कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

केन्द्रीय कृषिमन्त्री श्री शिवराज सिंह चौहानले स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा सहभागी कृषकहरूसंग गरे दिल्लीमा भेट


“यदि हामी स्वदेशी वस्तुहरू खरिद गऱ्यौं भने, हामी आफैले करोडौं मानिसहरूलाई रोजगारी दिनेछौं” – शिवराज सिंह

“हाम्रा कृषहरूको हितमा हानि पुर्‍याउने कुनै पनि सम्झौता हुनेछैन” – श्री शिवराज सिंह

“रबी फसल राम्रो होस् भनेर कृषि वैज्ञानिकहरूले पुनः अक्टोबर ३ देखि १८ सम्म गाउँहरूको भ्रमण गर्नेछन्” – केन्द्रीय कृषिमन्त्री

Posted On: 15 AUG 2025 7:36PM by PIB Gangtok

कृषि तथा किसान कल्याण एवं ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले आज पुसा परिसर दिल्लीमा स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा सहभागी किसानहरूसँग अन्तरक्रिया गरे। यस अवसरमा, श्री चौहानले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आह्वान अनुसार कृषकहरूलाई स्वदेशी आन्दोलनलाई आत्मसात गर्ने प्रण गराए। उनले भने कि यदि हामीले हाम्रै राज्य तथा देशमा बनेका वस्तुहरू खरिद गऱ्यौं भने, भारतमा करोडौं मानिसहरूका लागि रोजगार सृजना हुनेछ।

श्री शिवराज सिंहले भारतको स्वतन्त्रता प्राप्तिमा योगदान पुर्‍याउने सम्पूर्ण स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरे। उनले भने कि स्वतन्त्रता हामीलाई अंग्रेजहरूले सजिलै दिएका होइनन्। हजारौँ क्रान्तिकारीहरू हाँसी हाँसी फाँसीमा झुण्डिए।  उनले भने, "एक हातमा गीता, मुखमा 'भारत माता की जय' को उद्घोष र हृदयमा अटल संकल्प लिएर उनीहरूले सहर्ष आफ्नो जीवनको बलिदान दिए।"

श्री चौहानले प्रधानमन्त्री मोदीद्वारा उल्लेख गरिएको “अप्रेशन सिन्दूर” को कुरा गर्दै स्पष्ट सन्देश दिए कि भारतले कसैलाई उक्साउने काम गर्दैन, तर यदि कसैले भारतलाई उक्सायो भने उसलाई छोडिँदैन। अप्रेशन सिन्दूरमार्फत भारतले २६ निर्दोष नागरिकहरूको हत्याको बदला लिएको उनले जानकारी पनि दिए।

हाम्रा सैनिकहरूको वीरताको स्मरण गर्दै उनले भने कि आज हामीले भोगिरहेको शान्तिको वातावरण उनीहरूले नै दिनरात एक गरी सीमामा पहरा दिएर सुनिश्चित गरेका हुन्।

श्री चौहानले भने कि “स्वदेशी” भन्नुको अर्थ हो, देशभित्रै निर्मित वस्तुहरू। प्रधानमन्त्रीले भावनात्मक आह्वानसहित स्वदेशी वस्तुहरू प्रयोग गर्न आग्रह गरेका छन्। यदि हामी स्थानीय रूपमा उत्पादित, महिला स्वयं सहायता समूहहरूले बनाएका सामानहरू खरिद गऱ्यौं भने हामी करोडौंका लागि रोजगारी सिर्जना गर्न सक्छौं।

उनले भने “यदि हामीले दिपावलीमा हाम्रा कुम्हालेहरूबाट माटोको दियोहरू खरिद गऱ्यौं भने, केवल हाम्रा घरहरूमात्र उज्यालो हुने छैनन् तर उनीहरूका घरहरू पनि राजगारीको उज्यालोले चम्किनेछ।”

