प्रधानमन्त्रीको कार्यालय
आसमको प्रथम वन्दे भारत एक्सप्रेसलाई झण्डी देखाउने अवसरमा प्रधानमन्त्रीको सम्बोधन
Posted On:
29 MAY 2023 3:13PM by PIB Gangtok
नमस्कार,
आसमका राज्यपाल श्रीमान गुलाबचन्द कटारियाजी, मुख्यमन्त्री भाइ हेमन्त विश्वशर्माजी, केन्द्रिय मन्त्रीमण्डलका मेरा सदस्य अश्विनी वैष्णवजी, सर्बानन्द सोनोवालजी, रामेश्वर तेलीजी, निशीथ प्रमाणिकजी, जोन बारलाजी, अन्य सबै मन्त्रीगण, सांसदगण, विधायक अनि मेरा प्यारा भाइ अनि बहिनीहरू,
आज आसमसहित सम्पूर्ण नर्थईस्ट रेल कनेक्टिभिटीका लागि ठूलो दिन हो। आज नर्थईस्टको कनेक्टिभिटीसँग जोडिएका तीन काम एक साथ भइरहेका छन्। पहिलो, आज नर्थईस्टले आफ्नो पहिलो मेड इन इण्डिया वन्दे भारत एक्सप्रेस पाइरहेको छ। यो पश्चिम बङ्गाललाई जोड्ने तेस्रो वन्दे भारत एक्सप्रेस हो। दोस्रो, आसम अनि मेघालयको करिब सवा चार सय किलोमिटर ट्रैकमा विद्युतीकरणको काम पूरा भएको छ। तेस्रो, लामडिङमा नवनिर्मित डेमू-मेमू शेडको पनि आज लोकार्पण भएको छ। म यी सबै प्रोजेक्ट्सका लागि आसम, मेघालयसहित सम्पूर्ण नर्थईस्ट अनि पश्चिम बङ्गालका साथीहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु।
साथीहरू,
गुवाहाटी-जलपाइगढी वन्दे भारत एक्सप्रेस ट्रेनले आसम अनि पश्चिम बङ्गालबीच युगौं पुराना सम्बन्धलाई अझ बलियो बनाउनेछ। यसले सम्पूर्ण क्षेत्रमा आउजाउ अझ तेझ हुनेछ। यसले कलेज-युनिभर्सिटीमा पढ्ने युवा साथीहरूलाई पनि सुविधा हुनेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले पर्यटन अनि व्यापारबाट हुने रोजगार पनि बढ्नेछ।
यस वन्दे भारत एक्सप्रेसले मा कामाख्या मन्दिर, काजीरङ्गा, मानस राष्ट्रिय उद्यान, पोबितोरा वन्यप्राणी निकुञ्जलाई जोड्नेछ। यसका साथै मेघालयको शिलङ, चेरापूञ्जी अनि अरुणाचल प्रदेशको तवाङ अनि पासीघाटसम्म पनि पर्यटक सुविधा बढ्नेछ।
भाइ-बहिनीहरू,
यसै सप्ताह केन्द्रमा एनडीए सरकारको नौ साल पूरा भयो। बितेको नौ साल भारतको निम्ति अभूतपूर्व उपलब्धिहरूको रहेको छ, नयाँ भारतको निर्माणको रहेको छ। हिजो देशले स्वतन्त्रत भारतको भव्य-दिव्य आधुनिक संसद पायो। यो भारतका हजारौं वर्ष पुराना लोकतान्त्रिक इतिहासलाई हाम्रो समृद्ध लोकतान्त्रिक भविष्यसँग जोड्ने संसद हो।
बितेको नौ वर्षका यस्ता अनेकौं उपलब्धिहरू छन्, जसका बारे पहिले कल्पना गर्न पनि गाह्रो थियो। 2014 भन्दा पहिलेको दसकमा इतिहासका घोटालाहरूको रेकर्ड तोडिएका थिए। ती घोटालाहरूले सबैभन्दा धेरै नोक्सा देशका गरीबहरूको गरेको थियो, देशको यस्तो क्षेत्रको गरेको थियो, जो विकासमा पछि रहन गएको थियो।
हाम्रो सरकारले सबैभन्दा धेरै गरीब कल्याणलाई प्राथमिकता दिएको छ। गरीबहरूलाई घरदेखि लिएर महिलाहरूका लागि शौचालयसम्म, पानीको पाइपलाइनदेखि बिजुलीको कनेक्सनसम्म, ग्यास पाइपलाइनदेखि लिएर एम्स-मेडिकल कलेजसम्म, सडक, रेल, जलमार्ग, जलपोत, हवाईपोत, मोबाइल कनेक्टिभिटी, हामीले हरेक क्षेत्रमा पूरा शक्तिका साथ काम गरेका छौं।
