इलेक्ट्रोनिक्स र आईटी मन्त्रालय
azadi ka amrit mahotsav

दक्षिण २०२६ मा भाषिणीले भोइस-फर्स्ट एआई र बहुभाषिक क्षमता गर्‍यो प्रदर्शन


प्रदर्शनी कक्षमा डिजिटल सुशासन, सार्वजनिक सेवा प्रवाह र नागरिक सहभागितामा बहुभाषिक कृत्रिम बुद्धिमत्ताको व्यावहारिक प्रयोग प्रदर्शन

पोस्ट गरियो: 19 NOV 2026 11:38AM by PIB Gangtok

१९ नोभेम्बर २०२६,नयाँ दिल्ली:

भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (एमईआईटीवाई) अन्तर्गत डिजिटल इन्डिया कर्पोरेसन (डीआईसी) को अन्तर्गत रहेको डिजिटल इन्डिया भाषिणी विभाग (डीआईबीडी) ले १७ देखि १८ नोभेम्बर २०२६ सम्म नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा आयोजित दुईदिने उच्चस्तरीय नीतिगत संवाद कार्यक्रम ‘दक्षिण दिवस २०२६’ मा सहभागिता जनाएको थियो। विदेश मन्त्रालयको सहकार्यमा विकासशील देशहरूका लागि अनुसन्धान तथा सूचना प्रणाली (आरआईएस) द्वारा आयोजित यस कार्यक्रममा भारत, अफ्रिका र अन्य साझेदार देशका नीतिनिर्माता, कूटनीतिज्ञ, विज्ञ तथा संस्थागत प्रतिनिधिहरू एकत्रित भई दक्षिण-दक्षिण सहकार्यका उदीयमान क्षेत्रहरूबारे छलफल गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्र र पहिलो दिनको गतिविधिको एक हिस्साका रूपमा प्रदर्शनी कक्षमार्फत भाषिणीले आफ्नो उपस्थिति जनाएको थियो। उक्त कक्षमा भाषिणीको बहुभाषिक भाषा कृत्रिम बुद्धिमत्ता प्रणाली प्रदर्शन गरिएको थियो। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित भाषा प्रविधिले कसरी समावेशी डिजिटल पहुँच सम्भव बनाउने, सार्वजनिक सेवा प्रवाहलाई सुदृढ गर्ने र भाषिक सीमाहरू पार गर्दै सञ्चारलाई सहज बनाउने भन्ने कुरा प्रस्तुत गरिएको थियो

भाषिणीको टोलीले विभिन्न प्रविधिगत प्रयोगका उदाहरणहरू र प्रत्यक्ष प्रदर्शन प्रस्तुत गर्दै आगन्तुकहरूलाई बहुभाषिक अनुवाद, वाक् पहिचान, वाक् संश्लेषण, लिप्यन्तरण, लिपि परिवर्तन तथा आवाजमा आधारित अन्तरक्रियालगायतका क्षेत्रमा यस मञ्चको क्षमताबारे जानकारी गराएको थियो। यस प्रदर्शनीमा शासन व्यवस्था, शिक्षा, स्वास्थ्य सेवा, बैंकिङ, कानुनी सेवा तथा नागरिकसँग प्रत्यक्ष सम्बन्धित अन्य क्षेत्रमा यी प्रविधिहरूको व्यावहारिक प्रयोगलाई उजागर गरिएको थियो। साथै, भाषा कृत्रिम बुद्धिमत्ताले मानिसहरूले आफ्नो रोजाइको भाषामा सूचना तथा डिजिटल सेवाहरू कसरी सहज रूपमा प्राप्त गर्न सक्छन् भन्ने कुरा प्रदर्शन गरिएको थियो।

प्रदर्शनीले विशिष्ट व्यक्तित्वहरू, अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, नीतिनिर्माताहरू तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको थियो। यस क्रममा डिजिटल समावेशीकरणलाई अगाडि बढाउन र संस्थागत सहकार्यलाई सुदृढ बनाउन बहुभाषिक कृत्रिम बुद्धिमत्ताको सम्भावनामाथि प्रकाश पारिएको थियो। आफ्नो प्रदर्शनीमार्फत भाषिणीले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) को एक महत्त्वपूर्ण अङ्गका रूपमा भाषा कृत्रिम बुद्धिमत्ताको भूमिकालाई उजागर गरेको थियो। यसको प्रयोग राष्ट्रिय सीमाभन्दा बाहिरका विभिन्न भाषिक परिवेशमा समेत विस्तार गर्न सकिने देखाइएको थियो।

यस अन्तरक्रियाको एउटा प्रमुख आकर्षण भारत सरकारका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले भाषिणीको प्रदर्शनी कक्षको भ्रमण गर्नु रहेको थियो। मन्त्रीले टोलीसँग अन्तरक्रिया गर्नुभयो, भाषिणीको बहुभाषिक कृत्रिम बुद्धिमत्ता क्षमताको प्रदर्शन अवलोकन गर्नुभयो र भाषिणी आफूहरूले प्रयोग गरिसकेको राम्रो तथा उपयोगी मञ्च भएको टिप्पणी गर्नुभयो।

डिजिटल इन्डिया भाषिणी विभाग (डीआईबीडी) बारे

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (एमईआईटीवाई) अन्तर्गत डिजिटल इन्डिया कर्पोरेसन (डीआईसी) को मातहत रहेको डिजिटल इन्डिया भाषिणी विभाग (डीआईबीडी) ले कृत्रिम बुद्धिमत्तामा आधारित बहुभाषिक डिजिटल समावेशीकरणका लागि राष्ट्रिय प्रणाली निर्माण गरिरहेको छ। भाषिणीले भाषालाई प्राथमिकता दिने डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरिरहेको छ, जसले सरकारी विभागहरू, विकासकर्ताहरू, अनुसन्धानकर्ताहरू तथा अन्य सरोकारवालाहरूलाई बहुभाषिक कृत्रिम बुद्धिमत्तामा आधारित अनुप्रयोग तथा सेवाहरू निर्माण र सञ्चालन गर्न सक्षम बनाउँछ। भाषिणीले भारतका ३६ वटा भाषामा पाठ, २३ वटा भारतीय भाषामा वाणी तथा ३५ वटा अन्तर्राष्ट्रिय भाषालाई समर्थन गर्दछ, जसले सरकारी तथा सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्धित डिजिटल सेवाहरूमा भाषा प्रविधिको एकीकरणलाई सम्भव बनाउँछ। यसको प्रणालीमा अनुवाद, वाक् पहिचान, वाक् संश्लेषण, लिप्यन्तरण तथा अन्य भाषासम्बन्धी सेवाका प्रविधिहरू समावेश छन्, जसले भारतको भाषिक विविधताबीच डिजिटल सूचना तथा सेवाहरूको पहुँचलाई थप सहज बनाउन सहयोग पुर्‍याउँछन्।

**********

MPS/TWB

 


(रिलिज आईडी: 2338330) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी