प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा पूर्व राष्ट्रपति श्री रामनाथ कोविन्दको आत्मकथा लोकार्पण


आज, हामीसँग श्री रामनाथ कोविन्दजीको आत्मकथा लोकार्पण गर्ने अवसर आएको छ; यस कार्यक्रममा सहभागी बन्नपाउँदा म खुशी छु : पीएम

उनको यात्राले जनसेवा अनि राष्ट्रको प्रगतिमा समर्पित जीवन प्रतिबिम्बित गर्दछ : पीएम

कोविन्दजीसँग मेरो लामो समयदेखिको परिचय अनि मप्रति उनको विशेष भ्रातृभाव अनि न्यानोपन मेरो सबैभन्दा ठूलो सम्पत्ति रहेको छ : पीएम

महात्मा गान्धी, बाबासाहेब अम्बेडकर, ज्योतिबा फूले अनि सावित्रीबाई फूलेले गरीबभन्दा गरीब अनि सबैभन्दा वञ्चितले पनि सर्वोच्च पद हासिल गर्ने मौका पाउने नयाँ भारत निर्माणको सपना देखेका थिए : पीएम

कोविन्दजी जस्ता व्यक्तित्त्वले सम्यक् तत्परता अनि क्षमताद्वारा आफ्नो जीवन मात्र रूपान्तरित नगरेर उनले शताब्दियौं पुराना सपना अनि परिकल्पनालाई साकार बनाउन महत् भूमिका खेलेका छन् : पीएम

राष्ट्रपतिका रूपमा सेवानिवृत्त भए तापनि, उनले “एक राष्ट्र, एक निर्वाचन”को निम्ति काम गरिरहेका छन्; यसको प्रस्तावनाले लोकतन्त्रको नयाँ अध्याय शुरु गर्नसक्नेछ : पीएम

प्रविष्टि तिथि: 12 AUG 2026 12:39PM by PIB Gangtok

नयाँ दिल्ली, 12 अगस्त 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भारतका पूर्व राष्ट्रपति श्री रामनाथ कोविन्दको “भारतीय गणतन्त्रको विजयोल्लास : मेरो जीवन, मेरो सङ्घर्ष” नामक आत्मकथा, नयाँ दिल्लीको विज्ञान भवनमा लोकार्पण गरे। उपस्थित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “आज हामीले श्री रामनाथ कोविन्दजीको आत्मकथा लोकार्पण गर्ने अवसर पाएका छौं, र म यस कार्यक्रममा सहभागी बन्नपाउँदा धेरै खुशी छु।”

पूर्व राष्ट्रपतिसँग गहिरो व्यक्तिगत सम्बन्ध रहेको कुरा स्मरण गर्दै प्रधानमन्त्रीले कोविन्दजीको यतिका वर्षसम्म मार्गदर्शन अनि स्नेहप्रति गहन सम्मान रहेको प्रकाश पारे। “मेरो लामो समयदेखि कोविन्दजीसँगको परिचय, उनलाई नजिकबाट जान्ने सौभाग्य, राष्ट्रपतिका रूपमा उनको मार्गदर्शन गर्ने क्षमता अनि सबैभन्दा माथि, उनको मप्रति विशेष स्नेह अनि न्यानोपन मेरो सबैभन्दा ठूलो सम्पत्ति रहेको छ, प्रधानमन्त्रीले बताए।”

पूर्व राष्ट्रपतिको चरित्र अनि क्षमताको गहिराइको सराहना गर्दै, प्रधानमन्त्रीले यस साहित्य कार्यले राष्ट्रको लोकतान्त्रिक मूल्यको चिरस्थायी प्रमाणको रूपमा काम गर्ने उल्लेख गरे। “म पूर्ण आत्मविश्वासका साथ भन्नसक्छु, रामनाथ कोविन्दजीको आत्मकथा भारतीय लोकतन्त्र अनि भारतीय समाजको निम्ति विरासत बन्नेछ,” श्री मोदीले उल्लेख गरे।

