सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

पीआईबी गान्तोकद्वारा नाथु ला नाका हुँदै सरलीकृत सीमा व्यापार र ‘सप्त धारा’ अन्तर्गत कृषि तथा खाद्य उत्पादनमाथि ‘वार्ता’ मिडिया अन्तरक्रिया कार्यक्रम आयोजित


पोस्ट गरियो: 11 SEP 2026 5:13PM by PIB Gangtok

गान्तोक, 11 सेप्टेम्बर 2026

पत्र सूचना कार्यालय (पीआईबी), गान्तोकले आज गान्तोकमा ‘वार्ता’ - मिडिया अन्तरक्रिया कार्यक्रम आयोजन गऱ्यो। यस कार्यक्रमको उद्देश्य भारत सरकारका प्रमुख पहलहरूबारे सरकारी विशेषज्ञ र मिडियाकर्मीहरूबीच प्रत्यक्ष अन्तरक्रिया तथा आधिकारिक जानकारीको आदान-प्रदानलाई सहजीकरण गर्नु थियो। विशेषज्ञहरूको चर्चा र अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमार्फत प्रशासन र सञ्चारमाध्यमबीचको दूरी कम गर्ने, गलत सूचनालाई रोक्ने र तथ्यपरक जानकारीको व्यापक प्रसार गर्ने लक्ष्य यस कार्यक्रमले राखेको थियो।

यस कार्यक्रममा विशेष अतिथिका रूपमा पश्चिम बङ्गालका भन्सार (निवारक) का प्रधान आयुक्त श्री विनायक आजाद (आईआरएस); आईसीएआर अनुसन्धान परिसर (एनईएच क्षेत्र, सिक्किम केन्द्र, तादोङ) का क्षेत्रीय केन्द्र प्रमुख तथा प्रधान वैज्ञानिक डा. अशोक कुमार; आकाशवाणी गान्तोककी सहायक निर्देशक (कार्यक्रम) श्रीमती याङ्छेन शेर्पा; र प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष श्री समीर हाङ लिम्बू विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै, यस अवसरमा नक्सलबारी भन्सार डिभिजनकी सहायक भन्सार आयुक्त (आईआरएस) श्रीमती थिन्ले छोडेन भोटिया; गान्तोक तथा शेरेथाङका भन्सार सुपरिटेन्डेन्ट श्री मिलन सुब्बा; सिक्किमस्थित सरकारी सञ्चार एकाइका अधिकारी तथा प्रिन्ट, इलेक्ट्रोनिक र डिजिटल मिडियाका पत्रकारहरूको पनि उपस्थिति थियो।

चर्चा राज्यका लागि आर्थिक र रणनीतिक महत्त्वका दुई विषयमा केन्द्रित थियो। पहिलो विषय ‘सप्त धारा’ अन्तर्गत कृषि तथा खाद्य उत्पादन थियो, जसलाई डा. अशोक कुमारले प्रस्तुत गरे। उनले प्रधानमन्त्रीद्वारा 80औँ स्वतन्त्रता दिवसको अवसरमा घोषणा गरिएको राष्ट्रिय खाका (फ्रेमवर्क) अनुसार आफ्नो प्रस्तुति दिएका थिए। उनले सिक्किमको ‘अर्ग्यानिक ब्राण्ड’ को सदुपयोग गर्दै छिटो कुहुने ताजा उत्पादको सट्टा लामो समयसम्म टिक्ने र मूल्य अभिवृद्धि गरिएका उत्पादहरूमा जोड़ दिएर कृषकको आम्दानी बढ़ाउने विषयमा ध्यान केन्द्रित गरे। उच्च करक्युमिनयुक्त हर्दी, प्रशोधित ठूलो अलैँची र ओखरको उदाहरण दिँदै उनले प्रशोधन प्रक्रियाले कृषकहरूलाई उपज लामो समयसम्म भण्डारण गर्न र राम्रो मूल्य प्राप्त गर्न कसरी मद्दत गर्छ भन्नेबारे व्याख्या गरे। उनले होचा खालका ओखरका रूखहरूका लागि ‘ग्राफ्टिङ’ प्रविधि, अत्यधिक वर्षा र जनशक्तिको अभाव प्रबन्धन गर्न ‘विड म्याट’ को प्रयोग तथा गैर-परम्परागत र जलवायु-अनुकूल फसलहरूको प्रवर्द्धन जस्ता आधुनिक अभ्यासहरूबारे पनि जानकारी गराए।

