पोस्ट गरियो:
03 NOV 2026 2:43PM by PIB Gangtok
नयाँ दिल्ली, 3 नोभेम्बर, 2026
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्समार्फत लगभग 21 हजार 800 करोड़ रुपियाँ लागतको पुणे मेट्रो परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुभयो। यस अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले पुणे र महाराष्ट्रका जनतालाई दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले दैनिक जीवनमा नयाँ सार्वजनिक सुविधाहरू थपिँदा चाड़पर्वको खुशी अझ बढ़ेर जाने बताउनुभयो। करिब 10 वर्षअघि पुणे मेट्रोको पहिलो चरणको शिलान्यास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले हिञ्जवडीदेखि शिवाजीनगरसम्मको मेट्रो कोरिडोरको उद्घाटनले प्रमुख सूचना प्रविधि (आईटी) केन्द्रसँगको यातायात सम्पर्क थप सहज र प्रभावकारी बनाउने बताउनुभयो। साथै, आज शिलान्यास गरिएको नयाँ मेट्रो लाइनले शहरका पुराना र नयाँ क्षेत्रहरूबीचको सम्पर्कलाई थप सुदृढ बनाउने उहाँले उल्लेख गर्नुभयो।
पुणेलाई राष्ट्र र समाजलाई निरन्तर मार्गदर्शन गर्दै आएको विचार तथा चिन्तनको ऐतिहासिक केन्द्रका रूपमा वर्णन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आज यो शहरले युवाहरूको आकाङ्क्षाको केन्द्रका रूपमा सूचना प्रविधि (आईटी), अटोमोबाइल, औषधि उद्योग, स्टार्टअप, नवप्रवर्तन तथा उत्पादन क्षेत्रमार्फत विकसित भारतको नयाँ ऊर्जालाई अघि बढाइरहेको छ। यस्तो अवस्थामा मेट्रो यातायात सम्पर्कको विस्तारले पुणे शहरको विकासलाई नयाँ गति प्रदान गर्ने प्रधानमन्त्री मोदीले बताउनुभयो।
पुणे मेट्रोको विस्तारले विकसित भारतका लागि आधुनिक शहरहरू कसरी निर्माण भइरहेका छन् भन्ने कुरा प्रतिबिम्बित गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अब शहरहरूको मूल्याङ्कन उद्योग, खानपान वा स्थानीय उत्पादनजस्ता परम्परागत आधारमा मात्र नभएर प्रतिस्पर्धात्मक क्षमता र जीवनयापनको सहजताका आधारमा पनि गरिने बताउनुभयो। उहाँले आवागमनमा लाग्ने समय बचत गर्नुका साथै यात्रालाई सहज बनाउने मेट्रो सञ्जालले शहरको प्रतिस्पर्धात्मक क्षमता र जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। शहरको समय बचत हुँदा शहरी उत्पादकत्व बढ्ने र त्यसले राष्ट्रिय अर्थतन्त्रको विकासलाई तीव्रता दिने उहाँको भनाइ थियो। अर्थतन्त्रको विकासबाट गरिब तथा मध्यम वर्ग दुवै लाभान्वित हुने प्रधानमन्त्री मोदीले बताउनुभयो।
यस अवसरलाई जनमुखी तथा सक्रिय सुशासनको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्रीले पछिल्लो 12 वर्षमा भारतको मेट्रो सञ्जाल 26 शहरमा फैलिँदै लगभग 1200 किलोमिटर पुगेको र यसबाट दैनिक एक करोड़भन्दा अधिक यात्रु लाभान्वित भइरहेको जानकारी दिनुभयो।
आज भारतीय मेट्रो सञ्जाल विश्वका शीर्ष तीन मेट्रो सञ्जालमध्ये एकका रूपमा स्थापित भएको पनि प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो। सन् 2014 देखि देशमा आएको रूपान्तरण महाराष्ट्रमा पनि प्रतिबिम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसबेला राज्यमा केवल 10 देखि 11 किलोमिटर मेट्रो रेलमार्ग मात्र सञ्चालनमा रहेको बताउनुभयो। उहाँकाअनुसार अहिले महाराष्ट्रमा करिब 175 किलोमिटर मेट्रो रेलमार्ग सञ्चालनमा रहेको छ भने 2 लाख 50 हजार करोड़ रुपियाँभन्दा अधिकको लगानीमा 680 किलोमिटरभन्दा धेरै रेलमार्ग निर्माणाधीन अवस्थामा छन्।
प्रधानमन्त्री श्री मोदीले यस लगानीले श्रमिकहरूको आम्दानी बढ़ाउनुका साथै अभियन्ताहरूलाई रोजगारी प्रदान गरिरहेको र पसल तथा कारखानाहरूमा समेत रोजगारीका नयाँ अवसर सिर्जना भइरहेको बताउनुभयो।
