PIB Headquarters
azadi ka amrit mahotsav

पर्यटनदेखि चियासम्म: जीएसटी सुधारले सिक्किमको अर्थतन्त्रलाई कसरी रूपान्तरण गर्नेछ


Posted On: 24 SEP 2025 4:55PM by PIB Gangtok

मुख्य बुँदाहरू

  • आतिथ्य र स्वास्थ्य सेवाहरूमा नयाँ जीएसटी दरहरूले पर्यटन क्षेत्रलाई फाइदा पुर्‍याउने र आतिथ्य क्षेत्रमा रोजगारीलाई समर्थन गर्नेछ।
  • क्यान्सरका औषधिहरूमा शून्य जीएसटी र अन्य औषधिहरूमा घटाइएको दरले औषधि उत्पादन र निर्यातलाई प्रवर्द्धन गर्नेछ।
  • तिमी चिया, डल्ले खोर्सानी जस्ता विशेष वस्तुहरू अझ किफायती हुनेछन्, जसले घरेलु र अन्तर्राष्ट्रिय बजार पहुँचलाई बलियो बनाउनेछ।

परिचय

नयाँ जीएसटी सुधारहरू आवश्यक वस्तुहरू र सेवाहरूमा करको बोझ घटाउने दिशातर्फको एउटा महत्वपूर्ण कदम हो। यी नयाँ दरहरूले मागलाई प्रोत्साहन दिने, प्रतिस्पर्धात्मकता बढ़ाउने, र देशभरि विकास तथा रोजगारीका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ। सानो हिमाली राज्य सिक्कमको लागि औषधि उत्पादन, पर्यटन तथा जैविक खाद्य उत्पादनमा यसको विशेष लगानी छ। यसैले यी जीएसटी सुधारहरू सबैभन्दा उपयुक्त समयमा आएको छ। कर कटौतीहरूले सिक्किमको औद्योगिक विविधीकरण, पर्यटन प्रवर्द्धन र ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउने जस्ता दीर्घकालीन विकास लक्ष्यहरूसँग मेल खाने काम गरेको छ।

कम जीएसटी दरहरूले सिक्किमका प्रमुख क्षेत्रहरूलाई लागतको हिसाबले अझ प्रतिस्पर्धी बनाउनेछ, जसले माग वृद्धि र बजार पहुँच विस्तारलाई प्रोत्साहित गर्नेछ। यी सुधारहरूले स्थानीय जीविकोपार्जनलाई सुदृढ़ बनाएर निर्यात विस्तार गरी सिक्किमको आर्थिक विकासलाई समर्थन गर्नेछ।

पर्यटन र आतिथ्य क्षेत्र

सिक्किमको अर्थतन्त्रका लागि पर्यटन उद्योग अत्यन्तै महत्वपूर्ण छ,  जहाँ विभिन्न होटलहरू, होमस्टेहरू, यात्रा एजेन्सीहरू, ट्याक्सी सेवा, गाइडहरू र खाद्य प्रतिष्ठानहरूले स्थानीय आम्दानी र रोजगारीमा टेवा दिइरहेका छन्। लगभग ७.८ लाख मानिसको जीविकोपार्जन यस क्षेत्रबाट हुने अनुमान छ। कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज, लाछेन, लाचुङ र युमथाङ उपत्यका जस्ता प्रमुख गन्तव्यहरूले दिन प्रति दिन पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। गान्तोकलाई त भारत सरकारले “सबैभन्दा सुरक्षित पर्यटक गन्तव्य” को रूपमा समेत मान्यता दिएको छ। परिवर्तित जीएसटी दर अनुसार, प्रति रात ७,५०० रूपियाँ सम्मको होटलको किरायामा अब मात्र ५% जीएसटी लाग्नेछ। कम करको दरले मुख्य रूपमा पर्यटकहरूको खर्चमा बचत गराउँदछ जसले उनीहरूलाई धेरै समय बस्न र होटलको संख्यात्मक प्रयोग बढ़ाउन प्रोत्साहित गर्दछ। होटलको किराया दर अधिक हुनु भनेको यस क्षेत्रमा अझ बढ़ी रोजगारी सिर्जना हुनु पनि हो।      

अर्को परिवर्तनकारी कर कटौती भनेको “सौन्दर्य तथा स्वास्थ्य” सेवामा जीएसटी १८% बाट घटाएर ५% मात्र गरिएको छ। यसलाई हेर्दा पर्यटनसँग सिधा सम्बन्ध नरहेको जस्तो देखिए तापनि, सिक्किमको सन्दर्भमा यो अत्यन्तै मेल खाने कुरा हो। सिक्किम आफ्नो स्वास्थ्य पर्यटन क्षेत्रका लागि परिचित छ र यहाँ थुप्रै परम्परागत तथा जड़ीबुटी औषधिय केन्द्रहरू रहेका छन्। अब केवल ५% जीएसटी लाग्ने भएपछि  स्वास्थ्य पर्यटन प्याकेजहरू धेरै किफायती भएको छ।