कोविन्दजीको राष्ट्रप्रति आजीवन योगदानको विशालता स्वीकार गर्दै प्रधामन्त्रीले बढी विस्तारका साथ नबताए तापनि, दर्शकलाई उक्त विमर्श स्वयं खोज गर्न प्रोत्साहित गरे। “पुस्तक लोकार्पणमा, प्रवेशिका मात्र हुनुपर्दछ, र त्यसको पठनपछि पूर्ण लाभ लिनसके मात्र उत्तम ठहरिन्छ,” श्री मोदीले बताए।

युवा जमातका लागि आत्मकथाको शैक्षिक मूल्यबारे प्रकाश पार्दै भावी पिँढीले पूर्व राष्ट्रपतिका शब्दहरूबाट प्रेरणा लिनुपर्ने इच्छा व्यक्त गरे। “देशका नयाँ पिँढीले उनको लेखन अनि अनुभव पढ्नुपर्नेछ, जसबाट प्रत्येकले धेरै नै सिक्न सक्नेछन्,” श्री मोदीले जोड दिए।

पुस्तक “भारतीय गणतन्त्रको विजयोल्लास : मेरो जीवन, मेरो सङ्घर्ष” शीर्षक विश्लेषण गर्दै, प्रधानमन्त्रीले व्यक्तिगत सङ्घर्ष अनि राष्ट्रिय लोकतान्त्रिक सफलताको सन्दर्भमा द्वैत महत्त्वका रूपमा व्याख्या गरे। “जीवनका सङ्घर्षहरू व्यक्तिगत हुन्, तर ती सङ्घर्षका कारण हासिल जीत भारतीय गणतन्त्र अनि त्यसको लोकतन्त्रको सम्पत्ति हो”, श्री मोदीले उल्लेख गरे।

पूर्व राष्ट्रपतिको उदारतासँग सामान्य मानव प्रवृत्तिको तुलना गर्दै, धेरैले कठिनाइको निम्ति समाजलाई दोषी ठहऱ्याउने गरे तापनि, कोविन्दजीको भारतीय मूल्य-मान्यतामा गहिरो रूपमा जरा गाडेको उदार हृदयले समाजलाई आफ्नो सफलतामा समान साझेदारका रूपमा हेर्ने गरेको बताए। “जब हृदय उदार हुनका साथै भारतीय मूल्य-मान्यता त्यसमा रहेको हुन्छ, व्यक्तिले समाजमा कमी-कमजोरी खोज्न समय खेर नफालेर, त्यसको सकारात्मक पक्षमाथि ध्यान केन्द्रित गर्ने गर्दछ,” श्री मोदीले बताए।

आत्मकथाबाट अति नै दुखद बाल्यकालको घटना स्मरण गर्दै, प्रधानमन्त्रीले कानपुर देहातमा घरमा आगो लागेको बेला साज-सामान जोगाउने प्रयासमा कोविन्दजीले आफ्नो आमा गुमाएको हृदयविदारक कथा साझा गरे। “यसरी कलिलै उमेरमा त्यस्ता दुर्घटनाका कारण आफ्नो आमा गुमाउनुको पीडा तपाईंहरूले कल्पना गर्नसक्नु हुन्छ, कति पीडादायी थियो होला,” श्री मोदीले बताए।

उक्त दुर्घटनापछि पिताको निर्णायक भूमिकामाथि जोड दिँदै कोविन्दजीका पिताले कसरी परिवारलाई कसरी आड-भरोसा दिँदै आफ्ना सन्तानहरूमा प्रबल मूल्य-मान्यता सिकाएका थिए भनी प्रधानमन्त्रीले उल्लेख गरे। “जुन प्रकारले उनले आफ्नो परिवार सम्हाल्दै आफ्ना सन्तानहरूलाई मूल्य-मान्यता सिकाए, त्यस कारण नै कोविन्दजीले आफ्ना पितालाई आदर्श मान्छन्,” श्री मोदीले बताए।

