प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

80औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सम्बोधन


प्रविष्टि तिथि: 15 AUG 2026 11:28AM by PIB Gangtok

मेरा प्रिय देशवासीहरू,

आज हामी 80 औँ स्वतन्त्रता दिवस मनाइरहेका छौँ। आज हरेक धड़कनमा धड्कनमा ‘वन्दे मातरम’ को स्वरे गुन्जिरहेको छ। आज “हर घर तिरङ्गा है, हर मन तिरङ्गा है” अनि देश नयाँ सङ्कल्पहरूका साथ उत्साह तथा नयाँ ऊर्जा लिएर अगाड़ि बढ़िरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा तपाईंहरू सबैलाई मेरो शुभकामना। आज देशले ती महान् सपूत र छोरीहरूलाई श्रद्धापूर्वक याद गरिरहेको छ, जसले हाम्रो देशको स्वतन्त्रताको लागि सर्वोच्च बलिदान दिए। आफ्नो दृढ़ता, त्याग र समर्पणको माध्यमद्वारा उनीहरूले आफ्नो सम्पूर्ण जीवन स्वतन्त्रता प्राप्त गर्ने एक मात्र लक्ष्यका लागि समर्पित गरे। आज, म आदरणीय बापू, सबै स्वतन्त्रता सेनानी र ती महान् क्रान्तिकारीहरूलाई सादर नमन गर्दछु, जसले त्यागको यस गौरवशाली परम्परालाई प्रेरित गरे। आजको यस समारोहमा उपस्थित सबै मानिसका लागि यो एक ऐतिहासिक क्षण पनि हो। स्वतन्त्रता पछि पहिलो पटक, 15 अगस्तमा लाल किल्लाबाट ‘वन्दे मातरम्’ गुन्जिएको सुनिरहेका छौँ। अनि जब हामी आज हामी ‘वन्दे मातरम्’ को 150 वर्ष मनाइरहेका छौँ, तब योभन्दा अद्भुत अवसर अरू के हुन सक्छ?

मेरा प्रिय देशवासीहरू,

हालैका दिनहरूमा देशका धेरै हिस्साहरूमा भीषण बाढ़ी र भूस्खलनको सामना गर्नु परेको छ, जसले धेरै परिवारहरूलाई प्रभावित पारेको छ। हामी उनीहरूको दुःख र पीड़ालाई पूर्ण रूपमा बुझ्दछौँ र महसुस गर्दछौँ। म प्रभावित परिवारहरूलाई के विश्वास दिलाउन चाहन्छु भने हामी र सम्पूर्ण देश मजबुतीका साथ तपाईँहरूको साथमा उभिएका छौँ।

मेरा प्रिय देशवासीहरू,

एउटा देश तब महान् बन्छ अनि आफ्ना लक्ष्यहरूलाई प्राप्त गर्दछ जब यो आफ्ना सपना, आफ्ना सङ्कल्प र आफ्ना क्षमताहरूको बलमा अगाड़ि बढ्छ।

मेरा देशवासीहरू,

अहिले हामी साना सपनाहरू लिएर अगाड़ि बढ्न सक्दैनौँ। हामीले ठूला सपनाहरू देखेर अगाड़ि बढ्नुपर्छ, किनकि ठूला सपनाहरूले हाम्रो सोचलाई विस्तार गर्छन्। तिनीहरूले हाम्रो दृष्टिकोणको दायरालाई पनि व्यापक बनाउँछन्। हाम्रा सङ्कल्पहरू दृढ़ हुनुपर्छ। जब हाम्रो सङ्कल्प मजबुत हुन्छ, तर कठिनाइहरू र कतिसम्म भने आपदाहरूको बीचमा पनि बाटो खोज्ने क्षमता आफैँमा पैदा भएर जान्छ।

अनि मेरा प्रिय देशवासीहरू,

हाम्रा सङ्कल्पहरू पनि उच्च हुनुपर्छ। किनभने जब हाम्रा सपनाहरू ठूला हुन्छन् र हाम्रा सङ्कल्पहरू उच्च हुन्छन्, तब हाम्रा क्षमताहरूको स्तर पनि बढ़ेर जाँदछ। हाम्रा प्रयासहरूको दायरा पनि बढ्छ, अनि तब मात्र हामी आफ्ना सपनाहरूलाई वास्तविकतामा परिणत गर्न सक्छौँ।

मेरा प्रिय देशवासीहरू,

भारतले आज पनि एउटा धेरै ठूलो सपना देखेको छ - एक यस्तो सपना जसको पछाड़ि पक्का सङ्कल्प छ, नयाँ उँचाइलाई छुटे सपना। अनि त्यो सपना यो हो: जब हामी 2047 मा स्वतन्त्रताको 100 वर्ष पूरा गर्छौं, तबसम्म हामीले एक ‘विकसित भारत’ को निर्माण गरिसकेका हुनेछौँ। 140 करोड़ नागरिकहरूको प्रयास र कड़ा परिश्रमद्वारा हामीले यो लक्ष्य हासिल गर्नुपर्छ। अनि जब विश्वको सबैभन्दा अधिक आबादी भएको देशले एक विकसित राष्ट्र बन्ने सङ्कल्प गर्छ, तब यो विश्वको नजरमा हाम्रो साहसको प्रतीक बन्दछ। विश्व हामीप्रति आफ्नो दृष्टिकोण परिवर्तन गर्न मजबुर हुनेछ।

प्रिय देशवासीहरू,

अनि मैले यो कुरा बिना कारण भनिरहेको छैन। पछिल्ला 12 वर्षमा, देशका करोड़ौँ नागरिकहरूले - चाहे उनीहरू दलित होउन्, शोषित होउन्, वञ्चित होउन्, आदिवासी समुदायका होउन्, गाउँ वा शहरमा बसोबास गर्ने मानिसहरू होउन्, गरीब होउन्, मध्यम वर्गका होउन्, युवा होउन्, बुजुर्ग होउन्, महिला होउन् वा पुरुष; उत्तर, दक्षिण, पूर्व वा पश्चिम कहीँका पनि होउन् - सबैले दृढ़ सङ्कल्प तथा समर्पणका साथ देशलाई नयाँ उँचाइमा लिएर जाने हरसम्भव प्रयास गरेका छन्। म उनीहरूको प्रयासलाई सम्मान गर्दछु र उनीहरूलाई नमन गर्दछु। अनि यिनै प्रयासहरूको परिणाम हो कि यति छोटो समयमा 25 करोड़ नागरिकहरू गरिबीबाट बाहिर आएका छन्। यो पनि यी नागरिकहरूको प्रयासको परिणाम हो कि हामी ‘फ्रोजाइल फाइभ’ (कमजोर अर्थव्यवस्था भएका पाँच देश) मा गणना हुन्छौँ, तर 12 वर्षभित्र नै हामी एक ठूलो अर्थतन्त्र र सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्र बनेका छौँ।

साथीहरू,

देश धेरै सपनाहरू लिएर स्वतन्त्र भएको थियो। तर हामीले रफ्तार पक्रिन सकेनौँ; हामीले जति गति चाहेका थियौँ, हामीले त्यति हासिल गर्न सकेनौँ। हामी यो हुनेछ, चीजहरू अगाड़ि बढ्नेछन्, हामी हेर्नेछौँ के हुन्छ भन्ने मनोवृत्तिमा अल्झिरहेका थियौँ। 2014 सम्ममा, सम्पूर्ण विश्वले हामीलाई ‘फ्राजाइल फाइभ’को श्रेणीमा हालेको थियो। यस्तो समयमा, पछिल्ला 12 वर्षमा भारतलाई एक नयाँ गति प्राप्त भएको छ। हामी द्रुत गतिमा अगाड़ि बढ़िरहेका छौँ अनि देशका मानिसहरूको सङ्कल्प स्पष्ट छ: अब 140 करोड़ नागरिकको दृढ़ निश्चय र क्षमतालाई रोक्न असम्भव छ।

प्रिय देशवासीहरू,

पछिल्ला 12 वर्षमा, रक्षा उत्पादन लगभग चार गुणाले बढ़ेको छ। खादी र ग्रामोद्योग क्षेत्रको उत्पादन लगभग पाँच गुणाले बढ़ेको छ। इलेक्ट्रोनिक्स उत्पादन लगभग सात गुणाले बढ़ेको छ। आधुनिक रेलवे कोचहरूको उत्पादन 21 गुणाले बढ़ेको छ। मोबाइल फोनको उत्पादन 35 गुणाले बढ़ेको छ। अनि त्यति मात्र होइन। आधुनिक युगका साथ कदम मिलाउँदै हामीले डिजिटल प्रविधि र नवीनताको संसारमा पनि आफ्नो पहिचान छोड़ेका छौँ। इन्टरनेट प्रयोगकर्ता र उपभोक्ताहरूको सङ्ख्या लगभग चार गुणाले बढ़ेको छ। पेटेन्टको सङ्ख्या चार गुणाले बढ़ेको छ। डिजिटल कारोबार 100 गुणाले बढ़ेको छ। हामीले आम नागरिकको दैनिक जीवनलाई सुधार गर्नका लागि पनि त्यति नै गम्भीरताका साथ काम गरेका छौँ। हरेक वर्ष, हामीले पहिलेको तुलनामा  औसत 15 गुणाले छिटो नलबाट पानीको कनेक्शन प्रदान गरेका छौँ। हरेक वर्ष औसत छः गुणाले छिटो ग्यास कनेक्शन प्रदान गरिएको छ। गरीबहरूका लागि शौचालय निर्माणको काम वार्षिक दरमा चार गुणाले बढ़ेको छ। गरीबहरूलाई घर उपलब्ध गराउने गति हरेक वर्ष तीन गुणाले बढ़ेको छ। देशले सुशासनमा पनि ठूला परिवर्तन देखेको छ। हजारौँ कम्प्लायन्स (नियमहरूको पालन) लाई समाप्त गरेको छ। सयौँ पुराना कानूनहरू रद्द गरिएका छन्। अघिल्लो शताब्दीका कानूनहरूका साथ 21 औँ शताब्दीको यात्रा गर्न सकिँदैन। हामीले आधुनिक पूर्वाधारका लागि मेट्रो नेटवर्कहरूको विस्तार गरेका छौँ र सार्वजनिक परिवहनलाई सुदृढ़ बनाएका छौँ। जुन रफ्तारमा काम गरिएको छ, जुन मात्रामा काम गरिएको छ, यो रफ्तार, यो विस्तार र यी उपलब्धिहरू स्वतन्त्रता पछिको दशकमा देशले पहिलो पटक देखेको कुरा हो। अनि जब हामी समक्ष यति धेरै उपलब्धिहरू छन्, जब यति द्रुत प्रगति देखिँदैछ, अनि जब हाम्रा नागरिकहरूको क्षमता हरेक पल मजबुत हुँदै गइरहेको छ, तब 2047 सम्ममा ‘विकसित भारत’ निर्माण गर्ने सङ्कल्प कहिल्यै अधुरो रहन सक्दैन। यी सबै आँकड़ाहरूले हामी एक गतिशील राष्ट्र हौँ भन्ने तथ्यको प्रमाण दिन्छन्।

