पोस्ट गरियो:
30 OCT 2026 3:28PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज गुजरातको बनासकान्ठाबाट प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) को २४औँ किस्ता जारी गरेका छन्। यस अन्तर्गत डाइरेक्ट बेनिफिट ट्रान्सफ' (डीबीटी) को माध्यमद्वारा देशभरका ९.३४ करोड़भन्दा अधिक किसानको ब्याङ्क खातामा १८,६९० करोड रुपियाँभन्दा अधिक रकम सिधै हस्तान्तरण गरिएको छ। सोही अवसरमा, प्रधानमन्त्रीले कृषि पूर्वाधार कोष अन्तर्गत तयार पारिएका ५२१ वटा एकाइहरू राष्ट्रलाई समर्पित गर्नुका साथै १२ वटा बागवानी क्लस्टरको पनि उद्घाटन गरे।
यस राष्ट्रव्यापी उत्सवमा सहभागी हुँदै पाकिमस्थित आईसीएआर-नेशनल रिसर्च सेन्टर फर अर्किड्सले पाकिम जिल्लाका जैविक (अर्गानिक) किसानहरूसँग मिलेर 'पीएम-किसान उत्सव' आयोजन गर्यो।

पाकिम जिल्लाका गान्चुङ, दामलाखा, ताजा, पाचक, पारखा, कबुथाङ, ताक्साङ, माम्जे, याक्तेन, पाकिम, छलमथाङ, पाचे, कार्थोक र नाम्चेबुङ गाउँहरूका कुल ८५ जना किसान तथा लाभार्थीहरू यस कार्यक्रममा सहभागी भए अनि उनीहरूले प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण हेरे।
२४ फरवरी २०१९ मा शुरु गरिएको पीएम-किसान योजना, जुन एक केन्द्रीय क्षेत्रको योजना हो, यसको उद्देश्य खेतीयोग्य जमिन भएका सम्पूर्ण किसान परिवारहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनु हो। यस योजना अन्तर्गत, योग्य किसानहरूले प्रति वर्ष ६,००० रुपियाँ प्राप्त गर्छन्, जुन २,००० रुपियाँको दरले तीन समान किस्तामा प्रदान गरिन्छ। किसानहरूले पीएम-किसान पोर्टल, मोबाइल एप्लिकेशन वा कमन सर्भिस सेन्टरको माध्यमद्वारा आफैँ दर्ता गर्न सक्नेछन्। यस प्रक्रियामा जमिनको विवरण डिजिटल रूपमा प्रमाणीकरण गरिन्छ र रकम आधार कार्डसँग जोडिएको ब्याङ्क खातामा डाइरेक्ट बेनिफिट ट्रान्सफरमार्फत सिधै पठाइन्छ, जसले पारदर्शिता सुनिश्चित गर्नुका साथै समयमै रकम उपलब्ध गराउन मद्दत गर्दछ।

विश्वकै सबैभन्दा ठूला प्रत्यक्ष लाभ अन्तरण (डीबीटी) कार्यक्रमहरूमध्ये एक, पीएम-किसानले किसानहरूलाई प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराएर उनीहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको छ। विशेष गरी, कुल लाभको करिब २५ प्रतिशत हिस्सा महिला लाभार्थीहरूले प्राप्त गरेका छन्। पीएम-किसान अन्तर्गत २३औँ किस्तासम्म महिला किसानहरूले १.०६ लाख करोड रुपियाँभन्दा अधिक रकम प्राप्त गरेका छन्। यहाँ हरेक चार लाभार्थीमध्ये लगभग एक जना महिला किसान हुन्छन्, जसले महिला किसानहरूलाई सशक्त बनाउने र उनीहरूको आर्थिक सुरक्षा सुदृढ गर्ने सरकारको प्रतिबद्धतालाई झल्काउँछ।
पाकिमस्थित आईसीएआर-एनआरसीओमा आयोजित यो कार्यक्रम निर्देशक डा. एस.पी. दासको नेतृत्व र नोडल अधिकारी डा. एल.सी. डेको समन्वयमा सम्पन्न भएको थियो। यसमा वैज्ञानिकहरू डा. एन.एस. कलाईभानन, डा. निखिला भी.ए. र डा. टी. रिहनेका साथै प्रशासनिक, वित्तीय, प्राविधिक तथा सहयोगी कर्मचारी, युवा पेशेवरहरू र करारमा कार्यरत कर्मचारीहरूको सहयोग रहेको थियो।
पाकिम जिल्लाका किसान तथा लाभार्थीहरूबाट यस कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

*******
MPS/TWB