संसाधनको कमीलाई पार गर्न कोविन्दजीले शिक्षामाथि भर परेको कुरा उल्लेख गर्दै, देशको सर्वोच्च पदसम्मको असाधारण यात्राबारे प्रधानमन्त्रीले प्रकाश पारे। “उनले कडा मेहनत गरे र संसाधनको कमीलाई आफ्नो कमजोरी बन्नदिएनन् र त्यो पदमा पुगे, जुन त्यसबेला मानिसहरूले कल्पनासम्म गरेका थिएनन्,” श्री मोदीले बताए।

पूर्व राष्ट्रपतिको चिरस्थायी विनम्रताको प्रशंसा गर्दै प्रधानमन्त्रीले, कोविन्दजी आफ्नो गाउँ परौङ्ख फर्किएको समय माटोका साथै पूर्व शिक्षकहरूको चरणस्पर्श गरेको अति नै भावुक सार्वजनिक क्षणको पनि स्मरण गरे। “उनको आचरणले भारतीय मूल्य-मान्यताको त्यो तस्वीर विश्वका सामु राख्नका साथै त्यसबाट सम्पूर्ण भारतीयले गर्व महसुस गरेको थियो,” श्री मोदीले उल्लेख गरे।

युगौंको दासत्त्वका कारण भएको ऐतिहासिक सामाजिक-आर्थिक आघातहरूमाथि विचार गर्दै प्रधानमन्त्रीले महात्मा गान्धी, बाबासाहेब अम्बेडकर अनि ज्योतिबा फुले जस्ता ऐतिहासिक व्यक्तित्त्वहरूको अथक सङ्घर्ष अनि दूरदर्शी सपनालाई श्रद्धाञ्जलि अर्पित गरे। “यस्ता कैयौं महान पुरुषले एउटा यस्तो भारतको पुनर्निर्माणको सपना देखेका थिए, जहाँ सबैभन्दा गरीब व्यक्तिले पनि शीर्षमा पुग्ने अवसर पाउनसकून्,” उनले भने।

ती ऐतिहासिक आकाङ्क्षाहरूलाई आधुनिक उपलब्धिसँग जोड्दै, प्रधानमन्त्रीले कोविन्दजी जस्ता व्यक्तित्त्वलाई समतावादी समाजको युगौं पुराना सपना अथख परिश्रमद्वारा साकार गर्ने श्रेय जाने बताए। “कोविन्दजी जस्ता व्यक्तित्त्वले आफ्नो परिश्रम अनि योग्यताद्वारा आफ्नो जीवन मात्र रूपान्तरित नगरेर, त्यस युगौं पुराना सपनालाई साकार गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्,” श्री मोदीले भने।

यस मिशनलाई अघि बढाउनका लागि समर्पित युवाहरूको निरन्तर आवश्यकतामाथि जोड दिँदै प्रधानमन्त्रीले एउटा यस्तो पिँढीको आह्वान गरे, जो बाधादेखि डराउँदैनन्, अनि राष्ट्रिय आत्मनिर्भरताको बाटो खोल्ने साहस राख्दछन्। “यस परिवर्तनका साथमा एउटा बलियो भारतको निर्माणको सङ्कल्प पूरा हुनका साथै आत्मनिर्भर अनि विकसित भारतको मार्ग प्रशस्त हुनेछ,” श्री मोदीले जोड दिँदै भने।

आत्मकथालाई एउटा महत्त्वपूर्ण प्रेरणास्रोत बताउँदै, कोविन्दजीको जीवनको विस्तृत विवरणले आवश्यक युवा शक्तिलाई आकार दिन निर्णायक मार्गदर्शकका रूपमा काम गर्ने प्रधानमन्त्रीले सुझाउ दिए। “कोविन्दजीको यस आत्मकथा यस्तो युवाशक्ति निर्माणका लागि प्रेरणाको महत्त्वपूर्ण स्रोत बन्नसक्नेछ,” श्री मोदीले भने।