मेरा प्रिय देशवासीहरू,

तर त्यसको लागि हामीलाई आत्मविश्वासको आवश्यकता पर्दछ। हामीलाई आत्मसम्मानको भावनाको जरुरत छ। साथै, ‘आत्मनिर्भर भारत’ बन्नु पनि अत्यन्त जरुरी छ। त्यसैले, हालका वर्षहरूमा हाम्रो पक्का विश्वास के छ भने भारतले अब अन्य देशहरूमा निर्भर भएर बाँच्नु हुँदैन। हामी आत्मनिर्भर बन्नुपर्छ। संसारमा यस्ता धेरै चीजहरू उपलब्ध हुन सक्छन् जुन सस्ता छन् र छिटो प्राप्त गर्न सकिन्छ। तर तिनीहरूमा निर्भर रहँदा न त हाम्रो आफ्नै क्षमताहरू विकसित हुन्छन्, न त यसले हाम्रा क्षमताहरूको बल परीक्षण गर्छ। त्यसकारण, हामीले आफ्नै क्षमताहरूलाई मजबुत बनाउनुपर्छ र आफ्नै हितहरूको आफैले रक्षा गर्नुपर्छ। त्यसैले हामी ‘आत्मनिर्भर भारत’ को पक्का सङ्कल्पका साथ अगाड़ि बढ़िरहेका छौँ। ‘मेक इन इण्डिया’, ‘स्वदेशी’, ‘भोकल फर लोकल’ जस्ता पहलहरूसँग भारतीयहरूको हृदय जोढ़िएको छ।

मेरा प्रिय देशवासीहरू,

म तपाईंलाई सेमीकण्डक्टरको उदाहरण दिन्छु। हाम्रो स्वतन्त्र भएदेखि नै संसारमा सेमीकण्डक्टरको बारेमा चर्चा भइरहेको थियो। हाम्रो देशमा पनि यसको बारेमा चर्चा भएको थियो, तर हामीले कुनै पनि ठूलो सेमीकण्डक्टर योजनालाई अगाड़ि बढ़ाउन असमर्थ थियौँ। अनि आजको स्थिति के छ? आजको डिजिटल संसार र प्रविधि आधारित युगमा हामी चिपको महत्त्वलाई बुझ्दछौँ। चाहे त्यो इलेक्ट्रोनिक सामान होस्, चिकित्सा उपकरण होस् वा परिवहन प्रणाली होस्, हरेक स्थानमा चिपको धेरै जरुरी छ। संसार यस्तो बिन्दुमा पुगेको छ जहाँ चिप बिना सम्पूर्ण प्रणाली ठप्प हुन सक्छ। त्यसैले, आत्मनिर्भर बन्ने दिशामा भारतले आफ्नै सेमीकण्डक्टर उत्पादन क्षमता स्थापना गर्न शुरु गरेको छ। तीन ठूला सेमीकण्डक्टर प्लान्टहरू पहिले नै शुरु भइसकेका छन्। मलाई के जानकारी दिइएको छ भने यी प्लान्टहरूबाट प्रोडक्शनको एक्पपोर्ट पनि शुरु भइसकेको छ। अनि म मानिसहरूलाई के भन्न चाहन्छु भने आगामी सातदेखि आठ वर्षमा, थप पाँच, सात वा आठ सेमीकण्डक्टर प्लान्टहरू चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यो ‘आत्मनिर्भर भारत’ ले हामीलाई ‘विकसित भारत’ बन्ने दिशामा एक ठूलो राजमार्ग प्रदान गर्दछ।

मेरा प्रिय देशवासीहरू,

यस्तै प्रकारको चर्चा ‘क्रिटिकल मिनरल्स (महत्वपूर्ण खनिज) हरूलाई लिएर पनि भइरहेको छ। सम्पूर्ण प्रविधि क्षेत्र क्रिटिकल मिनरल्समा निर्भर छ। भारतले यस क्षेत्रमा पनि आफूलाई सुरक्षित गर्नका लागि काम गरिरहेको छ। हामीले क्रिटिकल मिनरल्सको लागि लक्ष्य तय गरेका छौँ र ‘क्रिटिकल मिनरल्स मिशन’ शुरु गरेका छौँ। बजेटमा हामीले ‘क्रिटिकल मिनरल्स करिडोर’ को घोषणा गरेका छौँ। धेरै देशहरूसँग सम्झौतामा हस्ताक्षर भइरहेका छन् र विश्वभरका धेरै देशहरूले अब क्रिटिकल मिनरल्सको क्षेत्रमा भारतमा आफ्नो विश्वास राख्न थालेका छन्।

मेरा प्यारा देशवासीहरू,

जसरी हामी सेमीकण्डक्टर र जरुरी खनिजहरूको बारेमा कुरा गरिरहेका छौँ, त्यसै गरी भविष्यका प्रविधिहरूको दिशामा अघि बढ्दै जाँदा ऊर्जाको महत्त्व पनि बढ्दै गइरहेको छ, किनकि संसार त्यस दिशामा अगाड़ि बढ़िरहेको छ। आज ऊर्जाको बिना नयाँ संसारलाई चलाउन गाह्रो छ अनि त्यसैले, चाहे त्यो चिप्स होस्, एआई होस् वा डाटा सेन्टर होस्, हामीलाई धेरै ठूलो मात्रामा बिजुलीको आवश्यकता पर्दछ। ऊर्जा सुरक्षा समयको आवश्यकता हो र त्यसैले, हामीले यस दिशामा पहिले नै कड़ा कदम चालिसकेका छौँ। ऊर्जा सुरक्षा सुनिश्चित गर्ने एउटा प्रमुख माध्यम परमाणु ऊर्जा हो। संसदमा शान्ति अधिनियम पारित गरेर हामीले नयाँ लक्ष्यतर्फ बाटो खोलेका छौँ। 2047 सम्ममा हामीले 100 गिगावाट परमाणु ऊर्जाको लक्ष्यतर्फ काम गरिरहेका छौँ। यसै दशकभित्र हामीले पाँचवटा नयाँ परमाणु रिएक्टरहरू शुरु गर्ने लक्ष्य राखेका छौँ। यस वर्ष, भारतले फास्ट ब्रीडर परमाणु प्रविधिमा निपुणता हासिल गरेर एक महत्त्वपूर्ण पड़ाव पार गरेको छ र फलस्वरूप, हामीले परमाणु इन्धनको मामिलामा आत्मनिर्भर बन्ने दिशामा एक प्रमुख कदम चालेका छौँ।

मेरा प्यारा देशवासीहरू,

कहिलेकाहीँ, कुनै देशलाई स्रोतसाधनको अभावले पछाड़ि पार्दैन, बरु यसको सोचको सीमितताले पछाड़ि धकेल्छ। जब हाम्रो सोच सीमित हुन जान्छ र ती सीमाहरू भित्र खुम्चिएर रहन जान्छ, तब हामी आफ्नै क्षमतालाई पनि चिन्न असमर्थ हुन्छौँ। आज देशलाई कच्चा तेलमा निर्भर रहनुपर्छ अनि यो हाम्रो गलत सोचको परिणाम हो। तपाईंलाई यो कुरा थाहा पाउँदा छक्क पर्नुहुनेछ कि, यस्तो सोचको कारणले गर्दा हामीले आफ्ना सम्पूर्ण तटीय क्षेत्रको 99% भागलाई ‘निषेधित क्षेत्र’ को रूपमा घोषणा गरेका थियौँ। हामीले आफैंले खोजको लागि समुद्रमा नजाने निर्णय गरेका थियौँ। यो विचारको गरीबी थियो। हामीले यो यसरी जारी रहन सक्दैन भन्ने निर्णय लियौँ। हामीले त्यो 99% हिस्सालाई, जुन पहिले ‘निषेधित क्षेत्र’ को रूपमा तोकिएको थियो, त्यसलाई ‘गो-अहेड एरिया’ को रूपमा खोलेका छौँ, र हामी अब समुद्रको खोज र नयाँ भण्डारहरू पत्ता लगाउने दिशामा अघि बढ़िरहेका छौँ। हामी यस दिशामा प्रयास गरिरहेका छौँ। गत वर्ष, त्यही दिशामा एक महत्त्वपूर्ण कदम चाल्दै हामीले समुद्र मन्थनको घोषणा गर्यौँ अनि हालैमा हामीले यो कामलाई गति दिनको लागि 85,000 करोड़ रुपियाँ आवन्टित गर्ने निर्णय गर्यौँ।

मेरा प्यारा देशवासीहरू,

मैले भनेको थिएँ कि जहाँसम्म ऊर्जा सुरक्षाको कुरा छ, हाम्रो लागि वैकल्पिक स्रोतहरूमा आफ्नो पूर्ण शक्ति लगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले, ऊर्जाको कुशल प्रयोगलाई बढ़ावा दिँदै भारत आज यस दिशामा द्रुत गतिमा अगाड़ि बढ़िरहेको छ। 2014 भन्दा पहिले, अर्थात् 12 वर्ष पहिले, हाम्रो देशका केवल 70 शहरहरूमा पाइप ग्यास पूर्वाधार थियो, जसमा पाइपलाइनको माध्यमद्वारा ग्यास वितरण गरिन्थ्यो। 12 वर्षमा, हामीले यी 70 शहरहरूको सङ्ख्यालाई बढ़ाएर 700 शहरहरूमा पुर्याएका छौँ। यसलाई नै रफ्तार भनिन्छ; यसलाई नै विस्तार भनिन्छ। 2014 भन्दा पहिले, पाइप भएको ग्यास मुश्किलले 20-22 लाख घरमा पुगेको थियो। आज, लगभग 1.75 करोड़ घरहरूमा पाइप भएको ग्यास उपलब्ध गराउने काम भइरहेको छ। बाह्र वर्ष पहिले, देशमा सोलर एनर्जी क्षमता केवल 2 गिगावाट थियो। आज, हामीले 160 गिगावाटको क्षमता हासिल गरेका छौँ।

मेरा प्यारा देशवासीहरू,

म तपाईँहरूसँग एक अर्को जानकारी साझा गर्न चाहन्छु। हामीले देशभरिका मध्यम वर्ग र आम परिवारहरूसम्म यसको फाइदा पुऱ्याउने कुरामा समान ध्यान दिएका छौँ। हामीले ‘पीएम सूर्य घर मुफ्त बिजली योजना’ शुरु गऱ्यौँ र आज मलाई खुशी लागेको छ कि यति छोटो अवधिमा हामीले 50 लाख घरहरूमा सौर्य ऊर्जा प्रणाली कनेक्शन गर्ने उपलब्धिलाई पार गरेका छौँ, अनि यो काम द्रुत गतिमा अगाड़ि बढ़िरहेको छ। फलस्वरूप, हजारौँ घरहरूको बिजुलीको बिल शून्य भएको छ, जबकि हजारौँ घरहरूले अब उनीहरूले उत्पादन गरेको अतिरिक्त बिजुली बेचेर कमाइरहेका छन्। सरकारले यस उद्देश्यका लागि प्रत्येक परिवारलाई 80,000 रुपियाँको सहयोग प्रदान गरिरहेको छ, र यही सहयोगको माध्यमद्वारा हामी यो काम अगाड़ि बढाइरहेका छौँ।