कर राहतमार्फत पर्यटनलाई प्रोत्साहन गर्नुले सिक्किमलाई आफ्नो अर्थतन्त्रलाई अझ विविधिकरण गर्न र ग्रामीण क्षेत्रहरूको विकास गर्न मद्दत गर्नेछ। पर्यटकहरूको आगमनमा वृद्धि हुँदा राज्यको जीएसटी आम्दानीमा मात्र वृद्धि हुनेछैन तर यातायात (सवारी भाड़ा), कृषि (स्थानीय जैविक उत्पादनको माग) र हस्तकला (स्मृति चिह्न बिक्री) जस्ता सम्बन्धित क्षेत्रहरू पनि फस्टाउनेछ।

औषधि तथा चिकित्सा क्षेत्र

सिक्किम औषधि उत्पादन केन्द्रको रूपमा उदाउँदै गएको छ,  जहाँ ५० भन्दा बढ़ी फार्मास्युटिकल कम्पनीहरू छन्। जसमध्ये सन फार्मा, सिप्ला, जाइडस केडिला जस्ता ठूला कम्पनीहरू पनि मुख्य रूपमा पूर्व सिक्किममा केन्द्रित छन्। यसरी औषधि क्षेत्र सिक्किममा एक महत्वपूर्ण रोजगारी दिने क्षेत्र बनेको छ।

जीएसटी सुधारहरूले औषधि र चिकित्सा उपकरणहरूमा लाग्ने करहरू हटाउँछ वा ती करहरूलाई तीव्र रूपमा कम गर्छ, जसले फार्मास्युटिकल आपूर्ति श्रृंखलाभरि लागत घटाउँछ। विशेष गरी ३० क्यान्सर औषधिहरू पूर्ण रूपमा जीएसटी-मुक्त गरिएका छन् (पहिले १२% थियो) र अन्य सबै औषधि र चिकित्सा सामग्रीमा लाग्ने जीएसटी १२% बाट घटाएर ५% गरिएको छ। त्यसै गरी धेरै जसो चिकित्सा र शल्यक्रिया उपकरणहरू, थर्मोमिटर र अन्य चिकित्सा उपकरणहरूमा पनि अब मात्र ५% जीएसटी लाग्नेछ। यसले करको बोझलाई ७-१३% सम्म कम गर्दछ। यस प्रकारको लागत बचतले स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउनेछ र औषधिहरू अब उल्लेखनीय रूपमा सस्तो हुनेछ।

सिक्किमका औषधि उत्पादकहरूका लागि सबैभन्दा ठूलो फाइदा निर्यात प्रतिस्पर्धात्मकता र बजार विस्तारमा हुनेछ। औषधि निर्माण, जैविक उत्पादनहरू र चिकित्सा तथा वैज्ञानिक उपकरणहरूले राज्यको कुल निर्यातको लगभग ६३% हिस्सा ओगटेको छ, जसले यूरोप, मध्य पूर्व, नेपाल र जापानका बजारहरूमा आफ्नो पहुँच सुनिश्चित गर्नेछ।  अब यी वस्तुहरूमा केवल ५% देखि शून्य जीएसटी लाग्ने भएकाले सिक्किमका निर्यातकर्ताहरूमा करको बोझ कम हुनेछ। उत्पादन लागत प्रभावकारी रूपमा घट्ने भएकोले यी वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धात्मक मूल्यमा प्रस्तुत गर्न सकिनेछ।

प्रिमियम चिया

सिक्किमको तिमी चियाबारीको चिया अमेरिका, जर्मनी, बेलायत र जापानजस्ता अन्तर्राष्ट्रिय बजारहरूमा व्यापक रूपमा खोजिने गर्छ। यो चियाबारी आकारमा सानो भए पनि लगभग  ४५० कामदार र साना उत्पादकहरू संलग्न छन्। तर यसको प्रभाव नाम्ची जिल्लाको ग्रामीण जीवनयापन र ब्रान्ड मूल्यको दृष्टिले निकै महत्वपूर्ण छ।

अघिल्लो कर प्रणाली अन्तर्गत प्याक गरिएको र इन्स्ट्यान्ट चियामा १८% जीएसटी लाग्दथ्यो। अब जीएसटी सुधारले यो कर घटाएर मात्र ५% बनाइएको छ। यसले करमा १३ प्रतिशतको कटौती ल्याएको छ जसको अर्थ उपभोक्ताले चुकाउने अन्तिम मूल्यमा लगभग ११% ले गिरावट आउनेछ।

घरेलु खुद्रा बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको तिमी चियाका लागि ५% जीएसटी हुनुको अर्थ अब अझ राम्रो मूल्यमा थप बजारहरूमा प्रवेश गर्न सकिनेछ। सिक्किमको चियाको निर्यात सम्भावनामा पनि मूल्य घटेसँगै ठुलो फाइदा हुने आशा छ। कामदार र साना उत्पादकहरूका लागि यो जीएसटी कटौतीले अझ राम्रो आम्दानीको अवसर प्रदान गर्नेछ।

खाद्य प्रसंस्करण क्षेत्र

सिक्किममा विविध खाद्य प्रसंस्करण प्रणाली रहेको छ। पक्योंग क्षेत्रमा बेकरी, खाजाका सामग्री र मिठाईजन्य वस्तुहरू उत्पादन गरिन्छ भने सोरेङ मासुजन्य उत्पादनहरूका लागि प्रसिद्ध छ। मंगन ठूलो अलैंचीका लागि चर्चित छ भने गान्तोकमा प्रसिद्ध डल्ले खोर्सानी उत्पादन हुन्छ, जसलाई भौगोलिक संकेत (जीआई) ट्याग पनि प्राप्त भएको छ।  

हालैका जीएसटी सुधारहरूले प्रमुख वस्तुहरूमा करको दर घटाएर लागत प्रतिस्पर्धात्मकता उल्लेखनीय रूपमा बढाएको छ। अब अचार, फलफूल र तरकारीको रसमा १२% को सट्टा मात्र ५% जीएसटी लाग्नेछ भने पेस्ट्री, केक, सुप र ब्रोथ जस्ता उत्पादनहरूमा जीएसटी १८% बाट घटाएर ५% मात्र लाग्ने भएको छ। यी सुधारहरूले खुद्रा मूल्यहरूलाई प्रत्यक्ष रूपमा ६% देखि १३% सम्म कम गर्नेछ जसले उपभोक्ताको मागलाई बढ़ावा दिनेछ। यसले विशेष गरी सिजनको समयमा फलफूल तथा काँचो सामग्री कारखानामा आपूर्ति हुने मात्रालाई बढ़ाउने काममा पनि सहयोग पुर्‍याउनेछ।

यो क्षेत्र प्रधानमन्त्री सूक्ष्म खाद्य प्रसंस्करण उद्योग औपचारिककरण योजना (पीएमएफएमई) अन्तर्गत सहयोग प्राप्त गरेका १,३०० भन्दा अधिक उद्यमहरूले संचालनमा ल्याएको हो। यी इकाइहरू पिठो, चिया, फलफूल, बेकरी सामग्री लगायत अचार, डल्ले खोर्सानीको पेस्ट र अचार, बाँसको ताँबाको अचार जस्ता खाद्य उत्पादनहरूको प्रसंस्करमा संलग्न रहेको छ। मागमा वृद्धि हुनका साथै उत्पादनमा पनि वृद्धि हुनेछ, जसले रोजगारीको अवसर समेत बढ़ाउनेछ।

निष्कर्ष

सिक्किमका प्रमुख आर्थिक क्षेत्रहरूमा करको बोझ घटाएर, नयाँ जीएसटी सुधारहरूले राज्यको समग्र आर्थिक विकासका लागि एउटा प्रेरक शक्तिको रूपमा काम गर्नेछ।

यी सुधारहरूको कार्यान्वयन हुँदा त्यसका प्रभावहरू विभिन्न रूपहरूमा देखा पर्न सक्छ। जस्तै, कुनै औषधि कारखानाबाट थप औषधिको खेप पठाइँदै गरेको दृश्य, गान्तोकको होटलमा रमाइरहेका पर्यटकहरूले आफ्नो बसाइ लम्ब्याउँदै गरेको क्षण,

तिमी चियाबारीका कामदारहरूले बढ़ेका अर्डरको खुसीयाली मनाइरहेका दृश्य वा गाउँको सहकारीमा महिलाहरूले नयाँ माग पूरा गर्न अचारको उत्पादन दोब्बर बनाइरहेका दृश्यहरू।

नयाँ जीएसटी सुधारहरूले सिक्किममा अझ किफायती उत्पादन, बलियो निर्यात र थप रोजगारीका अवसरहरू ल्याउने लक्ष्य राखेको छ।

*******

एसके/एम


(Release ID: 2178471) Visitor Counter : 4