दोस्रो विषय ’नाथु ला नाका हुँदै सरलीकृत सीमा व्यापार: भन्सार नियमहरूको पालना र सहज निकासी-पैठारी (क्लियरेन्स)’ सम्बन्धी श्री विनायक आजाद (आईआरएस) ले प्रस्तुत गरे। यसको इतिहासबारे चर्चा गर्दै श्री आजादले बताए अनुसार सन् 1962 पछि बन्द भएको नाथु ला नाका सन् 2003 को सम्झौता अनुरूप 6 जुलाई 2006 मा सीमा व्यापारका लागि पुनः खोलिएको थियो (जसमा भारतीय पक्ष सिक्किममा शेरेथाङ व्यापार केन्द्र र चिनियाँ पक्षमा पनि व्यापार केन्द्र स्थापना गरिएको थियो)। कोभिड र अन्य कारणले सन् 2020 मा स्थगित भएको यो व्यापार भारत-चीन संवादमा आएको सुधारसँगै सन् 2026 मा पुनः शुरु भएको छ।

उनले स्पष्ट पारे अनुसार नाथु ला एउटा व्यवस्थित सीमा व्यापार नाका हो, न कि खुल्ला व्यावसायिक सीमा। यहाँ सोमवारदेखि बिहीवारसम्म पञ्जीकृत भएका व्यापारीहरूलाई मात्र व्यापारको अनुमति छ; नाका बिहान 7:30 बजी (आईएसटी) खुल्छ र प्रति व्यापारी दैनिक 2 लाख रुपियाँसम्मको कारोबार सीमा तोकिएको छ। यसमा हस्तशिल्प, हतकर्घा, परम्परागत सामग्री, लत्ताकपड़ा र कृषि उत्पाद लगायत करिब 35 प्रकारका वस्तुहरूको व्यापार गर्न अनुमति छ। वास्तविक व्यावसायिक सम्भावनाको आधारमा अर्थ वित्त र डीजीएफटीको माध्यमद्वारा यो सूची विस्तार गर्न सकिन्छ।

उनले भन्सारको भूमिका सहजीकरण, नियम पालना र कानून कार्यान्वयन गरी तीन प्रकारको हुने बताए। यो जोखिम-आधारित मूल्याङ्कन, छनोटपूर्ण जाँच, डिजिटल दस्तावेज र अलग-अलग निकायबीच समन्वयको माध्यमद्वारा इमानदार व्यापारीहरूका लागि सहज र छिटो जाँचपास (क्लियरेन्स) सुनिश्चित गरिनेछ भने सुन, लागूऔषध, वन्यजन्तु र अन्य अवैध वस्तुहरूको तस्करी रोक्न गुप्तचर आधारित कड़ा निगरानी र कारबाही गरिनेछ।

उनले थप जनाए अनुसार भन्सार विभागले सिक्किम सरकारसँग समन्वय गरिरहेको छ र व्यापारीहरूले प्रक्रियागत सहयोगका लागि नाथु ला, गान्तोक र सिलगढ़ीस्थित भन्सार कार्यालयहरूसँग सम्पर्क गर्न सक्नेछन्। व्यापारीहरू हाम्रा साझेदार हुन् र सही विवरण पेश गर्दा सहज जाँचपास सुनिश्चित हुनेछ, उनले भने।

उनले भने अनुसार सामोल समयको लक्ष्य भनेको राम्रो ब्राण्डिङ, प्याकेजिङ, उच्च मूल्यका हस्तशिल्प, जैविक उत्पाद र रसदको माध्यमद्वारा सीमा व्यापारबाट सीमा क्षेत्रको आर्थिक विकासतर्फ अघि बढ्नु र युवाहरूका लागि रोजगारी सिर्जना गर्नु हो। उनले डिजिटल फाइलिङका लागि शेरेथाङमा इन्टरनेट कनेक्टिभिटी सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिए, सञ्चारमाध्यमलाई प्रक्रियाबारे सही जानकारी प्रवाह गर्न आग्रह गरे र स्वतन्त्र तथा निष्पक्ष व्यापार गर्न तथा नियमहरूको पालना गर्नुपर्ने सन्देशका साथ आफ्नो मन्तव्य टुङ्ग्याए।

श्रीमती याङ्छेन शेर्पाले नागरिकहरूका लागि जानकारीलाई कार्यान्वयनयोग्य बनाउन आकाशवाणीले कसरी राष्ट्रिय नीतिहरूलाई क्षेत्रीय भाषाहरूमा ढाल्छ भन्नेबारे प्रकाश पारिन्। श्री समीर हाङ लिम्बूले स्थानीय व्यापारी र किसानहरूका लागि नीतिहरू कसरी धरातलीय रूपमा कार्यान्वयन हुन्छन् भन्ने विषयमा पारदर्शिता सुनिश्चित गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमको शुरुमा स्वागत मन्तव्य राख्दै आकाशवाणी गान्तोकका समाचार सम्पादक तथा पीआईबी (पीआईबी) गान्तोकका सूचना सहायक श्री मैनाक च्याटर्जीले उपस्थित विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्नुका साथै कार्यक्रमको कार्यसूचीबारे संक्षिप्त जानकारी दिए। कार्यक्रम राष्ट्रिय गानका साथ समाप्त भयो।

*********

MPS/MC/SK


(रिलिज आईडी: 2309274) आगन्तुक काउन्टर : 16
मा यो विज्ञप्ति पढ्नुहोस्: English