मेरा प्यारा देशवासीहरू,

तपाईंहरू यो कुरा थाहा पाउँदा छक्क पर्नुहुनेछ कि हाम्रो देशमा हाम्रो रेलवे प्रणालीको विद्युतीकरण 1925 मा शुरु भयो। विद्युतीकरणको काम 1925 मा शुरु भयो, तर अर्को 90 वर्षमा, रेलवे नेटवर्कको 30% मात्र विद्युतीकरण गरिएको थियो। यसको अर्थ 90 वर्षमा 30% भएको थियो। हाम्रो रफ्तार हेर्नुहोस्; लक्ष्य हासिल गर्ने हाम्रो दृढ़ सङ्कल्प हेर्नुहोस्। हामीले यो एक दशकभित्र 100% काम पूरा गर्यौँ। 90 वर्षमा 30%, 10 वर्षमा 70% - यसलाई नै काम गर्नु भनिन्छ। फलस्वरूप, हामीले पहिले विदेशबाट आयात गर्नुपर्ने डिजेल बचत गरेका छौँ। हाम्रा रेलहरू बिजुलीमा चल्न थाले, जसले गर्दा पर्यावरणलाई पनि फाइदा पुगिरहेको छ।

मेरा प्यारा देशवासीहरू,

हामी यहाँ नै रोकिएका छैनौँ। हामी संसारभन्दा पछाड़ि पर्न चाहँदैनौँ। तपाईंले हालैमा यो समाचार सुन्नुभएको होला: भारतले इन्धनको यो नयाँ क्षेत्रमा पनि प्रवेश गरेको छ। देशले आफ्नो पहिलो हाइड्रोजनले चल्ने रेल शुरु गरेको छ, र मलाई यो कुरामा खुशी लागेको छ कि यो आफ्नो किसिमको सबैभन्दा लामो र सबैभन्दा शक्तिशाली रेल हो। भारतले विश्वमा हाइड्रोजनबाट चल्ने रेलहरूको क्षेत्रमा पनि आफ्नो पहिचान छोड़ेको छ।

मेरा प्रिय देशवासीहरू,

पछिल्ला 10-12 वर्षदेखि हामी 2047 को लक्ष्यलाई प्राप्त गर्ने दिशामा निरन्तर काम गरिरहेका छौँ। हामीले एकपछि अर्को धेरै उपलब्धिहरू हासिल गरिरहेका छौँ। हामीले कल्पना पनि गरेका थिएनौँ कि हामीले बाटोमा यति धेरै कठिनाइहरूको सामना गर्नुपर्नेछ। पछिल्ला 10-12 वर्षमा हामीले असङ्ख्य सङ्कटहरूको सामना गरेका छौँ। कोविड-19 जस्तो महामारीले सम्पूर्ण विश्वलाई अनिश्चिततामा डुबायो अनि सबै प्रणालीहरू उथलपुथलमा फसेका थिए। हामी कोविडबाट बाहिर निस्किना साथ हामीले युद्धको विभीषिका देख्नुपऱ्यो - एकातिर युक्रेनमा सङ्घर्ष र अर्कोतिर पश्चिम एशियामा तनाउ। जताततै तनाउको माहोल थियो, अनि तथाकथित भविष्यवक्ताहरूले भविष्यको बारेमा के कस्ता-कस्ता अनुमान लगाएका थिए। केही मानिसहरूले देशलाई डराउने, भयभीत बनाउने र यहाँका जनतालाई बेचैन राखेर सन्तुष्टि प्राप्त गरेको देखिन्थ्यो। उनीहरूले भने कि खोपहरू उपलब्ध हुने छैनन्, मानिसहरू कोभिडबाट बच्न सक्ने छैनन्, र केही पनि काम गर्ने छैन। जब पश्चिम एशियामा सङ्कट पैदा भयो, तब अफवाह फैलाइयो कि पेट्रोल पम्पहरूमा पेट्रोल उपलब्ध हुने छैन, ग्यास, डिजेल र मल हुने छैन। विश्वभरि विभिन्न प्रकारका अफवाह फैलाएर केही मानिसहरूले भारतका जनतालाई डराउने, तर्साउने र चिन्तामा डुबाउने कुरामा आनन्द लिए।

तर देशले अहिले देखेको छ कि पछिल्ला 10-12 वर्षका राम्ररी सोचेका योजनाहरूले फल दिइरहेका छन्। यति ठूलो सङ्कटको बावजुद, ‘नागरिक देवो भव’ (नागरिक ईश्वर समान हुन्) को सिद्धान्तमा चल्दै भारतले तयारी गरेको थियो र एकपछि अर्को कदम चालेको थियो। हामीले यस्तो सङ्कट आउँछ भनेर कल्पना पनि गरेका थिएनौँ, तर जब यो आयो, तब यी सबै तयारीहरू उपयोगी साबित भए। आज, देशमा ग्यास, पेट्रोल र युरिया छ। हामी आफ्नै क्षमताको बलमा उभिरहेका छौँ र आत्मविश्वासका साथ अगाड़ि बढ़िरहेका छौँ।

मेरा प्रिय देशवासीहरू,

यी वैश्विक सङ्कटहरूले सबैलाई असर गरेको छ र हामी पनि यसबाट अछुतो छैनौँ। युरियाको एक बोराको वैश्विक मूल्य 3,000 रुपियाँलम्म पुगेको छ। आज पनि हामी आफ्नो देशका किसानहरूलाई त्यो बोझ बोक्न बाध्य पारिरहेका छैनौँ, सरकारले त्यो बोझ आफ्नो काँधमा बोकिरहेको छ र हामीले संसारबाट 3000 रुपियाँमा पाउने युरियाको बोरा हामी आफ्ना किसानहरूलाई केवल 300 रुपियाँमा दिन सफल भएकाछौँ। यस अतिरिक्त, डीएपीको वैश्विक बजार मूल्य 5,000 रुपियाँसम्म पुगेको छ, तर हामीले यो आफ्ना किसानहरूलाई 1,350 रुपियाँमा नै उपलब्ध गराउन जारी राखेका छौँ ताकि उनीहरूले कुनै कठिनाइ भोग्नु नपरोस्।

मेरा प्यारा देशवासीहरू,

एक समय थियो जब मैले आत्मनिर्भरताको कुरा गरिरहेको थिएँ, तब वातानुकूलित कोठामा बसेर सोचिरहेका केही मानिसहरूले हामीलाई भूमण्डलीकरणको के हुनेछ भनेर बताइरहेका थिए। तर विश्वले देखिरहेको छ कि पछिल्लो दशकमा यस्तो देखिन्छ जस्तै विश्वले भूमण्डलीकरणको बारेमा कुरा गर्न छोड़ेको छ। भूमण्डलीकरणको जुन आवाज पहिले आउँथ्यो त्यो बन्द भएको छ, त्यो अहिले सुन्न सकिँदैन। हरेक देशले आफ्ना विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ; यद्यपि, दुःखको कुरा, सङ्कटको यस अवधिमा केहीले आफ्नो प्रभुत्व स्थापित गर्न स्रोतहरूलाई हतियार बनाउने खेलमा सामेल भएका छन्। विश्व यस समय आफूसँग भएका सबै सम्पत्तिलाई हतियार बनाउने लक्ष्यमा छ। पेट्रोल, डिजेल, मल, औषधि र प्रविधि चिप्स जस्ता स्रोतहरूलाई हतियार बनाइँदैछ; वास्तवमा भूभागलाई पनि हतियार बनाइँदैछ। अनि यस्तो समयमा यदि हामी पछिल्लो एक दशकदेखि आत्मनिर्भरताको मन्त्रद्वारा निर्देशित भएर सही दिशामा अघि बढ़ेका थिएनौँ भने हामी कल्पना गर्न सक्छौँ कि हामीले यस्ता चुनौतीहरूको दृढ़तापूर्वक सामना कसरी गर्ने थियौँ र हाम्रो तयारी निरन्तर बढ़िरहेको छ।

मेरा प्रिय देशवासीहरू,

अर्कोतिर, आज भारतको पहिचान तीव्र रूपमा बढ़िरहेको छ। आज भारत विश्वको लागि स्वीकार्य तथा र सम्मानित देश बनिरहेको छ। भारतसँग एक स्थिर राजनीतिक जनादेश र स्थिर सरकार, एक जीवन्त लोकतन्त्र छ, एक मजबुत न्यायपालिका छ र भारतको संविधान छ जो जसले हामी सबैलाई मार्गदर्शन गर्छ; अनि अहिले विश्वले हाम्रो शक्तिलाई चिन्न थालेको छ। त्यसैले, 2014 पछि हामी लगभग 40 देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा प्रवेश गरिरहेका छौँ। हेर्नुहोस्, कति ठूलो अवसर प्राप्त भएको छ, तर गरिएका यी व्यापार सम्झौताहरू एक ठूलो अवसर हुन् र त्यसैले म विशेष गरी मेरा एमएसएमईहरूलाई के भन्न चाहन्छु भने हामीले यो अवसर गुमाउनु हुँदैन। हामीले विश्वभर पुग्नुपर्छ, भारतको हरेक उत्पादन विश्व बजारमा पुग्नुपर्छ र चाहे त्यो हाम्रो वस्त्र होस्, मेसिनरी होस्, औषधि होस्, हामी कुनै पनि अवसर छोड्दैनौँ, तर हामीले वैश्विक मापदण्डहरू पार गर्नुपर्छ। हामीले गुणस्तरमा उत्कृष्ट तथा हाल वैश्विक रूपमा उपलब्ध भन्दा अधिक किफायती उत्पादहरू प्रस्ताव गर्नुपर्छ। पञ्जाबको लुधियानादेखि लिएर तमिलनाडुको तिरुप्पुरसम्म फैलिएको हाम्रो वस्त्रा क्षेत्रले विश्व बजारमा पुग्ने सम्भावना राख्छ। यति मात्र होइन, केरलमदेखि लिएर गुजरात र तमिलनाडुदेखि लिएर बङ्गालसम्म, यो हाम्रो तटवर्ती क्षेत्र हो अनि हाम्रा मछुवा दाजुभाइ दिदीबहिनीहरू, आज यो एफटीएका कारण हाम्रो झिँगे माछाको निर्यातको सम्भावना धेरै बढ़ेको छ। हाम्रो समुद्री खाना विश्वभर पुग्ने ठूलो सम्भावना छ र त्यसैले म चाहन्छु कि हामीले यो अवस्थाको फाइदा उठाऔँ र अगाड़ि बढ्दै जाँदा यी लक्ष्यहरू प्राप्त गर्ने प्रयास गरौँ।