कोविन्दजीको राजनीतिक जीवनको शुरुवातबारे उल्लेख गर्दै मोरारजी देसाईका साथ काम गर्नुका कारण उनीभित्र राष्ट्रिय सेवाको भावनाले सही दिशा पाएको र उनले राजनीतिलाई आफ्नो समर्पित करिअर बनाएको प्रधानमन्त्रीले बताए। “कोविन्दजीभित्र जुन राष्ट्रिय सेवाको भावना थियो, मोरारजीका साथ काम गरी उनले त्यसलाई दिशा दिएका थिए,” श्री मोदीले उल्लेख गरे।

उनको निरन्तर सेवाको उदाहरण पेश गर्दै संसदमा, राज्यपालका रूपमा अनि अन्ततः राष्ट्रपतिका रूपमा विभिन्न भूमिकामा कोविन्दजीको अटूट समर्पणको उनले प्रशंसा गरे। “उनले सेवालाई आफ्नो ध्येय मान्दै कार्य गरे अनि संसदमा उनको कार्यकाल यसको प्रमाण हो,” श्री मोदीले जोड दिँदै भने।

कोविन्दजीको सेवानिवृत्तिपछिको अथक योगदानतर्फ इङ्गित गर्दै, प्रधानमन्त्रीले देशको लोकतान्त्रिक तानाबानामा क्रान्तिकारी परिवर्तन ल्याउने क्षमता रहेको “एक राष्ट्र, एक निर्वाचन” जस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा उनको निरन्तर नेतृत्त्वको प्रशंसा गरे। “मेरो विचारमा, देशको जनताले कोविन्दजीको कर्तव्य अनि सेवाभावबाट धेरै कुरा सिक्नसक्नेछन्,” श्री मोदीले बताए।

सार्वजनिक जीवनमा सक्रिय रहँदै आत्मकथा लेख्नु धेरै कठिन काम हो, यो कुरा स्वीकार गर्दै प्रधानमन्त्रीले कोविन्दजीलाई यस महत्त्वपूर्ण सामाजिक योगदानको निम्ति धन्यवाद दिए। “कोविन्दजीले यो काम हामी सबैको निम्ति गरेका हुन्, किनभने उनको जीवनमा यस्ता धेरै कुरा छन्, जसमा गरीब अनि वञ्चित वर्गका सबैले आफ्नो जीवनको झलक देख्नसक्छन्,” श्री मोदीले भने।

यस पाठमा निहित व्यापक नैतिक शिक्षाहरू विस्तारका साथ बताउँदै पूर्व राष्ट्रपतिको कथनले कठिन समयमा पनि पवित्रता अनि इमान्दारी कायम गर्नका लागि स्थायी शक्ति दर्शाउने प्रधानमन्त्रीले जोड दिँदै बताए। “कोविन्दजीले निरन्तर समाजलाई प्रेरित गरेका छन्, जसले यो पवित्रता हामीले विभिन्न पदको जिम्मेवारी निर्वाह गर्दै राष्ट्र सेवा गर्ने शक्ति कसरी प्रदान गर्दछ भन्ने दर्शाउँछ,” श्री मोदीले उल्लेख गरे।

पुस्तकको ऐतिहासिक महत्त्वको प्रबल प्रशंसाका साथै आफ्नो सम्बोधन समापन गर्दै प्रधानमन्त्रीले यस साहित्यिक कृतिले व्यक्तिगत मात्र नभएर राष्ट्रिय उपलब्धिहरूका लागि पनि महत्त्वपूर्ण सङ्ग्रहका रूपमा काम गर्ने पूर्ण विश्वास व्यक्त गरे। “मलाई विश्वास छ, कोविन्दजीको आत्मकथाले उनको जीवनको महत्त्वपूर्ण स्मृतिहरूलाई संरक्षित मात्र नगरेर हाम्रो लोकतन्त्रलाई पनि सुरक्षित गर्नेछ,” श्री मोदीले भने।

**********

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2298198) आगंतुक पटल : 11
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , Marathi , हिन्दी , Manipuri , Bengali , Bengali-TR , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam