पोस्ट गरियो:
03 NOV 2026 6:14PM by PIB Gangtok
नयाँ दिल्ली/ गान्तोक: ३ नोभेम्बर २०२६
भारत सरकारका मत्स्यपालन, पशुपालन तथा दुग्ध मन्त्रालयका केन्द्रीय मन्त्री श्री राजीव रञ्जन सिंह (जो 'लालन् सिंह' का नामले पनि चिनिन्छन्) ले ३ नोभेम्बर २०२६ मा सिक्किमको गान्तोकमा सिक्किम मिल्क युनियन (एसएमयू) द्वारा आयोजित एक कार्यक्रममा सहभागिता जनाए। उक्त कार्यक्रम दुग्ध क्षेत्रको पूर्वाधार सुदृढ गर्ने, सहकारी सञ्जाल विस्तार गर्ने र दुग्धजन्य उत्पादहरूमा मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो।
केन्द्रीय मन्त्रीले राष्ट्रिय दुग्ध विकास कार्यक्रम (एनपीडीडी) अन्तर्गत सिक्किम मिल्क युनियनको माइक्रोबायोलोजी प्रयोगशाला (सूक्ष्मजीव विज्ञान प्रयोगशाला) को उद्घाटन गरे। यस प्रयोगशालाको उद्देश्य सूक्ष्मजीव सम्बन्धी परीक्षण र गुणस्तर मूल्याङ्कनलाई सुदृढ पार्नु हो, जसले दुग्ध क्षेत्रमा गुणस्तर सुनिश्चितता र खाद्य सुरक्षालाई अझ राम्रो बनाउन मद्दत पुर्याउनेछ। उनले सिक्किम मिल्क युनियनका दुग्ध उत्पाद र अन्य पहलहरू प्रदर्शन गरिएका स्टलहरूको पनि अवलोकन गरे।

कार्यक्रमको शुरुआत सिक्किम मिल्क युनियनका अध्यक्षको स्वागत मन्तव्यबाट भयो, जसपछि केन्द्रीय मन्त्री र अन्य विशिष्ट अतिथिहरूको सम्मान गरियो। यसै क्रममा कार्फेक्टरमा अवस्थित माइक्रोबायोलोजी प्रयोगशालाको पनि भर्चुअल माध्यमबाट उद्घाटन गरियो। परम्परागत दुग्ध उत्पादन छुर्पीको उत्पत्ति पहिचानलाई बलियो बनाउन तथा यसको विशिष्ट पहिचान र बजार पहुँच प्रवर्द्धन गर्न 'छुर्पी ट्रेसिबिलिटी' पहलको शुरुआत गरियो। साथै, केन्द्रीय मन्त्रीको उपस्थितिमा किसान उत्पादक सङ्गठन (एफपीओ) द्वारा विकसित फोडर प्लस उत्पादहरू सार्वजनिक गरिए। यसले पशुपालन क्षेत्रमा पशु आहारको उपलब्धता, किसानहरूको सामूहिक प्रयास र आयका विविध अवसरहरूको महत्त्वलाई उजागर गर्यो।
सिक्किममा दुग्ध सहकारी सञ्जाललाई सुदृढ पार्ने र जमिनी स्तरसम्म सङ्गठित दुग्ध संस्थाहरूको पहुँच विस्तार गर्ने उद्देश्यका साथ हालै स्थापना भएका पाँचवटा दुग्ध सहकारी समितिहरू (डीसीएस) लाई दर्ता प्रमाणपत्रहरू वितरण गरियो।