मेरा प्यारा देशवासीहरू,

मैले तपाईंहरू समक्ष जति कुराहरू राखेको छु, त्यसको पछाड़ि 2047 को लक्ष्य यी मजबुत आधारहरूमा उभिएको छ। 2047 सम्ममा विकसित भारतको लक्ष्य त्यस शक्तिको हिस्सा हो, जुन हाम्रा देशवासीहरूले पछिल्ला 10-12 वर्षमा देखेका थिए।

अनि त्यसैले, मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू,

एक चौथाइ शताब्दी बितिसकेको छ, र अर्को चौथाइ शताब्दी हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ। अब हामी रोकिन सक्दैनौँ, हाम्रो रफ्तार रोकिन सक्दैन, हाम्रो दिशा तय भइसकेको छ, हामीले यसलाई प्राप्त गर्नुपर्छ र यसको लागि हामीले हाम्रो कार्य संस्कृति परिवर्तन गर्नुपर्नेछ, हाम्रो कार्य संस्कृति परिवर्तन गर्दै हामीले आफ्नो सोच पनि परिवर्तन गर्नुपर्नेछ, हामीले आफ्नोे कामको गति पनि परिवर्तन गर्नुपर्नेछ। पछिल्ला 5-7 दशकमा जुन काम भएको छैन, त्यो काम हामीले आगामी 5-7 वर्षमा गर्नुपर्छ र मलाई मेरो देशको युवा शक्ति, मेरो देशका युवाहरू, मेरो देशका आमाहरू, मेरो देशका किसानहरू, मेरो देशका मजदुरहरूमा विश्वास छ कि हामी यो सपना साकार पार्न सक्छौँ। अनि त्यसैले हामीले सुधारको गतिलाई अगाड़ि बढ़ाउनुपर्छ र जब म सुधारको कुरा गर्छु, सुधार न त हाम्रो लागि बाध्यता हो, न त सुधार हाम्रो लागि चर्चाको विषय हो, यो सुधार हाम्रो दृढ़ विश्वासबाट निस्किएको हो। हामीले ‘सुधार एक्सप्रेस’ मा लागेका छौँ र हामी आगामी दिनहरूमा अर्को स्तरको सुधारतर्फ अघि बढ्ने छौँ र त्यसैले सरकार, समाज, उद्योग, उत्पादक, किसान, सबैले आफ्नो परम्परागत प्रणालीहरू सुधार गर्नुपर्नेछ, आफ्नो सोच सुधार गर्नुपर्नेछ, आफ्नो लक्ष्यहरू सुधार गर्नुपर्नेछ।

अनि त्यसैले, मेरा प्रिय देशवासीहरू,

हामी एक स्पष्ट दिशाका साथ अगाड़ि बढ्नुपर्छ। आज म त्यो युगलाई पनि सम्झन चाहन्छु जब हामीले सप्त सिन्धुको रूपमा भारतको सम्भावनालाई जान्यौँ, बुझ्यौँ, सुन्यौँ र भारतलाई विकसित बनाउन हामीलाई एक नयाँ धारा चाहिन्छ। आज, लाल किल्लाको प्राचीरबाट, म देशको अगाड़ि शक्तिका यी सात धाराहरू (सप्त धारा) को आह्वान गर्दछु। आगामी 5-7 वर्षमा, जुन काम पछिल्ला 5-7 दशकमा हुन सकेको थिएन, त्यसलाई हामी ‘सप्त धारा’ को ताकत र शक्तिले पूरा गर्नेछौँ अनि हामी देशलाई नयाँ उँचाइ, नयाँ गति र नयाँ लक्ष्य प्राप्त गर्ने क्षमता दिनेछौँ। यसका साथै, राष्ट्र निर्माणको लागि राष्ट्रको युवा शक्तिको सम्भावनालाई पूर्ण रूपमा प्रयोग गरिनेछ; उनीहरूको शक्तिलाई प्रयासमा एकीकृत गरिनेछ। आगामी दिनहरूमा, जब म सप्त धाराको बारेमा कुरा गर्छु, सप्त धाराको पहिलो शक्ति हो - विनिर्माण शक्ति।

मेरा प्रिय देशवासीहरू,

हामीले विनिर्माण क्षेत्रलाई उल्लेखनीय रूपमा अगाड़ि बढ़ाउनुपर्छ; उत्पादन बढ़ाउनुका साथ-साथै, हामीले साना पुर्जादेखि लिएर ठूला उत्पादहरूसम्म सबै कुरा उत्पादन गर्न आवश्यक छ। सम्पूर्ण मूल्य शृङ्खला हाम्रो हुनुपर्छ र हामी यसको साथ अगाड़ि बढ्नुपर्छ, हामीलाई पुर्जाहरूका साथै पूर्ण विनिर्माणको पनि आवश्यकता पर्छ, हामीलाई पूर्ण उत्पादन पनि चाहिन्छ। डिजाइनदेखि निर्माणसम्म, भारत वैश्विक आपूर्ति शृङ्खलामा एक विश्वसनीय केन्द्रको रूपमा उभिनु पर्छ। म यसका लागि तीन पक्षहरूमा विशेष जोड़ दिन चाहन्छु, विशेष गरी विनिर्माणको क्षेत्रमा मेरा दाजुभाइ दिदीबहिनीहरूका लागि। यो अवसरलाई सदुपयोग गर्ने समय हो, र यसका लागि हामीले लागत, गुणस्तर र मापनको हिसाबले वैश्विक मापदण्डहरू पूरा गर्नुपर्नेछ। हाम्रा कारखानाहरू प्रतिस्पर्धी हुनुपर्छ, हाम्रा उत्पादहरू प्रयोगकर्ता-मैत्री हुनुपर्छ, र हाम्रो प्याकेजिङ आकर्षक र विश्वभरका मानिसहरूलाई आकर्षक हुनुपर्छ। हाम्रो शून्य-दोष सटीक उत्पादन हाम्रो पहिचान बन्नुपर्छ। म प्रत्येक निर्माता, प्रत्येक उद्यमी, प्रत्येक एमएसएमईलाई भन्न चाहन्छु, वैश्विक बजारमा हाम्रो पहिचान विश्वसनीयता र गुणस्तरमा आधारित हुनुपर्छ। गुणस्तरको बारेमा कुनै सम्झौता नगर्ने र त्यसैले हाम्रो मन्त्र गुणस्तर, गुणस्तर, गुणवत्ता हुनुपर्छ। यो नै हाम्रो वैश्विक ब्रान्ड भेल्यू बन्नेछ।

मेरा प्रिय देशवासीहरू,

यस ‘सप्त धारा’ को दोस्रो शक्ति कृषि र खाद्य उत्पादन हो। हामीले खाद्य प्रशोधनको दिशामा पनि अगाड़ि बढ्नुपर्छ। हाम्रा किसानहरूको अब वैश्विक बजारहरूमा पहुँच छ। एफटीएका कारण हामी धेरै ठूलो बजारमा पहुँच पाइरहेका छौँ, र हामीले ती बजारहरूमा पुग्नु पर्छ। हामीले त्यो अवसरलाई प्रयोग गर्नुपर्छ। हामीले खेतबाट निर्यात बजारमा जानुपर्छ। चाहे त्यो हाम्रो परम्परागत खाना होस्, हाम्रो कोदो होस्, हाम्रा मसला होस्, हाम्रा फल होस् वा हाम्रा फूलहरू, हामीसँग प्रस्ताव गर्न धेरै कुराहरू छन्। यी वैश्विक ब्रान्ड बन्नु पर्छ। हाम्रा किसानहरूले रसायनमुक्त खेतीलाई अझ अधिक प्रोत्साहन दिनुपर्छ, किनकि यस्ता उत्पादहरूको माग विश्वभरि बढ्दै जानेछ। यदि हाम्रा कृषि उत्पादहरूले हरेक हिसाबले वैश्विक मापदण्ड पूरा गऱ्यौँ भने हामी विश्वभरका बजारहरूमा सजिलै पुग्न सक्षम हुनेछौँ। मेरो सप्त धाराको तेस्रो शक्ति भनेको प्रविधि र नवीनता हो।

मेरा प्रिय देशवासीहरू,

आज एआई, क्वान्टम टेक्नोलोजी, अन्तरिक्ष, रोबोटिक्स र डेटा सेन्टरहरूको युग हो। एक बिल्कुल नयाँ क्षेत्र खुलेको छ। उदीयमान प्रविधिहरूले हामीलाई हरेक क्षण चुनौती दिइरहेका छन्। त्यसकारण, हामीले आफ्नो देशलाई विश्वको बजारमा परिणत गर्नु हुँदैन; हामी नवप्रवर्तनको केन्द्र बन्नु पर्छ। हामीले पहिले नै यूपीआई र डिजिटल सार्वजनिक पूर्वाधारको माध्यमद्वारा हाम्रा क्षमताहरू प्रदर्शन गरिसकेका छौँ। हामीले संसारलाई हाम्रो शक्तिको बारेमा सचेत गराइसकेका छौँ। अब भारतले आफ्नो डिजिटल सार्वजनिक प्रविधिहरू विश्वको हरेक कुनामा लैजानुपर्छ। भारतले अर्को पुस्ताको सञ्चार प्रविधिहरूमा नेतृत्व गर्नुपर्छ। हाम्रो लक्ष्य मेड इन इण्डिया 6जी विश्वको हरेक कुनामा पुग्ने कुरा सुनिश्चित गर्नु हुनुपर्छ। हामीले यस दिशामा हाम्रा प्रयासहरूलाई तीव्र बनाउनुपर्छ र यस प्रयासप्रति हाम्रो प्रतिबद्धता घट्नु हुँदैन।

‘सप्त धारा’ को चौथो ताकत ‘गति शक्ति’ हो। ‘गति शक्ति’ अन्तर्गत, हामीले देशभरिमा निर्बाध तथा तेज कनेक्टिभिटीमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीले आफ्ना शहरहरूलाई उच्च-गति रेलसित जोड्नुपर्छ। हामीलाई आधुनिक राजमार्गहरू, अन्तर्देशीय जलमार्गहरू, विमानस्थलहरू र बहु-मोडल रसद प्रणालीहरू चाहिन्छ। हामीले आफ्ना बन्दरगाहहरूलाई केवल सामानहरू लोड र अनलोड गर्ने ठाउँको रूपमा मात्र हेर्नु हुँदैन, वा केवल जहाजहरू आउने-रोकिने ठाउँको रूपमा मात्र हेर्नु हुँदैन। हामीले आफ्ना बन्दरगाहहरूलाई बन्दरगाह-नेतृत्व विकास र वृद्धिको दिशामा अगाड़ि बढ़ाउनु पर्छ। ‘सप्त धारा’ को पाँचौँ ताकत ‘रक्षा शक्ति’ हो। अनि यो ’रक्षा शक्ति’ को महत्त्व हरेक हिसाबले अपार छ।