आज भारतमा भिरहेको पूर्वाधारको कामको सम्पूर्ण विश्वमा चर्चा भइरहेको छ। किनभने यही पूर्वाधारले नै जीवन सजिलो बनाउँदछ। यही पूर्वाधारले रोजगार अवसर सिर्जना गर्दछ। यही पूर्वाधार तेज विकासको आधार हो। यही पूर्वाधारले गरीब, दलित, पछाडिएका, आदिवासी, यस्ता हरेक वञ्चितलाई सशक्त बनाउँदछ। पूर्वाधार सबैको निम्ति हो, समान रूपमा हुन्छ, कुनै भेदभावबिना हुन्छ। र यसैले यो पूर्वाधार निर्माण पनि एक प्रकारले साँचो सामाजिक न्याय हो, साँचो सेकुलरिज्म हो।
भाइ-बहिनीहरू,
पूर्वाधार निर्माणको यस कामको सबैभन्दा धेरै लाभ यदि कसैलाई भएको छ भने त्यो पूर्वी अनि उत्तर-पूर्वी भारतलाई भएको छ। विगतका विफलतालाई ढाक्नका लागि केही मानिसले पहिले पनि पूर्वोत्तरमा धेरै काम भएको थियो भन्छन्। यस्ता मानिसहरूको वास्तविकता पूर्वोत्तरका मानिसहरूले राम्ररी जान्दछन्। उनीहरूले पूर्वोत्तरका मानिसहरूलाई मूल सुविधाहरूका लागि पनि दसकौंसम्म प्रतीक्षा गराए। यस अक्षम्य अपराधको धेरै ठूलो नोक्सानी पूर्वोत्तरले उठाउनु पऱ्यो। जुन हजारौं गाउँ, करोडौं परिवार नौ साल अघिसम्म बिजुलीबाट वञ्चित थिए, त्यसमध्ये ठूलो सङ्ख्या पूर्वोत्तरका परिवारहरू थिए। टेलिफोन-मोबाइल कनेक्टिभिटीबाट वञ्चित ठूलो जनसङ्ख्या पूर्वोत्तरका नै थिए। राम्रो रेल-रोड-एयरपोर्ट कनेक्टिभिटीको अभिवा पनि सबैभन्दा धेरै पूर्वोत्तरमै थियो।
भाइ-बहिनीहरू,
जब सेवाभावका साथ काम हुन्छ, तब कस्तो परिवर्तन आउँछ, त्यसको साक्षी पूर्वोत्तरको रेल कनेक्टिभिटी रहेको छ। म जुन स्पीड, स्केल र नीयतको कुरा गर्दैछु, यो त्यसको पनि प्रमाण हो। कल्पना गर्नुहोस्, देशमा डेढ सय वर्षभन्दा पहिले पहिलो रेल मुम्बई महानगरबाट गुडेको थियो। त्यसको 3 दसकपछि आसममा पनि पहिलो रेल गुड्न शुरु भइसकेको थियो।
गुलामीको त्यस कालखण्डमा पनि आसम होस्, त्रिपुरा होस्, पश्चिम बङ्गाल होस्, हरेक क्षेत्रलाई रेलले जोड्ने काम गरिएको थियो। तर तब जुन नीयत थियो, त्यो जनहितका लागि थिएन। त्यस समय अङ्ग्रेजहरूको मनसाय के थियो, यस सम्पूर्ण भूभागको संसाधन लुट्नु रहेको थियो। यहाँको प्राकृतिक सम्पदा लुट्नु। स्वतन्त्रतापछि पूर्वोत्तरमा स्थितिहरू बद्लिनुपर्ने थियो, रेलको विस्तार हुनुपर्ने थियो, तर पूर्वोत्तरका अधिकांश राज्यलाई रेलद्वारा जोड्ने काम 2014 पछि हामीले गर्नुपऱ्यो।
भाइ-बहिनीहरू,
