वित्त मन्त्रालय
azadi ka amrit mahotsav

दिल्लीमा अवैध लागुऔषध उत्पादन गर्ने प्रयोगशालामा डीआरआईको छापा, १४८ केजी अल्प्राजोलाम मध्यवर्ती पदार्थसहित १,०४६ केजीभन्दा बढी कच्चा पदार्थ र रसायन बरामद; एक जना पक्राउ

नयाँ दिल्लीको गाजीपुरमा कम्प्युटर पसलको आवरणमा सञ्चालन भइरहेको अवैध प्रयोगशाला फेला; अधिकारीहरूद्वारा सम्पूर्ण उत्पादन संरचना ध्वस्त।

पोस्ट गरियो: 18 NOV 2026 2:27PM by PIB Gangtok

दिल्ली, १८ नोभेम्बर २०२६

भारतमा लागुऔषध तथा मनोप्रभावी पदार्थको अवैध उत्पादनविरुद्ध गरिएको कारबाहीका क्रममा राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले १५ र १६ नोभेम्बर २०२६ मा नयाँ दिल्लीको गाजीपुरमा अल्प्राजोलाम उत्पादन गर्ने अवैध प्रयोगशाला फेला पारेको छ।

गोप्य सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा डीआरआईका अधिकारीहरूले कम्प्युटर पसलको आवरणमा सञ्चालन भइरहेको एक परिसरमा खानतलासी गरेका थिए। खानतलासीका क्रममा त्यहाँ रासायनिक प्रतिक्रिया गराउने उपकरण, पानी चिस्याउने यन्त्र, भ्याकुम निकास मेसिनलगायत उत्पादन प्रक्रियामा प्रयोग हुने अन्य उपकरणसहित पूर्ण रूपमा सञ्चालनमा रहेको अवैध प्रयोगशाला फेला परेको थियो।

कारबाहीका क्रममा ठोस तथा तरल अवस्थामा रहेको १४८ केजी अल्प्राजोलाम मध्यवर्ती पदार्थ, उत्पादन प्रक्रियामा प्रयोग हुने करिब १,०४६ केजी कच्चा पदार्थ तथा रसायन र थप १८८ लिटर रसायन तथा तरल पदार्थ बरामद गरिएको छ। प्रयोगशालामा रहेका उपकरण तथा सम्बन्धित सामग्री पनि सन् १९८५ को स्वापक औषधि तथा मनःप्रभावी पदार्थ ऐनअन्तर्गत जफत गरिएको छ।

अवैध प्रयोगशाला सञ्चालन गर्ने व्यक्तिलाई सन् १९८५ को स्वापक औषधि तथा मनःप्रभावी पदार्थ ऐनअन्तर्गत पक्राउ गरिएको छ।

अल्प्राजोलाम बेन्जोडायजेपिन वर्गमा पर्ने एक मनःप्रभावी पदार्थ हो। यो मुख्यतः ज्यानाक्स र अल्प्राक्सजस्ता व्यापारिक नामबाट बजारमा उपलब्ध छ। चिकित्सकको सिफारिसमा प्रयोग गरिने यो औषधि विशेषगरी चिन्ता तथा आकस्मिक भयसम्बन्धी विकारको उपचारमा प्रयोग गरिन्छ। यद्यपि यसको दुरुपयोग, निर्भरता उत्पन्न गर्ने सम्भावना र अवैध माध्यमबाट हुने कारोबारले जनस्वास्थ्यमा गम्भीर चिन्ता उत्पन्न गरेको छ। अल्प्राजोलाम सन् १९८५ को स्वापक औषधि तथा मनःप्रभावी पदार्थ ऐनअन्तर्गत सूचीकृत मनःप्रभावी पदार्थ हो। यस ऐनअनुसार यसको अनधिकृत उत्पादन, स्वामित्व, बिक्री तथा वितरण दण्डनीय हुन्छ।

यो कारबाही डीआरआईले हालै उत्तर प्रदेशको जालौन जिल्लामा गरेको अवैध कृत्रिम लागुऔषध उत्पादन प्रयोगशालाको पर्दाफासपछि गरिएको हो। २९ अक्टोबर २०२६ मा उत्तर प्रदेश आतंकवाद निरोधक दस्ता (यूपी एटीएस) को सहयोगमा गरिएको उक्त कारबाहीका क्रममा करिब १,१०० केजी लागुऔषध तथा पूर्ववर्ती रसायन र उत्पादनमा प्रयोग हुने उपकरण बरामद गरिएको थियो भने दुई जना पक्राउ परेका थिए।

जालौनमा गरिएको कारबाहीको केही साताभित्रै दिल्लीमा अवैध प्रयोगशाला फेला पारिनुले गैरकानुनी लागुऔषध उत्पादन केन्द्र पहिचान गरी ध्वस्त पार्ने, ठूलो परिमाणमा मध्यवर्ती पदार्थ तथा पूर्ववर्ती रसायनलाई अवैध आपूर्ति सञ्जालमा पुग्नबाट रोक्ने र यस्ता गतिविधिलाई सहयोग गर्ने सञ्जालमाथि नियन्त्रण गर्ने दिशामा डीआरआईले निगरानी तथा कारबाही तीव्र बनाएको देखाउँछ।

********

MPS/TWB


(रिलिज आईडी: 2337864) आगन्तुक काउन्टर : 9
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Gujarati