडेलहरू क्रमशः सोकेट ल्याब्स टेक्नोलोजी एन्ड रिसर्च प्राइभेट लिमिटेड र जेन्टेक एआईटेक इनोभेसन्सद्वारा विकास गरिएका हुन्।

आज नयाँ दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत यी मोडेलहरू सार्वजनिक गरिएका हुन्। कार्यक्रममा भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (माइटी) का सचिव श्री एस. कृष्णन, माइटी तथा इण्डियाएआईका वरिष्ठ अधिकारीहरूका साथै सोकेट र जेन्टेक्यूको नेतृत्व टोलीको उपस्थिति रहेको थियो।यी स्वदेशी मोडेलहरू ‘इण्डियाएआई मिशन’ अन्तर्गतको महत्त्वपूर्ण उपलब्धि हुन्, जसले स्वदेशमै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास गर्ने दिशामा भारतले हासिल गरेको प्रगति दर्शाउँछन्।
यस अवसरमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (माइटी) का सचिव श्री एस. कृष्णनले भने, “यस्ता स्वदेशी मोडेलहरूको विकासले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भारतको प्राविधिक तथा रणनीतिक आत्मनिर्भरतालाई सुदृढ बनाउँछ। यसले सरकार, उद्योग, अनुसन्धान तथा शिक्षा क्षेत्रमा उत्पादकत्व र कार्यक्षमता अभिवृद्धि गर्ने अवसरहरू पनि सिर्जना गर्छ। यी स्रोतहरूले एक्का–१ र ‘धीर’ जस्ता मोडेलहरूको विकासमा सहयोग पुर्याएका छन्, जसले विभिन्न महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्छन्। एआईकोष जस्ता मञ्चमार्फत यी मोडेलहरू अनुसन्धानकर्ता, विद्यार्थी, नवप्रवर्तक तथा सर्वसाधारणका लागि उपलब्ध गराउन सकिन्छ, जसले थप प्रयोग तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ।”

स्वदेशी एआई क्षमताहरूको विकासबारे चर्चा गर्दै इण्डियाएआईका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुदीप श्रीवास्तवले भने, “इण्डियाएआई मिशनको व्यापक सहयोग प्रणाली कृत्रिम बुद्धिमत्तालाई अझ बढी पहुँचयोग्य बनाउनुका साथै यसलाई भारतकेन्द्रित परिस्थितिअनुरूप ढाल्न समर्पित छ। धीर र ‘एक्का–१’ जस्ता उत्कृष्ट मोडेलहरूले एआईको क्षेत्रमा भारतको बहुआयामिक प्रगतिलाई दर्शाउँछन्। यसमा दैनिक प्रयोगका उपकरणहरूका लागि तयार गरिएका हलुका समाधानदेखि जटिल व्यावसायिक कार्यहरूका लागि विकसित शक्तिशाली प्रणालीहरूसम्म समावेश छन्।”
इण्डियाएआई मिशनको ‘इण्डियाएआई नवप्रवर्तन केन्द्र (आधारभूत मोडेल)’ स्तम्भअन्तर्गत छनोट गरिएका टोलीहरूमा ‘सोकेट एआई’ र ‘जेन्टेक्यू’ पनि समावेश छन्। यी टोलीहरूले स्वदेशी आधारभूत एआई क्षमता तथा विशाल भाषा मोडेल (एलएलएम) विकास गरिरहेका छन्। यस मिसनअन्तर्गत सहुलियत दरमा उपलब्ध राष्ट्रिय एआई कम्प्युटिङ पूर्वाधारमा पहुँच तथा अनुसन्धानसम्बन्धी खर्चका लागि प्राप्त सहयोगले यी मोडेलहरूको विकास सम्भव बनाएको छ। यसले सार्वजनिक एआई पूर्वाधारले देशभित्रको नवप्रवर्तनलाई कसरी गति दिन सक्छ भन्ने देखाउँछ।

सोकेटको एक्का–१ : भारतका सबै 22 अनुसूचित भाषाका लागि खुला तथा विरल (स्पार्स) मिश्रित भाषा मोडेल
एक्का–1 सोकेट ल्याब्स टेक्नोलोजी एन्ड रिसर्च प्राइभेट लिमिटेडले विकास गरेको हो। यो 26.3 अरब प्यारामिटर भएको शक्तिशाली आधारभूत मोडेल हो, जसलाई करिब 7.5 ट्रिलियन टोकनमा प्रशिक्षण दिइएको छ।
एक्का–1 मा उन्नत क्षमताहरू रहेका छन्, जसले अङ्ग्रेजीका साथै भारतका सबै 22 वटा अनुसूचित भाषालाई समेट्छन्। खुला तथा विरल मिश्रित भाषा मोडेलका रूपमा विकसित एक्का–1 गणित, सङ्केत लेखन, तार्किक विश्लेषण तथा स्वचालित कार्य सञ्चालनका लागि तयार गरिएको हो।

यस सार्वजनिक कार्यक्रममा सोकेट ल्याब्स टेक्नोलोजी एन्ड रिसर्च प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक उप्परवालले भने, “इण्डियाएआई मिशनको सहयोगमा हामीले एउटा उन्नत एआई मोडेल विकास गरेका छौँ, जसलाई विशेष रूपमा भारतको ब्याङ्किङ, वित्तीय सेवा तथा साइबर सुरक्षाको विशिष्ट परिवेशअनुरूप तयार गरिएको छ। यसलाई सम्बन्धित क्षेत्रका विशेष आवश्यकताहरू पूरा गर्न, भारतको परिवर्तनशील डिजिटल पारिस्थितिक प्रणाली बुझ्न तथा देशका आवश्यकता र प्राथमिकताअनुरूप समाधान प्रदान गर्न सक्ने गरी डिजाइन गरिएको छ।”
जेन्टेक्यूद्वारा ‘धीर–2बी’ र ‘धीर–5बी’ : महत्त्वपूर्ण क्षेत्रका लागि सुरक्षित, आफ्नै परिसरमा स्थापना गर्न सकिने तथा बहुभाषिक सहायक
जेन्टेक्यू एआईटेक इनोभेसन्सले ‘धीर–2बी’ र ‘धीर–5बी’ नामका खुला स्रोतका मोडेलहरू सार्वजनिक गरेको छ। यी मोडेलहरू सुरक्षित, आफ्नै परिसरमा स्थापना गरी सञ्चालन गर्न सकिने तथा बहुभाषिक सहायकका रूपमा प्रयोग गर्न सकिन्छ। यिनीहरूले अङ्ग्रेजीसहित 10 वटा भारतीय भाषालाई समर्थन गर्छन्।
‘धीर–2बी’ र ‘धीर–5बी’ ले इन्टरनेट जड़ानबिनासमेत (अफलाइन) सञ्चालन हुन सक्ने स्वचालन, सूचना खोजी तथा नागरिक र उद्यमसम्बन्धी सेवाहरूलाई सक्षम बनाउँछन्। यी मोडेलहरू रक्षा, सरकारी, औद्योगिक तथा शैक्षिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ। विशेषगरी इन्टरनेट सम्पर्क सीमित भएका वा संवेदनशील वातावरण भएका क्षेत्रमा यिनीहरूको उपयोग गर्न सकिन्छ।

यस सार्वजनिक कार्यक्रममा जेन्टेक्यू एआईटेक इनोभेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्राध्यापक शशिकुमारले भन्नुभयो, “धीर–२बी र धीर–५बी जस्ता मोडेलहरू जीपीयू र टीपीयूजस्ता विभिन्न कम्प्युटिङ मञ्चमा सञ्चालन गर्न सकिन्छ। यिनीहरूको हलुका संरचनाले क्लाउड सम्पर्कमा निर्भर नभई मोबाइल फोनमै (उपकरणभित्रै) सञ्चालन गर्न सक्षम बनाउँछ। यसबाट प्रयोगकर्ताहरूले आफ्नो उपकरणमै तथ्याङ्क सुरक्षित राखेर एआई सुविधाहरू प्रयोग गर्न सक्छन्, जसले गोपनीयता, सुरक्षा र पहुँचलाई अझ राम्रो बनाउँछ।”
इण्डियाएआई मिशनबारे
प्रविधिको प्रयोग सबैका लागि सहज र पहुँचयोग्य बनाउने प्रधानमन्त्रीको परिकल्पनामा आधारित भारतको एआई रणनीतिको उद्देश्य भारतसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्नु, सबै भारतीयका लागि आर्थिक तथा रोजगारीका अवसर सिर्जना गर्नु र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा देशलाई विश्वव्यापी अग्रणीका रूपमा स्थापित गर्नु हो।
‘भारतमा एआई विकास गर्ने र भारतका लागि एआईको उपयोग गर्ने’ परिकल्पनाबाट प्रेरित हुँदै केन्द्रिय मन्त्रिपरिषद्ले 7 मार्च 2024 मा ‘इण्डियाएआई मिशन’ लाई स्वीकृति दिएको थियो।
भारतको विकास लक्ष्यअनुरूप सुदृढ तथा समावेशी एआई पारिस्थितिक प्रणाली निर्माण गर्ने उद्देश्यले यो मिशन सात प्रमुख स्तम्भमार्फत सञ्चालन भइरहेको छ। ती स्तम्भहरू यसप्रकार छन् :
इण्डिया एआई कम्प्युट क्षमता, इण्डिया एआई नवप्रवर्तन केन्द्र, इण्डिया एआई डेटासेट मञ्च (एआईकोष), इण्डिया एआई अनुप्रयोग विकास पहल, इण्ड़िया एआई भविष्यका सीपहरू, इण्डिया एआई स्टार्टअप वित्तपोषण, सुरक्षित तथा विश्वसनीय एआई।
******
MPS/TWB