तपाईंहरूको यस सेवकले पूर्वोत्तरको जनजीवनको संवेदना अनि सुविधालाई सर्वोच्च प्राथमिकता दिएको छ। देशमा आएको यही परिवर्तन बितेको 9 वर्षमा सबैभन्दा व्यापक अनि सबैभन्दा प्रखर रहेको छ, जुन पूर्वोत्तरले विशेष रूपमा अनुभव गरेको छ। बितेको नौ वर्षमा पहिलेको तुलनामा पूर्वोत्तरमा रेलवेको विकासका लागि बजेट कैयौं गुणा बढाइयो। 2014 भन्दा अघि पूर्वोत्तरका लागि रेलवेको बजेट औसत बजेटको करिब-करिब अढाई हजार करोड रुपियाँ हुने गर्थ्यो। यसपटक पूर्वोत्तरको रेल बजेट 10 हजार करोडभन्दा धेरै छ। अर्थात् 4 गुणा बढोत्तरी गरिएको छ। यस समय मणिपुर, मिजोरम, नागाल्याण्ड, मेघालय र सिक्किमको राजधानीलाई बाँकी देशसँग जोड्ने काम पनि तेज गतिका साथ चलिरहेको छ। चाँडै नै पूर्वोत्तरका सबै राजधानी ब्रडगेज नेटवर्कद्वारा जोडिनेछ। यी परियोजनाहरूमाथि एक लाख करोड रुपियाँ खर्च गरिँदैछन्। यसले पनि पूर्वोत्तरको कनेक्टिभिटीका लागि बीजेपी सरकार कति प्रतिबद्ध छ भन्ने दर्शाउँदछ।
भाइ-बहिनीहरू,
आज जुन परिमाणका साथ, जुन गतिका साथ हामी काम गरिरहेका छौं, त्यो अभूतपूर्व छ। अब पूर्वोत्तरमा पहिलेको तुलनामा तीन गुणा तेजीका साथ नयाँ रेल लाइ बिछ्याइँदैछ। अब पूर्वोत्तरमा पहिलेको तुलनामा नौ गुणा तेजीका साथ रेल लाइनहरूको दोहोरीकरण गरिँदैछ। बितेका नौ वर्षमै पूर्वोत्तरको रेल नेटवर्कको बिजुलीकरण शुरु भयो र अब शत प्रतिशतको लक्ष्यतर्फ तेजीका साथ अघि बढिरहेको छ।
साथीहरू,
यस्तै स्पीड अनि स्केलका कारण, आज पूर्वोत्तरका अनेकौं क्षेत्र पहिलोपटक रेलसेवाका साथ जोडिँदैछन्। नागाल्याण्डले 100 सालपछि दोस्रो रेलवे स्टेशन अहिले आएर पाएको छ। जहाँ कहिले सानो पटरीमा सुस्त रेल चल्ने गर्थ्यो भने अहिले आएर सेमी हाइ स्पीड वन्दे भारत र तेजस एक्सप्रेस जस्ता ट्रेन चल्न शुरु भएका छन्। आज पूर्वोत्तरको पर्यटनलाई बढावा दिनका लागि रेलवेको भिस्टाडोम कोच पनि नयाँ आकर्षण बनिरहेको छ।
भाइ-बहिनीहरू
गतिका साथसाथै भारतीय रेलले आज मनलाई पनि जोड्ने, समाजलाई जोड्ने र मानिसहरूलाई अवसरसँग जोड्ने पनि माध्यम बनिरहेको छ। हेर्नुहोस्, गुवाहाटी रेलवे स्टेशनमा भारतको पहिलो ट्रान्सजेण्डर टी स्टल खोलिएको छ। यो ती साथीहरूलाई सम्मानको जीवन दिने प्रयास हो जसलाई समाजबाट असल व्यवहारको अपेक्षा छ। यसै गरी “वन स्टेशन, वन प्रोडक्ट” यस योजना अन्तर्गत पूर्वोत्तरका रेलवे स्टेशनहरूमा स्टलहरू बनाइएका छन्। यसले भोकल फऱ लोकललाई बल दिइरहेको छ। यसबाट हाम्रा स्थानीय कारीगर, कलाकार, शिल्पकार, यस्ता साथीहरूले नयाँ बजार पाइरहेका छन्। पूर्वोत्तरका सयकडौं स्टेशनमा वाई-फाईको सुविधा प्रदान गरिएका छन्। संवेदनशीलता अनि गतिको यसै सङ्गमले नै प्रगति पथमा पूर्वोत्तर अघि बढ्नेछ। विकसित भारतको निर्माणको मार्ग सशक्त हुनेछ।
एकपटक फएरि पनि सबैलाई वन्दे भारत र अन्य सबै परियोजनाका लागि धेरै धेरै बधाई दिन चाहन्छु, धेरै धेरै शुभकामना दिन चाहन्छु।
धेरै धेरै धन्यवाद!
****
(Release ID: 1928119)
Visitor Counter : 152
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Bengali
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam