संसदीय मामिला मन्त्रालय
azadi ka amrit mahotsav

२६ नोभेम्बरमा संविधान दिवस, २०२६ पालन गरिने

पोस्ट गरियो: 25 NOV 2026 6:26PM by PIB Gangtok

नयाँ दिल्ली, २५ नोभेम्बर २०२६:

२६ नोभेम्बर, १९४९ को दिन संविधान सभाद्वारा भारतको संविधान अङ्गीकार गरिएको सम्झनामा २६ नोभेम्बर २०२६ मा संविधान दिवस मनाइनेछ। भारतका प्रधानमन्त्रीको विशेष मार्गदर्शनमा सन् २०१५ देखि यस दिनलाई 'संविधान दिवस' का रूपमा मनाउन थालिएको हो।

यस अवसरमा, संसदीय मामिला मन्त्रालयले 'माईगव' पोर्टलमार्फत संविधानको 'प्रस्तावना' पढ्ने कार्यक्रम आयोजन गर्दैछ। यो कार्यक्रम २२ अनुसूचित भाषा र अङ्ग्रेजी गरी जम्मा २३ भाषामा उपलब्ध हुनेछ। यस पहलले देशभरिका नागरिकहरूलाई संविधानको प्रस्तावना पढ्ने र संविधानमा निहित आदर्श तथा मूल्यहरूप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउने अवसर प्रदान गर्नेछ।

सर्वसाधारण, भारत सरकारका विभिन्न मन्त्रालय/विभाग, राज्य/केन्द्र शासित प्रदेशका सरकार, शैक्षिक संस्थान, विद्यालय, कलेज, विश्वविद्यालय तथा अन्य सङ्घ-संस्थाहरूलाई निम्न प्लेटफर्ममार्फत यस अभियानमा सहभागी हुन प्रोत्साहित गरिएको छ:

     MyGov: https://pledge.mygov.in/constitution-day-2026/ — यहाँ गई संविधानको प्रस्तावना पढ्नुहोस्, प्रमाणपत्र प्राप्त गर्नुहोस् र यसलाई सामाजिक सञ्जालमा साझा गर्नुहोस्।

युवाहरूको सहभागिता र संलग्नता बढ़ाउन १८ देखि २६ नोभेम्बर २०२६ सम्म 'MyGov' र 'MYBharat' पोर्टलमार्फत 'संविधान क्विज' आयोजन गरिनेछ। साथै, २४ देखि २६ नोभेम्बर २०२६ सम्म सबै ३६ राज्य/केन्द्र शासित प्रदेशका ७८६ जिल्लाहरूमा 'विकसित भारत युवा संवाद' को आयोजना गरिँदैछ।

यस विशेष अवसरलाई मनाउन भारत सरकारका मन्त्रालय/विभाग, राज्य/केन्द्र शासित प्रदेशका सरकार, तिनका अधीनका कार्यालय, स्वायत्त निकाय र विभिन्न संस्थाहरूद्वारा देशभरि विभिन्न कार्यक्रम आयोजन गरिँदैछन्। यी गतिविधिहरूमा प्रस्तावनाको सामूहिक वाचन, सेमिनार, वेबिनार, क्विज, निबन्ध तथा वादविवाद प्रतियोगिता, पोस्टर निर्माण, सांस्कृतिक कार्यक्रम, जनचेतनामूलक अभियान, पदयात्रा, दौड़ र अन्य सामुदायिक सहभागितामूलक कार्यहरू सामेल छन्।

शैक्षिक संस्थानहरूलाई पनि विशेष बिहानी सभा, चर्चा र प्रतियोगिताहरू आयोजन गर्न प्रोत्साहित गरिँदै छ, जसले विद्यार्थीहरूलाई संविधान निर्माण प्रक्रिया र यसका मुख्य विशेषताहरूबारे परिचित गराउन मद्दत पुर्‍याउनेछन्।

नागरिक, युवा र विद्यार्थीहरूको सक्रिय सहभागितामार्फत यो उत्सवलाई जमिनी स्तरसम्म पुर्‍याउन विशेष जोड़ दिइएको छ। संविधान र देशको लोकतान्त्रिक संरचनामा यसको महत्त्वबारे बुझाइ अभिवृद्धि गर्न डिजिटल प्लेटफर्म र समुदायमा आधारित पहलहरूमार्फत विभिन्न जनचेतनामूलक तथा पहुँच विस्तारसम्बन्धी गतिविधिहरू सञ्चालन गरिँदै छन्।

संविधान दिवसले भारतको संविधानमा निहित सिद्धान्त र मूल्यहरूबारे चिन्तन गर्ने तथा यसका आदर्शहरूप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई नवीकरण गर्ने अवसर प्रदान गर्दछ। यस दिवसको पालनले संवैधानिक चेतनालाई मजबुत पार्ने, जिम्मेवार नागरिकतालाई प्रवर्द्धन गर्ने र राष्ट्रका लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्ने लक्ष्य राख्दछ।

नागरिकहरू, विशेष गरी युवा र विद्यार्थीहरूलाई संविधान दिवसका गतिविधिहरूमा उत्साहपूर्वक सहभागी हुन र भारतको संविधानप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न आह्वान गरिएको छ।

*********

MPS/TWB


(रिलिज आईडी: 2341486) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Tamil