सिक्किममा पछिल्लो एक दशकमा दूध उत्पादनमा ७९ प्रतिशत वृद्धि
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय केन्द्रीय मन्त्रीले सिक्किम सरकार र सरोकारवालाहरूलाई दुग्ध क्षेत्रमा हासिल भएको उल्लेखनीय प्रगतिका लागि बधाई दिए। उनले दूध उत्पादन दैनिक १.३७ लाख लिटरबाट बढेर २.४५ लाख लिटर पुगेको (७९ प्रतिशत वृद्धि) र दुग्ध सहकारी समितिहरूको सङ्ख्या सन् २०१४–१५ को ३८९ बाट बढेर २०२५–२६ मा ७३३ पुगेको (८८ प्रतिशत वृद्धि) कुरा उल्लेख गरे। उपभोक्ताहरूका लागि दैनिक दूध आपूर्ति पनि २८,००० लिटरबाट बढेर ५६,००० लिटर पुगेको छ, जुन दोब्बर वृद्धि हो।
दुग्ध विकासलाई तीव्रता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) लाई आफ्ना प्रयास अझ सशक्त बनाउन र सिक्किमलाई दूध उत्पादन तथा खरिदमा आत्मनिर्भर बन्न मद्दत गर्न थप जनशक्ति परिचालन गर्न आग्रह गरे। उनले दूधको गुणस्तर सुनिश्चित गर्न, मिसावट रोक्न र किसानहरूका लागि उचित प्रतिफल सुनिश्चित गर्न दुग्ध सहकारीहरूको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिए।

वाराणसीको उदाहरण दिँदै उनले एनडीडीबीको पहलले त्यहाँ दूध सङ्कलन कसरी दैनिक १४,००० लिटरबाट बढेर करिब २.५ लाख लिटर पुग्यो भन्ने कुरा प्रकाश पारे। यसका साथै किसानहरूले पाउने मूल्य पनि प्रति लिटर २८–३० रुपियाँबाट बढेर ४२ रुपियाँ पुगेको छ। साथै, गोवर्धन पहल अन्तर्गत बायोग्यास प्लान्टहरूमा गाईको गोबरको उपयोगमार्फत किसानहरूका लागि अतिरिक्त आम्दानीका अवसरहरू पनि सिर्जना भएका छन्।
स्थानीय सिरी जातका गाईहरूका लागि सेन्टर अफ् एक्सिलेन्स
मङ्गनको आफ्नो भ्रमणको प्रसङ्ग उल्लेख गर्दै — जहाँ स्थानीय गाईहरूले दैनिक औसत करिब तीन लिटर दूध दिने गर्छन्—माननीय मन्त्रीले के घोषणा गरे भने केन्द्र सरकारले स्थानीय सिरी जातका गाईहरूको संरक्षण र विकासका लागि सेन्टर अफ् एक्सिलेन्स स्थापना गर्न बजेट स्वीकृत गर्नेछ। प्रस्तावित केन्द्रले यस जातका गाईहरूको आनुवंशिक क्षमता र दूध उत्पादन क्षमतामा सुधार ल्याउन आईभीएफ लगायतका उन्नत प्रजनन प्रविधिहरूलाई प्रवर्द्धन गर्नेछ। उनले राज्य सरकारलाई यस विषयमा विचार गर्नका लागि औपचारिक प्रस्ताव पेश गर्न आग्रह गरे।
मङ्गन डेरी प्लान्टको आधुनिकीकरणबारे
माननीय मन्त्रीले थप बताए अनुसार मिजोरममा लागू गरिएको सफल मोडेललाई अनुसरण गर्दै एनडीडीबीले मङ्गन जिल्लामा रहेको डेरी प्रशोधन प्लान्टको विस्तृत आधुनिकीकरणका लागि निवेश गर्नेछ र सो कार्य अघि बढाउनेछ।
आफ्नो मन्तव्यको समापन गर्दै उनले सिक्किमको डेरी तथा कृषि विकासप्रति केन्द्र सरकारको प्रतिबद्धता दोहोर्याए। उनले भने, राज्यको आर्थिक प्रगति उत्तर-पूर्वी क्षेत्रलाई सुदृढ पार्न र आत्मनिर्भर उत्तर-पूर्व सम्बन्धी प्रधानमन्त्रीको परिकल्पनालाई अघि बढाउनका लागि अभिन्न अङ्ग हो।
*************
MPS/TWB