नवनिर्मित मेट्रो कोरिडोरको अर्को विशिष्ट पक्षबारे प्रकाश पार्दै प्रधानमन्त्रीले उक्त मेट्रो लाइन सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत निर्माण गरिएको बताउनुभयो। “यो विकासको यस्तो नमुना हो, जसको सफलताले देशको प्रगतिलाई थप गति प्रदान गर्छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
‘हामी यो गर्न सक्छौँ’ भन्ने राष्ट्रिय भावनाका साथ भारतका प्रत्येक नागरिक तथा युवा पुस्ताका छोरा-छोरी विकसित भारत निर्माणमा जुटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत 12 वर्षमा देशले ग्रामीण सड़क, राजमार्ग, एक्सप्रेसवे, नयाँ तथा विद्युतीकरण गरिएका रेलमार्ग, लामो सुरुङमार्ग र अग्ला पुलहरूको निर्माणमा आफ्नो सम्पूर्ण ऊर्जा केन्द्रित गरेको बताउनुभयो। “अब आगामी वर्षहरूमा यी पूर्वाधारसँगै देशले आफ्ना शहरहरूलाई विश्वकै उत्कृष्ट शहरमध्ये एक बनाउने दिशामा पनि आफ्नो ऊर्जा लगानी गर्नेछ,” श्री मोदीले जोड़ दिनुभयो।
शहरहरू केवल बसोबास गर्ने स्थान मात्र नभई आर्थिक गतिविधिका प्रमुख केन्द्र तथा आर्थिक विकासका इन्जिन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सयौँ साना शहरहरूलाई पनि विकासका केन्द्रका रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। यसै सन्दर्भमा उहाँले चालु वर्षको फरवरीमा स्वीकृत गरिएको ‘अर्बन च्यालेन्ज फण्ड’ बारे प्रकाश पार्नुभयो। यस योजनाअन्तर्गत शहरी क्षेत्रमा लाखौँ करोड़ रुपियाँको लगानी परिचालन गर्न केन्द्र सरकारले एक लाख करोड़ रुपियाँको सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। उहाँले स्थानीय निकाय तथा निजी क्षेत्रका साझेदारहरूलाई अभियानकै रूपमा यस प्रयासमा सहभागी हुन आह्वान गर्नुभयो। “मलाई विश्वास छ, महाराष्ट्रले यस अभियानमा आफ्नो भूमिका अझ विस्तार गर्नेछ,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
भारतलाई विश्वव्यापी चर्चाको विषय बनाउने दुई प्रमुख उपलब्धिबारे उल्लेख गर्दै प्रधानमन्त्रीले कठिन अन्तरराष्ट्रिय परिस्थितिका बाबजुद भारतले विश्वकै तीव्र आर्थिक वृद्धिदर कायम राखेको बताउनुभयो। साथै, विश्व ब्याङ्कको पछिल्लो प्रतिवेदनअनुसार विगत 10 देखि 12 वर्षको अवधिमा देशले 50 करोड नागरिकलाई चरम गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँले उल्लेख गर्नुभयो। पुस्तौँदेखि गरिबी अन्त्य गर्ने विषय नारामा मात्र सीमित रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “पहिले गरिबीविरुद्धको लडाइँ नारामा मात्र सीमित थियो, तर आज भारतले व्यवहारमै गरिबीलाई पराजित गरिरहेको छ।”
भारत विश्वकै तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्र र गरिबी न्यूनीकरणमा सबैभन्दा तीव्र प्रगति गर्ने राष्ट्र बन्नुका यी दुई उपलब्धि एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले बढ्दो अर्थतन्त्र र विस्तारित बजेटले सार्वजनिक लगानी बढ़ाउन सक्षम बनाउने बताउनुभयो। उहाँले विगतमा भ्रष्टाचार र आर्थिक अनियमितताका कारण दुरुपयोग हुने गरेको रकम अहिले प्रत्यक्ष रूपमा लाभग्राहीसम्म पुगिरहेको उल्लेख गर्नुभयो। सड़क, रेलमार्ग, विमानस्थल, मेट्रो, विद्युत्, खानेपानी तथा ग्यास पाइपलाइनमा सरकारी लगानीले एकातिर जनताको जीवनस्तर सुधार गरिरहेको छ भने अर्कोतिर रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको उहाँले बताउनुभयो। “यी दुवै उपलब्धि एकअर्कासँग जोड़िएका छन्,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
गरिबका लागि आवास, शौचालय, ‘हर घर जल’ अन्तर्गत धाराबाट खानेपानीको सुविधा तथा खाना पकाउने ग्यास जस्ता कल्याणकारी योजनाहरूको प्रभावबारे प्रकाश पार्दै प्रधानमन्त्रीले यी आधारभूत सुविधाले जनतामा आत्मविश्वास बढ़ाउनुका साथै दैनिक जीवनको बहुमूल्य समय बचत गरेको बताउनुभयो। “यसरी बचत भएको समय परिवारका लागि अतिरिक्त आम्दानी आर्जन गर्न उपयोग भइरहेको छ,” श्री मोदीले उल्लेख गर्नुभयो।