मेरा प्रिय देशवासीहरू,

भारतले अहिले यो अनुभव गरिसकेको छ, र विश्वले पनि यो अनुभव गरिसकेको छ: रक्षाको क्षेत्रमा आत्मनिर्भर हुनुको अर्को कुनै विकल्प छैन। जब विश्वभरका देशहरूले बढ्दो रूपमा आफ्नो हितको बारेमा सोचिरहेका छन्, भारत केवल विश्वको लागि बजार बन्न सक्दैन। हामी रक्षा क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ। हामीले अर्को पुस्ताको रक्षा प्रविधिहरू विकास गर्ने र वैश्विक आपूर्तिकर्ता बन्ने लक्ष्य राख्नुपर्छ। हामीले ड्रोन र काउन्टर-ड्रोन प्रणालीहरू विकास गर्नुपर्छ, अनि हामीले हाइपरसोनिक रक्षा प्रविधिहरूमा नेतृत्व लिनुपर्छ।

साथीहरू,

साइबर सुरक्षा पनि आज हरेक घरको लागि चिन्ताको विषय बन्दै गएको छ। त्यो पनि रक्षाको एउटा क्षेत्र हो जहाँ हामी आफ्ना युवाहरूको क्षमतालाई देश र विश्वको हितको लागि प्रयोग गर्न सक्छौँ। हाम्रो ‘सप्त धारा’ को छैटौँ ताकत हरित अर्थतन्त्र र नीलो अर्थतन्त्र हो, जसले हरित रोजगारी पनि सिर्जना गर्दछ। हामीले वैश्विक स्तरमा हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित गतिशीलता र हरित उत्पादन हासिल गर्नुपर्छ। विश्वले वैश्विक तापक्रम वृद्धिको बारेमा चर्चा गरिरहेको समयमा, हामी समाधानहरू खोजिरहेका छौँ र यी चुनौतीहरूको जवाफ दिइरहेका छौँ। ग्रीन मूभमेन्टमा भारतले विशाल सम्भावनाका साथ यो यात्रा शुरु गरेको छ। भारतसँग नीलो अर्थतन्त्रमा पनि विशाल अवसरहरू छन्। हामीसँग धेरै लामो तटरेखा छ। नीलो अर्थतन्त्रमा मत्स्य पालन, तटीय पर्यटन, समुद्री प्रविधि र अन्य धेरै क्षेत्रहरू जस्ता विशाल अवसरहरू छन् जसमा हामी अगाड़ि बढ्न सक्छौँ।

मेरा प्रिय देशवासीहरू,

जसो-जसो भारत ‘सप्त धारा’ को दृष्टिकोणका साथ अगाड़ि बढ़िरहेको छ, सातौँ धाराले विश्वको लागि आफ्नै खास महत्त्व राख्दछ र त्यो हो भारतको ‘सफ्ट पावर’। भारतको कफ्ट पावरको ताकत अपार छ। आज योगले सम्पूर्ण विश्वलाई भारतसँग जोड़ेको छ। योग विश्वको लागि ऊर्जाको स्रोत बन्दै गइरहेको छ र भारतमा मानिसहरूले राख्ने विश्वासको एउटा महत्त्वपूर्ण कारण पनि बन्दै गइरहेको छ। भारतमा आस्थाका केन्द्रहरू, आयुर्वेद र समग्र स्वास्थ्य सेवा प्रणाली छ। यी र भारतमा उपचार अभियानसँगै हामी आफ्ना क्षमताहरूलाई विश्वसामु लैजान सक्छौँ। चाहे त्यो हस्तकला होस्, संस्कृति होस्, हाम्रा चलचित्रहरू होस्, हाम्रो रचनात्मक संसार होस्, भीएफएक्स होस्, एनिमेसन होस्, गेमिङ होस् वा डिजिटल सामग्री, भारतले वैश्विक रचनात्मक अर्थतन्त्रमा आफ्नो कद प्रदर्शन गर्न सक्छ। हामीले यसलाई वैश्विक शक्तिमा विकास गर्नुपर्छ। आज, भारतले वेभ्स शिखर सम्मेलनलाई ठूलो गति दिएको छ। बिस्तारै, विश्व भारतको विश्व अडियो भिजुअल र मनोरञ्जन शिखर सम्मेलनको प्रतिक्षा गर्न थालेको छ। यसले भारतको सफ्ट पावर र रचनात्मक पारिस्थितिक प्रणालीलाई विश्वसामु परिचय गराउनेछ।

मेरा प्रिय देशवासीहरू,

भारतसँग विशाल वन सम्पत्ति छ। हामीसँग 100 भन्दा अधिक राष्ट्रिय निकुञ्जहरू छन्। हाम्रो सम्भावना विशाल छ, तर विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने कुरामा हामी चुकेका छौँ। हाम्रो सफ्ट पावरको माध्यमद्वारा विश्वभरका पर्यटकहरूलाई भारतमा आकर्षित गर्ने अवसर हामीसँग छ। हामीले आफ्ना क्षमताहरू संसारसामु प्रदर्शन गर्नुपर्छ। हामीले यो प्रयास गर्नुपर्छ र सकेसम्म चाँड़ो त्यसो गर्नुपर्छ। आज खेलकुद पनि भारतप्रति आकर्षणको प्रमुख स्रोत बन्दै गइरहेको छ। किन भारतमा प्रमुख वैश्विक खेलकुद कार्यक्रमहरू आयोजना गर्नु हुँदैन ? कन्सर्ट अर्थतन्त्र द्रुत गतिमा बढ़िरहेको छ र देशका युवाहरूका लागि यसको ठूलो आकर्षण छ। विश्वभरका कलाकारहरू कुनै समयमा भारतीय भूमिमा कन्सर्ट गर्न चाहन्छन्। यो एक ठूलो अवसर हो र हामीले यो अवसरलाई परिचालन गर्न आवश्यक प्रणाली र पूर्वाधार सिर्जना गर्नुपर्छ।

साथीहरू,

‘सप्त धारा’ का यी सात ताकतहरू केवल व्यक्तिगत क्षेत्रहरूमा प्रगति हासिल गर्ने बारेमा मात्र होइनन्। समग्र दृष्टिकोणका साथ, हामीले राष्ट्रको लागि हामीले तय गरेका लक्ष्य र महत्वाकांक्षाहरूको मापनलाई पार गर्ने दिशामा काम गर्नुपर्छ।

मेरा प्रिय देशवासीहरू,

मैले यी मध्ये केही कुराहरूको बारेमा बोलेको छु, तर म ती भन्दा बाहिर पनि सोच्छु। म राष्ट्रलाई हल्लाउन चाहन्छु। म देशको ताकतलाई जगाउन चाहन्छु। देश केवल सरकारले मात्र बन्दैन; देश हरेक नागरिक मिलेर बनेको हुन्छ। के हामी केही ठूलो कुराको आकांक्षा गर्न सक्दैनौँ?

हामी प्रायः ‘फर्च्यून 500’ को बारेमा सुन्छौँ। हाम्रो लक्ष्य किन यो हुनु हुँदैन कि, अर्को दशकभित्र, ‘फर्च्यून 500’ कम्पनीहरू मध्ये 50 वटा भारतबाट हुनुपर्छ? आज, हाम्रो ब्याङ्किङ क्षेत्र फस्टाउँदैछ। विश्वका शीर्ष ब्याङ्कहरूमा भारतीय ब्याङ्कको झण्डा किन फहराउनु हुँदैन? विश्वका शीर्ष पाँच ब्याङ्कहरूमा हाम्रो एउटा भारतीय ब्याङ्क हुनुपर्छ। भारतको औषधि क्षेत्रले उल्लेखनीय प्रगति गरेको छ। तर समयको माग के छ भने एक वा दुई भारतीय औषधि कम्पनीहरूको नाम विश्वका पाँच ठूला औषधि कम्पनीहरूमा प्रतिध्वनित हुनुपर्छ। भारतले त्यहाँ आफ्नो स्थान स्थापित गर्नुपर्छ। त्यहाँ कानुनी फर्म र मूल्याङ्कन एजेन्सीहरू छन्। के अब वैश्विक नेतृत्व हाम्रो हातमा हुनु समयको आवश्यकता होइन? हामीसँग प्रतिभा छ। हामीसँग क्षमता छ। हाम्रो लामो इतिहास छ। भाषाहरूमा हाम्रो निपुणता छ। हामी विश्वमा पुग्नै पर्छ। भारतीय परामर्श फर्म वा लेखा फर्म विश्वका शीर्ष फर्महरू मध्ये किन हुनु हुँदैन? हाम्रा प्रविधि कम्पनीहरू विश्वका अग्रणी हुनुपर्छ। त्यो हाम्रो लक्ष्य हुनुपर्छ। हामीसँग विश्वलाई आकर्षित गर्ने ब्रान्डहरू हुनुपर्छ। हाम्रा ब्रान्डहरू हाम्रो देशको पहिचान बन्नुपर्छ र भारतलाई विश्वको लागि गन्तव्य बनाउनुपर्छ। हामीले त्यस दिशामा काम गर्नुपर्छ। र यसको लागि म राज्य सरकारहरूलाई भन्न चाहन्छु, म स्थानीय स्वशासनका संस्थाहरूलाई भन्न चाहन्छु अनि यो भारत सरकारको पनि जिम्मेवारी हो कि हामीले आफ्ना सुधारहरूको गतिलाई तीव्र बनाउनुपर्छ। हामीले 2047 को लक्ष्य अनुरूप हाम्रा प्रणालीहरू विकास गर्नुपर्छ। हामी विगतको युगका नीति र नियमहरूसँग काम गर्न जारी राख्न सक्दैनौँ। हामीले भविष्यको सपना र आकांक्षा अनुसार नीति र नियमहरू बनाउनुपर्छ। अनि यदि हामीले यो गर्यौँ भने, मलाई पूर्ण विश्वास छ र म देशका जनतालाई आश्वासन दिन्छु कि हामी यस मार्गमा हाम्रो कड़ा परिश्रममा कुनै कसर बाँकी नराखी ‘विकसित भारत’ को सपना साकार पार्नेछौँ। हामी सबै मिलेर अगाड़ि बढ्नुपर्छ। हामी सबै, केन्द्र सरकार, राज्य सरकारहरू र उद्योग सबैले मिलेर काम गर्नुपर्छ र अगाड़ि बढ्नुपर्छ। हामीले सुधारहरू जारी राख्नुपर्छ। हामीले सुधारहरूलाई अगाड़ि बढ़ाइरहनुपर्छ। अनि, मैले पहिले भनेझैँ, हामी बाध्यताले होइन, तर दृढ़ विश्वासले सुधारहरू गरिरहेका छौँ। हामी आफ्ना लक्ष्यहरू हासिल गर्न ती कामहरू गरिरहेका छौँ।

मेरा प्रिय देशवासीहरू,

जब म ‘विकसित भारत’ को कुरा गर्छु, जब म देशलाई द्रुत गतिमा अगाड़ि बढाउने कुरा गर्छु, यी सबै प्रयासहरूको सबैभन्दा ठूलो लाभार्थी को हो? यी प्रयासहरूलाई चलाउने सबैभन्दा ठूलो शक्ति को हो? यदि कुनै छ भने, त्यो मेरो देशको युवा शक्ति हो, देशको युवा शक्ति। ‘विकसित भारत’ तर्फको यात्रामा युवाहरूको धेरै महत्त्वपूर्ण भूमिका छ। त्यति मात्र होइन, ‘विकसित भारत’ को सबैभन्दा ठूलो लाभार्थी पनि मेरो देशका युवाहरू हुनेछन्। त्यसकारण, हामीले ‘विकसित भारत’ को लक्ष्यलाई हाम्रा युवाहरूको आकांक्षा र सहभागितासँग जोड़ेर अगाड़ि बढ़ाउनुपर्छ। हामीले आफ्ना युवाहरूलाई हाम्रो सर्वोच्च प्राथमिकतामा राखेर अगाड़ि बढ्नु पर्छ।

साथीहरू,

पछिल्ला 10-12 वर्षमा यस दिशामा धेरै काम भएको छ। स्टार्टअप इण्डिया पहल अन्तर्गत, अहिले देशभरि 2.5 लाखभन्दा अधिक पञ्जीकरण भएका स्टार्टअपहरू छन्। देशका युवाहरू आफ्नो लागि मात्र काम गरिरहेका छैनन् तर धेरैलाई रोजगारी पनि प्रदान गरिरहेका छन्। सरकारले 1 लाख करोड़ रुपियाँको नवप्रवर्तन कोष घोषणा गरेको छ। म देशका युवाहरूलाई भन्न चाहन्छु: आफ्ना सपनाहरू लिएर अगाड़ि बढ्नुहोस्; हामी स्रोतको कुनै कमी हुन नदिने सुनिश्चित गर्नेछौँ। हामीले तपाईंहरूको हृदय र मस्तिष्कलाई सशक्त बनाउन 1 लाख करोड़ रुपियाँको प्रणाली स्थापना गरेका छौँ। रिसर्चका लागि नयाँ अवसरहरू देखा परेका छन्, र डिजिटल इण्डियाको माध्यमद्वारा किफायती डेटाको उपलब्धताले हाम्रा युवाहरूलाई सशक्त बनाएको छ। यदि संसारमा कतै छ जहाँ यति कम लागतमा डेटा उपलब्ध छ भने त्यो भारतीय भूमिमा छ, र यसले देशका युवाहरूलाई नयाँ शक्ति दिएको छ। हामीले स्किल इण्डियालाई राष्ट्रिय कार्यक्रम बनाएका छौँ। हामीले अन्तरिक्ष क्षेत्रलाई खुला गरेका छौँ। हामीले राष्ट्रिय ड्रोन नीति बनाएका छौँ। हामीले खेलो इण्डिया नीति बनाएका छौँ। 35 वर्षदेखि नयाँ शिक्षा नीति आएको थिएन; हामीले नयाँ शिक्षा नीति ल्याएका छौँ, र मध्यमवर्गीय परिवारहरूले यसबाट लाभ उठाएका छन्।

साथीहरू,

म तपाईंहरूलाई 2004 देखि 2014 बीचको अवधिको आँकड़ा दिन चाहन्छु। 2004 देखि 2014 सम्म हाम्रो देशमा 350 भन्दा कम विश्वविद्यालयहरू थिए अनि आज यी 10-12 वर्षभित्र लगभग 650 नयाँ विश्वविद्यालयहरू थपिएका छन्। हामी 1,000 को आँकड़ा नजिक पुग्दैछौँ। 2014 भन्दा पहिले लगभग 400 मेडिकल सिटहरू थिए; आज, लगभग 850 मेडिकल सिटहरू छन्। त्यति मात्र होइन, विदेशी विश्वविद्यालयहरू पनि अब भारतमा आउँदैछन्। मेरा युवाहरूले भारतमा अध्ययन गर्दा विदेशी विश्वविद्यालयहरूबाट डिग्री प्राप्त गर्न सकुन् भनेर व्यवस्था गरिएको छ। हामी आफ्नो देशका युवा मस्तिष्कहरू बाल्यकालदेखि नै प्रविधितर्फ आकर्षित होउन् भन्ने कुरा सुनिश्चित गर्न काम गरिरहेका छौँ। त्यसैले हामीले 10,000 भन्दा अधिक अटल टिङ्करिङ ल्याबहरू साना बालबालिकाहरूलाई हस्तान्तरण गरेका छौँ, ताकि उनीहरूले नवप्रवर्तन र प्रविधिमा रुचि विकास गर्न सकुन्। हामीले धेरै बाटाहरू खोलेका छौँ; हामीले स्टार्टअप क्षेत्र खोलेका छौँ। तपाईंहरूले देख्नुभएको होला कि भारतमा निजी स्टार्टअपहरूले औसत 28 वर्ष उमेरका युवाहरूको नेतृत्वमा आफ्नो सेटेलाइट र रकेटहरू प्रक्षेपण गरे, आफ्नो पहिलो परीक्षणमा सफल भए। तिनीहरूले साँच्चै उल्लेखनीय कुरा हासिल गरेका छन्।

साथीहरू,

आज, 2.5 लाखभन्दा अधिक पञ्जीकरण भएका स्टार्टअपहरू छन्। हामीले हालै एआई इम्प्याक्ट समिट आयोजना गरेका छौँ। एआईको विस्तार धेरै तीव्र गतिमा भइरहेको छ। लाल किल्लाको प्राचीरबाट म देशका युवाहरूका लागि एउटा घोषणा गर्न चाहन्छु। हामीले निर्णय गरेका छौँ कि अर्को एक वर्षमा हामी एक करोड़ युवाहरूलाई एआई स्किल्समा तालिम दिनेछौँ, ताकि हाम्रो देशका युवाहरूले एआईको संसारमा पनि नेतृत्व गर्ने क्षमता प्राप्त गर्न सकुन्।

मेरा साथीहरू,

जैव अर्थतन्त्र एउटा नयाँ क्षेत्र हो। 2014 भन्दा पहिले एक समय थियो, जब जैव अर्थतन्त्रको मूल्य केवल 60,000 करोड़ रुपियाँ थियो। मेरो देशका युवाहरू, तपाईंहरूले के हासिल गर्नुभएको छ हेर्नुहोस्। तपाईंहरू हेर्न सक्नुहुन्छ, जब नीतिहरू सही हुन्छन् र लक्ष्यहरू स्पष्ट हुन्छन्, मेरो देशका युवाहरूले कसरी प्रदान गर्न सक्छन्। देशको युवा शक्तिले जैविक अर्थतन्त्रमा आफ्नो क्षमता प्रदर्शन गरेको छ। 2014 भन्दा पहिले यस क्षेत्रको कारोबार 60,000 करोड़ रुपियाँ थियो; आज, जैविक अर्थतन्त्र 20 लाख करोड़ रुपियाँ पुगेको छ। मेरा साथीहरू, 2009-10 मा, केवल 1.5 लाख विद्युतीय वाहन बिक्री भएको थियो। 2025-26 मा, 25 लाख विद्युतीय वाहन बिक्री भएको छ।

मेरा प्यारा देशवासीहरू,

उड्डयन क्षेत्र पनि धेरै तीव्र गतिमा अगाड़ि बढ़िरहेको छ, जसले हाम्रा युवाहरूका लागि ठूलो अवसरहरू सिर्जना गरिरहेको छ। नयाँ विमानस्थलहरू, नयाँ मार्गहरू र नयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेका छन्। रखरखाउ र ओभरहालिङले पनि देशमा धेरै ठूलो सङ्ख्यामा दक्ष कामदारहरूको लागि रोजगारी सिर्जना गरिरहेको छ। हामीले मेड इन इण्डिया विमानको निर्माणतर्फ अघि बढ्न सफलता हासिल गरेका छौँ। मेड-इन-इण्डिया रक्षा परिवहन विमान, सी295, पहिले नै आकाशमा उड़ान गरिसकेको छ र सफल उड़ान पूरा गरिसकेको छ। यो देशका युवाहरूका लागि ठूलो उपलब्धि हो। मेरा साथी नागरिकहरू, ड्रोनहरूले पनि धेरै महत्त्वपूर्ण भूमिका खेलेका छन्। गाउँहरूमा ड्रोनको माध्यमद्वारा स्वामित्व योजना सफलतापूर्वक कार्यान्वयन भइरहेको छ। स्वामित्व योजनाबाट लगभग 3.25 करोड़ परिवार लाभान्वित भएका छन् र फलस्वरूप, लगभग 140 लाख करोड़ बराबरको सम्पत्तिको मूल्य अनलक गरिएको छ। यसले मानिसहरूलाई ब्याङ्कहरूबाट ऋण लिन र आफ्नै व्यवसाय शुरु गर्न सक्षम बनाउँछ।

मेरा प्यारा देशवासीहरू,

कोचिङ कक्षाहरूको दबाउ हाम्रा मध्यम वर्गीय परिवारहरूको लागि ठूलो बोझ बनेको छ। प्रत्येक अभिभावकलाई लाग्छ कि यदि उनीहरूले आफ्नो बच्चालाई कोचिङ कक्षामा पठाउँदैनन् भने उनीहरूले समाजको अपेक्षा पूरा गरिरहेका छैनन्। यी गरीब र मध्यम वर्गीय परिवारहरूको चिन्तालाई ध्यानमा राख्दै हामी उनीहरूले खर्च गर्ने हजारौँ करोड़ रुपियाँ बचत गर्न चाहन्छौँ, उनीहरूका छोराछोरीहरूलाई घर नजिकै रहन दिन चाहन्छौँ, उनीहरूको हेरचाह गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न चाहन्छौँ र परिवारमा आर्थिक बोझ पर्नबाट रोक्न चाहन्छौँ। त्यसकारण, हामीले विभिन्न परीक्षाहरूको तयारी गरिरहेका युवाहरूलाई नि:शुल्क अनलाइन कोचिङ प्रदान गर्ने निर्णय गरेका छौँ। हामीसँग डिजिटल सार्वजनिक पूर्वाधार छ, हामीसँग उत्कृष्ट प्रतिभा छ र हामीसँग शिक्षकहरू छन्। यी स्रोतहरूलाई एक साथ ल्याएर, हामी देशका युवाहरूलाई नि:शुल्क कोचिङ प्रदान गर्न एक व्यापक नेटवर्क निर्माण गर्नेछौँ।

मेरा प्यारा देशवासीहरू,

मैले सधैँ भनेको छु, जो खेल्छन्, तिनीहरू फस्टाउँछन्। जब म ‘खेलो, खिलो’ को बारेमा बोल्छु, मेरा प्यारा देशवासीहरू, म भन्न चाहन्छु कि भारतले आज खेलकुदको दुनियाँमा आफ्नो छाप छोड़िरहेको छ। भारतको राष्ट्रिय गान अब खेलकुद मञ्चहरूमा सुनिएको छ र तिरङ्गा गर्वका साथ फहराएको देख्न सकिन्छ। टीओपीएस योजनाले ठूलो सफलता हासिल गरेको छ। खेलो इण्डिया खेलहरू, विश्वविद्यालय खेलहरू, शीतकालीन खेलहरू, समुद्र तट खेलहरू, खेलकुद पूर्वाधार, खेलकुदको लागि प्रशिक्षण, खेलकुद चिकित्सा र खेल पोषण, भारत यी सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने दिशामा अगाड़ि बढ़िरहेको छ। युवाहरूका लागि, यदि तिनीहरू आफैं खेलाडी बन्न असमर्थ छन् भने पनि खेलकुद वरिपरि समर्थन प्रणालीभित्र अवसरहरूको एक विशाल नयाँ क्षेत्र खुल्दैछ। खेलकुदको दुनियाँमा भारतको प्रदर्शन निरन्तर सुधार भइरहेको छ, र हामी 2036 ओलम्पिक आयोजना गर्ने मजबुत दावेदारको रूपमा अगाड़ि बढ़िरहेका छौँ। भारतले 2030 मा राष्ट्रमण्डल खेलकुद पनि आयोजना गर्न गइरहेको छ।

अनि मेरा देशवासीहरू,

विश्वभर आयोजना हुने ओलम्पिक खेलकुदमा लगभग 40 विभिन्न खेलहरू हुन्छन्, जसमा लगभग 325-350 कार्यक्रमहरू हुन्छन्। र मेरा देशवासीहरू, मेरा युवा साथीहरू, यो जान्न तपाईंहरूलाई दुःख लाग्नेछ कि यी 325 कार्यक्रमहरू मध्ये लगभग दुई तिहाइमा भारतले भाग पनि लिँदैन। हामी उपस्थित छैनौँ; हामीले क्वालिफाइ गर्न सक्दैनौँ। म तपाईंहरूलाई चुनौती दिन्छु, म तपाईंहरूलाई आह्वान गर्छु, र म तपाईंहरूलाई समर्थन गर्न चाहन्छु: हामीले 2036 को ओलम्पिक भारतमा आयोजना गर्ने तय गरेका छौँ। तर 2036 मा ती कार्यक्रमहरूमा जुन भारतले आज प्रतिस्पर्धा गर्दैन, वा क्वालिफाइ गर्दैन र ती कार्यक्रमहरूमा जुन भारत टाढ़ा रह्यो, तीन-चौथाइ क्षेत्र हाम्रो लागि प्रतीक्षामा छ। भारतले यी क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, र यस उद्देश्यका लागि हामी प्रतिभा शोधन अभियान पनि शुरु गर्न चाहन्छौँ। यदि हामीलाई 2036 को लागि खेलाड़ीहरू चाहिन्छ भने हामीले आज यी 5, 10 वा 15 वर्षका युवा केटा र केटीहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीले आफ्ना छोरीहरूलाई पनि ध्यान दिनुपर्छ। त्यसकारण, 5 देखि 15 वर्ष उमेर समूहका बालबालिकाहरूमा खेलकुद प्रतिभा पहिचान गर्न देशभरका गाउँ, शहर र विद्यालयहरूमा प्रतिभा खोज अभियान सञ्चालन गरिनेछ। उनीहरूको क्षमताको मूल्याङ्कन गरिनेछ, र त्यसपछि उनीहरूलाई देशको प्रतिनिधित्व गर्न सक्ने कुशल खेलाड़ीहरूमा विकास गर्न विशेष तालिम दिइनेछ।

मेरा प्यारा युवा साथीहरू,

लागूऔषध दुरुपयोग देश र यसका युवाहरूका लागि एक प्रमुख सङ्कट बन्दै गइरहेको छ। ‘नशा मुक्त भारत’ वा लागूऔषधमुक्त भारत हामी सबैको सामूहिक जिम्मेवारी हुनुपर्छ। हाम्रो उज्ज्वल भविष्यको लागि, हाम्रो युवा पुस्ता मजबुत हुनुपर्छ, र हाम्रा युवाहरूको शक्ति हाम्रो देशको प्रगतिको लागि प्रयोग गर्नुपर्छ। त्यसकारण, हालैका दिनहरूमा मेरो भारतका स्वयंसेवकहरू, देशभरिका गैरसरकारी संस्थाहरू, सामाजिक र सांस्कृतिक संस्थानहरू र आध्यात्मिक नेताहरू लागूऔषधमुक्त भारतको लागि 100 सप्ताहको कार्यक्रम शुरु गर्न एकसाथ आएका छन्। यो अभियान 100 हप्तासम्म चल्नेछ। म प्रत्येक परिवारलाई भन्न चाहन्छु: तपाईंहरू पनि यस अभियानको हिस्सा बन्नुहोस्, यसमा सामेल हुनुहोस् र नशामुक्त भारतको सपना पूरा गर्न अगाड़ि आउनुहोस्।

मेरा प्यारा देशवासीहरू,

21 औँ शताब्दीमा हामीले दशकौँदेखि कायम रहेका चुनौतीहरूलाई हटाउनु अत्यावश्यक छ। नक्सलवाद र माओवादले लाखौँ युवाहरूको भविष्यलाई नष्ट गरेको छ। तिनीहरूले अनगिन्ती आमाहरूको गौरव भएका युवा जीवनहरू खोसेर बर्बाद गरेका छन्, र प्रत्येक अभिभावकको सपना चक्नाचुर पारेका छन्। चार दशकसम्म नक्सलवादले भारतको एक धेरै ठूलो भाग र यसको आबादीको एक धेरै ठूलो भागलाई आफ्नो पकड़मा राखेको थियो। यसले संविधानलाई टुक्रा-टुक्रा पारेको थियो, र हाम्रा 3,500 भन्दा अधिक पुलिस र सुरक्षाकर्मीहरू देशका आम नागरिकहरूको सुरक्षा गर्दा शहीद भएका थिए। युद्धमा आफ्नो ज्यान गुमाउने सैनिकहरूको सङ्ख्या भन्दा हाम्रा धेरै पुलिस कर्मीहरूले आफ्नो ज्यान दिनुपरेको थियो, ताकि आम नागरिकहरू सुरक्षित रूपमा बाँच्न सकुन्। नक्सलवादले भूमिलाई रगतमा भिजाएर छोड़ेको थियो। 2014 मा जब तपाईंहरूले हामीलाई सेवा गर्ने अवसर दिनुभयो, हामीले त्यही दिन देशलाई नक्सलवादबाट मुक्त गर्ने सङ्कल्प गर्यौँ। आज, म यो भन्न पाउँदा खुशी लागेको छ कि नक्सलवादी-माओवादी हिंसामा अब अन्तिम सास लिने शक्ति पनि नहुन सक्छ। हामी यसलाई पूर्ण रूपमा उन्मूलन गर्ने दिशामा अघि बढ़िरहेका छौँ। जुन क्षेत्रहरूमा नक्सलवादीहरूले एक पटक बन्दुक चलाएका थिए, जहाँ भूमि एक पटक रगतले रङ्गिएको थियो, आज ती नै नक्सल प्रभावित क्षेत्रहरू र क्षेत्रहरूमा विकास, विश्वास र प्रयासको तिरङ्गा माथि उड़िरहेको छ किनभने तिनीहरू नक्सलवादबाट मुक्त भएका छन्।

मेरा प्यारा देशवासीहरू,

तर हामीले यो चुनौतीलाई कम आँकलन गर्नु हुँदैन। हामी यो चुनौतीप्रति अझ अधिक सतर्क हुनुपर्छ। वर्षौंदेखि, माओवादी विचारधारा भएका व्यक्तिहरूले देशको सत्ताको करिडोरमा आफ्नो स्थान बनाएका थिए। सरकारी समितिहरूमा सल्लाहकारको रूपमा पनि यो माओवादी विचारधाराले नीतिलाई प्रभाव पारेको थियो।

मेरा प्यारा देशवासीहरू,

हामीले जङ्गलबाट सशस्त्र नक्सलहरूलाई समाप्त गर्न र देशलाई त्यो खतराबाट मुक्त गर्न सफल भएका छौँ। यद्यपि, सशस्त्र नक्सलहरू गए पनि मानसिक नक्सलहरू बाँकी छन्, र यी मानसिक नक्सलहरू अवसरको खोजीमा छन्। तिनीहरू हिंसा र अराजकताको बाटो खोजिरहेका छन्। तिनीहरू समाजलाई गलत बाटोमा तान्न विभिन्न युक्तिहरू अपनाइरहेका छन्। हामीले यी मानसिक नक्सलहरूलाई पहिचान गर्नुपर्छ, तिनीहरूलाई अलग गर्नुपर्छ, र देशको युवाहरूलाई भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने मुख्यधारा प्रयासतर्फ डोऱ्याउनुपर्छ।

मेरा प्यारा देशवासीहरू,

सुरक्षित भारत निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो। चुनौती सीमाभित्र होस् वा बाहिर, भारत कुनै पनि परिस्थितिको लागि तयार छ। युद्धको प्रकृति आज परिवर्तन हुँदैछ; अब द्वन्द्व सिमानामा मात्र सीमित रहनेछ भन्ने कुनै ग्यारेन्टी छैन। आधुनिक युद्धले रिफाइनरीहरू, ब्याङ्किङ क्षेत्र वा डेटा सेन्टरहरूलाई लक्षित गर्न सक्छ, एक अर्थमा, युद्धको नयाँ रूप जहाँ पूर्वाधार र कारखानाहरू नष्ट भइरहेका छन्। हामीले केही वर्ष अघि ‘मिशन सुदर्शन चक्र’ घोषणा गरेका थियौँ, र यसमा काम द्रुत गतिमा अगाड़ि बढ़िरहेको छ। आज हाम्रो रक्षा निर्यात लगभग 50 गुणाले बढ़ेको छ। हाम्रा हतियारहरू लगभग 100 देशहरूमा पुगिरहेका छन्। विश्व मञ्चमा भारतको प्रतिष्ठा बिस्तारै बढ्दै गइरहेको छ। यस परिवर्तनशील समयमा हामीले रक्षा उपकरणहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र हाम्रा सशस्त्र बलहरूको क्षमता बढ़ाउनुपर्छ; तर साथसाथै, नागरिकहरू पनि तयार हुनुपर्छ। गत शताब्दीका युद्धहरू अनुरूप हाम्रो देशमा विकसित भएका नागरिक रक्षा प्रणालीहरू पुरानो भइसकेका छन् र त्यसैले, म आज लाल किल्लाबाट घोषणा गर्दैछु कि आगामी दिनहरूमा हामी नागरिक रक्षाको जीवन्त सञ्जाल सिर्जना गर्नेछौँ। हामी तिनीहरूलाई आधुनिक प्रणालीहरूसँग परिचित गराउनेछौँ। आधुनिक सङ्कटहरूबाट नागरिकहरूलाई जोगाउन के व्यवस्था गर्न सकिन्छ? हामी आधुनिक चुनौतीहरू पार गर्न नागरिक रक्षाको एक विशाल स्वैच्छिक बल सिर्जना गर्नेछौँ।

मेरा प्यारा देशवासीहरू,

राष्ट्र निर्माणमा हाम्रा दिदीबहिनी र छोरीहरूको योगदान हामी सबैको लागि ठूलो प्रेरणाको स्रोत बनेको छ। चाहे लड़ाकु विमान होस् वा नागरिक उड्डयन, हाम्रा छोरीहरू अग्रपङ्क्तिमा छन्। खेलकुद क्षेत्रमा पनि उनीहरूले नेतृत्व गरिरहेका छन्। एसटीईएम शिक्षामा भर्नाको प्रक्रियामा हाम्रा छोरीहरू सबैभन्दा अगाड़ि देखिएका छन्। सशस्त्र बलमा पनि, एनडीएबाट स्नातक भएका छोरीहरूले ठूलो आत्मविश्वास र अधिकारका साथ राष्ट्रको सेनाको नेतृत्व गर्ने क्षमता प्रदर्शन गरिरहेका छन्। मेरा छोरीहरूको वास्तविक शक्ति हेर्नको लागि, मैले हालै सानन्दमा रहेको एक सेमीकण्डक्टर प्लान्टको भ्रमण गरेँ, जहाँ देशका विभिन्न कुनाका आदिवासी छोरीहरूले काम गरिरहेका थिए। तिनीहरू गाउँहरूबाट आएका थिए जहाँ मानिसहरूलाई पासपोर्ट के हो भनेर पनि थाहा थिएन। ती छोरीहरू विदेश गए, तालिम लिए र आज तिनीहरू चिप निर्माणमा र ठूलो आत्मविश्वासका साथ काम गरिरहेका छन्। मैले तिनीहरूमा देखेको आत्मविश्वासबाट म साँच्चै प्रभावित भएँ। हामीले 3 करोड़ दिदीबहिनीहरूलाई ‘लखपति दिदी’ बनाउने लक्ष्य राखेका थियौँ र त्यो लक्ष्य पार गरिसकेका छौँ। अब, हामी 6 करोड़ लखपति दिदीहरू सिर्जना गर्ने लक्ष्यका साथ अगाड़ि बढ़िरहेका छौँ। 3 करोड़ नयाँ लखपति दिदीहरूको निर्माणले महिला शक्तिद्वारा सञ्चालित ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तनको सङ्केत गर्दछ।

मेरा प्यारा देशवासीहरू,

आज, पञ्चायत, नगरपालिका र नगर निगमहरूमा हाम्रा महिलाहरूको ठूलो सङ्ख्या जनप्रतिनिधि बन्दै देशलाई मार्गदर्शन गर्दै, समस्याहरू समाधान गर्दै, धेरै सक्षम नेतृत्व प्रदान गर्दै र यो कुरालाई ध्यानमा राख्दै, हामीले संसदमा नारी शक्ति वन्दन अधिनियम पारित गऱ्यौँ। तैपनि, कुनै न कुनै कारणले यो सपना पछिल्ला 40 वर्षमा राजनीतिक क्षेत्रमा बारम्बार पीड़ित भएको छ। आज, लाल किल्लाको प्राचीरमा तिरङ्गाको छायाँमुनि उभिएर म देशका सबै राजनीतिक दलहरूलाई अपील तथा आग्रह गर्दछु। आउनुहोस्, हामी ती महिलाहरूको शक्तिका उपासक बनौँ। उनीहरूको सम्मानलाई कायम राख्न र हाम्रा आमा र दिदीबहिनीहरूले सकेसम्म चाँड़ो विधानसभा र लोकसभामा 33% प्रतिनिधित्व सुरक्षित गर्न अगाड़ि बढौँ, ताकि उनीहरूले भारतको नीतिहरूलाई आकार दिन योगदान पुर्याउन सकुन्। यो समयको आवश्यकता हो र म फेरि एक पटक सबै राजनीतिक दलहरूलाई आग्रह गर्दछु, महिला आरक्षण लागू गरेर महिला सम्मानको काममा सामेल हुनुहोस्, तपाईंहरू पनि श्रेय लिनुहोस्, तपाईंहरू पनि नाम कमाउनुहोस्, तर मेरा आमा र दिदीबहिनीहरूलाई अधिकार दिनुहोस्।

मेरा प्यारा देशवासीहरू,

विकसित भारतको सङ्कल्प तब मात्र पूरा हुनेछ जब विकास अन्तिम व्यक्तिसम्म पुग्छ। 2014 भन्दा पहिले, केवल 25 करोड़ मानिसहरूसँग सामाजिक सुरक्षा कवच थियो, केवल 25 करोड़।

साथीहरू,

पछिल्ला 5-7 दशकमा केवल 25 करोड़ मानिसहरूलाई यो सुविधा प्राप्त भएको थियो, जबकिम हामीले एक दशकभित्र 100 करोड़ देशवासीहरूलाई सामाजिक सुरक्षा कवच प्रदान गरेका छौँ। आयुष्मान भारत योजना अन्तर्गत, 70 वर्षभन्दा माथिका वृद्धवृद्धाले पनि 5 लाख रुपियाँसम्मको नि:शुल्क औषधि पाउँदैछन्। यस कारण करोड़ौँ परिवारले ठूलो सुविधा पाएका छन् र यस आयुष्मान कार्डको कारणले औषधि र शल्यक्रियामा खर्च गर्नुपर्ने 2 लाख करोड़ रुपियाँ मेरो परिवारको लागि बचत भएको छ, तिनीहरू गरीब परिवार हुन्, तिनीहरू मध्यम वर्गीय परिवार हुन्, तिनीहरूले यति महत्त्वपूर्ण सहयोग पाएका छन्!

मेरा प्यारा देशवासीहरू,

आज, मलाई एउटा काममा तपाईंहरूको सहयोग चाहिन्छ। म तपाईंहरू सबैबाट सहयोग खोजिरहेको छु। म चाहन्छु कि युवाहरूले यसमा नेतृत्व लिऊन्। तपाईंहरूको समयको एक वा दुई घण्टाले मात्र राष्ट्रलाई उल्लेखनीय रूपमा सशक्त बनाउन सक्छ। तपाईंहरू सोच्नुहुनेछ कि म एक वा दुई घण्टामा देशलाई के शक्ति दिन सक्छु, म तपाईंहरूलाई भन्छु। तपाईं एक महाशक्ति बन्न लागेको हुनुहुन्छ, त्यसैले, प्रत्येक घरमा वातावरण सिर्जना गर्नुपर्छ। आजकल देशमा जनगणना चलिरहेको छ। जनगणनाको काम भइरहेको छ, गणना भइरहेको छ र गणना केवल आँकड़ाको बारेमा होइन। नीतिहरू यसको विवरणबाट बनाइन्छन्, योजनाहरू बनाइन्छन्, देशले अगाड़ि बढ्नको लागि आफ्नो रोडम्याप तयार गर्दछ र त्यसैले सही जानकारी हुनु धेरै महत्त्वपूर्ण छ। कहिलेकाहीँ सरकारबाट आउने प्रतिनिधिहरू यति हतारमा हुन्छन् कि कहिलेकाहीँ तिनीहरूले एउटै हिज्जे लेख्छन्, कहिलेकाहीँ तिनीहरूले यसलाई फरक तरिकाले लेख्छन् र यसको कारणले गर्दा अन्ततः, हामीलाई सही नतिजा प्राप्त गर्न समस्याहरू सामना गर्नुपर्छ। अब प्रविधि उपलब्ध भएको छ, तपाईंहरूले आफ्नो मोबाइल फोन प्रयोग गरेर आफ्नो जनगणना विवरण आफैँ पेश गर्न अनुमति दिने निर्णय गरिएको छ। पछि कोही क्लर्क आउनेछन्, कोही प्रतिनिधि आउनेछन्, तिनीहरूले तपाईंहरूसँग विवरण चर्चा गर्नेछन्, यदि तपाईंको परिवार सँगै बसेर डिजिटल रूपमा दर्ता पूरा गर्छ भने - हिज्जे वा जानकारीमा कुनै त्रुटि छैन भनी सुनिश्चित गर्दै - तथ्याङ्कको शुद्धताले राष्ट्रको प्रगतिमा ठूलो सहयोग गर्नेछ। त्यसैले म देशका युवाहरूलाई आफ्नो परिवारसँग बसेर सम्पूर्ण फारमसँग परिचित हुन आग्रह गर्दछु। पहिले कागजमा फारम भर्नुहोस्, यदि कुनै गल्ती छ भने सच्याउनुहोस् र त्यसपछि प्रविधिको माध्यमद्वारा डिजिटल रूपमा अपलोड गर्नुहोस्। एकपल्ट सोच्नुहोस्, देशले यो विशाल कार्य पूरा गर्नेछ र राष्ट्रको समय र ऊर्जा रचनात्मक उद्देश्यका लागि प्रयोग गरिनेछ। त्यसैले म मेरो देशका युवाहरूलाई यस जनगणना अभ्यासमा सक्रिय रूपमा भाग लिन आग्रह गर्दछु।

मेरा प्रिय देशवासीहरू,

मैले लाल किल्लाबाट ‘पञ्च प्राण’ (पाँच सङ्कल्प) को बारेमा कुरा गरेको थिएँ। यी पाँच सङ्कल्पहरूले देशलाई अपार ताकत प्रदान गरेका छन्, यसलाई आत्म-गर्वको भावना र यसको लक्ष्यहरू पार गर्ने क्षमताका साथ अगाड़ि बढ्न सशक्त बनाएका छन्। हामीले हरेक क्षण दासत्वको मानसिकतालाई उन्मूलन गरिरहनु पर्छ। नेताजी सुभाषचन्द्र बोस, बाबासाहेब अम्बेडकर, पण्डित नेहरू, सरदार पटेल, भगत सिंह, सुखदेव, राजगुरु, डा. श्यामाप्रसाद मुखर्जी, भगवान् बिरसा मुण्डा र ज्योतिबा फुलेले सपना देखेको भारतको दर्शनबाट प्रेरणा लिँदै अगाड़ि बढ़ौँ। यो सङ्कल्प दोहोर्याऔँ: राष्ट्रको हित हाम्रो आफ्नै भन्दा अगाड़ि आउनुपर्छ र कर्तव्यले हाम्रो पहिचान परिभाषित गर्नुपर्छ। म मेरा सबै देशवासीहरूलाई भन्न चाहन्छु - यो हाम्रो समय हो, यो हाम्रो क्षण हो, र यो हाम्रो सङ्कल्प हो। सपनाहरूलाई सङ्कल्पमा, सङ्कल्पलाई क्षमतामा र क्षमतालाई सफलतामा रूपान्तरण गरौँ। हामी प्रत्येक पाइलालाई विकासको पाइला बनाऔँ, पाइला-पाइलामा जोड़ौँ, हाम्रो हृदयलाई जोड़ौँ, लक्ष्यमा जोड़िएर रहौँ, एउटा दीपले हजारौँ दीपहरू बाल्नेछ, हामी मिलेर विकसित भारत निर्माण गरौँ। यही भावनाका साथ, म यस शुभ अवसरमा तपाईंहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

मसँगै भन्नुहोस्:

भारत माता की जय!

भारत माता की जय!

भारत माता की जय!

वन्दे मातरम्!

वन्दे मातरम्!

वन्दे मातरम्!

धेरै धेरै धन्यवाद!

************

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2300107) आगंतुक पटल : 8
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Marathi , हिन्दी , Gujarati , Telugu , Kannada , Malayalam , Assamese , Bengali , Manipuri , English , Urdu , Punjabi , Odia