केन्द्रीय मन्त्री श्री चौहानले जोड दिंदै भने कि प्रधानमन्त्रीले सधैं कृषकहरूको हित र राष्ट्रहितलाई सबैभन्दा माथि राखेका छन्। भारतको तीव्र विकासले संसारका केही भागहरूलाई असहज बनाएको छ। हाम्रो दर्शन “वसुधैव कुटुम्बकम्” — अर्थात् सम्पूर्ण संसार एउटै परिवार हो र हाम्रा सम्झौताहरू समानताको आधारमा गरिन्छन्।

उनले भारत र यूकेबीच भएको सम्झौताको उदाहरण दिंदै भने कि सो सम्झौता अन्तर्गत भारतीय कृषि उत्पादनहरू ईंगल्याण्ड कुनै शुल्क वा कर नलागाई निर्यात गर्न सकिन्छ। तर, उनले चेतावनी दिंदै भने कि यदि कुनै सम्झौता अन्तर्गत सस्तो विदेशी कृषि उत्पाद जस्तै मकै, सोयाबिन वा गहुँ—भारतमा भित्रियो भने, त्यसले हाम्रा किसानहरूको जीवन नै तहसनहस पार्नेछ। किनभने भारतका लघु कृषि फार्म (१–५ ऐकर) र विदेशी ठूला फार्महरू (१०,०००–२०,००० हेक्टर) बीच कुनै तुलना नै हुनसक्दैन। यस्ता सस्ता वस्तुहरूको आयातले बजार मूल्य घटाउनेछ र भारतीय कृषकहरूले आफ्नो लागत समेत उठाउन सक्नेछैनन्।

उनले प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै भने कि प्रधानमन्त्रीले स्पष्ट रूपमा आश्वासन दिंदै भनेका छन्—हाम्रा कृषक, पशुपालक र माछापालन गर्नेहरूको हितमा हानि पुर्‍याउने कुनै पनि प्रकारको सम्झौता गरिने छैन।

श्री चौहानले अझ भने कि प्रधानमन्त्रीले जोड़ दिएका छन्—सरकार कागजका फाइलहरूमा होइन, जनताको जीवनमा देखिनु पर्छ।

उनले हालैको आफ्नो फिल्ड भ्रमणको उदाहरण दिँदै बताए, जहाँ कृषकहरूले गुनासो गरेका थिए कि झारनाशक औषधिले झारको सट्टा उनीहरूको बाली नै नष्ट गरिदिएको छ। यसप्रति कड़ा प्रतिक्रिया दिंदै उनले यस्ता कम्पनीहरू विरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएका छन् र कडा कारबाहीको माग गरेका छन्। सरकारका सबै योजना प्रभावकारी रूपमा कृषकहरूसम्म पुर्‍याउन आवश्यक कदमहरू चालिएको उनले स्पष्ट पारे।

पहिलो पल्ट कृषि वैज्ञानिकहरू गाउँसम्म पुगेर प्रयोगशालालाई खेतसम्म ल्याएका छन् अनि कृषकहरूसंग मिलेर उत्पादन वृद्धि गर्न काम गरिरहेका छन्। उनले जानकारी दिए कि यो प्रयास पुनः अक्टोबर ३ देखि १८ सम्म दोहोरिनेछ। रबी फसल उत्पादन सुधार गर्न दुई दिवसीय सम्मेलनको पनि आयोजना गरिनेछ।

मन्त्रीले भने,कृषि भारतीय अर्थतन्त्रको मेरुदण्ड हो र कृषकहरू यसको आत्मा हुन्। कृषि मन्त्रीको रूपमा म कृषकरूको सेवा गर्नु भगवानको पूजा गर्नु सरह मान्दछु।”

यस कार्यक्रममा कृषि तथा किसान कल्याण राज्यमन्त्री श्री रामनाथ ठाकुर र श्री भगीरथ चौधरी, कृषि सचिव श्री देवेश चतुर्वेदी, भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएर) का महानिदेशक डा. एम.एल. जाट, साथै अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन संयुक्त सचिव श्रीमती पेरिन देवीले गरिन्।

**********

 


(Release ID: 2157139)
Read this release in: English , Urdu , Hindi , Kannada