गत महिना सरकारको नेतृत्वमा 25 वर्ष पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले गरिबलाई सशक्त बनाउँदा उनीहरूमा गरिबीमाथि विजय हासिल गर्ने साहस पैदा हुने मन्त्रका साथ आफूले काम गर्दै आएको बताउनुभयो। गुजरातको मुख्यमन्त्री हुँदा सरकारी योजनाहरूको लाभ लक्षित वर्गसम्म पुर्याउने उद्देश्यले ‘गरिब कल्याण मेला’ शुरु गरेको स्मरण गर्दै उहाँले लाभग्राहीहरूलाई मञ्चमा आमन्त्रण गरी गरिबीविरुद्ध सङ्घर्ष गर्ने सङ्कल्प गराउने गरिएको बताउनुभयो। “उनीहरू गरिबीलाई पराजित गर्ने सङ्कल्प लिएर र आत्मविश्वास बोकेर कार्यक्रमबाट फर्कने गर्थे,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
त्यसबेला शुरु गरिएको अभियान ‘सशक्तीकरणमार्फत सामर्थ्य’ अर्थात् ‘पावर टु एम्पावर’को अवधारणामा आधारित सुशासनका रूपमा निरन्तर अघि बढ़िरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यो परिवर्तन अचानक नभएर वर्षौँको सुनियोजित र योजनाबद्ध प्रयासको परिणाम भएको बताउनुभयो। “यसैको परिणामस्वरूप 50 करोड़ भारतीय नागरिकले गरिबीमाथि विजय हासिल गरेका छन्,” श्री मोदीले उल्लेख गर्नुभयो।
गरिबी न्यूनीकरणबाट गरिबीबाट बाहिर निस्किएका परिवारलाई मात्र नभई समग्र राष्ट्रलाई लाभ पुग्ने बताउँदै प्रधानमन्त्रीले यसले राष्ट्रिय अर्थतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने उल्लेख गर्नुभयो। यसबाट नयाँ मध्यम वर्गको उदय हुने र उनीहरूको क्रयशक्तिले बजारमा माग बढाउनुका साथै पसलदेखि उद्योग–कारखानासम्म नयाँ सम्भावनाका ढोका खोल्ने उहाँले बताउनुभयो। “यसको अर्थ, भारतमा गरिबी घट्दै जानुले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याइरहेको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
विकसित भारतको यात्रामा किसानहरूको महत्त्वपूर्ण भूमिकालाई जोड़ दिँदै प्रधानमन्त्रीले उनीहरूलाई सशक्त बनाउन सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो। पछिल्ला वर्षहरूमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको नेतृत्वमा व्यापक जल संरक्षणका कामहरू भए तापनि प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण महाराष्ट्रका किसान परिवारहरूले अहिले गम्भीर कठिनाइ सामना गरिरहेको उहाँले स्वीकार गर्नुभयो। खड़ेरीको अवस्थाबारे आफू जानकार रहेको, राज्य सरकारले अग्रिम राहत उपलब्ध गराएको तथा प्रधानमन्त्री किसान सम्मान निधिको रकमसमेत हस्तान्तरण गरिएको उल्लेख गर्दै उहाँले सरकारका तर्फबाट पूर्ण संवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभयो। राज्यका किसानहरूलाई आश्वस्त पार्दै उहाँले भन्नुभयो, “तपाईँहरू बिल्कुलै चिन्ता नगर्नुहोस्, हामी सबै किसानहरूसँग छौँ।”
चाड़पर्वको यस समयमा खड़ेरी प्रभावित नागरिक, किसान परिवार तथा अन्य समस्यामा परेका मानिसहरूलाई सम्झनु सबैको सामाजिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्रीले उनीहरूको घरमा पनि दीपावलीको खुशी कायम रहनुपर्ने बताउनुभयो। यस विपत्तिको सामना गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने आह्वान गर्दै उहाँले भन्नुभयो, “हामी सबै मिलेर मात्रै यस विपत्तिको सामना गर्नेछौँ।”
मेट्रो परियोजनाहरूको सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सामूहिक तथा एकताबद्ध प्रयास अर्थात् ‘सबका प्रयास’ विकसित भारत निर्माणको जीवनशक्ति भएको बताउनुभयो। “यही भावनाका साथ हामी सबै देशको विकासमा निरन्तर सक्रिय रहनुपर्छ,” श्री मोदीले जोड़ दिनुभयो।
******
MPS/TWB